• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रेमतत्त्व–३

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–४७ "

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    हर्के र उजेली दुई जना आदर्श क्रान्तिकारी जोडी थिए । उनीहरूको चर्चा गर्दै “का. जलजला” उपन्यासमा लेखिएको छ– “उनीहरूको जोडी आदर्श क्रान्तिकारी जोडी थियो । दुवै जना पार्टी र क्रान्तिका लागि पँरै समर्पित थिए । उनीहरूको दाम्पत्य जीवन क्रान्ति र पार्टीप्रतिको उनीहरूको समर्पण, वैचारिक समानता, शोषित, मिहिनेतकस जनताको सेवा तथा उच्च प्रकारका पारस्परिक प्रेम, सम्मान, समानता र विश्वासमाथि आधारित थियो ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “कुनै बेला हर्के जेलमा पर्दथे, कुनै बेला उजेली । कुनै बेला दुवै जना भँमिगत हुनुपर्दथ्यो । पार्टीको कामको सिलसिलामा उनीहरू देशका टाढाटाढाका भागमा जानुपर्दथ्यो । कैयौँ पल्ट महिनौँसम्म पनि उनीहरूको भेट हुँदैनथ्यो । एकपल्ट ता उजेली तीन वर्षसम्म जेलमा परेकी थिइन् भने हर्के भँमिगत थिए । त्यो बेला पँरै चार वर्षसम्म उनीहरूको भेट हुन पाएको थिएन ।
    “उनीहरू एकार्काबाट टाढा भए पनि उनीहरू दुवै जनाले एकार्कालाई अगाध माया गर्दथे । दुवै जनाले पार्टी र क्रान्तिको काम गरिरहेका हुन्थे । त्यो विश्वासले उनीहरू दुवै जनालाई सन्तोष प्रदान गर्दथ्यो, जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पँरा गर्न प्रेरणा र बल दिन्थ्यो ।”

    उनीहरू दुवै जनाको प्रेम अत्यन्त प्रतिकँल परिस्थितिमा कायम भएको थियो र अगाडि बढेको थियो । हर्केका बाजे कमारा थिए । त्यसरी उनी एउटा कमाराका नाति थिए । त्यसैले गाउँमा उच्च जातका मानिसको कमाराको सन्तान भनेर उनको अपमान गर्दथे । गाउँका मानिसले हर्केबारे जे जस्ता कुरा गरे पनि उजेलीले सानैदेखि हर्केलाई माया गर्थिन् । उनी केही ठुलो भएपछि उनका बाउआमाले उनको विवाह गरिदिन खोजेका थिए । पहिले ता उनले ‘म सानै छु, अहिले मैले विवाह गर्दिन’ भनेर बाउआमालाई तर्काउने कोसिस गरिन् । अन्तमा उनले सिधै भनिदिइन्– ‘मैले विवाह गर्दिनँ । हर्केसित गर्छु नत्र अरू कसैसित गर्दिनँ बरु जनमभरि नै कुमारी भएर बस्दछु ।’

    उनी बस्नेतकी छोरी थिइन् । त्यसैले एउटा कमाराको सन्तानसित विवाह गरिदिने कुरा उनका बाउआमालाई सह्य हुँदैनथ्यो । त्यसैले उनको विवाह पनि भएन ।

    गाउँमा उनीहरू दुवै जनाको प्रेमबारे चर्चा हुन थाल्यो । आखिरमा उनीहरू दुवै जनाले भागेर भारतमा जाने सल्लाह गरे । भागेर जाने दिन ठेगान भयो तर जुन दिन भागेर जाने सल्लाह भएको थियो, त्यो दिन हर्के उजेलीलाई नलगीकन एक्लै भागेर गए । त्यो बेला प्युठानको रातामाटामा प्रगतिशील अध्ययनमण्डलको तर्फबाट जनता शिक्षण शिविर चलिरहेको थियो । संयोगवश हर्के पनि त्यही शिविरमा पुगेर उनले त्यहाँ तीन महिनासम्म राजनीतिक र शारीरिक प्रशिक्षण लिए । त्यसपछि उनी एउटा बेग्लै मान्छे बन्न पुगे– एउटा क्रान्तिकारी युवक । त्यसपछि हर्के र उजेलीको विवाह पनि भयो । उनीहरूको औपचारिक रूपले कुनै विवाह भएन तर कसैले उनीहरूको वैवाहिक सम्बन्धको विरोध पनि गरेनन् । त्यसपछि दुवै जनाको क्रान्तिकारी आन्दोलनमा एउटा महान् यात्राको प्रारम्भ भएको थियो । अब उनीहरू एकार्काका पतिपत्नी मात्र थिएनन्, तर एकार्काका सहयोद्धा पनि थिए ।

    हर्केको त्यस प्रकारको जीवनबारे उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– “शिविरबाट फर्केपछिको हर्केको जीवन एउटा क्रान्तिकारीको जीवन थियो । उनको जीवन लगातार सङ्घर्ष र वर्गसङ्घर्षको जीवन थियो । उनका नामले सबै सामन्त र जालीफटाहा काँप्दथे । प्युठानको नारीकोटको २०१० फागुन २४ गतेको आन्दोलनमा खगुलालका साथै उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यो आन्दोलनमा नारीकोट धारापासीका काले कामी, लीले कामीको पनि सक्रिय भूमिका रहेको थियो । जहाँ पनि वर्गसङ्घर्ष चल्दथ्यो, ती तीनै जना त्यहाँ पुगेका हुन्थे । फटाहाहरू उनीहरूलाई देखेर पहिले नै तर्सन्थे । हर्केको पहलकदमी र नेतृत्वमा जिल्लामा कैयौँ ठुला र साना किसान आन्दोलन चलेका थिए । २०११ सालको भ्रष्टाचार विरोधी आन्दोलनको सिलसिलामा मोहनविक्रम सिंह, खगुलाल, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, सिद्धिमान सिंहहरू गिरफ्तार भएका थिए । त्यो बेला नेपाली कङ्ग्रेसका एक जना कार्यकर्ता हेमराज पण्डित पनि गिरफ्तार भएका थिए ।

