• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विद्या रोका र दिव्या

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–४४ "

  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासका विद्या रोका र दिव्या दुबै जना महत्त्वपूर्ण पात्र हुन् । उनीहरूले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक पक्ष वा सैद्धान्तिक विचलनको धाराको प्रतिनिधित्व गर्दछन् । विद्या रोकाको चित्रणले यो कुरामाथि प्रकाश हाल्दछ, कुनै व्यक्ति जतिसुकै क्रान्तिकारी भए पनि ऊ सैद्धान्तिक दृष्टिकोणले परिपक्व नभएमा ऊ या त अस्थिर र ढुलमुल हुन्छ या सजिलैसित विरोधीको भ्रममा पर्दछ र सजिलैसित कम्युनिस्ट विरोधी पनि बन्न जान्छ ।

    दिव्याको उदाहरणबाट पञ्चायती कालको त्यो प्रवृत्तिमाथि प्रकाश हाल्दछ, जहाँ वामपन्थी आन्दोलनमा लागेका हजारौँ व्यक्ति व्यक्तिगत फाइदाका पछाडि लागेर वा डर र त्रासका कारण कसरी पतित बन्दछन् र त्यस प्रकारको पतनमा नै आनन्द र गौरवको पनि अनुभूति गर्दछन् ।

    पञ्चायती कालमा कसरी हजारौँ वामपन्थी कार्यकर्ताको पतन भएको थियो ? दिव्याको उदाहरण एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । त्यसका साथै त्यो एउटा अतीतसित सम्बन्धित घटना मात्र होइन, कम्युनिस्ट आन्दोलनमा दिव्याजस्ता प्रवृत्ति बारम्बार दोहोरिरहन्छन् र त्यो कारणले कम्युनिस्ट आन्दोलनमा बारम्बार क्षति पुगिरहन्छ ।

    उपन्यासमा शिवध्वज बस्नेत, सिडियो नन्दबहादुर आदिको पनि चर्चा गरिएको छ, जसले कम्युनिस्ट आन्दोलनमा विचलन वा पतनका बेग्लाबेग्लै प्रवृत्तिको प्रतिनिधित्व गर्दछन् । सिडियो पहिलेका कम्युनिस्ट थिए तर पछि माफी मागेर जेलबाट छुटेका थिए र सिडियो पनि बनेका थिए । अब उनी पूरै पञ्च बनेका थिए र पञ्चायती व्यवस्थाअन्तर्गत नै अब आफ्नो भाग्य बनाउने प्रयत्नमा लागेका थिए ।

    शिवध्वज बस्नेत पहिलेका एउटा सक्रिय कम्युनिस्ट कार्यकर्ता थिए । उनी कागज गरेर जेलबाट छुटेका थिए । उनको मनमा अझै पनि कम्युनिस्ट आन्दोलनप्रति आस्था थियो तर प्रकट रूपले उनले पञ्चायती व्यवस्थाको विरोध गर्न सक्दैनथे । नेपालमा पञ्चायती कालमा त्यस प्रकारका पञ्चायती व्यवस्थालाई समर्थन गरेका तर आन्तरिक रूपले त्यसप्रति विरोध राख्ने वामपन्थीको पनि ठुलो सङ्ख्या थियो ।

    दिव्या पाल्पाकी एउटी वामपन्थी विद्यार्थी कार्यकर्ता थिइन् । उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) कि पाल्पा जिल्लाकी नेता पनि थिइन् । उनी २०३४ सालमा अयोध्यामा भएको एउटा विद्यार्थी सम्मेलनमा प्रतिनिधि भएर पनि आएकी थिइन् । उनकी दिदीले एउटा सिडिओसित विवाह गरेकी थिइन् । दिदीको मृत्यु भएपछि उनको विवाह उनका भिनाजु सिडियोसित नै भएको थियो ।

    आज सुनन्दा र विद्या उनी कहाँ आएका थिए । उपन्यासमा लेखिएको छ– “दिव्याले सुनन्दा र विद्यालाई सुनाउँदै भनिन्, म पहिले अखिलकी सक्रिय कार्यकर्ता थिएँ । अखिलको पाँचौँ सम्मेलन २०३४ सालमा अयोध्यामा भएको थियो । म पनि पाल्पाबाट प्रतिनिधि चुनिएर गएकी थिएँ । त्यो बेला मैले त्यहीँ पढ्दथेँ । जलजला केन्द्रीय समितिको सदस्यमा चुनिएकी थिई । म केन्द्रीय समितिको कोषाध्यक्षमा चुनिएकी थिएँ ।”

    त्यस सिलसिलामा अगाडि लेखिएको छ– “विद्याको त त्यो कुराप्रति ध्यान गएन तर सुनन्दाको यो कुराप्रति ध्यान नगईकन रहन सकेन, उनले (दिव्याले) जलजलालाई ‘तँ’ भनेर उल्लेख गरेकी थिइन् । उनले आफू कोषाध्यक्षमा चुनिएको र जलजला सामान्य सदस्यमा मात्र चुनिएको पनि बताएकी थिइन् । उनको त्यो कुरा कति सत्यता थियो वा थिएन ? सुनन्दालाई त्यो कुरा थाहा हुन सकेन तर उनको भाषाशैलीबाट उनले जलजलालाई होच्याउन खोजेको र उनको भन्दा उनको (दिव्याको) हैसियतमाथि भएको भनेर बताउन खोजेको कुरा प्रस्ट बुझिन्थ्यो ।”

