मोहनविक्रम सिंह ##
हर्के र उजेली दुई जना आदर्श क्रान्तिकारी जोडी थिए । उनीहरूको चर्चा गर्दै “का. जलजला” उपन्यासमा लेखिएको छ– “उनीहरूको जोडी आदर्श क्रान्तिकारी जोडी थियो । दुवै जना पार्टी र क्रान्तिका लागि पँरै समर्पित थिए । उनीहरूको दाम्पत्य जीवन क्रान्ति र पार्टीप्रतिको उनीहरूको समर्पण, वैचारिक समानता, शोषित, मिहिनेतकस जनताको सेवा तथा उच्च प्रकारका पारस्परिक प्रेम, सम्मान, समानता र विश्वासमाथि आधारित थियो ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “कुनै बेला हर्के जेलमा पर्दथे, कुनै बेला उजेली । कुनै बेला दुवै जना भँमिगत हुनुपर्दथ्यो । पार्टीको कामको सिलसिलामा उनीहरू देशका टाढाटाढाका भागमा जानुपर्दथ्यो । कैयौँ पल्ट महिनौँसम्म पनि उनीहरूको भेट हुँदैनथ्यो । एकपल्ट ता उजेली तीन वर्षसम्म जेलमा परेकी थिइन् भने हर्के भँमिगत थिए । त्यो बेला पँरै चार वर्षसम्म उनीहरूको भेट हुन पाएको थिएन ।
“उनीहरू एकार्काबाट टाढा भए पनि उनीहरू दुवै जनाले एकार्कालाई अगाध माया गर्दथे । दुवै जनाले पार्टी र क्रान्तिको काम गरिरहेका हुन्थे । त्यो विश्वासले उनीहरू दुवै जनालाई सन्तोष प्रदान गर्दथ्यो, जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पँरा गर्न प्रेरणा र बल दिन्थ्यो ।”
उनीहरू दुवै जनाको प्रेम अत्यन्त प्रतिकँल परिस्थितिमा कायम भएको थियो र अगाडि बढेको थियो । हर्केका बाजे कमारा थिए । त्यसरी उनी एउटा कमाराका नाति थिए । त्यसैले गाउँमा उच्च जातका मानिसको कमाराको सन्तान भनेर उनको अपमान गर्दथे । गाउँका मानिसले हर्केबारे जे जस्ता कुरा गरे पनि उजेलीले सानैदेखि हर्केलाई माया गर्थिन् । उनी केही ठुलो भएपछि उनका बाउआमाले उनको विवाह गरिदिन खोजेका थिए । पहिले ता उनले ‘म सानै छु, अहिले मैले विवाह गर्दिन’ भनेर बाउआमालाई तर्काउने कोसिस गरिन् । अन्तमा उनले सिधै भनिदिइन्– ‘मैले विवाह गर्दिनँ । हर्केसित गर्छु नत्र अरू कसैसित गर्दिनँ बरु जनमभरि नै कुमारी भएर बस्दछु ।’
उनी बस्नेतकी छोरी थिइन् । त्यसैले एउटा कमाराको सन्तानसित विवाह गरिदिने कुरा उनका बाउआमालाई सह्य हुँदैनथ्यो । त्यसैले उनको विवाह पनि भएन ।
गाउँमा उनीहरू दुवै जनाको प्रेमबारे चर्चा हुन थाल्यो । आखिरमा उनीहरू दुवै जनाले भागेर भारतमा जाने सल्लाह गरे । भागेर जाने दिन ठेगान भयो तर जुन दिन भागेर जाने सल्लाह भएको थियो, त्यो दिन हर्के उजेलीलाई नलगीकन एक्लै भागेर गए । त्यो बेला प्युठानको रातामाटामा प्रगतिशील अध्ययनमण्डलको तर्फबाट जनता शिक्षण शिविर चलिरहेको थियो । संयोगवश हर्के पनि त्यही शिविरमा पुगेर उनले त्यहाँ तीन महिनासम्म राजनीतिक र शारीरिक प्रशिक्षण लिए । त्यसपछि उनी एउटा बेग्लै मान्छे बन्न पुगे– एउटा क्रान्तिकारी युवक । त्यसपछि हर्के र उजेलीको विवाह पनि भयो । उनीहरूको औपचारिक रूपले कुनै विवाह भएन तर कसैले उनीहरूको वैवाहिक सम्बन्धको विरोध पनि गरेनन् । त्यसपछि दुवै जनाको क्रान्तिकारी आन्दोलनमा एउटा महान् यात्राको प्रारम्भ भएको थियो । अब उनीहरू एकार्काका पतिपत्नी मात्र थिएनन्, तर एकार्काका सहयोद्धा पनि थिए ।
