• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रेमतत्त्व-४

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–४८ "

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    उपन्यासमा अजित, जलजला र सुनन्दा तथा सरस्वती, उनका पती र सरस्वतीको सुनन्दाप्रतिको प्रेमको जुन चर्चा गरिएको छ, ती सबै आदर्श प्रेमका उदाहरण हुन् । ती सबै प्रेम निस्वार्थ प्रकारका नै थिए तर त्यसका साथै उपन्यासमा, डा. जगदीशको सुनन्दाप्रतिको प्रेमको सिद्धान्तहीन धारणाको पनि उल्लेख गरिएको छ । डा. जगदीशको त्यस प्रकारको प्रेमको धारणाले पनि प्रथम प्रकारका प्रेमसम्बन्धी धारणाको उच्चतालाई नै प्रकट गर्दछ ।

    उपन्यासले यो कुरामा जोड दिन्छ, प्रेम निस्वार्थ हुनुपर्दछ । सामान्यत: प्रेम एकार्काप्रति व्यक्तिगत रूपले पूर्ण समर्पणको निस्वार्थ भावनामाथि आधारित हुन्छ र हुनुपर्दछ तर प्रेमले त्यो बेला उच्चतम आदर्श रूप लिन पुग्दछ, जब त्यो एकाकाप्रतिको निस्वार्थ समर्पणभन्दा माथि उठेर सम्पूर्ण समाजको हित र सुखको लागि वा सम्पूर्ण मानव जातिको मुक्ति तथा एउटा सुखी र सुन्दर समाजको निर्माणको लक्ष्यतिर समर्पित हुन्छ । अध्यात्मवादी दृष्टिकोणले विचार गर्ने हो भने “गीता” ले त्यही प्रकारको प्रेममा जोड दिन्छ, जो सबै प्रकारका व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पूरै नै ईश्वरमा समर्पित हुन्छ तर त्यसको विपरीत प्रस्तुत उपन्यासले सांसारिक वा लौकिक अवस्थामा व्यक्तिले सम्पूर्ण मिहिनेतकश जनताको मुक्ति वा क्रान्तिको लागि आफूलाई समर्पण गर्ने कुरामा जोड दिन्छ । उपन्यासमा उल्लेख गरिएका प्रथम प्रकारका अर्थात् अजित, जलजला र सुनन्दाका बिचका प्रेम त्यही प्रकारका प्रेम हुन् ।

    सरस्वती र उनका पतिका बिचको प्रेम कुनै माक्र्सवादी सिद्धान्तमाथि आधारित थिएन् तैपनि उनीहरूका बिचको प्रेम व्यक्तिगत सीमाभन्दा माथि उठेर गान्धीवादी आदर्शका आधारमा समाजको सेवाका लागि समर्पित थियो । त्यसैले त्यो प्रेम आदर्श प्रकारको थियो । त्यही कुरा सुन्दरलाल बहुगुणा र बिमला बहुगुणाका बिचको प्रेमलाई पनि लिन सकिन्छ ।

    त्यस सिलसिलामा कौसानी आश्रमकी सरला बहन र बहुगुणाको प्रेमबारे पनि केही भन्नु अप्रासङ्गिक हुनेछैन । सरला बहनको कसैसित विवाह भएको थिएन । त्यही प्रकारले कामरेड गढवालीले पनि विवाह गरेका थिएनन् तैपनि उनीहरूले आफ्नाअगाडि जुन उद्देश्य राखेका थिए, त्यसप्रति उनीहरू निस्वार्थ भावले समर्पित थिए । त्यस सन्दर्भमा विनोवा भावेको चर्चा गर्नु पनि अप्रासङ्गिक हुने छैन । उनले ब्रह्मचारी रहेर आफ्नो सम्पूर्ण जीवन समाजको सेवाका लागि समर्पण गरेका थिए । सरला बहन, कामरेड गढवाली र विनोवा भावेका मनमा प्रेमसम्बन्धी कुनै धारणा उठ्थ्यो वा उठ्दैनथ्यो वा त्यो कारणले उनीहरूका मनमा कुनै मानसिक तनाव पैदा हुने गर्दथ्यो वा गर्दैनथ्यो ? उपन्यासमा त्यसबारे केही चर्चा गरिएको छैन । सायद मनोवैज्ञानिकले त्यसबारे विश्लेषण गरेर केही तथ्य बाहिर ल्याउन सक्नेछन् तर यहाँ खालि विनोवा भावेको एउटा उक्तिको चर्चा गर्नु मात्र प्रयाप्त हुनेछ : ‘वैवाहिक जीवन दु:खी र कष्टसाध्य हुन्छ तर अविवाहित जीवन त्योभन्दा कैयौँ गुणा बढी कष्टसाध्य हुन्छ’ (शब्दश होइन) । उनले कुन अर्थमा त्यो कुरा बताएका थिए ? त्यसबारे केही थाहा हुन सकेको छैन तैपनि उनको भनाइले गम्भीर अर्थ राख्दछ तर प्रस्तुत उपन्यासले त्यसबारे कुनै व्याख्या गरेको छैन ।