    त्यो बेला सुनन्दालाई ता थाहा हुन सकेन तर उपन्यासबाट पछि थाहा हुनेछ, अयोध्याको विद्यार्थी सम्मेलनमा जलजला केन्द्रीय समितिमा चुनिएको कुरा सत्य थियो तर दिव्या त्यो सम्मेलनमा प्रतिनिधि पात्र भएर अवश्य गएकी थिइन् तर उनी कोषाध्यक्षको कुरा त परै छ, केन्द्रीय समितिको साधारण सदस्यमा पनि चुनिएकी थिइनन् ।

    सुनन्दालाई यो कुरा बुझ्न पनि बेर लागेन, या त जलजलाप्रति उनको मनमा कुनै पूर्वाग्रह वा द्वैष थियो वा त्यसरी जलजलालाई तुच्छ देखाएर आफ्नो महत्त्व बढाउन चाहन्थिन् ।

    केही रोकिएर दिव्याले भनिन्, ‘अखिलमा हुँदा म पाल्पा जिल्ला समितिकी कोषाध्यक्ष थिएँ तर अध्यक्ष, सचिवले मसित नसोधीकन कुनै काम गर्दैनथे । कहीँ भाषण गर्नुपर्‍यो भने सर्वप्रथम मलाई नै अगाडि सार्दथे । जुलुसमा सबैभन्दा अगाडि मलाई लगाउँथे । मेरो विवाह भयो र पो, नत्र ऐलेसम्म म अखिलकी अध्यक्ष भइसक्ने थिएँ ।’

    उनको कुरा सुनेर सुनन्दा फेरि मनमनै हाँसिन् । उनको हाँसोमा दिव्याप्रति एक प्रकारको व्यङ्ग्य लुकेको थियो ।

    दिव्याले नारायणी नदीमा डुबेर उनकी दिदीको मृत्यु भएको बताइन् । त्यस सिलसिलामा उनले अगाडि बताइन्, ‘दिदीको करले नै भिनाजु कागज गरेर जेलबाट छुट्नुभयो, नत्र उहाँ कति वर्ष जेलमा सड्नुपर्दथ्यो । जेलबाट छुटेपछि पनि उहाँले आफ्नो सारा जीवन एउटा आवाराले झैँ बिताउनुपर्दथ्यो, न बस्ने ठेगान, न खाने ठेगान । कुन बेला पुलिसले समात्ने हो ? कहाँ गोली लागेर मर्नुपर्ने हो ? केही ठेगान हुँदैनथ्यो ।’

    केही रोकिएर दिव्याले अगाडि भनिन्, ‘अरूको कुरा किन गर्ने ? त्यही जलजलालाई हेर्नुहोस् । त्यत्रो उमेर भइसक्यो । त्यसको त न घर छ, न बास । न विवाह हुन सक्यो, न छोराछोरी छन् । केटी मान्छे भएर एक्लै आवाराझैँ हिँड्छे । आज एउटा मान्छेसित हिँड्छे, भोलि अर्को मान्छेसित । मध्यरातमा एक्लै जङ्गलमा केटासित घुम्छे । मेरो श्रीमान्को पनि त्यही हाल हुन्थ्यो तर उहाँको भाग्य रहेछ । त्यसैले मेरी दिदीजस्ती श्रीमती पाउनुभयो । अझ पहिले त उहाँले मेरी दिदीलाई पढेलेखेकी छैन, विवाह गर्दिनँ भन्नुहुन्थ्यो रे तर दिदीलाई विवाह गरेपछि उहाँको भाग्य खुल्यो, नत्र आज उहाँले गल्लीको कुकुरले झैँ दु:ख पाउनुपर्दथ्यो ।’

    सुनन्दा र विद्याले चुपचापसित दिव्याका कुरा सुनिरहेका थिए । सुनन्दाको दिमागले दिव्याले जे भनिरहेकी थिइन्, ती कुराको तीव्र गतिले विश्लेषण गरिरहेको थियो भने विद्यामाथि उनका कुराको धेरै असर परिरहेको थियो ।

    नन्दबहादुरले राजा र संविधानलाई स्वीकार गरेर जेलबाट छुटेका थिए । सुनन्दाले सुनेकी थिइन्, कम्युनिस्ट र काङ्ग्रेसका कैयौँ नेता र कार्यकर्ता त्यसरी नै जेलबाट छुटेका थिए । कतिपयले त्यसलाई कानुनी औपचारिकताको भन्दा बढी महत्त्व दिएका थिएनन् र जेलबाट छुट्नेबित्तिकै पुन: पञ्चायती तानाशाही व्यवस्था विरोधी गतिविधिमा सक्रिय भएका थिए तर कतिपयले त्यसरी जेलबाट छुटेपछि पूरै पञ्चायती तानाशाही व्यवस्था अगाडि आत्मसमर्पण गरेका थिए । नन्दबहादुरले पनि त्यही गरेका थिए ।

    उनले कुनै दिन निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई उखेलेर फाल्नु आफ्नो ध्येय बनाएका थिए । अब त्यही व्यवस्थाअन्तर्गत पदप्रतिष्ठा प्राप्त गर्नु उनको जीवनको मुख्य उद्देश्य बनेको थियो । त्यो गद्दारी थियो ।