    खगुलालसहित कैयौँ साथी गिरफ्तार भएका थिए तर हर्के गिरफ्तारीबाट उम्केका थिए । उनको नाममा वारेन्ट काटिएको थियो । पुलिस उनका पछि लागेका थिए तर उनले प्युठानका गाउँमा जनतालाई सङ्गठित गर्दै हिँडिरहेका हुन्थे ।

    सुनन्दासित कुराकानी गर्दै उजेलीले हाँस्दै भनेकी थिइन्– “गाउँको मुख्येले हर्केलाई जेलमा हाल्ने धम्की दिएपछि मलाई र गाउँलाई छाडेर भाग्ने मानिसमा कति ठुलो परिवर्तन भएको थियो ? उनमा भएको त्यो परिवर्तन क्रान्तिकारी विश्व दृष्टिकोण, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्टका उच्च आदर्शको परिणाम थियो ।”

    उजेलीको त्यो भनाइले हर्केप्रतिको उनको अगाध प्रेम, विश्वास र आदरलाई पनि बताउँथ्यो । सुनन्दाले कैयौँ बेरसम्म उजेलीको मुखमा हेरिरहिन् । उनको त्यो हेराइमा हर्के र उजेली तथा उनीहरूको क्रान्तिप्रतिको समर्पणको भावना त्यसका आधारमा बनेको उनीहरूको असीम प्रेम प्रतिको उनको उच्च भावनालाई बताउँथ्यो ।

    उजेलीले उनीहरूको प्रेमको कुरा थाहा भएपछि त्यसबारे छलफल गर्न गाउँमा एउटा कचहरी बसेको कुरा पनि बताएकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “उनीहरू दुवैका बिचमा प्रेम भएको थाहा पाएर एक पल्ट ता केटाहरूले हर्केलाई बेस्सरी पिटे पनि । त्यो थाहा पाएर उजेली ती सबैसित झगडा गर्न पुगिन् । गाउँमा त्यो ठुलो मुद्दा बन्यो । हर्केलाई पिटेको कुरामा होइन, हर्केले उजेलीलाई प्रेम गरेको कुरामा । गाउँमा कचहरी बस्यो । क्षेत्रीकी छोरीसित प्रेम गरेकाले हर्केलाई एउटा भैँसी, एउटा बोको, तीनओटा बाख्रा जरिवाना गर्ने फैसला भयो ।

    हर्के केही बोलेनन् । उनले चुपचापसित सबै कुरा स्वीकार गरे । अरू उपाय पनि के थियो ? तर त्यो कचहरीमा उजेलीले नडराईकन भनेकी थिइन्– “मैले हर्केसित नै विवाह गर्न सक्छु । मलाई कसले के गर्न सक्छ ? अब पहिलेजस्तो छैन । प्रजातन्त्र आएको छ । कसैमाथि जबर्जस्ती गर्न पाइँदैन ।

    सबैले उनलाई हप्काए । मुख्येले भने– हर्केसित विवाहको कुरा गरिस् भने तिमीहरू दुवै जनालाई जेलमा हालिदिन्छौँ ।” उजेलीले भनेकी थिइन्– “जेलमा हाले पनि मैले हर्केलाई छाड्दिनँ । मर्नुपरे पनि डराउन्न ।

    हर्के कचहरीबाट फर्कंदै थिए । बाटामा उजेली उनलाई कुरेर बसेकी थिइन् । उजेलीलाई देखेर हर्के बाटो छलेर जान खोजेका थिए तर उजेलीले उनको हात समातेर बाटामुनिको एउटा बारीका कुनातिर लगिन् । उनले एउटा निश्चय गरेकी थिइन् । उनले हर्केसित धेरै कुरा गर्न चाहन्थिन् । उनले धेरै सल्लाह गर्न चाहन्थिन् ।

    उनले कुनै ठुलो कदम उठाउने निश्चय गरेकी थिइन् । उनले प्रस्ताव राखिन्– अब हामी गाउँमा नबसौँ भागेर जाऔँ ।

    कहाँ ?

    दिल्ली ।

    उजेलीले भारतमा भागेर जाने कुरा गरिन् । भागेर भारत जाने ? हर्केका लागि त्यो ठुलो कुरा थियो तैपनि हर्केले त्यो कुरा स्वीकार गरे ।त्यही सल्लाह भयो ।

    उजेलीले भनेकी थिइन्– “बाटो खर्चलाई चाहिने पैसा मैले ल्याएर आउँछु । बाटो मैले देखेकी छु । चौकी छलेर कुन बाटो जाने ? मलाई थाहा छ ।

    हर्केले उजेलीको प्रस्तावलाई स्वीकार ता गरे तर घर पुगेपछि उनको मन डरायो । उजेलीलाई विवाह नगर्दै ता उनलाई त्यतिका सजाय भयो, उजेलीसित भागेर गएपछि उनको हालत के होला ? उनको बाँकी रहेको घरजग्गा पनि सर्वस्व हुनेछ । घरमा बुढी आमा थिइन् । उनको अवस्था के होला ? ती सबै कुरा सोचेर उनले उजेलीलाई छाडेर एक्लै भागेर लाहुर जाने निश्चय गरे र उनलाई (उजेलीलाई) थाहा नदिईकन भागे ।”

    त्यसपछि के भयो ? त्यो कुराको पहिल्यै नै उल्लेख भइसकेको छ । शिविरबाट हर्के एउटा क्रान्तिकारी योद्धा भएर गाउँमा फर्केका थिए ।
    नारिकोटको किसान सङ्घर्षपछि शिविर मच्छीमा आएको थियो । त्यहाँ एउटा ठुलो सभा भएको थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “मच्छीको सभाका बेलामा उनी सभामा गइनन् र कान्छा नेवारको घरमा बसेकी थिइन् । उनले मनमनै सोचेकी थिइन्– म त्यसलाई भेट्न किन जाने ? मलाई छाडेर जाने मान्छे । मेरो माया लागे मलाई भेट्न हर्के आफै आउनुपर्दछ ।

