• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

‘कामरेड जलजला’ प्रति न्याय गरेको विवेचनात्मक कृति


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    पुस्तक परिचय

    मूलत: राजनीतिक भूमिकामा रहेका मनोज भट्टको नयाँ कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ प्रकाशन भएको छ । २०८२ मङ्सिर २० गते काठमाडौँमा औपचारिक कार्यक्रम आयोजना गरेर ‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले सो पुस्तक विमोचन गरेका थिए ।

    रामप्रकाश पुरीको भूमिका रहेको सो पुस्तकको प्रकाशन गीता भट्ट (डोटी) ले गरेकी छिन् । २६० पृष्ठको सो पुस्तकमा प्रारम्भिक पृष्ठ ३८ र ३ पृष्ठमा सन्दर्भ सामग्री रहेका छन् । डिमाइ आकारको सो पुस्तक सफ्ट कभरमा रहेको छ । पुस्तकको मूल्य ४२५ राखिएको छ ।

    लेखकको बारेमा

    लेखक भट्ट राजनीतिकर्मी हुन् । यतिखेर उनी राष्ट्रिय जनमोर्चाको महासचिवको भूमिकामा छन् । यसअघि नेकपा (मसाल) को भ्रातृ सङ्गठन अखिल (छैठौं) मा पनि उनले लामो समय काम गरिसकेका छन् । भट्टले आजीवन नेकपा (मसाल) को राजनीतिलाई अगाडि बढाइरहेका छन् । त्यस क्रममा उनले राष्ट्रिय जनमोर्चाको तर्फबाट पटकपटक उम्मेदवारीसमेत दिएका छन् ।

    लेखक भट्ट अध्ययनशील र लेखकीय भूमिकामा पनि छन् । पार्टीको राजनीतिलाई प्रष्ट पार्न उनको कलम चल्ने गरेको छ । उनको त्यो लेखनयात्रा अहिले पनि निरन्तर छ । यसभन्दा अघि ‘चिनियाँ तथा भारतीय साम्राज्यवाद’ र ‘नेपाल–भारत सम्बन्ध’ शीर्षकमा दुई पुस्तक आकारको कृति प्रकाशन भइसकेको छ । प्रथम कृति नेकपा (मसाल) को २०७६ सालमा सम्पन्न आठौँ महाधिवेशनमा चलेको बहस (भारत साम्राज्यवादी देश हो कि होइन ?) सित सम्बन्धित रहेको देखिन्छ । दोस्रो कृति भारतको नेपालनीतिमाथि प्रकाश पार्नमा केन्द्रित छ ।
    हालसम्मको लेखनयात्रामाथि विचार गर्दा लेखक भट्ट मुख्यत: वैचारिक विषयका लेखक हुन् । उनले मूलत: राजनीतिक विषयमा कलम चलाएका छन् । उनले साहित्यिक विषयमा थोरै कलम चलाएका छन् । पुस्तकमा भनिएको छ– “कुनै साहित्यिक कृतिका विषयमा प्रतिक्रिया दिएर लेखिएको यो मेरो पहिलो पुस्तक हो ।… साहित्य र कला क्षेत्रको कुनै विशिष्ट वा व्यवस्थित ज्ञान भएको वा जानकार म होइन” (पृ. ३४–३५) । यसरी पुस्तकआकारमा लेखक भट्टको यो पहिलो साहित्यिक कृति पुष्टि हुन्छ ।

    विषयप्रवेश

    शीर्षकबाटै प्रष्ट छ, प्रस्तुत पुस्तक उपन्यासकार सिंहको उपन्यास ‘कामरेड जलजला’ सित सम्बन्धित छ । यस पुस्तकले मुख्यत: ‘कामरेड जलजला उपन्यासमा के छ’ भन्ने भन्ने प्रश्नबारे सङ्क्षिप्तमा उत्तर दिएको छ । रोयल साइजमा १,३२० पृष्ठको भीमकाय पुस्तक पढ्न नभ्याउने, पढेपछि पनि विषयवस्तु छिचोल्न नसकेको वा त्यस्तो अनुभूति भएका पाठकका लागि प्रस्तुत पुस्तकले ‘गुन’ लगाउने निश्चित छ ।

