काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको सन्दर्भमा टिओबीलाई बचाउने गरी बिबिसीले दुईओटा डकुमेन्ट्री भिडियो प्रकाशन गरेपछि सो भिडियो तत्कालै हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिलसमक्ष पत्र पठाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ फागुन १४ गते बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिएका हुन् ।
‘बिबिसीको उक्त भिडियो रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाइएको हो’ भण्डारीले मिडियालाई जानकारी दिएका छन् ।
बिबिसी वल्र्ड सर्भिस र नेपाली सेवाले अङ्ग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आजै सार्वजनिक गरेका थिए ।
रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।
यता बिबिसी डकुमेन्ट्रीले सबै कुरा लुकाएर गोली चलेको दृश्य मात्रै देखाएको, टिओबी टिसर्ट लगाएर परिचालित दलाई लामाका अनुयायीलाई उसको डकुमेन्ट्रीमा नदेखाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
‘पानी वितरण गर्ने नाममा मान्छे उक्साउँदै बुलेट बाइक चढेर हिँडिरहेका कालो मास्कधारी बार्बरा फाउन्डेसनका मानिस पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन् । कफ्र्यु आदेशपछि घर फर्किनका लागि प्रहरीले हात जोडेर पटकपटक माइकिङ गरेको दृश्य पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन्’ सामाजिक सञ्जालमा दिलनिसानी मगर लेख्छन्– ‘काठमाडौँ महानगरपालिकाभित्रका स्कुलले बिदा दिएर घर बस्न भनेका विद्यार्थीलाई सडकमा उतारिएको कुरा पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन् ।’
मगर अगाडि लेख्छन्– ‘संसद् भवनको सुरक्षार्थ बसेका सानो सङ्ख्यामा रहेका प्रहरीमाथि प्रदर्शनकारीले असिनाझैँ बर्साएको ढुङ्गाले लागेर रक्ताम्य भएको दृश्य पनि डकुमेन्ट्रीमा देखाइएका छैनन् । बेल्चा, घन र इलेक्ट्रोनिक करौती बोकेर संसद् भवनको गेट रेटिरहेका, ठोकिरहेकाहरू पनि उसको डकुमेन्ट्रीमा देखाइएका छैनन् ।’
सामाजिक सञ्जालमा नेपालको सुरक्षा निकायलाई कमजोर साबित पारेर असली हत्यारालाई जोगाउने उद्देश्यबाट प्रेरित बिबिसीको डकुमेन्ट्रीले चुनावको मुखमा स्वेदशभन्दा विदेशकै सेवा गरेको आरोप पनि लगाइएको छ ।