    दिव्याले जलजलालाई आवारा बताइरहेकी थिइन् । उनको भूमिगत जीवन र कार्यप्रणालीलाई उनले अत्यन्त अपमानजनक रूपमा प्रस्तुत गरेकी थिइन् । सुनन्दालाई लाग्यो, त्यसो गर्ने बेलामा स्वयम् उनको कति धेरै वैचारिक पतन भएको थियो ? त्यतातिर उनको ध्यान गएको थिएन । उनको जुन प्रकारको पतन भएको थियो, त्यस अवस्थामा त्यसबारे सोच्नु उनका लागि सम्भव पनि थिएन ।

    त्यही बेला विद्याका मनमा बेग्लै प्रकारका विचार खेलिरहेका थिए । पहिले पार्टीको कार्यकर्ताको रूपमा उनको खालि जलजलासित मात्र परिचय भएको थियो । थबाङमा जलजलासित परिचय भयो । त्यहाँबाट उनी सिधैँ लखनऊ गएकी थिइन् । उनको पार्टीसम्बन्धी ज्ञान र सम्बन्ध खालि त्यहीँसम्म मात्र सीमित थियो । पछि उनले कतिपय माक्र्सवादी–लेनिनवादी पुस्तक पनि पढेकी थिइन् तर व्यावहारिक रूपमा पार्टीबारे उनलाई अन्य कुनै ज्ञान थिएन । आज दिव्याबाट सुनेका कुराबाट उनलाई पार्टीसम्बन्धी कैयौँ रहस्योद्घाटन भएजस्तो लागिरहेको थियो । खास गरेर दिव्याले आफ्नो भिनाजु र जलजलाबारे जुन प्रकारको कुरा गरेकी थिइन्, त्यसबाट उनका मनमा धेरै नै प्रभाव परेको थियो ।

    नन्दबहादुरले आज पनि पार्टीमा काम गरिरहेको भए उनले गल्लीको कुकुरले झैँ जीवन बिताउनुपर्दथ्यो । खाने, बस्नेसम्म ठेगान हुँदैनथ्यो, न उनले घर बनाउन सक्दथे, न खेत किन्न सक्दथे ।

    उनले दिव्याको कोठा हेरिन् । त्यो कोठाले उनको वैभव र सम्पन्नताको प्रदर्शन गर्दथ्यो । के उनले पार्टीमा काम गरिरहेको भए त्यो सम्भव हुन्थ्यो ? उनका पति पार्टीमा नै लागिरहेको भए उनी सिडिओ बन्न सक्ने थिएनन् ।

    एकपल्ट उनी रोल्पाको सदरमुकाम लिबाङमा पनि गएकी थिइन् । त्यहाँ उनले सिडिओलाई पनि देखेकी थिइन् । सिडिओ घोडामा चढेर हिँड्थे । उनका पछि राइफल समातेका कैयौँ सिपाही हुन्थे । उनी कतै जान थाले भने बाटामा हिँड्ने मान्छे दायाबाया लाग्दथे । सबैले उनलाई नमस्कार गर्न थाल्थे ।

    विद्याले सोचिन्, सिडिओ भन्ने पद कति ठुलो हुँदो रहेछ । दिव्याका श्रीमान त्यस्तै ठुला मान्छे थिए तर उनी जेलमा बसिरहेको भए वा पार्टीमा लागेर हिँडिरहेको भए, के उनी त्यति ठुलो मानिस हुन सक्दथे । कहिल्यै पनि हुन सक्ने थिएनन् ।

    ती कुरा सोच्दासोच्दै उनलाई लाग्न लागेको थियो, पार्टी, क्रान्ति, माक्र्सवाद–लेनिनवाद, साम्यवाद, नयाँ जनवादी क्रान्ति आदि सबै बेकारका कुरा ता थिएनन् ? कैले नयाँ जनवादी क्रान्ति हुने हो, कैले समाजवाद आउने हो ? साम्यवाद त झन् धेरै टाढाको कुरा भयो । आकाशको फल आँखातरि मर । त्यो भविष्यको कल्पना गरेर आफ्नो वर्तमान जीवनलाई बर्बाद गर्नु—त्यो कहाँको बुद्धिमानीको कुरा थियो ?

    दिव्याप्रति विद्याका मनमा आदर र श्रद्धाको भावना पैदा भयो ।

    उनले पनि दिव्याको जस्तै सम्पन्न भविष्यको कल्पना गरिन् । उनले सोचिन्, उनी पार्टीका पछि लागिन् भने त्यस प्रकारको कुनै सम्भावना थिएन । दिव्याको सिडिओसित विवाह भएपछि नै उनको जीवन त्यति सम्पन्न भएको थियो । उनको पनि कुनै ठुलो र धनी मानिससित विवाह हुन सके उनको भाग्य खुल्ने थियो तर त्यस्तो मान्छे कहाँ पाउनू ? भाग्यले मात्र त्यस्तो लोग्ने पाइन्छ ।

    विद्याले यो पनि सोचिन्, त्यही जलजलाको पछि लागेर नै उनको नाममा वारेन्ट काटिएको थियो । त्यही जलजलाको पछि लागेर नै उनको भाग्य बिग्रेको हो ।

    उनको ध्यान अकस्मात् डा. जगदीशतिर गयो । त्यो मान्छेसित उनको विवाह हुन पाए उनको भाग्य खुल्ने थियो । त्योसित विवाह हुन पाए । पहिले सोभियत संशोधनवादी भनेर उनले उसलाई घृणा गर्दथिन् तर अब उनलाई लागिरहेको थियो, संशोधनवादी, प्रतिक्रियावादी, गद्दार जे भए पनि अब उनलाई त्यो कुराको कुनै मतलब थिएन ।