    सुनन्दा पहिले एउटा पर्वतारोही थिइन् । पछि उनले कौसानीको लक्ष्मी आश्रममा छात्रालाई पढाउने काम गर्दथिन् । त्यसका साथै उनले आफ्नो बिएको परीक्षाको तयारी पनि गर्दैथिन् । त्यो बेला डा. जगदीशले कौसानीको एउटा कलेजमा पढाउने गर्दथे । उनले सुनन्दालाई पनि बी.ए. को परीक्षाको तयारीका लागि मदत गर्ने गर्दथे– ट्युसन पढाउने गर्दथे । त्यो बेलादेखि नै उनले सुनन्दालाई प्रेम गर्न थालेका थिए यद्यपि मनमनै तर उनको त्यो प्रेम एकतर्फी थियो । उनी माक्र्सवादी–लेनिनवादी र भारतीय कम्युनिस्ट पार्टीका सदस्य पनि थिए । अर्कातिर, सुनन्दा गान्धीवादी थिइन् । त्यो कारणले पनि उनीहरूका बिचको प्रेम अगाडि बढ्ने वा विवाह हुनेसमेत कुनै सम्भावना थिएन् । सुनन्दाले एउटा कम्युनिस्टसित विवाह गर्ने कुरा सोच्न पनि सक्दैनथिन् ।

    एकपल्ट सुनन्दा र विद्या लखनऊबाट कौसानी जाँदै थिए र उनीहरू हल्द्वानीको रेलवे स्टेसनमा उत्रेका थिए र त्यहाँ फूलको गुच्छा लिएर डा. जगदीश उनीहरूलाई स्वागत गर्न आएका थिए ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “डा. जगदीशले उनलाई प्रेम गर्दथे तर उनी कम्युनिस्ट भएकाले सुनन्दाले उनको प्रेम स्वीकार गर्न सकेकी थिइनन् तैपनि उनको मनमा कताकता उनीप्रति प्रेमको भाव दबेर बसेको थियो । डा. जगदीश दर्शनसम्बन्धी एउटा ५ वर्षे अध्ययनको एउटा प्रोजेक्टअन्तर्गत रुसमा जाँदै थिए । उनले त्यो कुरा बताएपछि सुनन्दाको मुख केही अँध्यारो भएको थियो । त्यसकारण उनी ५ वर्षका लागि रुस जाने कुरा सुनेर उनलाई दु:ख लागेको थियो । उनको त्यो भाव डा. जगदीश र विद्याबाट पनि लुकेन । डा. जगदीशलाई यो सोचेर खुसी लाग्यो कि सुनन्दाले पनि उनलाई केही प्रेम गर्दथिन् । विद्याबाट पनि यो कुरा लुकेन, उनीहरू दुबैका बिचको सम्बन्ध सामान्य र औपचारिकभन्दा केही बढी नै थियो ।”

    विद्याको आग्रहमा सुनन्दा जलजलालाई खोज्न नेपालतिर लागिन् । नेपालमा पस्ने बेलामा उनी गिरफ्तार भइन् र भैरहवा जेलमा परिन् । त्यहाँ उनलाई पहिलेका कुनै राजबन्दीले भूमिगत रूपमा राखिएका केही माक्र्सवादी–लेनिनवादी पुस्तक प्राप्त भए र उनले तिनीहरूको अध्ययन गर्न थालिन् । त्यो अध्ययनबाट उनी माक्र्सवादी–लेनिनवादी दर्शनप्रति आकर्षित हुँदै गइन् । पछि उनलाई काठमाडौँको जेलमा चलान गरियो र त्यही उनी जेलमुक्त पनि भइन् ।