    लेखकले पहिले “कङ्गारु” शैलीबाट (पृ. २५) ‘कामरेड जलजला’ उपन्यास पढेको र पछि प्रस्तुत पुस्तक लेख्नुअघि विस्तृतमा अध्ययन सम्पन्न गरेको बताएका छन् । पुस्तकको विषयसूची पढ्नासाथ यो तथ्य प्रष्ट हुने पनि छ । लेखकले उपन्यासकार, औपन्यासिक प्रवृत्ति, विधातत्त्व, अन्तरवस्तु, पात्रचर्चा, सीमा र कमजोरी, निष्कर्षजस्ता उपशीर्षकअन्तर्गत उपन्यासको चर्चा गरेका छन् । त्यस क्रममा उनले अन्य सम्बन्धित सामग्री पनि प्रशस्त मात्रामा अध्ययन गरेका छन् भन्ने निष्कर्षमा पुग्न सन्दर्भ सामग्रीसूचीले पनि सहजता प्रदान गर्दछ ।

    पुस्तकमा लेखकले उपन्याससित सम्बन्धित रहेर अरू पनि विषय पस्किएका छन् । उपन्यासको विषयवस्तु, आकार, तयार पार्न लागेको समय, महाउपन्यासको सन्दर्भ, दर्शन, विचार र अन्य सान्दर्भिक विषय यस पुस्तकमा समावेश गरिएको छ । यस अर्थमा लेखकको यस कृतिमा उपन्यासको मात्रै चर्चा छैन, यससित सम्बन्धित विविध विषय समेटिएका छन्, जसले पाठकलाई विविध विषयमा जानकारी प्राप्त गर्नेछन् ।

    लेखकले उपन्यासको विवेचना गर्ने क्रममा प्रशस्त मिहिनेत गरेका छन् । त्यस क्रममा उपन्यासको केस्रा केस्रा केलाएर त्यसको विवेचना गरेका छन् । त्यससँगै उपन्याससित सम्बन्ध राख्ने गरी अन्य सहायक सामग्री पनि प्रस्तुत गरेका छन् । त्यस अर्थमा यो पुस्तकले उपन्यासको विवेचनासँगै अरू विषयसित पनि सम्बन्ध राखेको निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।

    पुस्तकको विषयवस्तु

    पुस्तकको विषयवस्तु ‘कामरेड जलजला’ उपन्यास बृहत् छ । १,३२० पृष्ठ, ५०० बढी पात्र, ५ लाख शब्द भएको यस्तो कृति विवेचना गर्ने क्रममा त्यसलाई सरल र सुबोध बनाउन लेखकले आफ्नो पुस्तकमा विभिन्न उपशीर्षक दिएका छन् ।

    सर्वप्रथमले लेखकले उपन्यासकार सिंहको सङ्क्षिप्त चिनारी दिएका छन् । त्यसपछि उनले उपन्यासको संरचनाबारे चर्चा गरेका छन् । त्यससँगै उनले औपन्यासिक प्रवृत्तिको रूपमा सामाजिक यथार्थता र प्रगतिवादको चर्चा गरेका छन् । उपन्यासको विधातत्त्वको रूपमा लेखकले कथावस्तु, परिवेश, पात्र, दृष्टिविन्दु, सारवस्तु, प्रतीक, उद्देश्यबारे चर्चा गरेका छन् ।

    उपन्यासको अन्तरवस्तुबारे चर्चा गर्न लेखकले धेरै उपशीर्षक चयन गरेका छन् । त्यस क्रममा पहिला दर्शन, खासगरी कम्युुनिस्ट दर्शनबारे चर्चा गरिएको छ । त्यसअन्तर्गत द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दृष्टिकोणको चर्चा गरिएको छ । त्यसपछि विश्वदृष्टिकोणसँगै वर्गसङ्घर्ष, पुँजीवाद, कम्युनिस्ट आन्दोलन, आमामय विश्व, सांस्कृतिक रूपान्तरण, प्रेम र विवाह, इतिहास, अपाङ्गता, पर्यावरण तथा लक्ष्मीप्रसाद देवकोटा, योगमाया आदिको बारेमा चर्चा गरिएको छ ।

