मोहनविक्रम सिंह ##
अजित, सुनन्दा, खगुलाल र हर्केहरू जलजला धुरीमा नै थिए । उनीहरूले भामा ओडार पनि हेरिसकेका थिए र अब उनीहरू थबाङतिर फर्कंदै थिए । अब अजित र सुनन्दा दुवैलाई यस्तो लाग्न थालिरहेको थियो, उनीहरू दुवै जनाको मनमा एकार्काप्रति प्रेमको भावना देखा पर्न थालिरहेको थियो ।
जहाँसम्म सुनन्दाको प्रश्न छ, उनका मनमा त कौसानीमा विद्याले दिएको लेख ‘कामरेड जलजला’ पढेपछि नै अजितप्रति केही सम्मान र केही आत्मीयताको भाव पनि देखा परेको थियो । जलजलाप्रति उनको मनमा उच्च प्रेम र सम्मानको भाव देखा परेको थियो र जस्तो कि पहिले पनि उल्लेख गरियो, उनले थाहा नपाईकन नै जलजलाप्रतिको उनको प्रेमको भावना अजितप्रति रूपान्तरण हुँदै गइरहेको थियो । त्यही कारणले नै उनी अजितलाई खोज्दै नेपालतिर लागेकी थिइन् । अहिले जलजलाको धुरीमा अप्रत्यासित रूपले अजितसित भेट भएपछि उनको अजितप्रतिको प्रेम प्रकट रूपले बाहिर आउन थालेको थियो तर प्रस्तुत उन्यासमा अन्यत्र सबै प्रसङ्गमा जस्तै अत्यन्त सौम्य, गहिरो, अव्यक्त र मृदुल भावनात्मक रूपमा नै देखा पर्ने गरेको थियो र त्यो कुनै पनि रूपले भद्दा रूपमा देखा परेको थिएन ।
जब उनीहरू जलजला धुरीबाट बिदा भएर थबाङतिर जाँदै थिए, सुनन्दा धेरै नै भावुक भएकी थिइन् र उनलाई त्यो ठाउँ छाडेर जान मन लागिरहेको थिएन ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “मलाई यहाँबाट जान मन लागिरहेको छैन । सधैँ यही बस्न पाए हुन्थ्यो जस्तो लागिरहेको छ ।
मलाई यस्तो लागिरहेको छ कि जलजला दिदी यहीँ हुनुहुन्छ । जलजला धुरीमा सबैतिर । यहाँको वनजङ्गलमा । यहाँको चौर, पहाड सबैतिर । मलाई उहाँको मृत्यु भयो र उहाँ अब हाम्रा बिचमा हुनुहुन्नजस्तो लाग्दैन । उहाँ हाम्रा बिचमा नै हुनुहुन्छजस्तो लागिरहेको छ । मलाई उहाँको मृत्यु भयो र उहाँ अब हाम्राबिचमा हुनुहुन्नजस्तो लाग्दैन । उहाँ हाम्राबिचमा नै हुनुहुन्छ जस्तो लागिरहेको छ । त्यसैले मलाई यो ठाउँ छाडेर जान मन लागिरहेको छैन ।
अजितले केही भनेनन् तर ध्यानमग्न भएर सुनन्दाको कुरा सुनिरहे । उनले मनमनै सोचे, सुनन्दाले भनेका कुरा सत्य भए त्यो कति खुसीको कुरा हुन्थ्यो होला तर अफसोच, अब उनी जीवित थिइनन् तर फेरि उनले सोचे, जे सुनन्दाले भनेकी थिइन्, त्यो सत्य त थिएन ?