    सोच्दासोच्दै उनको ध्यान जलजलातिर गयो । अहिलेसम्म जलजला पहाडपर्वत, वनजङ्गलमा घुम्दै जसरी भूमिगत रूपले पार्टीको काम गर्दै आएकी थिइन्, त्यसप्रति उनका मनमा धेरै श्रद्धा थियो तर आज दिव्याको कुरा सुनेपछि उनका मनमा प्रथमपल्ट जलजलाप्रति बेग्लै प्रकारका धारणा उठ्न थाले ।

    दिव्याले जलजलाबारे भनेका सबै कुरा सत्य थिए । जलजला एक दिन एक जना मानिससित हिँड्थिन्, अर्को दिन अर्को मानिससित ।

    मध्यरातमा एक्लै जङ्गलमा केटाहरूसित घुम्ने गरेको कुरा पनि सत्य नै थियो । उनको अझैसम्म विवाह पनि भएको थिएन र छोराछोरी पनि थिएनन् । त्यसैले दिव्याले उनलाई आवारा बताएकी थिइन् । त्यो कुरा मान्न उनको मन अझै तयार थिएन तर उनको भूमिगत र पार्टी जीवनप्रति उनका मनमा पहिले जुन श्रद्धाको भावना थियो, त्यो धेरै नै घटेर गएको थियो ।

    पहिले विद्याले जलजलाजस्तै पार्टी कार्यकर्ता हुने कुरा सोच्थिन् तर अब उनको मनमा बारम्बार यो कुरा खेल्न थालिरहेको थियो, होइन, एउटी महिलाका लागि त्यस प्रकारको जीवन राम्रो कुरा थिएन । एउटा महिलाको विवाह होस् । सम्पन्न र विद्वान् पति होस् र पतिको राम्रो नोकरी वा आयको स्रोत होस् । खानलगाउन राम्रो व्यवस्था होस् । छोराछोरी होउन् । आखिर जीवन भनेको सुखका लागि पनि हो । बारम्बार त जीवन पाइन्न । एउटा जीवनमा सुख नपाए कैले प्राप्त गर्ने ?

    दिव्याले आफ्नो कुरा सुरु गरिन्, ‘दिदीको मृत्यु भएपछि बुबाआमाले मेरो विवाह भिनाजुसित गर्दिनुभयो । पहिले ता मैले त्यो प्रस्ताव मानिनँ । कहाँ म एउटा क्रान्तिकारी, अखिलकी सक्रिय कार्यकर्ता, कहाँ भिनाजु सिडिओ पार्टीलाई छाडेर पञ्चायती तानाशाही व्यवस्थामा लागेको मान्छे ? भिनाजुसित विवाह गर्न म तयार भइनँ । पाल्पाकी म विद्यार्थीकी नेता नै थिएँ । साथीहरूले के भन्लान् भन्ने लाग्यो तर पछि म तयार भएँ ।’
    ‘के सोचेर तयार हुनुभयो दिदी ?’ विद्याले सोधिन् ।

    ‘मैले सोचेँ, विद्यार्थीको नेता भनेको २/४ दिनको कुरा हो । घरका जहानले खर्च दिँदासम्म, पढ्दासम्म नेता बन्ने हो । आखिर विवाह नगरीकन हुन्न । घरगृहस्थी गर्नैपर्दछ । घरगृहस्थी गर्न पैसा चाहिन्छ । अहिलेको जमानामा पैसा सबैभन्दा ठुलो कुरा हो । भिनाजुसित पैसा थियो । खानलाउन, सुखसयल गर्न कुनै दु:ख थिएन । दिदीका थुप्रै गहना र कपडा थिए । मैले ती सबै देखेकी थिएँ । अब ती सबै मेरै हुन्थे ।

    मैले उहाँसित विवाह नगरे उहाँले अरू कसैसित विवाह गर्नुहुन्थ्यो र ती सबै गहनाकपडा अरूका हुन्थे । भावनामा उडेर मात्र के गर्ने ? पछि मैले व्यावहारिक भएर सोचेँ । मैले सोचेँ, भिनाजुजस्ता धनसम्पत्ति, जग्गाजमिन, मानइज्जत भएको मान्छे पाउनु सजिलो हुन्न । दिदीले भिनाजुसित विवाह गर्दा उहाँहरूको कुनै सम्पत्ति थिएन । दिदीले कति दु:ख गरेर भिनाजुलाई ठुलो मान्छे बनाउनुभएको थियो तर मैले कुनै दु:ख गर्नुपर्ने आवश्यकता थिएन । मैले दिदीले प्रयत्न गरेर कमाएको धनसम्पत्तिमा राज गर्न सक्दथेँ । साथीभाइले २/४ दिन कुरा काट्थे । भिनाजुले पार्टी छोडेर पञ्चायती व्यवस्थामा सामेल हुँदा पनि उहाँका बारेमा मान्छेले कति कुरा काटेका थिए ? मैले नै उहाँको विरोध गरेकी थिएँ तर उहाँले धनसम्पत्ति कमाएपछि सिडिओ भएपछि सबैले उहाँको इज्जत गर्न थाले । सिडिओको पत्नी भएपछि मेरो पनि इज्जत हुनेछ । विवाह हुनेबित्तिकै सिडिओ साहेबनी बन्न पाउनु—त्यो भाग्यले मात्र पाइने कुरा थियो । ती सबै कुरा सोचेर मैले विवाह गर्न मञ्जुर गरेँ ।’

