बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर १ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।
उद्घाटन मन्तव्यमा केसीले काँग्रेस, एमाले, माओवादीका रिसले देश नै सिध्याउने खेलमा रास्वपा लागेको बताउनु भयो । ‘काँग्रेस, एमाले, माओवादी त लोकतन्त्रका लागि लडेका थिए ।’ केसीले अगाडि भन्नुभयो– ‘अहिले जुन हल्लाको भरमा चुनाव जित्ने कोशिस साम्राज्यवादी शक्तिको आडमा गरिएको छ, त्यसले देशको अस्तित्व सिरिया, भेनेजुयला, प्यालेस्टाइनको जस्तो हुनसक्छ ।’
केसीले समयमै होशियारी अपनाउँदै देशको गणतन्त्र र राष्ट्रियताको रक्षाको लागि मतदान गर्न नेपाली जनतालाई अपिल गर्नुभयो ।
शिवराज घिमिरेको अध्यक्षता तथा कविराज गिरीको सञ्चालनबाट अगाडि बढेको सो कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार बद्रे आलम, क्षेत्र नम्बर १ का उम्मेद्वार हरि बहादुर केसी, समानुपातिक उम्मेद्वार लिल बहादुर केसी, जिल्ला उपाध्यक्ष इन्दिरा उपाध्यायले अतिथि आसन ग्रहण गर्नुका साथै मन्तव्य दिनुभएको थियो ।
क्षेत्र नम्बर १ को अन्तर्गत रहेको निर्वाचन परिचालन समितिको सोही सन्दर्भमा बैठक सम्पन्न गरिएको थियो । बैठकले क्षेत्र अन्तर्गतका विभिन्न पालिकालाई लक्षित गरि कार्यक्रम निश्चित गरेको छ ।