केही बेर रोकिएर अजितले भने– सायद तपाईंले भनेको कुरा सत्य हुन सक्छ । जलजला हाम्राबिचमा नै कतै हुन सक्छिन् । यही जलजला धुरीमा कतै हुन सक्दछिन् । यहाँका पहाड, चौर र यहाँका रुख, वनजङ्गल ।
केही रोकिएर उनले भने– उनी भामा ओडारको नजिकै कतै हुन सक्छिन् ।”
उपन्यासमा अगाडि लेखिएको छ– “उनी भामा ओडारका नजिकै कतै हुन सक्छिन् ।
ती शब्दको उच्चारण गर्दा अजितको भाव केही अस्वाभाविकजस्तो भएको थियो । उनको आवाज केही कामेको थियो । सुनन्दाले आफ्ना आँखा उठाएर अजितको चेहरामा हेरिन् । ती शब्दको उच्चारण गर्दा अजित किन केही अकमकाएका थिए ? उनको आवाज किन अस्वाभाविक जस्तो भएको थियो ? त्यसको पछाडिको कारण भामा ओडारभन्दा बढी भामा नै त थिएन ? उनको नाम का. भामा रहेको थियो ।
के उनले भामा ओडारको कुरा गर्दा कही उनलाई (भामालाई) नै सम्बोधन गर्न त खोजेका थिएनन् ? जलजला भामा ओडारको नजिक कतै पनि हुन सक्छिन् भन्नुका पछाडि कहीँ उनले उनलाई (सुनन्दालाई) नै जलजलाका रूपमा हेर्न खोजेका ता थिएनन् ? त्यसैले ती शब्दको उच्चारण गर्दा उनको आवाज केही अस्वाभाविक जस्तो र केही काँमेजस्तो ता भएको थिएन ? त्यो सोचेर उनी केही रोमाञ्चित भइन् । केही खुसी भइन् ।
त्यसरी उनी अजितकी साँच्चिकै जलजला बन्न पाए ? जलजलाको मृत्युबाट उनको जीवनमा पुगेको दु:ख वा अभावलाई केही मात्र पनि कम गर्दिन पाए त्यो उनका लागि धेरै नै खुसीको कुरा हुन्थ्यो । त्यसरी उनको सहयोद्धा भएर जीवनभरि पार्टी र क्रान्तिको बाटामा हिँड्न पाए उनको जीवन साँच्चिकै सार्थक हुन्थ्यो । त्यसो भएमा उनले अजितको टुटेको कडीलाई जोडिदिन सक्दथिन् ।
उनले मनमै सोचिन्, के त्यो सम्भव होला ? उनले फेरि सोचिन् । सायद त्यो सम्भव हुने छैन तर फेरि उनले सोचिन्, त्यो अवश्य पनि सम्भव हुनेछ । उनको मनमा अजितप्रतिको प्रेम उम्लेर आयो । उनले कैयौँ बेरसम्म उनको (अजितको) मुखमा हेरिरहिन् ।”
अजित, सुनन्दा र खगुलालहरू जलजला धुरीबाट थबाङतिर जान हिँड्न मात्र थालेका थिए, त्यही बेला एउटा असई र ६–७ जना प्रहरीसहितको टोली उनीहरूको अगाडि आइपुग्यो । उनीहरू अजितलाई पत्ता लगाउँदै उनलाई गिरफ्तार गर्न त्यहाँ आइपुगेका थिए । प्रहरीहरूसित राइफल, लाठी तथा असईसँग पेस्तोल पनि थियो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाले गम्भीर भएर त्यो स्थितिमाथि विचार गरिरहेकी थिइन् । उनले कति मुस्किलले अजितलाई फेला पारेकी थिइन् ? उनीसित भेट भएको लगत्तै उनी (अजित) गिरफ्तार हुने कुरा उनका लागि असह्य थियो । जेलमा परेपछि उनी कहिले छुट्ने हुन् ? त्यो कुराको कुनै ठेगान थिएन । उनलाई जनमभरि पनि जेलमा राख्न सकिन्थ्यो । उनलाई बाटैमा मार्न पनि सक्दथे । राजाको निरङ्कुश शासनअन्तर्गत कैयौँ त्यस्ता घटना भएका थिए । के अजितको पनि त्यही प्रकारको अवस्था हुन गइरहेको थियो ? उनले जलजलालाई गुमाइसकेकी थिइन् । अब उनले कुनै पनि अवस्थामा अजितलाई गुमाउन चाहँदिनथिन् ।
सुनन्दाले मनमनै निश्चय गरिन्, मैले अजितलाई गिरफ्तार हुन दिन्न । उनी (अजित) जलजलाको नासो थिए । उनले (सुनन्दाले) उनी (अजित) गिरफ्तार भएको देख्न सक्दिनथिन् । त्यो जलजलासित धोका हुन्थ्यो । सुनन्दाले मनमनै एउटा निश्चय गरिन् । उनले पिस्तोल ताकेर उभिएको असईतिर फर्केर दृढ आवाजमा भनिन्– उहाँ तपाईंहरूसित जानुहुन्न ।
सबैले आश्चर्य मानेर सुनन्दातिर हेरे, अजित, खगुलाल, हर्के, उमा, असई र सबै पुलिसहरूले ।
असईले कडा स्वरले भन्यो– के रे ? जानुहुन्न रे !
हो, जानुहुन्न । सुनन्दाले दोहोराइन् । उनको आवाज शान्त र दृढ थियो ।
को हो यो आइमाई ? सरकारी काममा बाधा हाल्ने ?
