खलङ्गा प्युठान । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला भिङग्रीमा शनिबार सम्पन्न भएको छ ।
महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भयो । ‘अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ ।’ सिंहले भन्नुभयो– ‘ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाली भूमि प्रयोग नगरिकन अर्को बाटो छैन ।’ त्यसैले नेपाललाई युद्ध मैदान गराउने रणनीति अनुसार अमेरिकी साम्राज्यवादले नेपालमा विकल्पको नाममा नयाँ भनिएका राजनीतिक पार्टीलाई प्रयोग गरिरहेको सिंहले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तिलक जिसीले आफूले लगातार जिल्लामा जनताको दुखसुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको कारण आफुलाई जिताउन सबैमा आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापा, राष्ट्रिय जनमोर्चाका नेता बासु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष ईमान सिंह खड्का, पार्टीका जिल्ला सल्लाहकार मिनराज राना, समानुपातिक उम्मेद्वार लक्ष्मी पन्थी, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल पौडेल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतले आतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका नगरसमितिका अध्यक्ष गिर बहादुर गुरुङले र सञ्चालन राजमोका नगर सचीव दोर्ण रावलले गर्नुभएको थियोे । कार्यक्रममा सहभागिहरूलाई गङाराम बिसीको स्वागत गर्नुभएको थियो ।
स्वर्णद्वारी नगरसमितिका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियोे। भेलाले नगर अध्यक्ष गिर बहादुर गुरुङको संयोजकत्वमा १ सय ७९ सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ ।