    जेलबाट छुट्ने बेलासम्म उनी माक्र्सवादी–लेनिनवादी नै भइसकेकी थिइन् । त्यही बेला काठमाडाँैको एउटा प्राइभेट ठेगानामा रुसबाट डा. जगदीशले उनलाई पठाएको एउटा पत्र आइपुग्यो । त्यो पत्रमा उनले उनीसित विवाहको लागि प्रस्तावसमेत राखेका थिए ।

    त्यो पत्रमा लेखिएको थियो– मैले तिमीलाई प्रेम गर्दछु र विवाहका लागि प्रस्ताव गर्दछु । मैले उत्सुकतापूर्वक तिम्रो जबाफको प्रतीक्षा गर्दैछु ।
    सुनन्दाले त्यो पत्र विद्यालाई पनि पढ्न दिइन् । यो पत्र पढेपछि विद्याले भनिन्– मलाई ता पहिलेदेखि नै उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने लागेको थियो । विद्याले भनिन्– अब तपाईंले के विचार गर्नुहुन्छ ?

    उहाँले मलाई प्रेम गर्नुहुन्छ भन्ने मलाई पहिलेदेखि नै थाहा थियो तर उहाँले प्रकट रूपमा यसभन्दा अघि मलाई कहिल्यै यस प्रकारको कुनै प्रस्ताव राख्नुभएको थिएन तर वहाँको प्रेमबारे मैले केही सोचेकी थिइनँ ।

    तपाईंले प्रेम गर्नु हुँदैनथ्यो ?

    होइन, पूरै त्यसो भन्न पनि मुस्किल पर्दछ । मैले पनि उहाँप्रति आकर्षण अनुभव गर्दथेँ । मैले आफ्नो मनमा उहाँप्रति गहिरो आत्मीयता र स्नेह अनुभव गर्थें तर उहाँसित विवाह गर्न एउटा गम्भीर समस्या थियो ।

    के समस्या थियो दिदी ?

    उहाँ कम्युनिस्ट, म गान्धीवादी । एउटा गान्धीवादीले कम्युनिस्टसित विवाह गर्नु सम्भव थिएन । हाम्रो विचारमा गम्भीर अन्तर थियो । विमला बहुगुणाको उदाहरण तिमीलाई थाहा नै छ । सुन्दरलाल बहुगुणा कङ्ग्रेसको नेता हुनुहुन्थ्यो । विमला दिदी सच्चा गान्धीवादी । भारत स्वतन्त्र भएपछि महात्मा गान्धीले सबै गान्धीवादीलाई राजनीतिबाट अलग भएर समाजको सेवामा लाग्ने सल्लाह दिनुभएको छ । विमला दिदीले आफ्नो सिद्धान्त छाडेर सुन्दरलालसित विवाह गर्न स्वीकार गर्नुभएन । पछि सुन्दरलालले राजनीति छाडेर समाजको सेवामा लाग्ने निर्णय गरेपछि नै विमला दिदीले उहाँसित विवाह गर्न स्वीकार गर्नुभयो ।

    सुनन्दाले अगाडि भनिन्– अब डा. जगदीशप्रति मेरा मनमा पहिलेजस्तो पूरै नकारात्मक दृष्टिकोण रहेको छैन । त्यसैले सायद मैले डा. जगदीशको प्रस्तावप्रति पहिलेजस्तो नकारात्मक दृष्टिकोण अपनाउन सक्दिनँ होला । कुनै निस्कर्षमा पुग्न मलाई केही समय लाग्नेछ तर सम्भवत: मेरो जबाफ काफी हदसम्म सकारात्मक हुनेछ ।

    सायद… सम्भवत… धेरै सम्भव छ… मैले डा. साहेबको प्रस्तावलाई स्वीकार गर्नेछु ।

    सुनन्दा अब पहिलेजस्ती थिइनन् । माक्र्सवादी–लेनिनवादी दर्शनप्रति उनको आस्था बढेको थियो । त्यसैले पहिले जुन वैचारिक कारणले उनले डा. जगदीशसित विवाहको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् । अब त्यो बाधा उनका अगाडि थिएन ।