जो भए पनि, त्यो कुरा तपाईंलाई चाहिएन । उहाँ जानुहुन्न । तपाईंहरू फर्केर जानुहोस् ।
गिरफ्तार गर यो आइमाईलाई पनि । असईले अर्डर दिए ।

दुई जना पुलिस सुनन्दातिर बढे तर उनीहरू सुनन्दाका नजिक पुग्न नपाउँदै एउटा चमत्कार भयो । सुनन्दाले उफ्रेर एक हवाई किक दिएर असईको हातमा हानिन् । उसका हातको पिस्तोल भुइँमा खस्यो । बिजुलीको बेगले सुनन्दाले त्यो पिस्तोल समातिन् र आकाशतिर फर्काएर गोली फायर गरिन् । त्यसपछि हातले घुमाएर त्यो पिस्तोल तल जङ्गलतिर फालिदिइन् । उनले एक क्षण पनि ढिला नगरेर अर्को एउटा किक राइफल समातेको पुलिसलाई मुक्काले हानिन् । त्यो भुइँमा गएर पछारियो र त्यसको हातको राइफल केही पर बजारियो । सुनन्दाले हत्तपत्त त्यसका गोली निकालेर टाढासम्म पुग्ने गरेर त्यो बन्दुक पनि फालिदिइन् । त्यसपछि अर्को पुलिसले सुनन्दातिर राइफल ताक्यो तर सुनन्दाले बिजुलीको गतिले लात्ताले त्यो उसको टाउकामा हानिन् र त्यो भुइँमा लड्यो । सुनन्दाले उसको भुइँमा खसेको राइफल उठाइन् र त्यसका पनि गोली निकालेर त्यसलाई जङ्गलतिर फालिदिइन् । असईले सबै पुलिसलाई सुनन्दालाई समात्ने अर्डर दिए । सबै पुलिस उनीतिर (सुनन्दातिर) अगाडि बढे ।
सुनन्दाले कराँतेको तालिम लिँदा ग्याङफाइटमा कैयौँ मानिसलाई एक्लै हराएर कैयौँ राष्ट्रिय स्तरका पुरस्कार जितेकी थिइन् । उनी एक्लै ती सबैसित लड्न थालिन् । उनी कुनै बेला आकाशमा उडेजस्तो देखिन्थिन् । कुनै बेला उनको मुक्का पुलिसको टाउकोमा पुगेको हुन्थ्यो । कुनै बेला उनको लात पुलिसको टाउकामा बज्रेको हुन्थ्यो । उनको लडाइँमा एउटा ताल थियो । एउटा लय थियो । उनको चेहरामा गजबको दृढता र शक्ति झल्किरहेको थियो । त्यहाँ एक प्रकारको ज्योति चम्किरहेको थियो । सम्पूर्ण रूपमा उनको त्यो सङ्घर्षको दृश्य अत्यन्त सुन्दर र आकर्षक देखिएको थियो ।
अजित सुनन्दाको त्यो बाह्य स्वरूपभन्दा बढी उनीभित्रको मानसिक संरचना र भावनालाई, सम्पूर्ण व्यक्तित्वलाई अवलोकन गर्ने प्रयत्न गर्दै थिए । उनले बाहिर जुन शक्तिको प्रदर्शन गरिरहेकी थिइन्, एउटा उच्च प्रकारको चिन्तन, चरित्र र नैतिकताको सन्तुलनविना सम्भव थिएन । आखिर उनले उनलाई (अजितलाई) गिरफ्तार हुनबाट बचाउनका लागि नै एक्लै पुलिससित लड्न तयार भएकी थिइन् । सुनन्दा पुलिससित लड्न तयार नभएको भए आज उनी गिरफ्तार हुन्थे ।
सुनन्दाले केही नभनीकन आकाशतिर हेरिरहेकी थिइन् । सायद उनले जलजलालाई यो सन्देश दिँदै थिइन्– “सुनन्दाले केही नभनीकन आकाशतिर हेरिरहेकी थिइन् । सायद उनले जलजलालाई यो सन्देश दिँदै थिइन्, जलजला दिदी, मैले तपाईंको नासोलाई सधैँ बचाएर राख्नेछु । मैले आफ्नो प्राण दिएर पनि तपाईंको अजितको रक्षा गर्नेछु । तपाईंले देखाएको बाटोमा म सधैँ अगाडि बढिरहनेछु । तपाईंले मेरा हातमा जुन मसाल दिनुभएको छ, मैले त्यसलाई सधैँ प्रज्ज्वलित राख्न सङ्घर्ष गरिरहनेछु । त्यसका लागि सम्पूर्ण रूपले आफूलाई बलिदान दिनुपरे पनि म सधैँ तयार रहनेछु ।”