    नभन्दै हर्के आफै उनलाई भेट्न कान्छा नेवारको घरमा आए । सिद्धिमान पनि शिविरमा गएका थिए । शिविरभरि सबैलाई उजेली र हर्केका प्रेमबारे थाहा थियो । हर्केले उजेली ओखरकोट गाउँबाट मच्छी आएको देखेका थिए तर उनी (उजेली) सभामा नआएको देखेर उनलाई केही आश्चर्य लागेको थियो । उनले यताउता सोधे र उजेली कान्छा नेवारको घरमा बसेको थाहा पाएका थिए । त्यसपछि जगत् हर्केलाई लगेर त्यहाँ गएका थिए । हर्केलाई अकस्मात् आफ्ना अगाडि देखेर उनी धेरै खुसी भइन् तर केही बोलिनन् । हर्के पनि धेरै बेरसम्म बोलेनन् ।

    म तपाईंलाई छाडेर भागेकोमा मलाई माफ गर्नुहोला । म लाहुर गइनँ । शिविरसित भेट भयो । अब म फर्केर आएको छु—हर्केले भने । हर्केको कुराको उजेलीले कुनै जबाफ दिएकी थिइनन् । अब हर्के फर्केर आएको छ । नयाँ हर्के भएर आएको छ । उनी खुसी भइन् । उनी एकैपल्ट बरर आँसु झारेर रुन थालिन् ।

    तिमीहरूले एकक्षण कुरा गर—त्यति भनेर जगत् त्यहाँबाट गए । उजेलीले झम्टेझैँ गरेर हर्केलाई अँगालो हालिन् । हर्केले पनि उनलाई अँगालो हाले । दुवै जना आपसमा बोलेका थिएनन् तर नबोलीकन पनि उनीहरूले आपसमा धेरै कुरा गरिरहेका थिए । अब उनीहरूभित्रको पहिलेदेखिको दु:ख, पीडा र रिस हटिसकेको थियो । आकाश निर्मल थियो । त्योभन्दा निर्मल थियो, उनीहरू दुवैको बिचको प्रेम ।

    माथि अजित, जलजला र सुनन्दाको प्रेम प्रसङ्गको जुन चर्चा गरियो, तिनीहरूको सम्बन्ध कम्युनिस्ट आन्दोलनसित नै रहेको छ । उनीहरूले पार्टी र क्रान्तिप्रति आफैलाई पूरै समर्पण गरेका हुन्छन् र त्यसमाथि नै उनीहरूको प्रेम टिकेको हुन्छ तर उपन्यासमा एउटा अर्को प्रकारको प्रेमको पनि चर्चा गरिएको छ, जसको सम्बन्ध कुनै पनि अवस्थामा माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा कम्युनिस्ट आन्दोलनसित रहेको छैन । त्यस प्रकारको प्रेमको एउटा उदाहरण सरस्वतीको आफ्नो पति र सुनन्दाप्रतिको प्रेम नै हो । पछि त्यो प्रेम अजितप्रति पनि प्रकट हुन्छ ।

    सरस्वती एउटा उच्च घरानाकी छोरी थिइन् र उनको विवाह पनि एउटा उच्च घरका युवकसित भएको थियो । उनका ससुरा ब्रिटिस शासनका एउटा उच्च अधिकारी थिए तर उनका पछि भारतीय स्वतन्त्रता आन्दोलनका समर्पित गान्धीवादी कार्यकर्ता थिए । त्यसैले उनले आफ्ना छोरालाई घरबाट निकालिदिएका थिए र आफ्ना पतिसहित सरस्वती सडकमा आउनुपरेको थियो ।

    सरस्वती सम्पन्न परिवारमा हुर्केकी व्यक्ति थिइन् । त्यसकारण आफ्ना पतिसित उनले जुन प्रकारको अभाव र गरिबीको जीवन बिताउनुपरेको थियो, त्यो उनका लागि सह्य थिएन । त्यसकारण उनी आफ्नो पतिलाई छाडेर माइत गएर बस्न थालिन् तर माइतमा उनकी आमा र पिताको समेत मृत्यु भएपछि उनी त्यहाँ बस्न सकिनन् र उनी पुन: आफ्नो पतिकहाँ नै आएर बस्न थालिन् । त्यसपछि उनको दृष्टिकोणमा पनि पूरै परिवर्तन भएको थियो । उनी पनि आफ्नो पतिजस्तै गान्धीवादी बनिन् र आफ्नो पतिलाई पूरै प्रेम तथा भारतीय स्वतन्त्रता आन्दोलनलाई पूरै समर्थन गर्न थालिन् । उनका पतिको अब मृत्यु भइसकेको थियो तैपनि पहिले आफ्नो पतिलाई छाडेर माइत गएकोमा उनको मनमा ठुलो पश्चात्ताप थियो र उनले अहिले पनि आफ्नो पतिलाई धेरै सम्झन्थिन् ।”

    उनका ससुराले उनीहरूलाई घरबाट निकालिदिएपछि उनको मनस्थिति कुन प्रकारको थियो ? त्यसबारे उपन्यासमा विस्तारपूर्वक चर्चा गरिएको छ । लखनऊको कुर्माञ्चलको सरस्वतीको घरमा जलजला र सरस्वती सँगै बसेका थिए । सरस्वतीले आफ्नो पतिसित आफ्नो सम्बन्धबारे उनलाई बताउँदै थिइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “मेरो पिताले मेरा पति एउटा ठुलो र धनी अफिसरको छोरा भएकाले उहाँसित मेरो विवाह गर्दिनुभएको थियो तर अब उहाँको त्यो हैसियत थिएन । उहाँ सडकको मान्छे बन्नुभएको थियो । सडक छाप मान्छे । त्यो बेला मलाई पनि लागेको थियो । अब मेरो भविष्य अध्यारो भएको थियो । मेरो सम्पूर्ण जीवन अनिश्चित बनेको थियो । बर्बाद भएको थियो । त्यसरी मलाई उहाँसित जीवन बिताउन गाह्रो लाग्यो ।