    दिल्लीमा एउटा बस दुर्घटनामा जलजलाको मृत्यु भएपछि सुनन्दा मानसिक रूपले एक प्रकारले विक्षिप्तजस्तै भएकी थिइन् । त्यो अवस्थामा उनलाई दिल्ली, जहाँ जलजलाको मृत्यु भएको थियो, त्यहाँबाट कतै टाढा जान मन लागेको थियो । त्यही बेला उनलाई डा. जगदीशको एउटा पत्र आयो– त्यसमा सुनन्दासित विवाहका लागि प्रस्ताव थियो । उनले (डा. जगदीशले) विवाहको प्रस्ताव राख्दै यो लेखेका थिए । उनले (सुनन्दाले) उनको प्रस्ताव स्वीकार गरेमा उनी विवाहका लागि भारतमा पनि आउन सक्थे वा उनले (सुनन्दाले) चाहेमा उनी रुस आएर त्यहीँ पनि उनीहरूको विवाह हुन सक्थ्यो ।”

    जलजलाको मृत्युपछि सुनन्दा यति धेरै दुखी थिइन्, त्यो बेला उनी कसैसित प्रेम गर्ने वा विवाह गर्ने मानसिक अवस्थामा अलिकति पनि थिइनन् तैपनि उनले सोचिन्, डा. जगदीशको त्यो प्रस्तावलाई स्वीकार गरेमा उनलाई दिल्लीबाट धेरै टाढा जाने अवसर प्राप्त हुनेछ र त्यसरी उनको जलजलाको मृत्युबाट पुगेको पीडा केही कम हुनेछ । त्यही सोचेर उनले डा. जगदीशको त्यो प्रस्तावलाई स्वीकार गर्ने र रुस जाने निर्णय गरिन् ।

    सुनन्दा विद्यालाई भनिन्– अहिले ममा रमाइलो गर्ने कुनै इच्छा पनि छैन । उत्साह पनि छैन । अहिले शोकको बेलामा मलाई सकेसम्म छिट्टै दिल्लीबाट कतै टाढा जान मन लागेको छ… । मैले विवाह गरेँ भने पनि त्यो खालि एउटा औपचारिकता मात्र हुनेछ, यहाँबाट धेरै टाढा जाने एउटा माध्यम मात्र । सायद यहाँबाट धेरै टाढा गएपछि मेरो मन केही हल्का हुनेछ कि मेरो दु:ख केही कम हुनेछ ।”

    सुनन्दाको कुरा सुनेर विद्यालाई धेरै दु:ख लागेको थियो । उनले (सुनन्दाले) विवाहलाई एउटा औपचारिक र यहाँबाट धेरै टाढा जाने एउटा माध्यम मात्र बताएकी थिइन् । उनको त्यो कुराले बताउँथ्यो, विवाहप्रति उनका मनमा कुनै उत्साह थिएन । खालि दिल्लीबाट टाढा जान तथा आफ्नो मनलाई केही हल्का गर्न नै उनले विवाहको प्रस्तावलाई स्वीकार गर्ने विचार गरेकी थिइन् । त्यस अवस्थामा त्यो विवाहले उनलाई कति सुख र प्रसन्नता देला, विद्याको मनमा एउटा नजानिँदो प्रकारको आशङ्का उत्पन्न भयो । त्यसैले सुनन्दाको कुरा सुनेर उनलाई दु:ख लागेको थियो तैपनि उनले सोचिन्, विवाहपछि सबै कुरा सामान्य हुँदै जानेछ । उनी सुखी हुनेछिन् ।

    सुनन्दा पेरिसको अन्तर्राष्ट्रिय हवाई अड्डाबाट उत्रेर बाहिरतिर निस्किइन् । त्यहाँ डा. जगदीश उनलाई स्वागत गर्न आएका थिए । उनले पेरिसबाट जर्मनी हुँदै रुस जाने योजना बनाएका थिए ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– सुनन्दाले “आफ्नाअगाडि उभिएका डा. जगदीशलाई हेरिन् । अब उनी पहिलेका डा. जगदीश थिएनन् । अब उनीहरूका बिचको सम्बन्धमा वैचारिक र भावनात्मक दुबै प्रकारले नयाँ आयाम थपिएको थियो । अब उनले उनीसित (डा. जगदीशसित) विवाह गर्ने निर्णय गरेकी थिइन् । दुईओटा विन्दु एकै ठाउँमा मिलेका थिए । त्यसरी एउटा रेखा निर्माण भएको थियो तर सीधा वा वक्ररेखा ? सायद ती दुबैको बिचमा विभाजन गर्नु सरल कुरा थिएन । सायद दुबै एकार्कामा अन्तर्निहित हुन्छन् ।