हर्केको त्यस प्रकारको जीवनबारे उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– “शिविरबाट फर्केपछिको हर्केको जीवन एउटा क्रान्तिकारीको जीवन थियो । उनको जीवन लगातार सङ्घर्ष र वर्गसङ्घर्षको जीवन थियो । उनका नामले सबै सामन्त र जालीफटाहा काँप्दथे । प्युठानको नारीकोटको २०१० फागुन २४ गतेको आन्दोलनमा खगुलालका साथै उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यो आन्दोलनमा नारीकोट धारापासीका काले कामी, लीले कामीको पनि सक्रिय भूमिका रहेको थियो । जहाँ पनि वर्गसङ्घर्ष चल्दथ्यो, ती तीनै जना त्यहाँ पुगेका हुन्थे । फटाहाहरू उनीहरूलाई देखेर पहिले नै तर्सन्थे । हर्केको पहलकदमी र नेतृत्वमा जिल्लामा कैयौँ ठुला र साना किसान आन्दोलन चलेका थिए । २०११ सालको भ्रष्टाचार विरोधी आन्दोलनको सिलसिलामा मोहनविक्रम सिंह, खगुलाल, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, सिद्धिमान सिंहहरू गिरफ्तार भएका थिए । त्यो बेला नेपाली कङ्ग्रेसका एक जना कार्यकर्ता हेमराज पण्डित पनि गिरफ्तार भएका थिए ।
खगुलालसहित कैयौँ साथी गिरफ्तार भएका थिए तर हर्के गिरफ्तारीबाट उम्केका थिए । उनको नाममा वारेन्ट काटिएको थियो । पुलिस उनका पछि लागेका थिए तर उनले प्युठानका गाउँमा जनतालाई सङ्गठित गर्दै हिँडिरहेका हुन्थे ।

सुनन्दासित कुराकानी गर्दै उजेलीले हाँस्दै भनेकी थिइन्– “गाउँको मुख्येले हर्केलाई जेलमा हाल्ने धम्की दिएपछि मलाई र गाउँलाई छाडेर भाग्ने मानिसमा कति ठुलो परिवर्तन भएको थियो ? उनमा भएको त्यो परिवर्तन क्रान्तिकारी विश्व दृष्टिकोण, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्टका उच्च आदर्शको परिणाम थियो ।”
उजेलीको त्यो भनाइले हर्केप्रतिको उनको अगाध प्रेम, विश्वास र आदरलाई पनि बताउँथ्यो । सुनन्दाले कैयौँ बेरसम्म उजेलीको मुखमा हेरिरहिन् । उनको त्यो हेराइमा हर्के र उजेली तथा उनीहरूको क्रान्तिप्रतिको समर्पणको भावना त्यसका आधारमा बनेको उनीहरूको असीम प्रेम प्रतिको उनको उच्च भावनालाई बताउँथ्यो ।
उजेलीले उनीहरूको प्रेमको कुरा थाहा भएपछि त्यसबारे छलफल गर्न गाउँमा एउटा कचहरी बसेको कुरा पनि बताएकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “उनीहरू दुवैका बिचमा प्रेम भएको थाहा पाएर एक पल्ट ता केटाहरूले हर्केलाई बेस्सरी पिटे पनि । त्यो थाहा पाएर उजेली ती सबैसित झगडा गर्न पुगिन् । गाउँमा त्यो ठुलो मुद्दा बन्यो । हर्केलाई पिटेको कुरामा होइन, हर्केले उजेलीलाई प्रेम गरेको कुरामा । गाउँमा कचहरी बस्यो । क्षेत्रीकी छोरीसित प्रेम गरेकाले हर्केलाई एउटा भैँसी, एउटा बोको, तीनओटा बाख्रा जरिवाना गर्ने फैसला भयो ।
हर्के केही बोलेनन् । उनले चुपचापसित सबै कुरा स्वीकार गरे । अरू उपाय पनि के थियो ? तर त्यो कचहरीमा उजेलीले नडराईकन भनेकी थिइन्– “मैले हर्केसित नै विवाह गर्न सक्छु । मलाई कसले के गर्न सक्छ ? अब पहिलेजस्तो छैन । प्रजातन्त्र आएको छ । कसैमाथि जबर्जस्ती गर्न पाइँदैन ।
सबैले उनलाई हप्काए । मुख्येले भने– हर्केसित विवाहको कुरा गरिस् भने तिमीहरू दुवै जनालाई जेलमा हालिदिन्छौँ ।” उजेलीले भनेकी थिइन्– “जेलमा हाले पनि मैले हर्केलाई छाड्दिनँ । मर्नुपरे पनि डराउन्न ।
हर्के कचहरीबाट फर्कंदै थिए । बाटामा उजेली उनलाई कुरेर बसेकी थिइन् । उजेलीलाई देखेर हर्के बाटो छलेर जान खोजेका थिए तर उजेलीले उनको हात समातेर बाटामुनिको एउटा बारीका कुनातिर लगिन् । उनले एउटा निश्चय गरेकी थिइन् । उनले हर्केसित धेरै कुरा गर्न चाहन्थिन् । उनले धेरै सल्लाह गर्न चाहन्थिन् ।
उनले कुनै ठुलो कदम उठाउने निश्चय गरेकी थिइन् । उनले प्रस्ताव राखिन्– अब हामी गाउँमा नबसौँ भागेर जाऔँ ।
कहाँ ?