    दिव्याका कुरालाई उनले अलिकति पनि महŒव दिइरहेकी थिइनन् ? उनलाई लागिरहेको थियो, त्यो पतन थियो, पतनको पराकाष्ठा ।
    सुनन्दा मनमनै पुन: व्यङ्ग्यपूर्वक हाँसिन् तर विद्याको मुखको भावबाट प्रष्ट हुन्थ्यो, दिव्याका कुराको उनीमाथि धेरै नै असर भइरहेको थियो । उनलाई लागिरहेको थियो, उनले (दिव्याले) बुद्धिमत्तापूर्ण निर्णय गरेकी थिइन् । एकैपल्ट त्यति ठुलो मान्छे, सिडिओसित विवाह हुन पाउनु र त्यति धेरै सम्पत्तिको मालिक हुन पाउनु कम सौभाग्यको कुरा थिएन, नत्र आज उनले पनि सायद जलजला दिदीले झैँ दु:ख पाएर हिँड्नुपर्दथ्यो होला ।

    उनलाई जलजलाप्रति टिठ लागेर आयो । त्यति पढेलेखेकी, बुद्धिमान् मान्छे भएर उहाँले किन आफ्नो जीवन र भविष्यबारे राम्ररी सोच्न नसकेको होला ।

    दिव्याले आफ्नो स्टिलको दराज खोलिन् । त्यहाँबाट गहना र कपडा झिक्दै पाहुनालाई देखाउन थालिन् । उनका पाहुना साधारण मान्छे थिएनन् । भारतबाट त्यति टाढाबाट आएकी, एउटीले पिएचडी गर्दै थिइन्, अर्कीले आइएमा पढ्दै थिइन् । उनीहरू फर्केर गए भने उनको नाम टाढाटाढासम्म फैलिनेछ । दिव्याले देखाउन चाहन्थिन्, उनी पनि साधारण मान्छे थिइनन् । उनले आफ्ना गहनाकपडाको प्रदर्शन गरेर यो प्रमाणित गर्न चाहन्थिन्, उनी कुनै साधारण महिला थिइनन् ।

    साडी मात्र २५ ओटा, लेडिजकोट ५ ओटा, स्विटर आधा दर्जनभन्दा बढी थिए । उनले आफ्ना दिदीका सारी, लेडिज कोट, स्विटर आदि देखाउँदै ती कहाँबाट ल्याएका हुन् ? कति पैसा परेको हो ? त्यो बताउँदै थिइन् । सबै कपडाको मूल्य बताउँदा उनले प्राय: दोब्बर बढाएर बताउने गर्दथिन् । दिदीका पालामा किनेका जुन कपडाको मूल्य उनलाई थाहा थिएन, तिनीहरूबारे पनि अन्दाजले सकेसम्म बढाएर बताउने गरेकी थिइन् ।

    उनले मनमनै सोचेकी थिइन्, यी केटीले यस्ता कपडा कहाँ देखेका होलान् र ? जति भने पनि पत्याइहाल्छन् ।

    आज दिव्याले आफ्नो सम्पन्नताको पूरा प्रदर्शन गर्न चाहन्थिन् । अन्य महिलाहरू आए भने प्राय: उनले आफ्ना गहना र कपडाका प्रदर्शन गर्ने गर्दथिन् । उनको विशिष्टता, महत्त्व, उच्चता आदि ती गहना वा कपडामा नै निहित थियो । उनको त्यो उत्साह आज कैयौँ गुना बढेको थियो ।
    उनले आफ्नो दराजबाट दुईओटा औँठी निकालेर देखाउँदै भनिन्– यी हीराका औँठी हुन् । एउटा सिडिओ साहेबले दिदीलाई किनिदिनुभएको थियो, पछि अर्को मलाई किनिदिनुभएको हो । त्यसपछि उनले भनिन्, ‘उहाँले मलाई हीराको हार किनिदिने कुरा गर्नुभएको छ । मन्त्रीका दुलहीसित पनि त्यस्ता गहना छैनन् । एकपल्ट अञ्चलाधीश ता बन्न पाऊँ अनि तुरुन्तै त्यो हार किनिदिन्छु भन्नुभएको छ ।’

    दिव्याले अगाडि भनिन्– ‘यी सबै गहना, कपडा मेरी दिदीको बुद्धिले गर्दा कमाउन सकिएको हो । सिडिओको तलब ता कति हुन्छ र ? घरको खर्च, केटाकेटीको पढाइ, गहनाकपडा आदि सबै गर्दा खान पनि पुग्दैन तर दिदीले कैयौँ जुक्ति जान्नुभएको थियो ।’