    पुस्तकमा सङ्क्षिप्तमा उपन्यासको सीमा र कमजोरीबारे उल्लेख गरिएको छ । अन्तमा अत्यन्तै सङ्क्षिप्तमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
    नेकपा (मसाल) को केन्द्रीय प्रवक्तासमेतको भूमिकामा रहेका रामप्रकाश पुरीले पुस्तकमा लामै भूमिका लेख्नुभएको छ । त्यससँगै त्योभन्दा केही छोटो आकारमा लेखकीय छ । यी दुवै सामग्री अध्ययन गर्दा मात्रै पनि पुस्तकको सङ्क्षिप्त चित्र पाठकको मानसपटलमा अङ्कित हुन पुग्दछ । जुन पाठकले मूल उपन्यास अध्ययन गरिसकेका छन्, उनीहरूका लागि पनि आफ्नो अध्ययनको सीमा वा कमजोरी पत्ता लगाउन प्रस्तुत पुसतक उपयोगी हुने देखिन्छ । त्यसका विपरीत जसले मूल उपन्यास पढ्न भ्याएका छैनन्, उनीहरूले प्रस्तुत कृति पढिसकेपछि मूल उपन्यास पढ्ने योजना बनाउनेछन् ।

    लेखकले आफ्नो पुस्तकमार्फत् ‘कामरेड जलजला’ उपन्यासको आख्यानलाई पुनरावृत्ति गराएर पाठकलाई दिक्क बनाएका छैनन् बरु उपन्यासलाई आफ्नो दृष्टिकोणअनुसार चर्चा गरेर जीवन्त बनाएका छन् । फलस्वरूप पुस्तक पढिसकेपछि पनि पाठकमा मूल उपन्यासमा के छ ? कसरी उपन्यास अगाडि बढ्छ भन्ने जिज्ञासा यथावत् रहिरहनेछ । यस अर्थमा लेखक भट्ट आफ्नो पुस्तकमार्फत् सफल भएको निष्कर्ष दिन सकिन्छ ।

    विवेचना कि समालोचना ?

    पुस्तकको लेखकीयमाथि विचार गर्दा प्रस्तुत पुस्तक विवेचना हो कि समालोचना हो भन्ने विषयमा छलफल भएको सङ्केत मिल्दछ । लेखकले भने आफ्नो पुस्तकलाई विवेचना र समालोचनाको समिश्रण बताएका छन् । उनको यो स्वीकारोक्तिले यही बताउँछ : “यो पुस्तक कामरेड जलजला उपन्यासको समालोचना र विवेचना दुइटैको समिश्रण हो । यो पुस्तकमा समालोचना र विवेचना दुइटैका गुण तथा विशेषता मिसिएका छन्” (पृ. २६–२७) ।

    सामान्यत: विवेचनामा सकारात्मक पक्षको गुणगान गाइन्छ भने समालोचनामा सबल पक्ष र कमजोरी पक्ष दुवैमाथि जोड दिइन्छ । यस अर्थमा समालोचना बढी गहन र हिम्मतिलो लेखाइ मानिन्छ । यता, विवेचनामा भने ‘कृतिमा के छ’ भन्ने विषयमा ध्यानकेन्द्रित गरिएको पाइन्छ । त्यसको अर्थ विवेचनामा आलोचना हुँदै हुन्न भन्ने होइन, विषयप्रसङ्गअनुसार कमीकमजोरीको आलोचना गर्ने गरिन्छ तर आलोचनामा छुट्टै प्रकारले ध्यानकेन्द्रित गरिन्न । समालोचनामा भने कृतिको सबल पक्ष र दुर्बल पक्ष दुवैमा समान प्रकारले ध्यानकेन्द्रित गरिन्छ । कृतिको विचार पक्ष, संरचना, अन्तरवस्तु, कलापक्ष, भाषाशैलीजस्ता विषयमा ध्यानकेन्द्रित गरेर हालसम्मको स्थापित मानकअनुसार कुनै कृति छ कि छैन ? समालोचना गर्दा यी विषयमा ध्यान दिइन्छ ।

    लेखक भट्टको प्रस्तुत कृति विवेचना नै हो भन्न सकिन्छ, जस्तो शीर्षकमा उल्लेख गरिएको छ । विवेचनाको सामान्य प्रकृतिअनुसार विषयप्रसङ्गअनुरूप लेखकले कमीकमजोरी अवश्य पनि उजागर गरेका हुन्छन् तर छुट्टै दुर्बल पक्षको चर्चा गरेको हुँदैनन् । त्यसैले शीर्षकअनुसार प्रस्तुत पुस्तक विवेचना हो भन्ने दाबी सदर हुन आउँछ ।