    सरलरेखा वक्ररेखामा बदलिन सक्दछ, वक्ररेखा सरलरेखामा । सायद जीवन पनि त्यस्तै हुन्छ । त्यो सधैँ सरल रेखामा अगाडि बढ्दैन । त्यसमा कैयौँ उतारचढाव, घुम्ती वा वक्ररेखा हुन्छन् । सायद उनीहरूको जीवन पनि सधैँ र पूरै सरलरेखामा अगाडि बढ्ने छैन । त्यसमा कतिपय उतारचढाव हुन सक्नेछन् । घुम्ती हुनेछन् । वक्ररेखा हुनेछन् । ती कहिले, कहाँ र कसरी हुनेछन् ? अहिले नै अन्दाज गर्नु सम्भव थिएन । ती भविष्यका कुरा थिए तर अहिलेको कुरा यो थियो : अब उनीहरू दुबै जनाको जीवन, भविष्य एउटै बन्न गइरहेको थियो ।”

    सुनन्दा र डा. जगदीश स्टालिनग्रादको भ्रमणमा गएका थिए । स्टालिनग्रादमा पुगेपछि उनीहरू आफ्नो एक जना मित्र विपिन श्रीवास्तवको घरमा बसे । त्यहाँ लन्च गरिसकेपछि उनीहरू सहरको अवलोकनका लागि बाहिर निस्के । त्यो बेला उनीहरूको बिचमा स्टालिन, ख्रुस्चेभ र ख्रुस्चेभले स्टालिनको “पर्सनल कल्ड” बारे कैयौँ छलफल हुँदै गयो । डा. जगदीशले स्टालिनको विरोधमा कैयौँ तर्क दिए र उनका विरुद्ध ख्रुस्चेभले चलाएको अभियानलाई समर्थन गर्दै गए । त्यसबाट सुनन्दाको मनमा चिसो पर्दै गयो । पहिले हल्द्वानीमा डा. जगदीशसित भेट हुँदा विद्याले उनलाई सोभियत संशोधनवादी बताएर आलोचना गरेकी थिइन् । अहिलेसम्म सुनन्दाले ती सबै कुरा बिर्सेकी थिइन् तर अब डा. जगदीशको कुरा सुन्दा सुनन्दालाई उनीप्रति असन्तोषको भाव पैदा हुन थाल्यो । उनी कम्युनिस्ट थिए तर सोभियत संशोधनवादी । त्यो सोचेर उनलाई लाग्न थाल्यो, उनीसित विवाह गर्ने निर्णय गरेर उनले गल्ती त गरेकी थिइनन् ? उनको तुलनामा डा. विपिनले जुन कुरा गरेका थिए, ती बढी सकारात्मक प्रकारका थिए ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “कुरा गर्दैगर्दै उनीहरू म्युजियमतिर लागे । पहिले सुनन्दा डा. जगदीशका छेउमा हिँड्ने गरेकी थिइन् तर अब उनको चालमा थाहै नपाईकन एउटा परिवर्तन आएको थियो । उनी डा. जगदीशबाट टाढा र विपिनका नजिक हिँड्न थालेकी थिइन् । उनको चालमा भएको त्यो परिवर्तन सायद डा. जगदीशप्रति उनको मनोभावनामा भएको असन्तोषको सङ्केत थियो । सायद सुनन्दाले पनि केही नसोचीकन स्वत:स्फूर्त रूपले त्यसो गरेकी थिइन् । हुन सक्छ, उनको अचेतन मनले उनलाई त्यसो गर्न लगाएको थियो ।

    त्यही दिन बेलुका भेलिन्टिना, विपिनकी छोरी, साइबेरियाबाट आइपुगिन् । उनी त्यहाँ रुसी सेनाको एउटा अफिसर थिइन् । उनीसित भेट भएर सुनन्दा धेरै खुसी भइन् । यो थाहा पाएर पनि सुनन्दालाई धेरै खुसी लाग्यो कि उनी सेनाकी एउटी अफिसर भए पनि स्टालिनको प्रशंसक थिइन् र रुसमा समाजवादलाई समाप्त गरेर पुँजीवाद पुन:स्थापना भएकोमा असन्तुष्ट थिइन् । त्यसबारे उनीहरू दुबै जनाका बिचमा धेरै कुराकानी भएका थिए ।