त्यो बेला सुनन्दाको चेहरामा गजबको भाव देखा परेको थियो । यस्तो लाग्थ्यो, सम्पूर्ण पार्टी र क्रान्तिसित उनको तादात्म्य सम्बन्ध कायम भएको थियो । क्रान्ति र पार्टीका लागि सम्पूर्ण रूपले बलिदान गर्ने उच्च प्रकारको दृढ निश्चय उनको आँखामा चम्किरहेको थियो । उनलाई हेर्दा यस्तो लाग्थ्यो, उनी क्रान्तिको साक्षात् प्रतिरूप वा मूर्त रूप बनेकी थिइन् । अजितले उनको चेहरामा हेरेर आश्चर्यचकित भए । उनको चेहरामा देखा परेको त्यस प्रकारको भाव सामान्य थिएन तर असाधारण थियो । कसैका चेहरामा विरलै देखा पर्ने भाव ।
उनले कुनै कुनै बेला त्यही प्रकारको भाव जलजलाको चेहरामा पनि देख्दथे । आज त्यही प्रकारको भाव सुनन्दाको चेहरामा देखेर उनलाई धेरै नै खुसी लागेर आयो । उनलाई त्यस बेला यस्तो पनि लागेर आएको थियो, कहीँ सुनन्दाको रूपमा जलजला नै उनका अगाडि प्रकट त भएकी थिइनन् ।
सायद त्यो सत्य थिएन तर फेरि उनले सोचे, सायद त्यो सत्य नै थियो । उनलाई यस्तो लाग्यो, त्यो सत्यमा असत्य अन्तरनिहित थियो र असत्यमा सत्य अन्तरनिहित थियो । दुवै एकार्कोमा मिलेका थिए । ती दुवैमध्ये कुन कुरा सत्य थियो र कुन असत्य ? त्यो ठम्याउन अजितलाई गाह्रो परिरहेको थियो तैपनि उनलाई यस्तो लागिरहेको थियो, ती दुवैमध्ये सत्यको पक्ष नै मुख्य थियो । अजितले कैयौँ बेरसम्म एकाग्र भएर सुनन्दाको चेहरामा हेरिराखे । त्यसरी उनले सुनन्दामा जलजलालाई खोज्ने प्रयत्न गरे जस्तो देखिन्थ्यो ।”
जलजला थबाङको बर्मन बुढाको घरको कोठामा बसेकी थिइन् । उनले बाहिरतिर हेरिन् । केही उज्यालो हुन थालेको थियो तर अझै सबैतिर धेरै नै अन्धकार थियो ।
जलजलाको नाम जलजला धुरीबाट नै रहेको थियो । जलजला धुरीप्रति पनि उनको मनमा अगाध स्नेहको भाव थियो । आदर र सम्मानको भाव थियो । त्यसैले उनी जलजला धुरी भ्रमण गर्न गएकी थिइन् । उनको जलजला धुरीको यात्रा व्यर्थ भएको थिएन । त्यो धुरी एउटा पहाड मात्र थियो । त्यो एउटा जड पदार्थ थियो तर उनका लागि त्यो पहाड जीवित पदार्थ थियो । उनका लागि जलजला धुरी जलजलाको प्रतिरूप थियो । त्यसैले जलजला धुरीमा पुगेर उनले जलजलालाई प्रत्यक्ष रूपले आत्मसात् गर्न चाहन्थिन् । त्यसैले उनी जलजला धुरीतिर लागेकी थिइन् तर त्यहाँ पुगेपछि एउटा आश्चर्यको कुरा भएको थियो । त्यहाँ उनले नसोचेको, कल्पना नगरेको र आशा पनि नगरेको घटना घटेको थियो । त्यहाँ उनको भेट अजितसित भएको थियो । का. अजितसित ।
त्यो अप्रत्याशित भेट थियो । का. अजितसितको उनको भेट सामान्य कुरा थिएन । उनका लागि अजित अपरिचित व्यक्ति थिएनन् । उनका लागि अजितको महत्त्व यस कुरामा थियो, उनलाई जलजलाले प्रेम गरेकी थिइन् । अर्कातिर, अजित ती व्यक्ति थिए, जसले जलजलालाई प्रेम गरेका थिए । त्यसकारण उनका लागि अजित खालि अजित मात्र थिएनन्, अजित, जलजला पनि थिए ।
