सल्यानबजार । पुराना पार्टीले चुनावमा साम, दाम, दण्ड, भेद सबै विधि, माध्यम अपनाउनु नयाँ होइन तर नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही तरिका अपनाउन थालेको आशङ्का गरिएको छ ।
आसन्न फागुन २१ गतेको चुनाव प्रचारप्रसारको दौरानमा सल्यानमा रास्वपाले प्रयोग गरेको जिपमा चामल र मदिरा फेला परेको हो ।
सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा रास्वपाको झन्डा प्रयोग भएको गाडीमा मदिरा, चामललगायत वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
कर्णाली प्रदेश ०२–००१ च०४२९ नम्बरको जिपमा दुई बोरा चामल, दुई सय १० बोतल मदिरा र दुई कार्टुन बियर, खाने तेल तीन कार्टुन फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए ।
प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको छ ।
चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागारतर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका छन् ।
प्रहरीले निर्वाचनलाई लक्षित गरी ती सामान बाँड्न सक्ने आशङ्कामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।
‘चुवानमा बाँड्न लागेको आशङ्कामा हामीले नियन्त्रणमा लिएका हौँ’ उनले भने ।
घटनाबारे रास्वपा सल्यानले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
सल्यानमा कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपा उम्मेदवार छन् ।