    साहित्यमा समालोचना र विवेचनाको आआफ्नै महत्त्व छ । कुनै कृतिलाई कसरी बुझ्ने ? त्यसका लागि सर्वप्रथम विवेचना नै गरिनुपर्दछ । के के अपुग छन् ? यो विषय टुङ्ग्याउनुपर्दा समालोचनाको महत्त्व बढी हुन आउँछ । त्यसकारण लेखक भट्टको यो विवेचनात्मक कृतिको पनि त्यत्तिकै महत्त्व छ । खासगरी ‘कामरेड जलजला’ जस्तो भीमकाय कृतिको विवेचना अत्यन्तै आवश्यक थियो ।

    उक्त उपन्यास प्रकाशन भएको एक वर्षभन्दा बढी समय भइसकेको छ तर अनुमान गर्न सकिन्छ, अझै पनि धेरै पाठकले सो उपन्यास पढिसिध्याएका छैनन् । यस्तो अवस्थामा लेखक भट्टले पटक पटक पढेर त्यसको विवेचना गरेर पुस्तक नै प्रकाशन गर्नु महत्त्वको काम हो ।
    यस्तो लाग्दछ, विवेचना र समालोचनामध्ये विवेचना नै बढी प्रचलित र प्राथमिक विधा हो । विवेचना नगरीकन समालोचना हुन सक्दैन । त्यसैले अहिलेसम्म पनि पुराना कृतिको समेत विवेचना भइरहेका हुन्छन् । हामीकहाँ ‘वेद’, ‘पुराण’, ‘उपनिषद्’, ‘रामायण’, ‘महाभारत’ आदिका विवेचना भइरहेकै छन् भने माक्र्सवादी साहित्यमा पनि ‘पुँजी’, ‘कम्युनिस्ट घोषणापत्र’ सहित धेरै कृतिको अहिले पनि विवेचना भइरहेकै छ । यसरी विवेचनापछि मात्रै आलोचनाको क्रम सुरु भएको मान्न सकिन्छ ।

    मानव समाज र साहित्यमा समालोचनाको पद्धति पछि विकास भएको मानिन्छ । विषयवस्तुलाई व्यवस्थित गराउने क्रममा त्यसको संरचना, पद्धति तयार पारिन्छ । त्यसै क्रममा समालोचना पद्धति पनि तयार हुन जान्छ तर त्यसभन्दा अघि विवेचनाको गम्भीर महत्त्व रहेको देखिन्छ ।
    विवेचना यस्ता कृतिको गरिन्छ, जुन आम पाठकका लागि या त अप्राप्त हुन्छ, या आकार भीमकाय र शैली क्लिष्ट हुन्छ । ‘वेद’, ‘पुराण’, ‘उपनिषद्’, ‘रामायण’, ‘महाभारत’ यस्तै कृति हुन् । त्यस्तै कम्युनिस्ट साहित्यका ‘पुँजी’, ‘कम्युनिस्ट घोषणापत्र’, ‘ड्य्हरिङ मतखण्डन’, ‘प्रकृतिको द्वन्द्वात्मकता’, ‘प्राचीन समाज’ सहित माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओत्सेतुङका कृति पनि सोही कोटिका छन् । एवम् प्रकारले ‘युद्ध र शान्ति’, ‘आमा’, ‘अग्निदीक्षा’, ‘युवाहरूको गीत’, ‘चम्किलो रातो तारा’, ‘थ्याङ्क्यू मिस्टर ग्लाड’, ‘झुन्ड्याउँदा–झुन्ड्याउँदै’ जस्ता साहित्यिक कृति पनि बारम्बार विवेचना गर्नयोग्य छन् । त्यसै कोटिमा मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ देखा परेको मान्नु अन्यथा हुने छैन ।

    विवेचना वा समालोचनाको सम्बन्ध पुस्तकको आकारसित मात्रै सम्बन्धित छैन, मुख्यत: त्यसको विचार पक्ष, अन्तरवस्तु वा कलापक्षको चर्चा गर्न विवेचना वा समालोचना गरिन्छ । समालोचना केही गाह्रो काम मानिन्छ । कतिपय अवस्थामा लेखकसितको सम्बन्ध नै बिग्रन सक्छ । समालोचनाका लागि लेखकमा आलोचनात्मक चेत अनिवार्य हुन्छ । यसमा केही बढी समय लाग्न सक्छ । यी विषय जे भएता पनि समालोचनाभन्दा अगाडि विवेचनाको आवश्यकता पर्दछ । त्यस अर्थमा समालोचनाजत्तिकै विवेचनाको महत्त्व गम्भीर देखिन्छ । लेखक भट्टले यस्तै गम्भीर काम गरेको देखिन्छ ।