दिल्ली ।
उजेलीले भारतमा भागेर जाने कुरा गरिन् । भागेर भारत जाने ? हर्केका लागि त्यो ठुलो कुरा थियो तैपनि हर्केले त्यो कुरा स्वीकार गरे ।त्यही सल्लाह भयो ।
उजेलीले भनेकी थिइन्– “बाटो खर्चलाई चाहिने पैसा मैले ल्याएर आउँछु । बाटो मैले देखेकी छु । चौकी छलेर कुन बाटो जाने ? मलाई थाहा छ ।
हर्केले उजेलीको प्रस्तावलाई स्वीकार ता गरे तर घर पुगेपछि उनको मन डरायो । उजेलीलाई विवाह नगर्दै ता उनलाई त्यतिका सजाय भयो, उजेलीसित भागेर गएपछि उनको हालत के होला ? उनको बाँकी रहेको घरजग्गा पनि सर्वस्व हुनेछ । घरमा बुढी आमा थिइन् । उनको अवस्था के होला ? ती सबै कुरा सोचेर उनले उजेलीलाई छाडेर एक्लै भागेर लाहुर जाने निश्चय गरे र उनलाई (उजेलीलाई) थाहा नदिईकन भागे ।”
त्यसपछि के भयो ? त्यो कुराको पहिल्यै नै उल्लेख भइसकेको छ । शिविरबाट हर्के एउटा क्रान्तिकारी योद्धा भएर गाउँमा फर्केका थिए ।
नारिकोटको किसान सङ्घर्षपछि शिविर मच्छीमा आएको थियो । त्यहाँ एउटा ठुलो सभा भएको थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “मच्छीको सभाका बेलामा उनी सभामा गइनन् र कान्छा नेवारको घरमा बसेकी थिइन् । उनले मनमनै सोचेकी थिइन्– म त्यसलाई भेट्न किन जाने ? मलाई छाडेर जाने मान्छे । मेरो माया लागे मलाई भेट्न हर्के आफै आउनुपर्दछ ।
नभन्दै हर्के आफै उनलाई भेट्न कान्छा नेवारको घरमा आए । सिद्धिमान पनि शिविरमा गएका थिए । शिविरभरि सबैलाई उजेली र हर्केका प्रेमबारे थाहा थियो । हर्केले उजेली ओखरकोट गाउँबाट मच्छी आएको देखेका थिए तर उनी (उजेली) सभामा नआएको देखेर उनलाई केही आश्चर्य लागेको थियो । उनले यताउता सोधे र उजेली कान्छा नेवारको घरमा बसेको थाहा पाएका थिए । त्यसपछि जगत् हर्केलाई लगेर त्यहाँ गएका थिए । हर्केलाई अकस्मात् आफ्ना अगाडि देखेर उनी धेरै खुसी भइन् तर केही बोलिनन् । हर्के पनि धेरै बेरसम्म बोलेनन् ।
म तपाईंलाई छाडेर भागेकोमा मलाई माफ गर्नुहोला । म लाहुर गइनँ । शिविरसित भेट भयो । अब म फर्केर आएको छु—हर्केले भने । हर्केको कुराको उजेलीले कुनै जबाफ दिएकी थिइनन् । अब हर्के फर्केर आएको छ । नयाँ हर्के भएर आएको छ । उनी खुसी भइन् । उनी एकैपल्ट बरर आँसु झारेर रुन थालिन् ।
तिमीहरूले एकक्षण कुरा गर—त्यति भनेर जगत् त्यहाँबाट गए । उजेलीले झम्टेझैँ गरेर हर्केलाई अँगालो हालिन् । हर्केले पनि उनलाई अँगालो हाले । दुवै जना आपसमा बोलेका थिएनन् तर नबोलीकन पनि उनीहरूले आपसमा धेरै कुरा गरिरहेका थिए । अब उनीहरूभित्रको पहिलेदेखिको दु:ख, पीडा र रिस हटिसकेको थियो । आकाश निर्मल थियो । त्योभन्दा निर्मल थियो, उनीहरू दुवैको बिचको प्रेम ।
माथि अजित, जलजला र सुनन्दाको प्रेम प्रसङ्गको जुन चर्चा गरियो, तिनीहरूको सम्बन्ध कम्युनिस्ट आन्दोलनसित नै रहेको छ । उनीहरूले पार्टी र क्रान्तिप्रति आफैलाई पूरै समर्पण गरेका हुन्छन् र त्यसमाथि नै उनीहरूको प्रेम टिकेको हुन्छ तर उपन्यासमा एउटा अर्को प्रकारको प्रेमको पनि चर्चा गरिएको छ, जसको सम्बन्ध कुनै पनि अवस्थामा माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा कम्युनिस्ट आन्दोलनसित रहेको छैन । त्यस प्रकारको प्रेमको एउटा उदाहरण सरस्वतीको आफ्नो पति र सुनन्दाप्रतिको प्रेम नै हो । पछि त्यो प्रेम अजितप्रति पनि प्रकट हुन्छ ।
सरस्वती एउटा उच्च घरानाकी छोरी थिइन् र उनको विवाह पनि एउटा उच्च घरका युवकसित भएको थियो । उनका ससुरा ब्रिटिस शासनका एउटा उच्च अधिकारी थिए तर उनका पछि भारतीय स्वतन्त्रता आन्दोलनका समर्पित गान्धीवादी कार्यकर्ता थिए । त्यसैले उनले आफ्ना छोरालाई घरबाट निकालिदिएका थिए र आफ्ना पतिसहित सरस्वती सडकमा आउनुपरेको थियो ।