उनको अनुहार, उनको व्यक्तित्व सायद उनको मनमस्तिष्कमा र आत्मामा पनि जलजला बसेकी थिइन् । त्यसैले उनका मनमा पनि अजितप्रति अगाध प्रेमको भावना पैदा भएको थियो । उनले अजितबाट बदलामा केही चाहँदिनथिन्† जस्तो कि उनले थबाङलाई प्रेम गर्दथिन् तर त्यसको बदलामा उनले केही चाहँदिनथिन् । जलजला धुरीलाई माया गर्दथिन् । त्यसको बदलामा केही चाहँदिनथिन् । त्यही प्रकारले अजितलाई प्रेम गरे पनि उनले बदलामा केही चाहँदिनथिन् तर उनले अजितलाई प्रेम गर्दथिन् र जीवनभरि प्रेम गरेर रहन चाहन्थिन् । त्यति भए उनलाई पुग्थ्यो । अजितप्रतिको त्यो प्रेम जलजलाप्रतिको उनको प्रेमको रूपान्तरित प्रेम थियो ।
उनलाई अहिले लागिरहेको थियो, उनले आफ्ना अगाडिको प्रकृति वा उनको चारैतिरको वातावरणमा त्यो कुरा चरितार्थ भइरहेको थियो । त्यस विचारले आज उनलाई धेरै नै प्रसन्नता दिइरहेको थियो । उनले ठुलो सुखको अनुभूति गरिरहेकी थिइन् । त्यही सुखानुभूतिका कारणले उनको मन परमानन्दको अवस्थामा पुगेको थियो ।
अब पूर्वमा सूर्यको लालिमा फैलिएको थियो । सूर्यको त्यो लालिमा जलजला धुरीमा पनि प्रतिबिम्बित हुँदै गइरहेको थियो । सूर्यको रक्तिम किरण फैलिएर जलजलाको धुरी धेरै नै रमणीय र सुन्दर देखिएको थियो । उनले सूर्यको त्यो रक्तिम किरणमा जलजलालाई हाँसिरहेको देखिन् । त्यो सूर्यको लालिमा थियो वा जलजलाको मधुर हाँसो ? सुनन्दालाई त्यो छुट्याउन मुस्किल परिरहेको थियो । ती दुवै कुरा अवश्य पनि बेग्लाबेग्लै थिए तर सायद दुवै एकार्कामा एकाकार भएका थिए । त्यसरी ती दुवै एकैसाथ बेग्लाबेग्लै थिए भने अर्कातिर ती दुवै एउटैमा मिलेका पनि थिए । उनले मुग्ध भएर जलजलाधुरीलाई हेरिरहिन् । त्यहाँ उनले जलजलालाई खोज्ने प्रयत्न गर्दै थिइन् ।
उनले आफ्नो मनभित्रबाट एउटा आवाज आइरहेको सुनिन्, जलजलाको मृत्यु भएको छैन । उनी जीवित छन् । हो, उनले पनि मनमनै भनिन्– हो । जलजला दिदीको मृत्यु भएको छैन । उहाँ मेरो अगाडि जीवित हुनुहुन्छ । उहाँ प्रत्यक्ष रूपले मेरो अगाडि उभिनुभएको छ । जलजला धुरीको साथै प्रत्यक्ष रूपमा रक्तिम सुन्दर चेहरामा हाँस्दै ।
जीवनका कैयौँ ठक्कर र हन्डर खाएपछि तथा लामो यात्रापछि उनको अजितसित भेट भएको थियो । जलजलाको मृत्यु र अजितसित भेट—उनको जीवनका दुईओटा महत्त्वपूर्ण पक्ष थिए : एउटा दु:खद र अर्को सुखद । ती दुवै एकार्काबाट भिन्न वा एकार्काको विपरीत थिए तर अहिले उनको जीवनमा ती दुवै पक्ष एकै ठाउँमा मिल्न पुगेका थिए । ती दुवैमध्ये कुन प्रधान थियो र कुन गौण ? कुन सत्य थियो र कुन असत्य सायद सत्यमा असत्य र असत्यमा सत्य समाविष्ट थियो । सुख र दु:खका दुवै पक्ष आपसमा अभिन्न रूपले जोडिएका थिए वा मिलेका थिए ।
उनले आफ्ना अगाडि हिँडिरहेका अजितलाई हेरिन् तर सायद उनी अजित मात्र थिएनन्, उनी जलजला पनि थिए । सुनन्दालाई यस्तो लागिरहेको थियो, अजित र जलजला बेग्लाबेग्लै नभएर एउटै बनेका थिए । जलजलाको मृत्यु भइसकेको थियो तर उनी अजितमा मिलेकी थिइन् ।
अजितको रूपमा उनी उनका अगाडि थिइन् । अजितको रूपमा उनी जीवित थिइन् । त्यो सोच्दासोच्दै उनका मनमा अजितप्रति अगाध प्रेमको भाव पैदा भयो । सायद त्यो भाव मात्र थिएन । एउटा लहर नै थियो । सायद त्योभन्दा बढी एउटा तुफान र ज्वारभाटा नै थियो । अर्का शब्दमा त्यो जलजला नै थियो—ठिक जलजलाको नामअनुरूप—जलजला !