    एउटा सानो डेरा । सानो कोठामा बिस्तरा र भान्सा । ट्वाइलेटका लागि बाहिर जानुपर्दथ्यो । लाइन लाग्नुपर्दथ्यो । उहाँसित सँगै बस्न पनि गाह्रो लाग्थ्यो । उहाँसित झगडा भइरहन्थ्यो । मैले बारम्बार राजनीति छाडेर घरमा फर्केर जाने कुरा गर्दथे । देश, स्वतन्त्रता—ती सबै कुरा किन चाहिए ? पहिले आफैलाई हेर्नुपर्दछ । आफ्नो भविष्य हेर्नुपर्दछ । अङ्ग्रेजका विरुद्ध सङ्घर्ष, त्यसलाई देशबाट हटाउने—यो कहिल्यै हुन नसक्ने काम हो । यति ठुलो शक्तिसित लड्न सकिन्छ ? संसारभरि त्यसको राज्य थियो । त्यसका विरुद्ध लडेर साध्य लाग्छ ? मैले भनिरहन्थेँ । उहाँले सुनिरहनुहुन्थ्यो तर आफ्नो काम छाड्नुहुँदैनथ्यो । लगातार उनै कुरा : देश, स्वतन्त्रता, गान्धी, सत्य, अहिंसा । उहाँको भविष्यमा भारतबाहेक केही थिएन । भारतको स्वतन्त्रताबाहेक उहाँले अरू केही सोच्नुहुँदैनथ्यो । मलाई उहाँको अलिकति पनि आदर गर्न मन लाग्दैनथ्यो । अलिकति पनि माया लाग्दैनथ्यो ।”

    पछि उनको दृष्टिकोणमा कुन प्रकारको परिवर्तन भएको थियो ? त्यसबारे सरस्वतीको कथनको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदलिँदै गयो । सरला बहनको जीवनले मलाई धेरै नै प्रभावित पार्‍यो । एउटी विदेशी महिला । स्विडेनजस्तो विकसित देशमा हुर्केकी र पढेकी महिला । उहाँले आफ्नो सम्पूर्ण जीवन मानवसेवाका लागि समर्पण गर्नुभएको थियो । व्यक्तिगत जीवनमा कुनै लाभका लागि ता उहाँले कहिल्यै कुनै प्रयत्न गर्नुभएको थिएन । पछि गान्धीको जीवनले पनि मलाई धेरै प्रभाव पार्‍यो । भारतीय स्वतन्त्रता सङ्ग्रामका अन्य नेता र सहिदको जीवनले पनि मलाई प्रेरित गर्न थाल्यो । मलाई लाग्न थाल्यो, मानिसले व्यक्तिगत लाभ मात्र होइन, समाज, देश र मानवताको सेवामा पनि ध्यान दिनुपर्दछ । सके आफ्नो सम्पूर्ण जीवन त्यसका लागि समर्पण गर्नुपर्दछ, त्यति गर्न नसके त्यसका लागि बढीभन्दा बढी योगदान दिनुपर्दछ । समाजको सेवा तथा व्यक्तिगत जीवनका बिचमा सन्तुलन कायम गर्ने प्रयत्न गर्नुपर्दछ ।

    मेरा पतिको जीवन पनि अरूले भन्ने गरेजस्तो वा पहिले मैले ठान्ने गरेजस्तो असफल जीवन थिएन । उहाँले आफ्नो सम्पूर्ण जीवन आफ्नो कर्तव्य, भारतको स्वतन्त्रताका लागि समर्पण गर्नुभएको थियो । उहाँको जीवन सेवा र त्यागको जीवन थियो । आदर्शको उच्च जीवन थियो । पहिलेको आफ्नो रूढिवादी दृष्टिकोणका कारणले नै मैले उहाँलाई ठिकसित चिन्न सकेकी थिइनँ । मैले उहाँको जीवनको सही मूल्याङ्कन गर्न सकेकी थिइनँ । मेरा मनमा उहाँप्रति आदरको भावना उत्पन्न भयो । अब मेरो मनमा उहाँप्रति प्रेमको भावना पैदा भएको थियो । मैले साँच्ची नै उहाँलाई प्रेम गर्न थालेँ । मैले आफ्ना मनमा एउटा विस्फोटजस्तै भएको अनुभव गरेँ । त्यो प्रेमको विस्फोट थियो । उहाँबाट टाढा हुँदा मलाई दु:ख लाग्थ्यो । उहाँ छिट्टै भेट्न आए हुन्थ्योजस्तो लाग्थ्यो । उहाँ आउँदा धेरै खुसी लाग्थ्यो । त्यो प्रेममा उहाँको कर्तव्य र त्यागको जीवनप्रतिको मेरो अगाध आस्था र सम्मानको भावना पनि अन्तर्निहित थियो । अब हामी दुवै जना सुखी थियौँ । हामी दुवैजना एकार्कामा मिलेका थियौँ । अब सही अर्थमा हामी एकाकार भएका थियौँ ।