सरस्वती सम्पन्न परिवारमा हुर्केकी व्यक्ति थिइन् । त्यसकारण आफ्ना पतिसित उनले जुन प्रकारको अभाव र गरिबीको जीवन बिताउनुपरेको थियो, त्यो उनका लागि सह्य थिएन । त्यसकारण उनी आफ्नो पतिलाई छाडेर माइत गएर बस्न थालिन् तर माइतमा उनकी आमा र पिताको समेत मृत्यु भएपछि उनी त्यहाँ बस्न सकिनन् र उनी पुन: आफ्नो पतिकहाँ नै आएर बस्न थालिन् । त्यसपछि उनको दृष्टिकोणमा पनि पूरै परिवर्तन भएको थियो । उनी पनि आफ्नो पतिजस्तै गान्धीवादी बनिन् र आफ्नो पतिलाई पूरै प्रेम तथा भारतीय स्वतन्त्रता आन्दोलनलाई पूरै समर्थन गर्न थालिन् । उनका पतिको अब मृत्यु भइसकेको थियो तैपनि पहिले आफ्नो पतिलाई छाडेर माइत गएकोमा उनको मनमा ठुलो पश्चात्ताप थियो र उनले अहिले पनि आफ्नो पतिलाई धेरै सम्झन्थिन् ।”
उनका ससुराले उनीहरूलाई घरबाट निकालिदिएपछि उनको मनस्थिति कुन प्रकारको थियो ? त्यसबारे उपन्यासमा विस्तारपूर्वक चर्चा गरिएको छ । लखनऊको कुर्माञ्चलको सरस्वतीको घरमा जलजला र सरस्वती सँगै बसेका थिए । सरस्वतीले आफ्नो पतिसित आफ्नो सम्बन्धबारे उनलाई बताउँदै थिइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “मेरो पिताले मेरा पति एउटा ठुलो र धनी अफिसरको छोरा भएकाले उहाँसित मेरो विवाह गर्दिनुभएको थियो तर अब उहाँको त्यो हैसियत थिएन । उहाँ सडकको मान्छे बन्नुभएको थियो । सडक छाप मान्छे । त्यो बेला मलाई पनि लागेको थियो । अब मेरो भविष्य अध्यारो भएको थियो । मेरो सम्पूर्ण जीवन अनिश्चित बनेको थियो । बर्बाद भएको थियो । त्यसरी मलाई उहाँसित जीवन बिताउन गाह्रो लाग्यो ।
एउटा सानो डेरा । सानो कोठामा बिस्तरा र भान्सा । ट्वाइलेटका लागि बाहिर जानुपर्दथ्यो । लाइन लाग्नुपर्दथ्यो । उहाँसित सँगै बस्न पनि गाह्रो लाग्थ्यो । उहाँसित झगडा भइरहन्थ्यो । मैले बारम्बार राजनीति छाडेर घरमा फर्केर जाने कुरा गर्दथे । देश, स्वतन्त्रता—ती सबै कुरा किन चाहिए ? पहिले आफैलाई हेर्नुपर्दछ । आफ्नो भविष्य हेर्नुपर्दछ । अङ्ग्रेजका विरुद्ध सङ्घर्ष, त्यसलाई देशबाट हटाउने—यो कहिल्यै हुन नसक्ने काम हो । यति ठुलो शक्तिसित लड्न सकिन्छ ? संसारभरि त्यसको राज्य थियो । त्यसका विरुद्ध लडेर साध्य लाग्छ ? मैले भनिरहन्थेँ । उहाँले सुनिरहनुहुन्थ्यो तर आफ्नो काम छाड्नुहुँदैनथ्यो । लगातार उनै कुरा : देश, स्वतन्त्रता, गान्धी, सत्य, अहिंसा । उहाँको भविष्यमा भारतबाहेक केही थिएन । भारतको स्वतन्त्रताबाहेक उहाँले अरू केही सोच्नुहुँदैनथ्यो । मलाई उहाँको अलिकति पनि आदर गर्न मन लाग्दैनथ्यो । अलिकति पनि माया लाग्दैनथ्यो ।”
पछि उनको दृष्टिकोणमा कुन प्रकारको परिवर्तन भएको थियो ? त्यसबारे सरस्वतीको कथनको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदलिँदै गयो । सरला बहनको जीवनले मलाई धेरै नै प्रभावित पार्यो । एउटी विदेशी महिला । स्विडेनजस्तो विकसित देशमा हुर्केकी र पढेकी महिला । उहाँले आफ्नो सम्पूर्ण जीवन मानवसेवाका लागि समर्पण गर्नुभएको थियो । व्यक्तिगत जीवनमा कुनै लाभका लागि ता उहाँले कहिल्यै कुनै प्रयत्न गर्नुभएको थिएन । पछि गान्धीको जीवनले पनि मलाई धेरै प्रभाव पार्यो । भारतीय स्वतन्त्रता सङ्ग्रामका अन्य नेता र सहिदको जीवनले पनि मलाई प्रेरित गर्न थाल्यो । मलाई लाग्न थाल्यो, मानिसले व्यक्तिगत लाभ मात्र होइन, समाज, देश र मानवताको सेवामा पनि ध्यान दिनुपर्दछ । सके आफ्नो सम्पूर्ण जीवन त्यसका लागि समर्पण गर्नुपर्दछ, त्यति गर्न नसके त्यसका लागि बढीभन्दा बढी योगदान दिनुपर्दछ । समाजको सेवा तथा व्यक्तिगत जीवनका बिचमा सन्तुलन कायम गर्ने प्रयत्न गर्नुपर्दछ ।
मेरा पतिको जीवन पनि अरूले भन्ने गरेजस्तो वा पहिले मैले ठान्ने गरेजस्तो असफल जीवन थिएन । उहाँले आफ्नो सम्पूर्ण जीवन आफ्नो कर्तव्य, भारतको स्वतन्त्रताका लागि समर्पण गर्नुभएको थियो । उहाँको जीवन सेवा र त्यागको जीवन थियो । आदर्शको उच्च जीवन थियो । पहिलेको आफ्नो रूढिवादी दृष्टिकोणका कारणले नै मैले उहाँलाई ठिकसित चिन्न सकेकी थिइनँ । मैले उहाँको जीवनको सही मूल्याङ्कन गर्न सकेकी थिइनँ । मेरा मनमा उहाँप्रति आदरको भावना उत्पन्न भयो । अब मेरो मनमा उहाँप्रति प्रेमको भावना पैदा भएको थियो । मैले साँच्ची नै उहाँलाई प्रेम गर्न थालेँ । मैले आफ्ना मनमा एउटा विस्फोटजस्तै भएको अनुभव गरेँ । त्यो प्रेमको विस्फोट थियो । उहाँबाट टाढा हुँदा मलाई दु:ख लाग्थ्यो । उहाँ छिट्टै भेट्न आए हुन्थ्योजस्तो लाग्थ्यो । उहाँ आउँदा धेरै खुसी लाग्थ्यो । त्यो प्रेममा उहाँको कर्तव्य र त्यागको जीवनप्रतिको मेरो अगाध आस्था र सम्मानको भावना पनि अन्तर्निहित थियो । अब हामी दुवै जना सुखी थियौँ । हामी दुवैजना एकार्कामा मिलेका थियौँ । अब सही अर्थमा हामी एकाकार भएका थियौँ ।
