गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले अहिलेको चुनाव देश बचाउने र भत्काउनेबिचको लडाइँ भएको दाबी गर्नुभएको छ ।
राजमो अर्घाखाँचीले २०८२ माघ १९ गते सोमबार सन्धिखर्कमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले यस्तो बताउनुभएको हो ।
साम्राज्यवादी अमेरिकाले कङ्ग्रेस, एमालेमार्फत आफ्नो एजेन्डा हुबहु लागु गर्न नसकेपछि नयाँशक्तिको नाममा एजेन्ट खटाएकाले यिनीहरूबाट देश जोगाउनु अहिलेको आवश्यकता भएको उहाँको जिकिर छ ।
उहाँले भन्नुभयो– ‘कङग्रेस, एमाले, माओवादीका रिसले देश नै सिध्याउने खेलमा रास्वपा लागेको छ । रास्वपाको पछाडि अमेरिकी साम्राज्यवाद छ ।’
कार्यक्रममा राजमो अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पशुपति ढकाल, राजमो केन्द्रीय सदस्य सागर केसी, अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिकी कल्पना पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियो ।
मन्तव्यको क्रममा उहाँहरूले समयमै होसियारी अपनाउँदै गणतन्त्र र राष्ट्रियताको रक्षार्थ राजमोका उम्मेदवारलाई मतदान गर्न नेपाली जनतासित अपिल गर्नुभयो ।
राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता तथा उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रममा सचिवालय सदस्य भीमलाल आचार्यले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका छओटै पालिकाबाट राजमोको अगुवा कार्यकर्ताको सहभागिता रहको थियो ।
भेलाले शेरबहादुर बिसीको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन मूल समिति तथा अध्यक्ष थम्मन केसीको संयोजकत्वमा पाँच सय एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