    सरस्वतीले देखिनन् तर जलजलाका आँखाबाट आँसु झर्न थालेका थिए । कति मार्मिक थियो, उनको त्यो कथा ? कति पवित्र र सच्चा थियो, उनीहरूका बिचको त्यो प्रेम ¤ त्यो प्रेम कुनै व्यक्तिगत स्वार्थमाथि आधारित थिएन । त्यो देशप्रतिको निस्वार्थ सेवा, त्याग र बलिदानको भावनामाथि आधारित थियो । उनले सरस्वती र उनका पतिका बिचको प्रेममा अजित र आफ्नाबिचको प्रेम प्रतिबिम्बित भएको देखिन् ।”
    त्यस सन्दर्भमा उपन्यासमा अगाडि लेखिएको छ– “जलजलाले पनि अजितलाई सम्पूर्ण रूपले प्रेम गर्थिन् । उनीहरू दुवै जना आफ्ना सिद्धान्त, कर्तव्य र आस्थाप्रति समर्पित थिए । उनीहरूको जीवनमा कैयौँ समस्या थिए । विवाद, दु:ख र कष्ट थिए । आर्थिक समस्या थियो । दुवै जनाले भूमिगत रूपले काम गर्दथे । कुनै पनि बेला गिरफ्तारी हुन सक्थ्यो । हत्या हुन सक्थ्यो । उनीहरूले कैयौँ आलोचना र विरोधको सामना गरिरहनु पर्दथ्यो तर यो देखेर उनलाई धेरै नै आश्चर्य र आनन्द पनि लाग्थ्यो, त्यस प्रकारको स्थितिमा पनि उनीहरू अलिकति पनि विचलित नभईकन धैर्य, दृढता र सन्तुलित प्रकारले अगाडि बढिरहने गर्दथे ।

    त्यस प्रकारको जीवनबाट उनलाई धेरै प्रेरणा मिल्थ्यो । आफ्नो कर्तव्य पूरा गर्न लगातार अगाडि बढ्न वा आफैलाई पूर्ण रूपले समर्पण गर्न बल पुग्थ्यो । अब उनलाई लाग्न थालेको थियो– कुनै पनि कष्ट, दु:ख, आलोचना, निन्दा, दमन वा संसारको कुनै पनि शक्तिको आक्रमणको उनले हाँसी हाँसी सामना गर्न सक्दथिन् र दृढतापूर्वक आफ्नो कर्तव्यमा अगाडि बढ्न सक्दथिन् । अब उनको मनमा कुनै दु:ख थिएन । डर थिएन । उनको मन फूलको थुँगाजस्तो हलुका थियो । उनी सधैँ ताजा रहन्थिन् । प्रसन्न रहन्थिन् ।”

    जलजला आफ्नो कोठामा आइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “आफ्नो कोठामा आएर जलजलाले पुन: अजित र आफ्ना प्रेमबारे सोच्न थालिन् । पहिले ता उनको ध्यान यो कुरातिर गयो, सरस्वती र उनका पति विवाहित दम्पत्ति थिए तर अजित र उनको विवाह भएको थिएन । कुरा त्यो भन्दा गम्भीर र जटिल थियो ।

    अजित विवाहित थिए । उनले (जलजलाले) एउटा विवाहित मानिससित प्रेम गरेकी थिइन् । अर्कातिर त्यस्तो विवाहित मान्छेले (अजितले) उनलाई प्रेम गरेका थिए । त्यसरी उनीहरूको प्रेमको धरातल अस्वाभाविक थियो । त्यही कारणले पार्टीले उनीहरू दुवै जनालाई कारबाही गरेको थियो । त्यस अवस्थामा समाजले र पार्टीले यो प्रश्न उठाएको थियो र स्वयम् उनीहरूका अगाडि पनि यो प्रश्न थियो : के उनीहरूको प्रेम सही थियो ? त्यो प्रेमलाई गलत ठहर्‍याएर नै पार्टीले उनीहरूमाथि कारबाही गरेको थियो । समाजले उनीहरूको निन्दा गरेको थियो । उनीहरू दुवै जनाको चौतर्फी रूपमा टीकाटिप्पणी र निन्दा भएको थियो ।

    अहिले त उनीहरू दुवै जनाको सबैतिर टीकाटिप्पणी र आलोचना भइरहेको थियो । निश्चय नै त्यो सिलसिला पछि पनि चलिरहनेछ । उनले मनमनै सोचिन, उनीहरू दुवै जनाको मृत्युपछि पनि उनीहरूलाई जलाउँदा आकाशमा उड्ने धुवाँले पनि उनीहरूको आलोचना र निन्दालाई सबैतिर फैलाइरहनेछ ।

    उनीहरूसित त्यो प्रेमलाई सही ठहर्‍याउनका लागि कुनै आधार थिएन । कुनै तर्क थिएन तैपनि त्योसँग जोडिएका दुईओटा पक्षप्रति उनले कहिल्यै पनि ध्यान हटाउन सक्दिनथिन् : प्रथम– उनीहरू दुवै जनाले एकार्कोलाई अगाध प्रेम गर्दथे† द्वितीय– उनीहरूमाथिको कारबाही आलोचना, टीकाटिप्पणी वा जति निन्दा गरे पनि पार्टी र क्रान्तिप्रतिको उनीहरूको आस्था, उत्साह वा सक्रियतामा कुनै कमी नआउने कुरामा उनीहरूलाई पूरा विश्वास थियो ।

    उनीहरूको जीवनकालमा वा उनीहरूको मृत्युपछि पनि उनीहरूको कति आलोचना, टीकाटिप्पणी वा निन्दा हुनेछ ? त्यो उनीहरूको सरोकार वा चिन्ताको विषय थिएन । तत्कालको उनीहरूको चिन्ताको विषय खालि एउटै थियो : जस्तोसुकै अवस्थामा पनि, जस्तोसुकै आलोचना वा अपमानको परिस्थितिमा पनि पार्टी, क्रान्ति, देश र जनता तथा सम्पूर्ण शोषितपीडित जनताको सेवामा लगातार अगाडि बढ्दै जानु र त्यसका लागि आफूलाई सम्पूर्ण रूपले होमिदिनु । उक्त दिशामा उनीहरूले कति योगदान दिन सक्नेछन् वा सक्ने छैनन् ? त्यही नै उनीहरूको चिन्ताको सबैभन्दा प्रधान विषय थियो, अरू विषय उनीहरूका लागि गौण कुरा थिए ।