सरस्वतीले देखिनन् तर जलजलाका आँखाबाट आँसु झर्न थालेका थिए । कति मार्मिक थियो, उनको त्यो कथा ? कति पवित्र र सच्चा थियो, उनीहरूका बिचको त्यो प्रेम ¤ त्यो प्रेम कुनै व्यक्तिगत स्वार्थमाथि आधारित थिएन । त्यो देशप्रतिको निस्वार्थ सेवा, त्याग र बलिदानको भावनामाथि आधारित थियो । उनले सरस्वती र उनका पतिका बिचको प्रेममा अजित र आफ्नाबिचको प्रेम प्रतिबिम्बित भएको देखिन् ।”
त्यस सन्दर्भमा उपन्यासमा अगाडि लेखिएको छ– “जलजलाले पनि अजितलाई सम्पूर्ण रूपले प्रेम गर्थिन् । उनीहरू दुवै जना आफ्ना सिद्धान्त, कर्तव्य र आस्थाप्रति समर्पित थिए । उनीहरूको जीवनमा कैयौँ समस्या थिए । विवाद, दु:ख र कष्ट थिए । आर्थिक समस्या थियो । दुवै जनाले भूमिगत रूपले काम गर्दथे । कुनै पनि बेला गिरफ्तारी हुन सक्थ्यो । हत्या हुन सक्थ्यो । उनीहरूले कैयौँ आलोचना र विरोधको सामना गरिरहनु पर्दथ्यो तर यो देखेर उनलाई धेरै नै आश्चर्य र आनन्द पनि लाग्थ्यो, त्यस प्रकारको स्थितिमा पनि उनीहरू अलिकति पनि विचलित नभईकन धैर्य, दृढता र सन्तुलित प्रकारले अगाडि बढिरहने गर्दथे ।
त्यस प्रकारको जीवनबाट उनलाई धेरै प्रेरणा मिल्थ्यो । आफ्नो कर्तव्य पूरा गर्न लगातार अगाडि बढ्न वा आफैलाई पूर्ण रूपले समर्पण गर्न बल पुग्थ्यो । अब उनलाई लाग्न थालेको थियो– कुनै पनि कष्ट, दु:ख, आलोचना, निन्दा, दमन वा संसारको कुनै पनि शक्तिको आक्रमणको उनले हाँसी हाँसी सामना गर्न सक्दथिन् र दृढतापूर्वक आफ्नो कर्तव्यमा अगाडि बढ्न सक्दथिन् । अब उनको मनमा कुनै दु:ख थिएन । डर थिएन । उनको मन फूलको थुँगाजस्तो हलुका थियो । उनी सधैँ ताजा रहन्थिन् । प्रसन्न रहन्थिन् ।”
जलजला आफ्नो कोठामा आइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “आफ्नो कोठामा आएर जलजलाले पुन: अजित र आफ्ना प्रेमबारे सोच्न थालिन् । पहिले ता उनको ध्यान यो कुरातिर गयो, सरस्वती र उनका पति विवाहित दम्पत्ति थिए तर अजित र उनको विवाह भएको थिएन । कुरा त्यो भन्दा गम्भीर र जटिल थियो ।
अजित विवाहित थिए । उनले (जलजलाले) एउटा विवाहित मानिससित प्रेम गरेकी थिइन् । अर्कातिर त्यस्तो विवाहित मान्छेले (अजितले) उनलाई प्रेम गरेका थिए । त्यसरी उनीहरूको प्रेमको धरातल अस्वाभाविक थियो । त्यही कारणले पार्टीले उनीहरू दुवै जनालाई कारबाही गरेको थियो । त्यस अवस्थामा समाजले र पार्टीले यो प्रश्न उठाएको थियो र स्वयम् उनीहरूका अगाडि पनि यो प्रश्न थियो : के उनीहरूको प्रेम सही थियो ? त्यो प्रेमलाई गलत ठहर्याएर नै पार्टीले उनीहरूमाथि कारबाही गरेको थियो । समाजले उनीहरूको निन्दा गरेको थियो । उनीहरू दुवै जनाको चौतर्फी रूपमा टीकाटिप्पणी र निन्दा भएको थियो ।
अहिले त उनीहरू दुवै जनाको सबैतिर टीकाटिप्पणी र आलोचना भइरहेको थियो । निश्चय नै त्यो सिलसिला पछि पनि चलिरहनेछ । उनले मनमनै सोचिन, उनीहरू दुवै जनाको मृत्युपछि पनि उनीहरूलाई जलाउँदा आकाशमा उड्ने धुवाँले पनि उनीहरूको आलोचना र निन्दालाई सबैतिर फैलाइरहनेछ ।
उनीहरूसित त्यो प्रेमलाई सही ठहर्याउनका लागि कुनै आधार थिएन । कुनै तर्क थिएन तैपनि त्योसँग जोडिएका दुईओटा पक्षप्रति उनले कहिल्यै पनि ध्यान हटाउन सक्दिनथिन् : प्रथम– उनीहरू दुवै जनाले एकार्कोलाई अगाध प्रेम गर्दथे† द्वितीय– उनीहरूमाथिको कारबाही आलोचना, टीकाटिप्पणी वा जति निन्दा गरे पनि पार्टी र क्रान्तिप्रतिको उनीहरूको आस्था, उत्साह वा सक्रियतामा कुनै कमी नआउने कुरामा उनीहरूलाई पूरा विश्वास थियो ।