जीवनका कैयौँ चक्कर, घुम्ती वा मोडपछि उनको लामो यात्रा अजितमा गएर टुङ्गिएको थियो तर उनलाई लाग्यो, त्यो उनको यात्राको अन्त्य थिएन, त्यो नयाँ यात्राको थालनी थियो ।
अजित र सुनन्दाहरू वर्मन बुढाको घरबाट निस्केर थबाङ गाउँमा केही घुमेका मात्र थिए । त्यही बेला प्रहरीको एउठा ठुलो दल थबाङतिर आएको कुरा थाहा भयो । स्पष्ट थियो, उनीहरू अजितलाई पक्रन नै त्यहाँ आएका थिए । त्यसपछि अजित, सुनन्दा, अगुलाल, हर्के र वर्मन बुढासमेत प्रहरीबाट बच्न गाउँबाट बाहिर निस्के र उकालो बाटो हुँदै जङ्गलतिर लागे । त्यो दिन उनीहरू गुराँसेगाउँमा गएर बास बसे । अर्को दिन त्यहाँबाट पनि अगाडि लागे । केही बेर हिँडेपछि उनीहरू एउटा चौतारीमा गएर बसे र उनीहरूले कुरा गर्न थाले ।
हर्केले भने– “अब कता जाने ?”
खगुलालले अजिततिर फर्केर सोधे– “तपाईंको कार्यक्रम के छ ? कहाँ जाने विचार छ ?”
हर्केले सुनन्दातिर फर्केर सोधे– “तपाईंको के विचार छ ? अब कता जाने विचार छ ? अब त्यो पनि सल्लाह गर्नुपर्यो ।”
सुनन्दाका लागि त्यो कठिन प्रश्न थियो । त्यो प्रश्नको जबाफ दिनु उनका लागि सजिलो थिएन । उनले धेरै मुस्किलले अजितलाई फेला पारेकी थिइन् । अब जहाँ गए पनि उनी अजितसित नै सँगै जान चाहन्थिन् तर त्यो कुरा खुलेर बताउनु पनि उनका लागि सजिलो थिएन । कुन नाता वा सम्बन्धका आधारमा अजितसित सँगै जाने भन्ने ?
उनले कुनै जबाफ दिइनन् र खालि अजितको मुखतिर हेरिन् ।
कुरा गर्दागर्दै सुनन्दाले भनिन्– “मेरो एउटा सुझाउ छ, तपाईंहरूले त्यही नै निर्णय गर्नुपर्छ भनेर त मैले भन्दिनँ । पार्टीले जे निर्णय गर्नेछ, त्यही मैले स्वीकार गरेर काम गर्ने छु तैपनि पार्टीले विचार गर्नका लागि मेरो एउटा सुझाउ छ ।”
सबैले उत्सुक हुँदै एकैसाथ सोधे– “के सुझाउ छ ?
“जलजला दिदी र मैले एउटा सल्लाह गरेका थियौँ । अब जलजला दिदी ता हाम्रा अगाडि हुनुहुन्न तैपनि उहाँले छाडेर गएको एउटा काम पूरा गर्ने मेरो विचार छ….. ।”
अजितले उत्सुक हुँदै सोधे– “के काम ?”
“बनारसमा पार्टीले जलजला दिदीलाई भाइचारा पार्टी र भारतीय जनतामा पनि नेपालको निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध जनमत तयार पार्न दिल्ली जाने जिम्मा दिएको थियो ।
अजितले भने– “हो, पार्टीले उनलाई त्यो जिम्मा दिने ठेगान गरेको थियो र त्यही निर्णयअनुसार उनी दिल्ली पनि गएकी थिइन् तर … ।” त्यसपछि अजितले केही भनेनन् वा भन्न सकेनन् ।
सुनन्दाबाट यो कुरा लुकेको थिएन कि “तर” पछि उनको वाक्य किन रोकिएको थियो ? आफ्नो कुरा भन्दाभन्दै उनले अगाडि केही भन्न सकेका थिएनन् किनभने उनलाई अकस्मात् जलजलाको मृत्युको घटनाको सम्झना भएको हुन सक्दथ्यो । अरूको त यो कुराप्रति ध्यान गएको थिएन तर सुनन्दाले देखेकी थिइन्, “तर” भन्ने बेलामा अजितको मुखमा विषाद्को एउटा रेखा खिचिएको थियो । त्यसको प्रतिबिम्ब सुनन्दाको मुखमा पनि परेको थियो तर सायद अजित वा कसैको ध्यान त्यसप्रति गएको थिएन ।
सुनन्दालाई गएर अजितलाई अँगालो हाल्न मन लागेको थियो । त्यसरी उनले अजितको मनको पीडालाई केही कम गर्न सक्दथिन् होला । उनले अजिततिर जानका लागि अलिकति बसेको ठाउँबाट उठ्ने र आफ्नो दुईओटा हात उठाउने विचार पनि गरिन् तर उनले त्यसो गर्न सकिनन् र आफूलाई जबर्जस्ती रोकिन् ।
कुरा गर्दागर्दै सुनन्दाले एउटा अर्को कुरा बताइन् । बनारसमा जलजलाले दिल्लीमा अङ्ग्रेजी विषय लिएर कुनै विश्ववद्यालयमा एमएको कक्षामा भर्ना हुने विचार गरेकी थिइन् । त्यसका पछाडिको उनको उद्देश्य दुईओटा थिए : प्रथम– अङ्ग्रेजीको ज्ञान भएपछि अन्तर्राष्ट्रिय स्तरमा भाइचारा पार्टीसित सम्पर्क गर्न मदत पुग्दथ्यो; द्वितीय– अजितका पुस्तक र लेखलाई अङ्ग्रेजीमा अनुवाद गर्ने पनि उनको विचार थियो तर जलजलाको मृत्युको कारणले त्यो कुरा अधुरो नै रहेको थियो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले केही भन्न खोजिन् तर उनी अकमकाइन्, केही हिचकिचाएजस्तो गरिन् ।
हर्केले भने– किन अकमकाउनु भयो ? के भन्न खोज्नुभएको हो ।
सुनन्दाले भनिन्– अब जलजला दिदी हुनुहुन्न । उहाँ नभए पनि… ।
हर्केले भने– उहाँ नभए पनि के ?