    सरस्वतीको सुनन्दाप्रतिको प्रेमले पनि उनको उच्चस्तरीय मानवीय भावनालाई बताउँछ । उनीसित उनको कुनै नाता पर्दैनथ्यो तैपनि मानिसहरूले उनलाई उनकी भदैको रूपमा नै चिन्दथे । वास्तवमा सरस्वतीले उनलाई आफ्नी भदै मात्र होइन, आफ्नी छोरीजस्तै माया गर्दथिन् । विनाकुनै नातासम्बन्ध सरस्वतीले सुनन्दालाई गरेको त्यस प्रकारको निस्वार्थ मायाले उनको उच्चस्तरीय निस्वार्थ मानवीय भावनालाई नै बताउँथ्यो । उनको त्यो मायालाई रातो लालटिनकी आमाको मायासित तुलना गर्न सकिन्छ यद्यपि दुवै जनाका जीवनका प्रसङ्ग बेग्लाबेग्लै प्रकारका थिए ।

    उनी माक्र्सवादी–लेनिनवादी थिइनन् र गान्धीवादी थिइन् । त्यही पनि उनमा व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर उच्च सिद्धान्त र आस्थामाथि विश्वास गर्ने र त्यसका लागि काम गर्नु नै जीवनको सार्थकता भएको उच्च धारणाको विकास भएको थियो । सुनन्दा पहिले गान्धीवादी थिइन्, अब उनी माक्र्सवादी–लेनिनवादी भएकी थिइन् तर त्यो कारणले उनीप्रतिको उनको प्रेममा कुनै कमी आएको थिएन । अजित र सुनन्दाको विवाहको अवसरमा उनीहरू दुवैलाई शुभकामना दिँदै सरस्वतीले प्रकट गरेको यो विचारबाट त्यो कुरा थाहा हुन्छ : मेरा श्रीमानले आफ्नो सम्पूर्ण जीवन देशसेवामा नै समर्पित गर्नुभएको थियो । उहाँ गान्धीवादी हुनुहुन्थ्यो । पहिले मेरी भदै पनि गान्धीवादी थिई । अब त्यो कम्युनिस्ट बनेकी छ । त्यसमा मेरो कुनै विरोध छैन । मलाई के कुरामा विश्वास छ भने उसले जुन विचार लिए पनि आफ्नो सिद्धान्त, आस्था र विश्वासमा जीवनभरि नै ऊ इमानदार, सच्चा र दृढ भइरहनेछ । मेरा श्रीमानमा त्यही गुण थियो । त्यही गुण मेरी भदैमा पनि छ । त्यसैले मैले आफ्नी भदैलाई आफ्नो श्रीमान्को प्रतिरूप भएको ठानेकी छु । मलाई विश्वास छ, मेरी भदैले मेरो श्रीमान्ले जस्तै कुनै व्यक्तिगत स्वार्थ, लाभ वा कुनै डर, दबाबका कारणले कहिल्यै पनि आफ्नो सिद्धान्त र आस्थाको सौदाबाजी गर्ने छैन । त्यसैले मैले उसलाई माया मात्रै गर्दिनँ, उनलाई आदर पनि गर्छु ।

    माक्र्सवादबारे मलाई धेरै कुरा थाहा छैन तर पनि यत्ति थाहा छ, त्यसले गरिबदु:खीको सेवा गर्छ । शोषितपीडित जनताको मुक्तिका लागि सङ्घर्ष गर्दछ । मानवताको सेवा गर्दछ । त्यही काममा मेरी भदैले पनि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नेछ भन्ने मैले विश्वास गरेकी छु ।
    त्यसपछि उनले अजितप्रति आफ्नो शुभकामना दिँदै भनेकी थिइन्– मैले उहाँ (अजितलाई) धेरै त चिनेकी छैन, उहाँको विषयमा मलाई धेरै ता थाहा छैन तर उहाँबारे मैले जे जति थाहा पाएकी छु, उहाँको विषयमा कतैबाट सुनेर भन्दा उहाँको मुख, चेहरा, भाव र आँखाबाट जे जति चिनेकी छु, उहाँभित्र मेरो श्रीमानको जस्तै आत्मा छ । उहाँले आफ्नो सिद्धान्त र उद्देश्यका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नुभएको छ ।

    सरस्वतीले आफ्ना नजिकै आएर उभिएकी सुनन्दाको मुखमा हेरेर भनिन्– मैले जीवनमा धेरै अनुभव गरेकी छु । कैयौँ ठुल्ठुला नेताहरूले पदप्रतिष्ठा र व्यक्तिगत जीवनलाई सुखी बनाउनका लागि आत्मसमर्पण गरेको देखेकी छु । त्यसैले मैले तँलाई (उनले आफ्नी भदैलाई धेरै माया गरेर सम्बोधन गर्दा ‘तँ’ भन्ने गर्दथिन्)… ।

    उनले सुनन्दातिर फर्केर भनिन्– मैले तँलाई एउटा सल्लाह वा चेतावनी दिन्छु, जीवनमा सिद्धान्त वा आदर्श सबैभन्दा ठुलो कुरा हो । एक पल्ट आफ्नो सिद्धान्त वा विचारबाट पतित भइस् भने तँ पूरै धरासायी हुनेछस् । त्यस्तो भयो भने ज्वाइँसितको तेरो सम्बन्ध पनि सिसा टुटेजस्तै टुक्रा टुक्रा हुनेछ ।

    सरस्वतीले अगाडि भनिन्– त्यो मेरो तँलाई चेतावनी मात्र हो । बुढीआमाको सल्लाह मानेर त्यो कुरालाई सधैँ आफ्नो मुटुमा गाँठो पारेर राख्नू । त्यसले तँलाई जीवनभरि मदत गर्नेछ तर मैले तेरो नसानसालाई चिनेकी छु । तँ चट्टान र बज्रजस्तै छस् भन्ने कुरा मलाई राम्ररी थाहा छ । मैले तेरो आँखामा तेरो सम्पूर्ण चरित्रलाई देखिरहेकी छु । जीवनमा तँलाई कैयौँ दु:खकष्ट र आपत् पर्न सक्नेछन् तर तँ कहिल्यै पनि विचलित र निराश हुने छैनस् भन्ने कुरामा मलाई पूरा विश्वास छ ।