उनीहरूको जीवनकालमा वा उनीहरूको मृत्युपछि पनि उनीहरूको कति आलोचना, टीकाटिप्पणी वा निन्दा हुनेछ ? त्यो उनीहरूको सरोकार वा चिन्ताको विषय थिएन । तत्कालको उनीहरूको चिन्ताको विषय खालि एउटै थियो : जस्तोसुकै अवस्थामा पनि, जस्तोसुकै आलोचना वा अपमानको परिस्थितिमा पनि पार्टी, क्रान्ति, देश र जनता तथा सम्पूर्ण शोषितपीडित जनताको सेवामा लगातार अगाडि बढ्दै जानु र त्यसका लागि आफूलाई सम्पूर्ण रूपले होमिदिनु । उक्त दिशामा उनीहरूले कति योगदान दिन सक्नेछन् वा सक्ने छैनन् ? त्यही नै उनीहरूको चिन्ताको सबैभन्दा प्रधान विषय थियो, अरू विषय उनीहरूका लागि गौण कुरा थिए ।
सरस्वतीको सुनन्दाप्रतिको प्रेमले पनि उनको उच्चस्तरीय मानवीय भावनालाई बताउँछ । उनीसित उनको कुनै नाता पर्दैनथ्यो तैपनि मानिसहरूले उनलाई उनकी भदैको रूपमा नै चिन्दथे । वास्तवमा सरस्वतीले उनलाई आफ्नी भदै मात्र होइन, आफ्नी छोरीजस्तै माया गर्दथिन् । विनाकुनै नातासम्बन्ध सरस्वतीले सुनन्दालाई गरेको त्यस प्रकारको निस्वार्थ मायाले उनको उच्चस्तरीय निस्वार्थ मानवीय भावनालाई नै बताउँथ्यो । उनको त्यो मायालाई रातो लालटिनकी आमाको मायासित तुलना गर्न सकिन्छ यद्यपि दुवै जनाका जीवनका प्रसङ्ग बेग्लाबेग्लै प्रकारका थिए ।
उनी माक्र्सवादी–लेनिनवादी थिइनन् र गान्धीवादी थिइन् । त्यही पनि उनमा व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर उच्च सिद्धान्त र आस्थामाथि विश्वास गर्ने र त्यसका लागि काम गर्नु नै जीवनको सार्थकता भएको उच्च धारणाको विकास भएको थियो । सुनन्दा पहिले गान्धीवादी थिइन्, अब उनी माक्र्सवादी–लेनिनवादी भएकी थिइन् तर त्यो कारणले उनीप्रतिको उनको प्रेममा कुनै कमी आएको थिएन । अजित र सुनन्दाको विवाहको अवसरमा उनीहरू दुवैलाई शुभकामना दिँदै सरस्वतीले प्रकट गरेको यो विचारबाट त्यो कुरा थाहा हुन्छ : मेरा श्रीमानले आफ्नो सम्पूर्ण जीवन देशसेवामा नै समर्पित गर्नुभएको थियो । उहाँ गान्धीवादी हुनुहुन्थ्यो । पहिले मेरी भदै पनि गान्धीवादी थिई । अब त्यो कम्युनिस्ट बनेकी छ । त्यसमा मेरो कुनै विरोध छैन । मलाई के कुरामा विश्वास छ भने उसले जुन विचार लिए पनि आफ्नो सिद्धान्त, आस्था र विश्वासमा जीवनभरि नै ऊ इमानदार, सच्चा र दृढ भइरहनेछ । मेरा श्रीमानमा त्यही गुण थियो । त्यही गुण मेरी भदैमा पनि छ । त्यसैले मैले आफ्नी भदैलाई आफ्नो श्रीमान्को प्रतिरूप भएको ठानेकी छु । मलाई विश्वास छ, मेरी भदैले मेरो श्रीमान्ले जस्तै कुनै व्यक्तिगत स्वार्थ, लाभ वा कुनै डर, दबाबका कारणले कहिल्यै पनि आफ्नो सिद्धान्त र आस्थाको सौदाबाजी गर्ने छैन । त्यसैले मैले उसलाई माया मात्रै गर्दिनँ, उनलाई आदर पनि गर्छु ।
माक्र्सवादबारे मलाई धेरै कुरा थाहा छैन तर पनि यत्ति थाहा छ, त्यसले गरिबदु:खीको सेवा गर्छ । शोषितपीडित जनताको मुक्तिका लागि सङ्घर्ष गर्दछ । मानवताको सेवा गर्दछ । त्यही काममा मेरी भदैले पनि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नेछ भन्ने मैले विश्वास गरेकी छु ।
त्यसपछि उनले अजितप्रति आफ्नो शुभकामना दिँदै भनेकी थिइन्– मैले उहाँ (अजितलाई) धेरै त चिनेकी छैन, उहाँको विषयमा मलाई धेरै ता थाहा छैन तर उहाँबारे मैले जे जति थाहा पाएकी छु, उहाँको विषयमा कतैबाट सुनेर भन्दा उहाँको मुख, चेहरा, भाव र आँखाबाट जे जति चिनेकी छु, उहाँभित्र मेरो श्रीमानको जस्तै आत्मा छ । उहाँले आफ्नो सिद्धान्त र उद्देश्यका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नुभएको छ ।
सरस्वतीले आफ्ना नजिकै आएर उभिएकी सुनन्दाको मुखमा हेरेर भनिन्– मैले जीवनमा धेरै अनुभव गरेकी छु । कैयौँ ठुल्ठुला नेताहरूले पदप्रतिष्ठा र व्यक्तिगत जीवनलाई सुखी बनाउनका लागि आत्मसमर्पण गरेको देखेकी छु । त्यसैले मैले तँलाई (उनले आफ्नी भदैलाई धेरै माया गरेर सम्बोधन गर्दा ‘तँ’ भन्ने गर्दथिन्)… ।
उनले सुनन्दातिर फर्केर भनिन्– मैले तँलाई एउटा सल्लाह वा चेतावनी दिन्छु, जीवनमा सिद्धान्त वा आदर्श सबैभन्दा ठुलो कुरा हो । एक पल्ट आफ्नो सिद्धान्त वा विचारबाट पतित भइस् भने तँ पूरै धरासायी हुनेछस् । त्यस्तो भयो भने ज्वाइँसितको तेरो सम्बन्ध पनि सिसा टुटेजस्तै टुक्रा टुक्रा हुनेछ ।
