लोकेन्द्र पौडेल, जैमिनी (बागलुङ) ।
बागलुङ जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । २०८२ फागुन १२ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै क्षेत्र नं. १ का साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीले जैमिनी नगरपालिका कम्युनिस्टको लालकिल्ला भएको बताउनुभयो । उहाँले आगामी चुनावमा आफूलाई जिताउनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेकपाकी समानुपातिक उम्मेदवार वलावती शर्माले आफूहरू हिजो जनप्रतिनिधि नभएका बेलामा पनि जनताको पक्षमा आवाज उठाउँदै आएको स्मरण गर्नुभयो ।
राजमो समानुपातिक उम्मेदवार राजेन्द्र ढुङ्गानाले नयाँ भनिएकाहरू विभिन्न पार्टीबाट चुनावको टिकट नपाएर कुण्ठा बोकेर बाहिरिएका समूह भएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रियसभाका सांसद राजेश विक, राजमो समानुपातिक उम्मेदवार कुलबहादुर थापा, वडा नं. ५ की महिला सदस्य लक्ष्मीदेवी चापागाईं शर्मा र कार्यपालिका सदस्य गीताकुमारी विककाे पनि आतिथ्य रहेको थियो ।
जिल्ला निर्वाचन परिचालन समिति सदस्य विष्णु शर्माको सञ्चालन तथा संयुक्त चुनावी प्रसार प्रचार समितिका संयोजक गोपालप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा बागलुङका राम पौडेलले स्वागत गर्नुभएको थियो ।