    उनी अलिकति अगाडि बढिन् र आफ्नी भदैको हात अजितको हातमा राखिदिँदै भनिन्– “मैले आफ्नी छोरी तपाईंलाई सुम्पेँ । तपाईंहरू दुवै जनाको जीवन सुखमय होस् । तपाईंहरू दुवै जना आफ्नो सिद्धान्त र विश्वासमा दृढ भएर सधैँ साथसाथै अगाडि बढिरहनुहोस् । मेरो यही हार्दिक शुभकामना छ ।”

    सुनन्दा र अजित दुवै जनाले दुईतिरबाट सरस्वतीलाई अँगालो हाले र उनले पनि दुवै जनाको काँधमा आफ्नो हात राखिदिए ।

    यो भन्नु सायद अप्रासङ्गिक हुने छैन, उपन्यासको सम्पूर्ण सारतत्त्व सरस्वतीको त्यो सङ्क्षिप्त अभिव्यक्तिमा प्रकट भएको थियो । सबै प्रकारका व्यक्तिगत स्वार्थबाट माथि उठेर सम्पूर्ण विश्वको परिवर्तन, एउटा स्वतन्त्र र सुखी संसारको निर्माण तथा पार्टी र क्रान्तिका अगाडि सम्पूर्ण रूपले समर्पणमाथि आधारित प्रेम नै सर्वश्रेष्ठ र आदर्श प्रेम थियो । सम्पूर्ण उपन्यासको कथावस्तु त्यही दिशातिर लक्षित थियो भने पनि सायद फरक पर्ने छैन ।

    सिद्धान्तमाथि आधारित उच्च र श्रेष्ठ प्रेमको चर्चा गर्ने बेलामा सरस्वतीकी आमाको चर्चा नगरिएमा निश्चित रूपले प्रेमको त्यो प्रसङ्ग अधुरो नै रहनेछ ।

    जब उनकी छोरी सरस्वती आफ्नो पतिलाई छाडेर आइन्, घरका सबै परिवारले उनका बाबा, दाजु र भाउजूले समेत उनलाई हार्दिक स्वागत गरेका थिए तर छोरीको त्यस प्रकारको व्यवहारबाट उनकी आमा अत्यन्त क्रुद्ध बनेकी थिइन् ।

    उनी सामान्य गृहस्थी महिला थिइन् तर गान्धी र भारतको स्वतन्त्रता आन्दोलनप्रति उनका मनमा ठुलो आदर र आस्था पनि थियो । उनका ज्वाइँ पनि भारतको स्वतन्त्रता आन्दोलनमा समर्पित नेता थिए । त्यसकारण उनीप्रति पनि उनका मनमा धेरै नै आत्मीयता, आदर वा प्रेमको भावना थियो । त्यसैले आफ्नी छोरीले ज्वाइँलाई छाडेर आएकोमा उनी आफ्नी छोरीमाथि धेरै नै क्रुद्ध भएकी थिइन् र त्यसरी घरमा उनी सबैबाट एक्ली बनेकी थिइन् ।

    आमाको उनीप्रतिको त्यस प्रकारको क्रोध र आफ्ना ज्वाइँप्रतिको अगाध आदर र प्रेम भएको कुराको चर्चा गर्दै सरस्वतीले जलजलालाई बताउँछिन्– म माइत पुगेपछि मेरी आमा मेरा अगाडि उभिनुभएको थियो । पहिले उहाँका आँखामा मप्रति धेरै प्रेमको भावना हुन्थ्यो । केही दिन पनि कतैबाट घुमेर आउँदा उहाँले कति स्नेहपूर्वक मेरो स्वागत गर्नुहुन्थ्यो ? मलाई अँगालो हाल्नुहुन्थ्यो तर त्यो दिन उहाँले मलाई अँगालो हाल्न आउनुभएन । म आमालाई अँगालो हाल्न गएँ तर उहाँले मलाई दुईओटा हातले घचेट्नुभयो । म भुइँमा लडेँ तर उहाँ मलाई उठाउन आउनुभएन । मैले आश्चर्य मानेर उहाँलाई हेरेँ । केही डराएँ पनि । उहाँको आँखामा क्रोध थियो । उहाँले एकदम रिसाएर मलाई हेरिरहनु भएको थियो ।

    के भयो आमा ? मैले सोधेँ । उहाँ केही नबोलेर जानुभयो । मेरी आमालाई मेरो व्यवहार राम्रो लागेको थिएन । मैले आफ्नो पतिलाई छाडेको उहाँलाई मन परेको थिएन ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “आमा गएपछि म पछिपछि गएँ । मैले सोधेँ, किन रिसाउनुभएको आमा ? उहाँले एउटै वाक्य भन्नुभयो– मैले कस्ती कुलङ्गार छोरी पाएछु ।

    बोल्दाबोल्दै सरस्वतीका आँखा रसाउन थाले । उनका आँखामा आँसुका थोपा देखिन थाले । उनले भनिन्– ती कुरा सम्झिँदा मलाई अहिले पनि रुन मन लाग्छ । मैले मेरा पतिको कति धेरै अपमान गरेकी थिएँ ? आफ्नी आमाको कति धेरै चित्त दुखाएकी थिएँ, उनले हातले आफ्नो आँखाका आँसु पुछिन् ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सरस्वतीले अगाडि भनिन्, हाम्रो माइतमा मेरो र मेरो पतिको फोटो थियो । आमाले त्यो फोटोबाट मेरो फोटो कैँचीले काटी फालिदिनुभयो र मेरा पतिको फोटो मात्र बाँकी राख्नुभयो । मेरा पतिको मात्र फोटो बनाउन लगाएर एउटा ठुलो फ्रेम बनाएर आफ्नो कोठामा राख्नुभयो । उहाँको त्यो व्यवहारले बताउँछ, मप्रति उहाँको मनमा कति धेरै घृणा थियो ? उनको आफ्नो छोरीप्रतिको त्यस प्रकारको व्यवहार एउटा असाधारण कुरा थियो ।