सुनन्दाको मुख लाजले केही रातो भयो । अनि उनले भनिन्– दिदी नभए पनि उहाँले गर्न खोजेका तपाईंका पुस्तक र लेखको अनुवादको काम मैले पूरा गर्दिन्छु ।”
त्यो कुरा भन्दाभन्दै उनले लाजले आफ्नो टाउको निहुराइन् ।
त्यति सामान्य कुरा भन्नका लागि उनले लाज मान्नुपर्ने आवश्यकता थिएन तर उनले मनमनै अजितलाई प्रेम गर्न थालेकी थिइन् । सायद त्यसैले आफ्नो कुरा बताउँदा उनलाई धेरै नै लाज लागेको थियो । लाज मान्दामान्दै पनि उनी एउटा कुरा नभनीकन रहन सकिनन् : मेरो अङ्ग्रेजी राम्रो छ । धेरै राम्रो छ । मैले एमएमा पढ्ने विद्यार्थीलाई पनि अङ्ग्रेजीको ट्युसन पढाउने गर्दथेँ । मैले अङ्ग्रेजीमा अनुवादको काम राम्ररी गर्न सक्दछु । मैले अनुवादको काम राम्ररी गर्न सक्नेछु ।”
सुनन्दाको त्यो कुराले अजितलाई धेरै विचलित बनाएको थियो । पहिले सुनन्दाबाट जलजलाले आफ्ना लेखको अङ्ग्रेजीमा अनुवाद गरिदिने योजना बनाएको थाहा पाएर उनी धेरै भावुक भएका थिए । त्यो कुरा थाहा पाएर उनले मनमनै सोचेका थिए, जलजलाको मृत्यु भइसकेको थियो र अब उनको त्यो काम अधुरै रहेको थियो । केही बेर पहिले सुनन्दाले जुनसुकै परिस्थितिमा पनि पार्टीले दिएको कुनै पनि जिम्मेवारी पूरा गर्न तयार भएको कुरा बताएकी थिइन् । उनको त्यो कुरा सुन्दा अजितलाई उनी जलजलाजस्तै भएको लागेको थियो । अहिले उनले जलजलाले छाडेर गएका अजितका काम, उनका पुस्तक र लेख अङ्ग्रेजीमा अनुवाद गर्ने कुरा गरेकी थिइन् । त्योबाहेक उनका पुस्तक र लेख अङ्ग्रेजीमा अनुवाद गर्ने जलजलाले छाडेर गएको काम पनि गर्ने भनेपछि उनीप्रतिको उनको स्नेह धेरै नै बढेर गएको थियो ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाका ती कुरा सुन्दा अजितलाई लागेको थियो, उनी साँच्चिकै जलजला थिइन् । उनलाई छाडेर गएकी जलजला उनका अगाडि प्रत्यक्ष भएर आएकी थिइन् ।
कुरा उनका लेख वा पुस्तकको अनुवाद मात्र थिएन । त्योभन्दा महत्त्वपूर्ण कुरा त्यस प्रकारको कार्यको पछाडि उनको मनमा उनीप्रति देखा परेको व्यक्तिगत लगावको पनि थियो । आफ्ना ती कुराहरू बताउँदा उनले कति धेरै लाज र सङ्कोच मानेकी थिइन् । उनको मुख कति धेरै रातो भएको थियो । त्यसले बताउँथ्यो, उनले उनलाई प्रेम पनि गर्न छाडेकी थिइनन् ।
अरू साथीहरूको त्यो कुराप्रति ध्यान गयो या गएन ? त्यो कुरा त उनले अनुमान गर्न सकेनन् तर अजितबाट त्यो कुरा लुकेन ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनलाई तुरुन्तै अगाडि गएर उनलाई अँगालो हाल्न र उनीप्रतिको आफ्नो प्रेम व्यक्त गर्न मन लागेको थियो । सायद सुनन्दाले पनि उनीबाट त्यही प्रकारको आशा गरेकी थिइन् तर उनले त्यसो गर्न सकेनन्….. ।
