काठमाडौँ । बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित गठबन्धन चुनाव प्रचार टोली बागलुङ नगरपालिका पुगेको छ ।
क्षेत्र नम्बर १ स्तरीय प्रचारप्रसार टोलीका संयोजक तिलक थापाका अनुसार २०८२ फागुन १४ गते बिहीबार उम्मेदवारसहितको प्रचार बानपा पुगेको हो ।
टोलीले आज बिहान १४ नं. वडाको नारायणस्थापनबाट प्रचारप्रसार कार्यक्रम सुरु गरेको थियो । त्यसपछि उक्त टोली वडा नम्बर १२ अमलाचौर, वडा नम्बर १३ पैयुँ हुँदै साँझ ४ बजे १ नम्बर वडाको रामरेखामा सभा गर्ने कार्यक्रम निश्चित गरेको छ ।
साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारी नेतृत्वको मुख्य टोलीमा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृष्ण केसी र बलावती शर्मा, अखिल नेपाल युवक सङ्घका नेताहरू प्रदीप पुन र भीषम छन्त्याललगायतको सहभागिता छ ।
संयोजक थापाले दिनुभएको जानकारीअनुसार उक्त मुख्य टोलीका अतिरिक्त प्रत्येक पालिकामा छुट्टाछुट्टै प्रचार टोलीहरू परिचालन गरिएका छन् ।
‘हामीले फागुन १६ गतेसम्मको लागि प्रचारप्रसार कार्यक्रम निश्चित गरेका छौँ’ थापाले युगदर्शनसित भन्नुभयो– ‘त्यसपछि पहिले कार्यक्रम गर्न छुटेका वा आवश्यकता महसुस भएका स्थानमा प्रचार कार्यक्रम अगाडि बढ्नेछ ।’
बागलुङ–१ मा चारओटा पालिकाहरू बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोलाका ३७ वडा रहेका छन् ।
यहाँ ४८ मतदान केन्द्रका एक सय १५ बुथ रहेका छन् । यस क्षेत्रमा ३१ हजार पाँच सय ६९ घरधुरीअन्तर्गत ९८ हजार बढी मतदाता रहेका छन् ।
