काठमाडौं । सत्तारुढ नेकपाभित्रको पूर्व माओवादी गुटको भेला प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । विवादग्रस्त नेकपाका मुख्य तीनवटा गुटले गुटगत भेला तीव्र बनाएका छन् ।
पार्टी अध्यक्ष केपी ओलीविरुद्ध प्रचण्ड–नेपाल गुटले संयुक्त रुपमा दबाब दिँदै आएकोमा पछिल्लो समय प्रचण्ड–नेपालबीच समेत मनमुटाव सुरु भएको बताइएको छ ।
शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशनको प्रस्ताव राखेपछि अर्का अध्यक्ष प्रचण्डले त्यसको समर्थन गरेका थिए । त्यसपछि माधव नेपाल समूह प्रचण्डसँग पनि झस्किएको छ ।
त्यसलगत्तै ओली र प्रचण्डको सहमति भएको समाचारहरू बाहिरिए । तर आइतवार प्रचण्ड एकाएक युटर्न भए । उनले ओलीइतर गठबन्धनलाई छिन्नभिन्न पार्न महाधिवेशनको कुरा ल्याइएको आफूलाई भेट्न गएका प्रचण्ड–नेपाल समूहका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।
प्रचण्डले आयोजना गरेको पूर्व माओवादी समूहको छलफलमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट सहभागी नभएको स्रोतले बताएको छ ।
भेलामा नेकपामा पूर्व माओवादी समूह छिन्नभिन्न भएको भन्दै प्रचण्डले पूर्व माओवादीलाई एक गठ हुनुपर्ने धारणा राखेको बताइएको छ ।