    सिडिओ, अञ्चलाधीश भएपछि मान्छेहरू एकसेएक काम ल्याएर आउँछन् । आफ्नो कामका लागि ५०/५० हजार, कुनै कुनै बेला लाख लाख रुपैयाँसम्म दिन तयार हुन्छन् । भिनाजुले ता पहिले घुस खान हुन्न भन्नुहुन्थ्यो । नैतिकता र इमानदारितापूर्वक काम गर्नुपर्दछ भन्नुहुन्थ्यो तर दिदीले भिनाजुलाई साफ झपार्नु भयो । नैतिकता र इमानदारिताको कुरा गर्ने विचार भए पार्टी छाड्न हुँदैनथ्यो । एकपल्ट सिद्धान्त बेचेपछि, पार्टीसित गद्दारी गरेपछि के को नैतिकताको कुरा ? एकपल्ट दिदीले भिनाजुलाई त्यस्तो भन्दा म अगाडि नै थिएँ । मैले पनि भिनाजुको पक्ष लिएर कुरा गरेँ । दिदीले हाँस्दै मलाई भन्नुभयो– ‘पछि थाहा पाउलिस् ।’ त्यस बेला ता म दिदीका अगाडि उफ्रेँ तर मैले अहिले बल्ल बुझेँ । दिदीले कति टाढा भविष्यसम्म देख्न सक्नुभएको रहेछ ।

    एकपल्ट घुस खान सुरु गरेपछि ता त्यो सिलसिला नै चल्यो । कैयौँले कुरा पनि काटे । पत्रपत्रिकाले पनि लेखे । बदनामी पनि भयो । बिचबिचमा भिनाजु आत्तिनुहुन्थ्यो तर दिदीले भन्नुहुन्थ्यो– सधैँ पञ्चायती व्यवस्था रहनेछ भन्ने पनि केही छैन । सिडिओ पनि सधैँ हुन पाइनेछ भन्ने पनि छैन । मौका पाएको बेलामा सकेसम्म पैसा बटुल्नुपर्दछ । भिनाजुले त्यही गर्नुभयो । भ्रष्टाचारको आरोपमा नै उहाँ सिडिओबाट खारेज हुनुभयो तर त्यसका लागि कुनै चिन्ता छैन । ३ वर्ष सिडिओ हुँदा भिनाजुले लाखौँ रुपैयाँ कमाउनुभयो । २ लाख खर्च गरेर भ्रष्टाचारको आरोपबाट सफाइ पाउनुभयो । अब एकपल्ट उहाँ अञ्चलाधीश हुन पाउनुभयो भने लाखौँ होइन, हामीले करोडौँ रुपैयाँ कमाउनेछौँ । दिदीले केही पढ्नुभएको थिएन र ता त्यतिका पैसा कमाउनुभयो भने मैले ता आइएसम्म पढेकी छु, करोडौँ पैसा कमाउने उपाय निकाल्नेछु ।

    दिव्याले दराजमा राखेका नोटका केही बन्डलहरू देखाउँदै भनिन्, ‘अहिले हामीसित ५ लाख नगद छ ।’ त्यहाँ रु. ५० हजार मात्र थियो तर उनले ५ लाख बताइन् । आखिर गनेर देखाउनुपर्ने होइन । जति भने पनि के फरक पर्दछ ? दिव्याले सोचिन् ।

    त्यसपछि दिव्याले भनिन्, ‘त्यो पैसा ता घर खर्चलाई चाहिन्छ भनेर राखेका छौँ । बैङ्कमा २० लाख भएको बताएकी थिइन् । बैङ्कको पैसा देखाउनुपर्ने होइन । जति भने पनि के फरक पर्दछ र ? उनले एकदम झुटो पनि ता भनेकी थिइनन् । उनका पति अञ्चलाधीश बने भने बैङ्कमा २० लाख मात्र होइन, ५० लाख पनि जम्मा हुनेछ । एक करोड पनि हुनेछ ।

    केही रोकिएर उनले भनिन्, ‘हामीले काठमाडौँमा घर किनिसकेका छौँ । सिडिओ साहेबलाई फुर्सत भएको छैन । छिट्टै घर सर्ने विचार छ । चारतले पक्की आधुनिक प्रकारको बङ्गला छ ।’

    दिव्याले भनेको त्यो कुरा गफ मात्र थियो । उनले सोचेकी थिइन्, त्यो कुरा भने पनि यी केटीले के थाहा पाउँछन् र त्यहाँ को हेर्न जान्छ र ?
    दिव्याका ती सबै कुरा सुन्दा सुनन्दालाई एक प्रकारको आनन्द लागिरहेको थियो । उनका अगाडि एउटा पिछडिएको व्यक्तित्वका कैयौँ पृष्ठ एकपछि अर्को गर्दै खुल्दै गइरहेकोजस्तो लागिरहेको थियो तर सायद पुस्तकका पृष्ठ होइन, सिनेमामा एउटापछि अर्को गर्दै कैयौँ पात्र उनका अगाडि घुमिरहेजस्तो लागिरहेको थियो । उनी मनमनै हाँसिरहेकी थिइन् तर विद्याले मन्त्रमुग्ध भएर दिव्याका कुरा सुनिरहेकी थिइन् । दिव्याले देखाएका एकसेएक मूल्यवान् कपडा, हीराको औँठी, उनका पतिले अञ्चलाधीश भएपछि किनिदिने भनेको हिराको हार, उनको दराजमा राखिएका नोटका गड्डी बैङ्कमा भएको २० लाख रुपैयाँ काठमाडौँमा उनको भव्य बङ्गला अञ्चलाधीश भएपछि करोडौँ रुपैयाँ कमाउने योजना—ती सबै कुरा सुनेर विद्या दङ्गदास भइरहेकी थिइन् ।