सरस्वतीले अगाडि भनिन्– त्यो मेरो तँलाई चेतावनी मात्र हो । बुढीआमाको सल्लाह मानेर त्यो कुरालाई सधैँ आफ्नो मुटुमा गाँठो पारेर राख्नू । त्यसले तँलाई जीवनभरि मदत गर्नेछ तर मैले तेरो नसानसालाई चिनेकी छु । तँ चट्टान र बज्रजस्तै छस् भन्ने कुरा मलाई राम्ररी थाहा छ । मैले तेरो आँखामा तेरो सम्पूर्ण चरित्रलाई देखिरहेकी छु । जीवनमा तँलाई कैयौँ दु:खकष्ट र आपत् पर्न सक्नेछन् तर तँ कहिल्यै पनि विचलित र निराश हुने छैनस् भन्ने कुरामा मलाई पूरा विश्वास छ ।
उनी अलिकति अगाडि बढिन् र आफ्नी भदैको हात अजितको हातमा राखिदिँदै भनिन्– “मैले आफ्नी छोरी तपाईंलाई सुम्पेँ । तपाईंहरू दुवै जनाको जीवन सुखमय होस् । तपाईंहरू दुवै जना आफ्नो सिद्धान्त र विश्वासमा दृढ भएर सधैँ साथसाथै अगाडि बढिरहनुहोस् । मेरो यही हार्दिक शुभकामना छ ।”
सुनन्दा र अजित दुवै जनाले दुईतिरबाट सरस्वतीलाई अँगालो हाले र उनले पनि दुवै जनाको काँधमा आफ्नो हात राखिदिए ।
यो भन्नु सायद अप्रासङ्गिक हुने छैन, उपन्यासको सम्पूर्ण सारतत्त्व सरस्वतीको त्यो सङ्क्षिप्त अभिव्यक्तिमा प्रकट भएको थियो । सबै प्रकारका व्यक्तिगत स्वार्थबाट माथि उठेर सम्पूर्ण विश्वको परिवर्तन, एउटा स्वतन्त्र र सुखी संसारको निर्माण तथा पार्टी र क्रान्तिका अगाडि सम्पूर्ण रूपले समर्पणमाथि आधारित प्रेम नै सर्वश्रेष्ठ र आदर्श प्रेम थियो । सम्पूर्ण उपन्यासको कथावस्तु त्यही दिशातिर लक्षित थियो भने पनि सायद फरक पर्ने छैन ।
सिद्धान्तमाथि आधारित उच्च र श्रेष्ठ प्रेमको चर्चा गर्ने बेलामा सरस्वतीकी आमाको चर्चा नगरिएमा निश्चित रूपले प्रेमको त्यो प्रसङ्ग अधुरो नै रहनेछ ।
जब उनकी छोरी सरस्वती आफ्नो पतिलाई छाडेर आइन्, घरका सबै परिवारले उनका बाबा, दाजु र भाउजूले समेत उनलाई हार्दिक स्वागत गरेका थिए तर छोरीको त्यस प्रकारको व्यवहारबाट उनकी आमा अत्यन्त क्रुद्ध बनेकी थिइन् ।
उनी सामान्य गृहस्थी महिला थिइन् तर गान्धी र भारतको स्वतन्त्रता आन्दोलनप्रति उनका मनमा ठुलो आदर र आस्था पनि थियो । उनका ज्वाइँ पनि भारतको स्वतन्त्रता आन्दोलनमा समर्पित नेता थिए । त्यसकारण उनीप्रति पनि उनका मनमा धेरै नै आत्मीयता, आदर वा प्रेमको भावना थियो । त्यसैले आफ्नी छोरीले ज्वाइँलाई छाडेर आएकोमा उनी आफ्नी छोरीमाथि धेरै नै क्रुद्ध भएकी थिइन् र त्यसरी घरमा उनी सबैबाट एक्ली बनेकी थिइन् ।
आमाको उनीप्रतिको त्यस प्रकारको क्रोध र आफ्ना ज्वाइँप्रतिको अगाध आदर र प्रेम भएको कुराको चर्चा गर्दै सरस्वतीले जलजलालाई बताउँछिन्– म माइत पुगेपछि मेरी आमा मेरा अगाडि उभिनुभएको थियो । पहिले उहाँका आँखामा मप्रति धेरै प्रेमको भावना हुन्थ्यो । केही दिन पनि कतैबाट घुमेर आउँदा उहाँले कति स्नेहपूर्वक मेरो स्वागत गर्नुहुन्थ्यो ? मलाई अँगालो हाल्नुहुन्थ्यो तर त्यो दिन उहाँले मलाई अँगालो हाल्न आउनुभएन । म आमालाई अँगालो हाल्न गएँ तर उहाँले मलाई दुईओटा हातले घचेट्नुभयो । म भुइँमा लडेँ तर उहाँ मलाई उठाउन आउनुभएन । मैले आश्चर्य मानेर उहाँलाई हेरेँ । केही डराएँ पनि । उहाँको आँखामा क्रोध थियो । उहाँले एकदम रिसाएर मलाई हेरिरहनु भएको थियो ।
के भयो आमा ? मैले सोधेँ । उहाँ केही नबोलेर जानुभयो । मेरी आमालाई मेरो व्यवहार राम्रो लागेको थिएन । मैले आफ्नो पतिलाई छाडेको उहाँलाई मन परेको थिएन ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “आमा गएपछि म पछिपछि गएँ । मैले सोधेँ, किन रिसाउनुभएको आमा ? उहाँले एउटै वाक्य भन्नुभयो– मैले कस्ती कुलङ्गार छोरी पाएछु ।
