काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको एक करोड धरौटी बुझाउँदै चितवनमा बारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन ।
अदालत स्रोतका अनुसार उनले धरौटीका रूपमा एक करोड रुपियाँको बैङ्क ग्यारेन्टी पेस गरेका छन् भने चितवन–२ मा बारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २९ जनामाथि मुद्दा चलाइएको छ । २०८२ माघ ६ गते भएको थुनछेक बहसपश्चात् न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले एक करोड धरौटी मागेको थियो ।
अदालती प्रक्रियामा अल्झिनुपरेकाले लामिछाने चितवनमा आफ्नो उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न जान पाएका थिएनन् । त्यसैले उनले बारेसमार्फत मनोनयन दर्ता गरेका थिए ।
अदालतमा धरौटी बुझाएपश्चात् उनी केही बेरअघि चितवनतर्फ लागेका छन् । धरौटी बुझाउन नसकेको भए उनी थुनामा रहनुपर्ने हुन्थ्यो ।