    सुनन्दा माउन्ट एभरेस्टको उडानमा गएको बिहान विद्या पुन: दिव्यालाई भेट्न गएकी थिइन् । त्यो दिन पनि उनको (विद्याको) दिव्यासँग लामो कुरा भएको थियो ।

    दिव्याले जलजलाबारे पनि कैयौँ नयाँ कुरा बताएकी थिइन् । उनले बडो स्पष्ट शब्दमा भनेकी थिइन्– जलजलाको समाजमा कुनै इज्जत छैन । सबैले उनको निन्दा गर्दछन् । उनी एउटी बदनाम आइमाई हुन् ।

    नारी भनेका घरका गहना हुन् । घरभित्र बस्दासम्म नै उनीहरूको इज्जत हुन्छ । घरगृहस्थी, पति, छोराछोरी, त्योभन्दा बाहिर निस्केपछि महिला वेश्याजस्ता हुन्छन् । दिव्याले सिधैँ भनेकी थिइन्– ‘त्यो जलजला वेश्या हो, वेस्या !’

    दिव्याको कुरा विद्यालाई ठिक लागेको थियो । सुनन्दा र विद्या विनाउद्देश्य यता र उता घुमिरहेका थिए । जलजलालाई खोज्ने काम पनि बेकारको काम थियो । त्यसबाट उनीहरूलाई के फाइदा हुन्थ्यो ? केही पनि फाइदा हुँदैनथ्यो । जलजलालाई खोज्न त्यतिका दु:ख र कष्ट उठाएकामा उनलाई पश्चात्ताप लाग्न थालेको थियो ।

    अब उनका मनमा जलजलाप्रति पहिलेजस्तो आदर र श्रद्धाको भाव थिएन । उनलाई लाग्न थालिरहेको थियो, पहिले उनका मनमा जलजलाप्रतिको जुन श्रद्धा थियो, त्यो अन्धश्रद्धा थियो । दिव्याले उनको आँखा खोलिदिएकी थिइन् । वास्तवमा भन्ने हो भने उनले (दिव्याले) उनलाई नयाँ ज्ञान दिएकी थिइन् ।

    जलजलाप्रति अब उनको मनमा कुनै श्रद्धा थिएन । कुनै आदर थिएन तैपनि उनका मनमा कता कता यस्तो लाग्दथ्यो, उनले अझै पनि उनलाई (जलजलालाई) माया गर्दथिन् तर अब उनी (विद्याले) उनको (जलजलाको) विचारलाई समर्थन गर्न वा उनले अपनाएको बाटोलाई अनुशरण गर्न सक्दैनथिन् ।

    ती कुरा सोच्दासोच्दै उनका मनमा यो कुरा खेल्न लाग्यो, डा. जगदीशसित उनको विवाह हुन सकेमा उनी दिव्याभन्दा सम्पन्न हुन सक्दथिन् । उनी डाक्टर र प्रोफेसर थिए । उनले देखेकी थिइन्, दिल्लीमा उनको ठुलो घर थियो, कार पनि थियो । उनले सुनेकी थिइन्, गढवालमा पनि उनको ठुलो घर र धेरै जग्गा थियो । डा. जगदीशले ता विदेशमा ठुलो प्रोजेक्टमा काम गर्दथे । त्यसैले उनले दिव्याका पतिले भन्दा कैयौँ गुणा बढी सम्पत्ति कमाउन सक्दथे । उनले देशविदेश भ्रमण गर्न सक्दथिन् । त्यो दिव्या ता एउटा अञ्चलाधीशकी पत्नी बने पनि काठमाडौँमा कुवाको भ्यागुताझैँ थन्केर बस्नुपर्नेछ ।

    विद्याको मनमा फेरि एउटा अर्को द्विविधा देखा पर्‍यो । सुनन्दाले डा. जगदीशसँग विवाह गर्न अस्वीकार गरे पनि उनले (डा. जगदीशले) उनीसित नै विवाह गर्नेछन् भन्ने कुराको के ग्यारेन्टी थियो ? उनीसित विवाह गर्न उनी (विद्या) भन्दा पढेलेखेका, राम्रा र सम्पन्न घरका सयकडौँ केटी तयार हुनेछन् । उनी त लखनऊमा चिया दुकान गरेर बस्ने एउटा सामान्य गरिब मान्छे कि छोरी थिइन् । उनलाई डा. जगदीशले के पत्याउलान् ।

    उनलाई आफ्नो बाबुमाथि रिस उठेर आयो । एउटा गरिबकी छोरी भएकामा उनले आफ्नो भाग्यलाई सरापिन् । उनले मनमनै सोचिन्, उनी कुनै धनी र सम्पन्न बाउकी छोरी भएको भए कति राम्रो हुन्थ्यो ?