बोल्दाबोल्दै सरस्वतीका आँखा रसाउन थाले । उनका आँखामा आँसुका थोपा देखिन थाले । उनले भनिन्– ती कुरा सम्झिँदा मलाई अहिले पनि रुन मन लाग्छ । मैले मेरा पतिको कति धेरै अपमान गरेकी थिएँ ? आफ्नी आमाको कति धेरै चित्त दुखाएकी थिएँ, उनले हातले आफ्नो आँखाका आँसु पुछिन् ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सरस्वतीले अगाडि भनिन्, हाम्रो माइतमा मेरो र मेरो पतिको फोटो थियो । आमाले त्यो फोटोबाट मेरो फोटो कैँचीले काटी फालिदिनुभयो र मेरा पतिको फोटो मात्र बाँकी राख्नुभयो । मेरा पतिको मात्र फोटो बनाउन लगाएर एउटा ठुलो फ्रेम बनाएर आफ्नो कोठामा राख्नुभयो । उहाँको त्यो व्यवहारले बताउँछ, मप्रति उहाँको मनमा कति धेरै घृणा थियो ? उनको आफ्नो छोरीप्रतिको त्यस प्रकारको व्यवहार एउटा असाधारण कुरा थियो ।
त्यस सिलसिलामा सरस्वतीले जलजलालाई अगाडि बताउँदै जान्छिन्– पहिले आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । सबैलाई भन्दा बढी माया गर्नुहुन्थ्यो तर मैले पतिलाई छाडेपछि उहाँले मलाई माया गर्न छाड्नुभयो । मप्रतिको सबै माया ज्वाइँलाई दिनुभयो । उहाँको ज्वाइँसित भेट हुन सक्दैनथ्यो । त्यसैले कोठामा उहाँको फोटो राखेर त्यो मायालाई व्यक्त गर्नुभयो । उहाँ गान्धीको भक्त हुनुहुन्थ्यो । भारतको स्वतन्त्रता आन्दोलनको पक्षपाती हुनुहुन्थ्यो । उहाँ आफ्ना विचारमा दृढ हुनुहुन्थ्यो । त्यसैले उहाँले मेरो पतिलाई पनि समर्थन गर्नुहुन्थ्यो । पहिले उहाँप्रतिको आमाको प्रेम सामान्य प्रकारको थियो तर मैले पतिलाई छाडेर आएपछि ज्वाइँप्रतिको उहाँको माया र आदरले चरम रूप लियो । अब मैले सम्झन्छु, आमा कति धेरै सही हुनुहुन्थ्यो र म कति धेरै गलत थिएँ ? आमाको भावनामा मैले धेरै चोट पुर्याएँ ! त्यसका लागि मलाई धेरै दु:ख छ । त्यसले गर्दा आमाको मायाबाट म वञ्चित भएँ । त्यो मेरो जीवनको सबैभन्दा ठुलो पीडादायक कुरा हो । त्यस कुराले मलाई अहिले पनि पोल्छ ।”
उपन्यासमा अगाडि लेखिएको छ– “सरस्वतीले जलजलालाई आफ्नो कोठामा लगिन् । त्यहाँ भित्तामा टाँगेको एउटा फोटो देखाउँदै भनिन्, त्यो फोटो हेर ।
जलजलाले हेरिन् । त्यो एउटा युवकको फोटो थियो । सिरमा गान्धी टोपी तथा कुर्ता र सुरुवाल लगाएको फोटो । सरस्वतीले भनिन्, त्यो मेरा पतिको फोटो हो । यो मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो । मेरो र मेरा पतिका बिचको प्रेमको अमूल्य निशानी हो । मेरो सारा सम्पत्ति खतम भए पनि, मेरा अरू सबै फोटा समाप्त भए पनि यो एउटा फोटो मसित बाँकी रहेमा म खुसी हुनेछु ।
उनले अगाडि भन्दै गइन्– मेरी आमाले मेरा र मेरा पतिको फोटोबाट मेरो फोटो हटाएर मेरा पतिको मात्र फोटो बनाउनुभयो । यो त्यही फोटो हो । त्यसमा आमाको मप्रतिको माया, मेरा व्यवहारका कारणले उहाँको मनमा मप्रति पैदा भएको घृणा, मेरा पतिप्रतिको उहाँको प्रेम र उहाँका आदर्शप्रति उहाँको उच्च सम्मान आदि सबै एक ठाउँमा मिलेका छन् ।
मैले हेला गरेको मेरो पतिलाई उहाँले बचाएर राखिदिनुभएको थियो । त्यो फोटो मेरो आमाको मलाई सबैभन्दा ठुलो उपहार थियो । त्यो फोटोमा मेरी आमा र मेरा पति दुवै जनाको मप्रतिको प्रेम अन्तर्निहित छ । मैले उहाँहरू दुवै जनाको मप्रतिको सच्चा मायालाई चिन्न सकिनँ । त्यसका लागि मेरा मनमा पैदा भएको पीडा र दु:ख पनि त्यो फोटामा मिलेको छ । त्यसकारण त्यो फोटोसित मेरो जीवन घनिष्ट रूपले जोडिएको छ । त्यसैले त्यो मेरो सबैभन्दा ठुलो सम्पत्ति हो ।”
भन्दाभन्दै उनका आँखाबाट आँसु झरे । जलजलाले भावविभोर भएर ती कुरा सुनिरहिन् । सरस्वतीका आँखाबाट झरिरहेका आँसुलाई एकोहोरो भएर हेरिरहिन् ।
जलजलाका आँखाबाट पनि आँसु झर्न थाले । अब उनले ती आँसु लुकाउने प्रयत्न गरिनन् । सरस्वतीले आएर उनलाई अँगालो हालिन् । दुवै जनाका आँखाबाट साथसाथै आँसु झरिरहेका थिए । ती सामान्य आँसु थिएनन् । ती आँसुले धेरै कुरा बताइरहेका थिए । ती आँसुले उनीहरू दुवै जनालाई धेरै नजिक ल्याएका थिए ।
उपन्यासमा सरस्वतीकी आमाको एकदम सङ्क्षिप्तमा नै चर्चा गरिएको छ तर यो दाबी गरे सायद अत्युक्ति हुने छैन, उनी वास्तवमा उपन्यासकी सबैभन्दा असाधारण पात्र हुन् । उनको त्यस प्रकारको व्यवहारलाई कैयौँ दार्शनिक, मनोवैज्ञानिक वा राजनीतिक दृष्टिकोणबाट व्याख्या वा विश्लेषण गर्न सकिनेछ र त्यसका लागि सायद एउटा सिङ्गै लेख वा पुस्तक नै आवश्यक हुनेछ ।

