अम्बाला । राजमोले साम्राज्यवादीहरूको षड्यन्त्र र पार्टीहरूको अवसरवादी चरित्रको सशक्त भण्डाफोरको उदेश्यका साथ चुनावी कार्यक्रमको रुपमा लिएको अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले बताउनुभएको छ ।
जनवरी २५, २०२६ मा सम्पन्न मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न निर्वाचन परिचालन भेलालाई सम्वोधन गर्दै रेग्मीले सम्वोधनको क्रममा संसदीय व्यवस्था मूलतः पँुजीवादी व्यवस्था भएपनि राजतन्त्र भन्दा प्रगतिशिल भएको बताउनु भयो ।
‘यो व्यवस्थालाई उपयोग गर्ने र जनतालाई बढि भन्दा बढि सजग बनाउने महत्वपूर्ण अवसर भएको हुँदा यसलाई आन्दोलनको रुपमा प्रभावकारी तरिकाले लैजान पर्ने हुन्छ ।’ नेता रेग्मीले भन्नु भयो– ‘मूल प्रवाह एकता समाजको देशको जनतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको हुँदा यसपटक राजमोलाई जिताउन भारतबाट उत्साहजनक उपस्थिति रहने विश्वास छ ।’
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नारा अन्तर्गत सम्पन्न उक्त समारोहलाई मूल प्रवाहका पुर्व केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्वोधन गर्दै विचारलाई जनताको हकहितको लागि सैद्धान्तिक हथियारको रुपमा प्रयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले अमेरिकी साम्राज्यवादका एजेन्टहरूलाई परास्त गर्न समयले प्रत्येक देशभक्त नेपालीहरूको काँधमा जिम्मेदारी सुम्पेको बताउनु भएको थियो ।

सभालाई मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य दिनेश खडका, मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोखरेल, सांस्कृतिक विभागका क्षेत्रीय संयोजक जुना भण्डारी चालिसे, महिला क्षेत्रीय विभाग संयोजक माया आचार्य, लगायतले सम्वोधन गर्नु भएको थियो।
समारोहमा मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगाले, सदस्यहरू तिलक पौडेल र नर बहादुर ओली, बैकल्पिक सदस्यहरू रामचन्द्र पौडेल र प्रेम आचार्य, सल्लाहकार राजकुमार शाहि, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति क्षेत्रीय संयोजक बिल बहादुर गुरुङ, समता विभागका क्षेत्रीय सदस्य प्रेम रसाली लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रम कृष्ण जिसीको अध्यक्षता तथा खिमराज चालिसे संचालनमा अगाडि बढेको थियो । सहभागिहरूलाई कुल बहादुर बगाले र सांस्कृतिक विभागका कलाकाहरूले स्वागत गरेका थिए ।
रक्तिमका कलाकारहरूले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