बनारसको गङ्गा नदीमा एउटा मोटरबोटमा अजित र सुनन्दाको विवाह हुन थालेको थियो । त्यो विवाहको कार्यक्रममा कैयौँ अतिथिले शुभकामना दिएका थिए । अन्य अतिथिद्वारा शुभकामना दिने काम समाप्त भएपछि लीलानाथ कुसुमले भने– अब दुलाहादुलहीले तपाईंहरूका अगाडि केही मन्तव्य राख्नु हुनेछ ।
त्यसपछि अजितले आफ्नो मन्तव्य दिँदै भने– “मलाई धेरै भन्नु केही छैन । हाम्रो विवाहका लागि तपाईंहरूले जुन शुभकामना दिनुभयो, त्यसका लागि मैले तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । विवाह निश्चय नै एउटा व्यक्तिगत विषय हो तर मेरो यो कोसिस हुनेछ र त्यही कुरा मैले सुनन्दाबाट पनि आशा गर्दछु, हाम्रो यो विवाह पार्टी र क्रान्तिको सेवाका लागि हुनेछ । कामरेड भामाको साथ पाएपछि मलाई आफ्नो क्रान्तिकारी उद्देश्यतिर बढ्न अरू मदत पुग्नेछ भन्ने मैले विश्वास गरेको छु ।”
त्यसपछि सुनन्दाले भन्न थालिन्, “सर्वप्रथम त पार्टीले मलाई सदस्यको रूपमा स्वीकार गरेकोमा मैले पार्टीलाई धेरै धेरै धन्यवाद दिन्छु । मैले जलजला दिदीलाई चिन्दिनथेँ, त्यसमाथि म गान्धीवादी र उहाँ माक्र्सवादी–लेनिनवादी । हाम्रो विचारमा पनि धेरै अन्तर थियो । तैपनि म उहाँलाई खोज्न नेपाल पसेँ । नेपालको हावाले, खास गरेर जेलको जीवनले, मलाई माक्र्सवादी–लेनिनवादी बनाइदियो । त्यसका लागि म धेरै प्रसन्न छु । त्यही क्रममा मेरो का. अजितसित विवाह पनि भयो । त्यसलाई पनि मैले आफ्नो जीवनको ठुलो सौभाग्य मानेकी छु । मैले थाहा पाएकी छु, उहाँ एउटा समर्पित कम्युनिस्ट नेता हुनुहुन्छ । त्यसकारण उहाँसित विवाह हुन पाएकोमा मलाई धेरै खुसी लागेको छ । उहाँको नेतृत्वमा र मार्गनिर्देशनमा पार्टी र क्रान्तिको दिशामा लगातार अगाडि बढ्न मलाई मद्दत पुग्ने छ भन्ने कुरामा मलाई पूरा विश्वास लागेको छ । हाम्रो विवाहका लागि शुभकामना दिनु भएकोमा मैले तपाईंहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।…..”
केही रोकिएर उनले भनिन्, “का. केसीले मलाई का. भामाको रूपमा परिचय दिनु भएको छ । त्यो रूपमा पार्टीको जिम्मेवारी पूरा गर्न मैले पूरै प्रयत्न गर्ने छु । त्यसका साथै….. ।”
उनले एकपल्ट मोटरबोटमा बसेका सबै जन्तीहरूलाई हेरिन् । त्यसपछि केहीबेरसम्म घोरिएर अजितलाई हेरिन् । त्यसपछि उनले आँखा उठाएर आकाशतिर हेरिन् । त्यसरी सायद उनले आफ्नो विवाहका लागि जलजलाको शुभकामना खोजिरहेकी थिइन् । त्यसपछि उनले भनिन्, “मैले भामा मात्र होइन का. अजित कि जलजला भएर पनि उहाँको पार्टी र क्रान्तिको काममा जीवनभरि साथ दिने छु ।”
सुनन्दाको त्यो मन्तव्य सुनेपछि अजितले आफूलाई रोक्न सकेनन् र उनले बसेको ठाउँबाट उठेर गएर सुनन्दालाई अँगालो हालेर भने, “का. जलजला !” सुनन्दाले पनि उनलाई अँगालोमा कस्दै भनिन्, “का. अजित !”