तुलसीपुर । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ ।
विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
उनका अनुसार डिस्प्ले बोर्ड र वेबसाइडमार्फत सार्वजनिक गर्ने तयारी रहेको छ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनीय हुने सूचना अधिकारी कुँवरले बताए ।
कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोहीअनुसार दाङका तीनओटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ ।
उनका अनुसार प्रदेशभरिकै जिल्लाबाट तयारी गर्ने योजनासमेत रहेकोछ । त्यो सम्भव नभए पनि दाङमा भने यो अभ्यास गरिने उनले बताए ।

