प्रकाश थापामगर, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले निर्धारित समयमा चुनाव सम्पन्न नभए देशमा जे पनि हुन सक्ने चेतावनी दिनुभएको छ ।
युगदर्शन मिडियालाई २०८२ फागुन १६ गते शनिबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
अहिले देश अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिँदै गएको बताउँदै उहाँले त्यसको विकल्पको रूपमा फागुन २१ गते चुनाव हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘संसद् पुन:स्थापना पनि नहुने र चुनाव पनि नहुने स्थिति बन्यो भने देश अँध्यारो सुरुङभित्र पस्नेछ’ उहाँले भन्नुभयो– ‘त्यसपछि देशमा जे पनि हुन सक्छ ।’
उहाँले निर्धारित समयमा चुनाव हुन नसके प्रतिगामी तत्त्वले पुन: सत्ताकब्जा गर्ने, भौगोलिक रूपमा देश विश्व मानचित्रमै नरहने वा अरू कुनै पनि अनिश्चयतामा देश पुग्न सक्ने बताउनुभयो ।
‘वास्तवमै हाम्रो देशले इतिहासमै डरलाग्दो खतराको सामना गरिरहेको छ’ उहाँको भनाइ थियो ।
देशको गम्भीर परिस्थितिको उल्लेख गर्दै नेता शर्माले अहिलेको चुनाव साम्राज्यवाद र साम्राज्यवाद विरोधी जनताका बिचको सङ्घर्ष बन्न गएको बताउनुभयो ।
राष्ट्रियताको रक्षा गर्दै अगाडि बढ्नका लागि गणतन्त्र र संविधान अनिवार्य रूपमा रहनुुपर्ने विचार उहाँले राख्नुभयो ।
कतिपय पक्षले अहिले चुनाव हुन नहुने, चुनाव भए देश विधिवत: रूपमा नै साम्राज्यवादको हातमा पुग्ने धारणालाई उहाँले अस्वीकार गर्नुभयो ।
‘प्रतिगामी कोणबाट देशलाई राजनीतिक शून्यतामा पुर्याउने मनसायका साथ फागुन २१ गतेको चुनावको विरोध भएको छ’ उहाँले विषयवस्तु स्पष्ट पार्नुभयो ।
यसै सन्दर्भमा फागुन १३ गते बिबिसीले सार्वजनिक गरेको डकुमेन्ट्री पनि चुनावलाई प्रभावित गर्ने उद्देश्यका साथ ल्याइएको उहाँको दाबी थियो ।
‘चुनावलाई प्रभावित पार्ने पश्चिमा साम्राज्यवादीको इन्ट्रेस्टमा आफूअनुकूल चुनावको परिणाम ल्याउने षड्यन्त्रको कडीजस्तो देखिन्छ बिबिसीको डकुमेन्ट्री’ उहाँले उक्त डकुमेन्ट्री निष्पक्ष नरहेको दाबीसमेत गर्नुभयो ।
मुख्य एजेन्डा गणतन्त्र र राष्ट्रियता
नेता शर्माले राजमोद्वारा अहिलेको चुनाव मुख्यत: गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लडिएको बताउनुभयो ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा अहिलेको चुनावको मुख्य मुद्दा हो’ उहाँले भन्नुभयो– ‘त्यसका साथै सङ्घीयता र एमसिसीको खारेजी तथा भ्रष्टाचारको विकल्पमा सुशासन हाम्रा अन्य गम्भीर चुनावी मुद्दा हुन् ।’
उहाँले भ्रष्टाचार न्यूनीकरण गर्न सके मात्रै पनि राष्ट्रले उन्नति गर्न सक्ने जिकिर गर्नुभयो । त्यसका साथै उहाँले भ्रष्टाचारको अन्त्य गर्ने एक मात्र शक्ति राजमो हो भन्ने विषय नेपाली जनताले बुझेको प्रतिक्रिया चुनाव प्रचारको दौरानमा आफूहरूले पाएको सुनाउनुभयो ।
राजमोको भूमिकामा सुधार
अन्तर्वार्ताको क्रममा उहाँले यसपटकको चुनावमा राजमो नेताकार्यकर्ताको सक्रियतामा माथिल्लो स्तरको सुधार आएको दाबी गर्नुभयो ।
‘विगतको भन्दा यसपालिको पार्टीसङ्गठनको क्रियाशीलता वा सक्रियता माथिल्लो स्तरको छ’ उहाँले भन्नुभयो– ‘यस आधारमा विगतको भन्दा यसपटकको चुनावको परिणाममा पक्कै पनि सुधार गर्छौं भन्ने सम्भावना हामीले देखका छौँ ।’
शर्माले अहिले बागलुङमा भएको चुनावी तालमेल अपवादस्वरूप भएको तर मूल रूपमा अहिले राजमो एकल रूपमा नै चुनाव लडिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘एकातिर, विगतको अनुभवको आधारमा सहकार्यमा इमानदारिता नभएको र अर्कोतिर, सत्तामा पुगेका शक्तिले देशलाई खोक्रो बनाइरहेको अवस्थामा त्यसको भण्डाफोर कमजोर पर्ने हुनाले अहिले राजमो एक्लै चुनाव लडेका हौँ ।’
अहिलेको चुनावमा गठबन्धन नगर्दा जनताको समर्थन र आफ्ना नेताकार्यकर्ताको सक्रियता सोचेभन्दा राम्रो रहेकाले कैयौँ स्थानमा जित्ने, कैयौँ स्थानमा प्रतिस्पर्धा हुने र नयाँ स्थानको परिणाममा सुधार हुने अपेक्षा उहाँले गर्नुभयो ।
निर्वाचन आयोगको काम सराहनीय
वामपन्थी नेता शर्माले अहिले निर्वाचन आयोगले गरिरहेको निर्वाचन सुधारलाई सकारात्मक रूपमा लिएको टिप्पणी गर्नुभयो ।
‘समग्रमा धेरै पैसाको चलखेल हुने, तामझाम देखाउने परिपाटीलाई रोक्न निर्वाचन आयोगले कोसिस गर्नु ठिकै भएको छ’ उहाँले भन्नुभयो ।
उहाँले आयोगले कडाइपूर्वक आचारसंहिता उल्लङ्घनका घटनालाई रोक्न भने नसकेको उहाँको ठम्याइ थियो ।
जनताले निष्पक्ष प्रकारले मतदान गर्नका लागि निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने आवश्यकता औल्याउँदै उहाँले निर्वाचन आयोगको कदमको स्वागत गर्नुभएको हो ।
(चिनियाँ साम्राज्यवादप्रतिको दृष्टिकोण, समानुपातिक उम्मेदवारको प्रचारप्रसार, राजमोले जितेका स्थानमा विकासनिर्माणको अवस्थालगायत विभिन्न विषयमा नेता शर्माको धारणा बुझ्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=cS2YDrkgucw वाच गर्न अनुरोध गर्दछौँ ।)