    स्टालिनग्रादको भ्रमण सिध्याएर सुनन्दा र डा. जगदीश ट्रेनद्वारा मस्को जाँदै थिए । त्यही बेला डा. जगदीशले यो कुरामा जोड दिएकी अब उनीहरूले छिटै विवाह गर्नुपर्दछ र त्यसको मिति टुङ्ग्याउनु पर्दछ । त्यस सन्दर्भमा उनले अगाडि भने– ‘म कम्युनिस्ट भएको हुनाले मसित विवाह गर्न तिमीलाई अप्ठ्यारो लागेको कुरा मैले बुझेको छु । म कम्युनिस्ट, तिमी गान्धीवादी । मैले माक्र्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी सबै छाड्ने निर्णय गरेको छु । माक्र्सवाद–लेनिनवादको कुनै अर्थ छैन । कम्युनिस्ट पार्टीको कुनै अर्थ छैन । त्यसको कुनै आवश्यकता छैन ।

    मैले पनि यो बुझेको छु, रुसमा अब समाजवादी व्यवस्था रहेको छैन । यहाँ पुँजीवादको पुन:स्थापना भएको छ । लेनिन र स्टालिनले समाजवाद ल्याएको देशमा नै समाजवादको अन्त्य भयो भने अब अरू देशमा त्यसको के अर्थ छ ? यो नहुने बाटो हो । माक्र्सवाद–लेनिनवाद आउट अफ डेट भइसक्यो । समाजवाद अतीतको विषय भइसक्यो । रुसमा समाजवाद ल्याउनका लागि जुन कम्युनिस्टले त्याग र बलिदान गरे, उनीहरूले बेकारमा ज्यान दिए । बेकारमा दु:ख र कष्ट पाए । अब रुसमा पहिलेका कम्युनिस्टले व्यक्तिगत सम्पत्ति जम्मा गरिराखेका छन् । ठुल्ठुला घर बनाइरहेका छन् । पहिले सामूहिक स्वामित्वमा भएका कृषि फार्ममाथि व्यक्तिगत स्वामित्व कायम गरिरहेका छन् । त्यसरी उनीहरू व्यावहारिक बन्दै गइरहेका छन् । जीवनको लागि त्यही सही बाटो हो । मैले पनि त्यही निर्णय गरेको छु । त्यसपछि मैले तिमीलाई पूरै सुख दिन सक्नेछु । तिमी सम्पन्न र प्रतिष्ठित महिला बन्नेछौँ । कम्युनिस्ट भएर के पाइन्छ । दुखै दु:ख मात्र हो ।

    उनले विवाहको राति नै त्यो कुरा सुनन्दालाई बताउने विचार गरेका थिए तर आज उनले आफूलाई रोक्न सकेनन् र मनको सबै कुरा खोलेर बताइदिएका थिए । त्यो बेलासम्म सुनन्दाले पनि उनको विचारमा परिवर्तन भएको, उनी गान्धीवादीबाट माक्र्सवाद–लेनिनवादी भएको कुरा बताएकी थिइनन् र त्यसबारे डा. जगदीशलाई केही थाहा थिएन ।

    सुनन्दाले भनिन्– तपाईंको कुरा सुनेर मलाई धेरै खुसी लाग्यो । म ठुलो द्विविधामा थिए । तपाईंले मेरो मनको द्विविधा हटाइदिनुभयो । अब निर्णयमा पुग्न मलाई केही पनि अप्ठ्यारो पर्ने छैन ।

    सुनन्दाले केही बेरसम्म आकाशमा हेरिन् । केही बेरपछि उनले भनिन्– मैले विवाह गर्दिन ।

    तिमी गान्धीवादी हौ र म कम्युनिस्ट । के त्यही कारणले तिमीलाई मसित विवाह गर्न अप्ठ्यारो परेको हो ? अब त्यो बाधा पनि बाँकी रहेन । मैले माक्र्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी, समाजवाद आदि सबैलाई छाडिदिने कुरा तिमीलाई बताइसकेको छु । त्यति मात्र होइन, म गान्धीवादी हुन पनि तयार छु ।