    त्यस सिलसिलामा सरस्वतीले जलजलालाई अगाडि बताउँदै जान्छिन्– पहिले आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । सबैलाई भन्दा बढी माया गर्नुहुन्थ्यो तर मैले पतिलाई छाडेपछि उहाँले मलाई माया गर्न छाड्नुभयो । मप्रतिको सबै माया ज्वाइँलाई दिनुभयो । उहाँको ज्वाइँसित भेट हुन सक्दैनथ्यो । त्यसैले कोठामा उहाँको फोटो राखेर त्यो मायालाई व्यक्त गर्नुभयो । उहाँ गान्धीको भक्त हुनुहुन्थ्यो । भारतको स्वतन्त्रता आन्दोलनको पक्षपाती हुनुहुन्थ्यो । उहाँ आफ्ना विचारमा दृढ हुनुहुन्थ्यो । त्यसैले उहाँले मेरो पतिलाई पनि समर्थन गर्नुहुन्थ्यो । पहिले उहाँप्रतिको आमाको प्रेम सामान्य प्रकारको थियो तर मैले पतिलाई छाडेर आएपछि ज्वाइँप्रतिको उहाँको माया र आदरले चरम रूप लियो । अब मैले सम्झन्छु, आमा कति धेरै सही हुनुहुन्थ्यो र म कति धेरै गलत थिएँ ? आमाको भावनामा मैले धेरै चोट पुर्‍याएँ ! त्यसका लागि मलाई धेरै दु:ख छ । त्यसले गर्दा आमाको मायाबाट म वञ्चित भएँ । त्यो मेरो जीवनको सबैभन्दा ठुलो पीडादायक कुरा हो । त्यस कुराले मलाई अहिले पनि पोल्छ ।”

    उपन्यासमा अगाडि लेखिएको छ– “सरस्वतीले जलजलालाई आफ्नो कोठामा लगिन् । त्यहाँ भित्तामा टाँगेको एउटा फोटो देखाउँदै भनिन्, त्यो फोटो हेर ।

    जलजलाले हेरिन् । त्यो एउटा युवकको फोटो थियो । सिरमा गान्धी टोपी तथा कुर्ता र सुरुवाल लगाएको फोटो । सरस्वतीले भनिन्, त्यो मेरा पतिको फोटो हो । यो मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो । मेरो र मेरा पतिका बिचको प्रेमको अमूल्य निशानी हो । मेरो सारा सम्पत्ति खतम भए पनि, मेरा अरू सबै फोटा समाप्त भए पनि यो एउटा फोटो मसित बाँकी रहेमा म खुसी हुनेछु ।

    उनले अगाडि भन्दै गइन्– मेरी आमाले मेरा र मेरा पतिको फोटोबाट मेरो फोटो हटाएर मेरा पतिको मात्र फोटो बनाउनुभयो । यो त्यही फोटो हो । त्यसमा आमाको मप्रतिको माया, मेरा व्यवहारका कारणले उहाँको मनमा मप्रति पैदा भएको घृणा, मेरा पतिप्रतिको उहाँको प्रेम र उहाँका आदर्शप्रति उहाँको उच्च सम्मान आदि सबै एक ठाउँमा मिलेका छन् ।

    मैले हेला गरेको मेरो पतिलाई उहाँले बचाएर राखिदिनुभएको थियो । त्यो फोटो मेरो आमाको मलाई सबैभन्दा ठुलो उपहार थियो । त्यो फोटोमा मेरी आमा र मेरा पति दुवै जनाको मप्रतिको प्रेम अन्तर्निहित छ । मैले उहाँहरू दुवै जनाको मप्रतिको सच्चा मायालाई चिन्न सकिनँ । त्यसका लागि मेरा मनमा पैदा भएको पीडा र दु:ख पनि त्यो फोटामा मिलेको छ । त्यसकारण त्यो फोटोसित मेरो जीवन घनिष्ट रूपले जोडिएको छ । त्यसैले त्यो मेरो सबैभन्दा ठुलो सम्पत्ति हो ।”

    भन्दाभन्दै उनका आँखाबाट आँसु झरे । जलजलाले भावविभोर भएर ती कुरा सुनिरहिन् । सरस्वतीका आँखाबाट झरिरहेका आँसुलाई एकोहोरो भएर हेरिरहिन् ।

    जलजलाका आँखाबाट पनि आँसु झर्न थाले । अब उनले ती आँसु लुकाउने प्रयत्न गरिनन् । सरस्वतीले आएर उनलाई अँगालो हालिन् । दुवै जनाका आँखाबाट साथसाथै आँसु झरिरहेका थिए । ती सामान्य आँसु थिएनन् । ती आँसुले धेरै कुरा बताइरहेका थिए । ती आँसुले उनीहरू दुवै जनालाई धेरै नजिक ल्याएका थिए ।

    उपन्यासमा सरस्वतीकी आमाको एकदम सङ्क्षिप्तमा नै चर्चा गरिएको छ तर यो दाबी गरे सायद अत्युक्ति हुने छैन, उनी वास्तवमा उपन्यासकी सबैभन्दा असाधारण पात्र हुन् । उनको त्यस प्रकारको व्यवहारलाई कैयौँ दार्शनिक, मनोवैज्ञानिक वा राजनीतिक दृष्टिकोणबाट व्याख्या वा विश्लेषण गर्न सकिनेछ र त्यसका लागि सायद एउटा सिङ्गै लेख वा पुस्तक नै आवश्यक हुनेछ ।

    आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.