    विद्या मनमनै धेरै निराश र दुखित भइन् । उनका आँखाबाट आँसु चुहुलान्जस्तो भयो । त्यही बेला सुनन्दाले विद्यातिर हेरिन् । उनी रुन खोजेकोजस्तो देखेर सुनन्दाले भनिन्, ‘के भयो विद्या ? तिमी रुन खोजेकी छ्यौ कि के हो ? किन रुन खोजेको ?’ विद्याले भनिन्– ‘केही होइन, जलजला दिदीलाई सम्झेर ।’

    दिव्या दिल्लीको जेएनयु युर्निभर्सिटीमा सुनन्दासित सँगै बस्दथिन् । अब विद्याले जलजलालाई राम्री मान्छे ठान्दिनथिन् । दिव्याको उनीमाथि पूरा असर परेको थियो । उनले अब जलजलालाई आवारा ठान्न थालेकी थिइन् । अब उनका मनमा उनी (जलजला) प्रति कुनै आदर, सम्मान वा स्नेहको भावना बाँकी रहेको थिएन ।

    दिल्लीको एउटा बस दुर्घटनामा जलजलाको मृत्यु भएको थियो । अब जलजलाको मृत्युका लागि विद्यालाई दु:ख मात्र होइन, पश्चात्ताप पनि लागिरहेको थियो । धेरै नै पश्चात्ताप । उनलाई यस्तो पनि लाग्न थालिरहेको थियो, उनको मृत्युका पछाडि कहीँ उनी नै दोषी त थिइनन् ।
    लखनऊबाट जलजला दिल्लीको लागि हिँड्ने बेलामा सुनन्दाले उनलाई भनेकी थिइन्, ‘तिमी पनि जलजला दिदीसँग सँगै जाऊ । उहाँ दिल्लीमा प्रथमपल्ट जाँदै हुनुहुन्छ । उहाँलाई एक्लै जान मुस्किल पर्न सक्छ । तिमी सँगै गयौ भने उहाँलाई सजिलो हुनेछ ।’

    तर विद्याले त्यो कुरा मानेकी थिइनन् । उनले भनेकी थिइन्, ‘घरमा मेरा केही जरुरी काम छन् । मपछि तपाईंसित सँगै दिल्ली जानेछु ।’

    अब विद्यालाई लागिरहेको थियो, उनी जलजलासित सँगै भएको भए त्यो दुर्घटना हुँदैनथ्यो होला । दिल्लीका बसबारे उहाँलाई थाहा थिएन । त्यसैले बसबाट झर्दा उहाँ भुइँमा बजारिन पुग्नुभयो र उहाँको निधन भयो । त्यही कुरा सोचेर अब उनले जलजलाको मृत्युका लागि आफू धेरै दोषी भएको सोच्न थालेकी थिइन् । त्यसका लागि उनलाई पश्चात्ताप लागेको थियो र उनलाई बारम्बार रुन मन लाग्थ्यो ।

    विद्याले बारम्बार यो सोचेर आफूलाई धिक्कार्ने गर्दथिन् कि दिव्याजस्ती महिलाको कुरा सुनेर उनले जलजलाप्रति नराम्रो धारणा बनाएकी थिइन् । अब उनलाई यो स्पष्ट भएर गएको थियो, स्वयम् दिव्या कुनै राम्री महिला थिइनन् । बाइक भएको केटा पाएपछि साइकल चढ्ने केटासितको प्रेमलाई तोड्ने र सिडियोसँग विवाह हुने अवसर आएपछि बाइक चढ्ने केटासितको सम्बन्ध पनि तोड्ने । आफ्नी दिदीले पतिलाई, उनको भिनाजुलाई, घुस खान लगाएर जम्मा गरेको धनसम्पत्ति र गहनाका लागि गर्व गर्ने उनकी दिदीले आफ्नो पतिलाई सिद्धान्त र पार्टीलाई छाडेर पञ्चायती व्यवस्थामा सामेल गराउन सक्नुलाई आफ्नो सफलता मान्ने ? त्यस्ती महिलाको कुरा सुनेर उनले जलजलाजस्ती उनलाई त्यति धेरै माया गर्ने र आफ्नो सिद्धान्त र कर्तव्यपथमा लगातार अगाडि बढिरहेकी दिदीलाई घृणा गर्न थालेकी थिइन् ।

    अब उनको मनमा सुनन्दाप्रतिको आदर र सम्मान पहिलेभन्दा कैयौँ गुणा बढेर गएको थियो । जुन जलजला दिदीसित उनले एक प्रकारले सम्बन्धविच्छेदजस्तो गरेकी थिइन्, तिनै जलजलालाई सुनन्दाले धेरै नै माया र आदर गर्न थालेकी थिइन् । उनलाई यस्तो लाग्न थालिसकेको थियो, अब उनका अगाडि सुनन्दा स्वयम् जलजला बनेर उभिएकी थिइन् ।

    अब जलजलाप्रतिको उनको माया र आदर पुन: फर्केर आएको थियो । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “जलजलाप्रतिका उनका भावनामा भएको त्यस प्रकारको उतारचढावले उनको निम्नस्तरको वैचारिक स्तरलाई नै बताउँदथ्यो । कुनै दिन उनी पक्का कम्युनिस्ट भएकी थिइन् तर उनको पार्टीप्रतिको त्यस प्रकारको समर्थन कुनै सैद्धान्तिक स्तरमा नभएर भावनात्मक स्तरमा नै थियो । जलजलाप्रतिको उनको प्रेम वा आदरभाव वैचारिक स्तरमा स्थापित भएको थिएन । त्यसैले दिव्याका केही कुराहरू सुन्नेबित्तिकै पार्टी र जलजलाप्रतिको उनका सम्पूर्ण धारणा धरासायी भएका थिए । अहिले जलजलाको मृत्युपछि पुन: उनको जलजलाबारे दिव्यासितको कुराकानीबाट उनको मनमा जुन असर परेको थियो, त्यो सबै हटेर गएको थियो । अब उनी पहिलेकी जस्तै विद्या बनेकी थिइन्, जलजलालाई हृदयदेखि नै प्रेम र आदर गर्ने विद्या ।’

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.