    सुनन्दाले केही बेरसम्म डा. जगदीशको मुखमा हेरिरहिन् । विवाह गर्नका लागि आफ्ना सिद्धान्त वा आस्थासम्मलाई परिवर्तन गर्न पनि तयार हुने मान्छे ! त्यो अवसरवादको पराकाष्ठा थियो । अब उनले उनी (डा. जगदीश) सित विवाह नगर्ने जुन निर्णय गरेकी थिइन्, त्यो झन् बढी सही भएजस्तो लाग्यो । त्यस्तो सिद्धान्तहीन र अवसरवादी मान्छेसित उनले कुनै पनि अवस्थामा विवाह गर्न सक्दिनथिन् । त्यसपछि उनले अब उनी गान्धीवादी नरहेको र माक्र्सवादी–लेनिवादी भएको कुरा पनि बताइदिइन् ।

    त्यो सुनेपछि डा. जगदीशले खुसी हुँदै भने– अब तिमी माक्र्सवादी भएको भए मसित विवाह गर्न किन अस्वीकार गर्ने निर्णय गर्‍यौ ? म पनि माक्र्सवादी, तिमी पनि माक्र्सवादी । अब यो विवाह गर्न कुन वैचारिक समस्या पैदा भयो ? तिम्रो वैचारिक परिवर्तनका कारणले हामी पहिलेभन्दा बढी नजिक भएका छौँ ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दा केही गम्भीर बनिन् । डा. जगदीश प्रकट रूपमा माक्र्सवादी थिए तर उनी सोभियत संशोधनवादी थिए । हिजो राति रेलमा उनले माक्र्सवादी विचार त्यागेर गान्धीवादी हुने कुरा पनि गरेका थिए । त्यस्तो मानिस न गान्धीवादी हुन सक्थ्यो, न माक्र्सवादी ।

    डा. जगदीशले भने– अब मलाई लाग्छ, हाम्रो विवाहका लागि अझ बढी वैचारिक आधार तयार भएको छ अनि तिमीले किन हाम्रो विवाहको पूर्व योजनालाई बदल्ने निर्णय गर्‍यौ ? मैले बुझ्न सकिन ।

    सुनन्दाले केहीबेर सोचिन् र निर्णय पनि गरिन्, अब सबै कुरा खोलेर नै बताइदिनु नै सही हुन्थ्यो । त्यो सत्य अप्रिय थियो तर त्यसलाई दबाएर राख्नु सही हुँदैनथ्यो ।

    सुनन्दाले भनिन्– सायद अब मैले सबै कुरा खोलेर बताइदिनु नै सही हुनेछ ।

    सायद मैले कुरा प्रस्टसित राख्नुपर्दछ । मैले सुरुदेखि नै तपाईंलाई कम्युनिस्टको रूपमा बुझ्दै आएकी थिएँ । तपाईंको विचारसित म सहमत थिइनँ तर मैले तपाईंलाई आदर गर्दथेँ । कुनै पनि व्यक्तिसित मेरो वैचारिक मतभेद हुन सक्छ तर जुन व्यक्ति आफ्नो सिद्धान्त वा आदर्शमा इमानदार र दृढ हुन्छ, उसलाई मैले सम्मान गर्दछु । त्यही कारणले नै मैले का. गढवालीलाई पनि धेरै आदर गर्दथेँ । उहाँको विचारसित म सहमत नभए पनि उहाँ आफ्नो सिद्धान्त र आस्थाप्रति इमान्दार र दृढ हुनुहुन्थ्यो ।

    डा. जगदीशले भने– म पनि माक्र्सवादी सिद्धान्तप्रति इमानदार र दृढ छु ।

    तिमीलाई त्यो कुरामा कुनै शङ्का छ ?

    शङ्का छैन तर मेरो स्पष्ट र निश्चित विचार छ, तपाईंको माक्र्सवादी–लेनिनवादी विचारबाट विचलन भइसकेको छ । तपाईं एउटा सच्चा कम्युनिस्ट हुनुहुन्न ।

    विचलन ? तिमीले त्यो कुरा कसरी भन्न सक्दछ्यौँ ।

    सुनन्दाको कुरा सुनेर उनलाई रिस उठ्यो । हिजोसम्मकी गान्धीवादी केटीले उनको माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन भएको भन्ने ! कत्रो आँट गरेकी ? तर उनी उच्च बौद्धिक स्तर भएका व्यक्ति थिए । उनले आफ्ना भावनालाई राम्ररी नियन्त्रण गर्न सक्थे ।

    तपाईंलाई मेरो आलोचना अप्रिय लाग्न सक्छ तर त्यो सत्य हो । बिसौँ पार्टी कङ्ग्रेसपछि रुसको कम्युनिस्ट पार्टीले दक्षिणपन्थी संशोधनवादको बाटो समातेको छ । तपाईंले सोभियत संशोधनवादी विचारलाई समर्थन गर्नुहुन्छ । स्टालिनको विरोध गर्नुहुन्छ । ख्रुस्चेभको लाइनलाई समर्थन गर्नुहुन्छ । हिजो राति ट्रेनमा आउँदा तपाईंले भनेका सबै कुराको के निस्कर्ष निस्कन्छ ? सायद मैले त्यसको व्याख्या गर्नुपर्ने आवश्यकता छैन । त्यो स्पष्ट र निश्चित रूपले माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नै हो ।

    डा. जगदीशले आश्चर्यचकित भएर सुनन्दाको मुखमा हेरिरहे ।

    डा. जगदीशले भने– तिमीलाई मैले सोभियत संशोधनवादी लाइनलाई समर्थन गरेको छु भन्छौ भने आजदेखि नै त्यो सोभियत संशोधनवादी लाइनलाई समर्थन गर्दिनँ । तिमी सच्चा कम्युनिस्ट भएकोमा मलाई खुसी लाग्यो । तिम्रो विचार सही र क्रान्तिकारी छ । मैले तिम्रो विचारलाई समर्थन गर्दछु । त्यसो भएमा हाम्राबिचमा कुनै वैचारिक भिन्नता बाँकी रहने छैन । हाम्रो विवाहमा कुनै बाधा पुग्ने छैन । अब विवाहको मिति ठेगान गरौँ । मस्कोमा नै विवाह गर्न मान्छ्यौ भने यही गरौँ, भारतमा गएर विवाह गर्ने भन्दछौँ भने ।

    डा. जगदीशको कुरा सुनेर सुनन्दालाई हाँसो लाग्यो । तर उनले हाँसोलाई आफ्नो ओठमा आउन दिइनन् । आफ्नो हाँसोलाई जबर्जस्तीपूर्वक भित्रै दबाइन् । विवाहका लागि उनी हिजो गान्धीवादी बन्न तयार भएका थिए । आज सोभियत संशोधनवादी लाइनको विरोध गर्न तयार भएका थिए । कति अवसरवादी मान्छे !

    होइन, तपाईंसित विवाह नगर्ने आफ्नो निर्णयमा म अहिले पनि दृढ छु । तपाईंको कुराबाट मैले के बुझेँ भने तपाईं कुनै पनि विचारमा इमानदार र दृढ हुनुहुन्न । मसित विवाह गर्नका लागि हिजो गान्धीवादी हुन तयार हुनुभयो । आज व्यक्तिगत फाइदाका लागि आफ्नो विचारलाई बदल्न तयार हुनु भएको छ । कसैले आफ्नो विचारलाई क्षणक्षणमा परिवर्तन गर्ने कुरालाई मैले सही मान्दिनँ । आफ्नो कुनै विचारलाई परिवर्तन गर्ने कुरालाई मैले गलत मान्दिनँ तर त्यो आस्थाको आधारमा हुनुपर्दछ । कुनै डर, लाभ वा व्यक्तिगत फाइदाका लागि होइन । त्यसैले तपाईंसित विवाह नगर्ने कुरामा म दृढ छु र तपाईंको कुरा सुनेपछि मेरो विचार पहिलेभन्दा पनि बढी दृढ भएको छ ।”

    सुनन्दाको कुरा सुनेर डा. जगदीशलाई लाग्यो, आफ्नो आदर्श, सिद्धान्तका कारणले उनी धेरै माथि उठेकी थिइन् र उनका तुलनामा उनी धेरै तल थिए । मनमनै उनले सोचे, उनी एउटा पतीत व्यक्ति थिए । उनलाई आफूमाथि एक प्रकारले घृणा लागेर आयो ।

    उनलाई सुनन्दाको व्यक्तित्व धेरै माथि आकाशमा फैलिएजस्तो र आफू धर्तीमा धस्से जस्तो र झन् झन् तल पातलमा गइरहेकोजस्तो लाग्यो ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.