    जहाँसम्म विवेचनाको सीमाको कुरा छ, जब पाठकले त्यसको सट्टा मूल कृतिको अध्ययनमा ध्यान दिन्छ, तब विवेचनाको महत्त्व स्वत: फिका पर्न जान्छ । यस्तो हुनु स्वाभाविकै हो† जस्तो : मानिस र मानिसको चित्रमध्ये मानिस नै जीवन्त हुन्छ, त्यसरी नै पाठकहरू मूल कृतिमा केन्द्रित हुन सक्दछन् ।

    प्राथमिक र द्वितीयक लेखन

    साहित्यलाई प्राथमिक र द्वितीयक लेखन भनेर वर्गीकरण गर्ने प्रचलन पनि छ । मौलिक लेखनलाई प्राथमिक मानिन्छ । मौलिक लेखनमाथिको प्रतिक्रियालाई द्वितीयक लेखन मानिन्छ ।

    सिंहको ‘कामरेड जलजला’ उपन्यास प्राथमिक वा मौलिक लेखन हो । भट्टको प्रस्तुत कृति त्यस अर्थमा द्वितीयक लेखन हो । साहित्यक्षेत्रको परम्परा हेर्दा मौलिक लेखनमाथि आधारित रहेर द्वितीयक लेखन प्रशस्त मात्रामा लेखिएका हुन्छन् । विभिन्न साहित्यिक परिचर्चाको क्रममा यस्ता लेखनबारे प्रश्न उठाउने गरिएको पाइन्छ : समीक्षाको समीक्षा गर्नुपर्दछ कि पर्दैन ? यस्तो गर्नु आवश्यक र सम्भव छ कि छैन ? तर हालसम्म समीक्षाको समीक्षा, विवेचनाको विवेचना वा समालोचनाको समालोचना गर्ने परम्परा प्रचलित छैन । ठिक त्यसैगरी मौलिक कृतिका लेखकले पनि आफ्नो कृतिसम्बन्धी विवेचना वा समालोचनाको प्रत्युत्तर वा समीक्षा गरेको पाइँदैन । लेखकले आफ्नो मौलिक कृतिप्रति आलोचना वा समर्थन दुवैको अपेक्षा गरेका हुन्छन् तर दुवै अवस्थामा लेखकले कृतज्ञतापूर्वक भन्नुपर्ने हुन्छ– ‘धन्यवाद !’

    पक्कै पनि विवेचनाले अतिशय चर्चा गरेमा वा समालोचनाले पूर्वाग्रही आलोचनामा गरेमा लेखकले सङ्क्षिप्त वा साङ्केतिक स्पष्टीकरण दिन सक्दछ । फेरि पनि साहित्यक्षेत्रमा यस्तो प्रयास अत्यन्त कम पाइन्छ । साहित्यमा पाठकलाई “भगवान्” मानेर उसको प्रतिक्रियालाई शिरोपर गरिन्छ । यो अपेक्षा गरिन्छ : पाठक प्रतिक्रियाको आधारमा लेखकले आफ्नो आगामी कृतिलाई परिमार्जन वा परिष्कृत गर्न सक्नेछ ।
    यसरी विचार गर्दा लेखक भट्टको प्रस्तुत कृतिबारे मूल उपन्यासकार सिंहले ‘धन्यवाद’ भन्नुपर्ने हुन्छ । यता सिंह र भट्ट दुवै कृतिका पाठक वा समीक्षकले भने यी कृतिबारे स्वतन्त्र धारणा राख्नेछन् । त्यसका बाबजुद सिंह र भट्ट दुवैले पाठक वा समीक्षकलाई ‘धन्यवाद’ भन्नुपर्ने हुन्छ । यो नै साहित्य विवेचना वा समालोचना क्षेत्रको शिष्ट परम्परा हो ।

    द्वितीयक लेखनले प्राथमिक लेखनलाई ‘गुन’ लगाएको हुन्छ । सबल पक्ष वा दुुर्बल पक्ष जे प्रस्तुत गरे पनि द्वितीयक लेखनले प्राथमिक लेखनको बारेमा पाठकलाई प्रशस्त जानकारी दिन्छ । भट्टले पनि आफ्नो कृतिमार्फत् ‘कामरेड जलजला’ उपन्यासबारे प्रशस्त जानकारी गराएका छन् । यस खालको कार्य अरू लेखकले पनि गरेका छन् तर पृथक पुस्तक नै प्रकाशन गरेर भट्टले उपन्यासकारलाई धेरै नै ‘गुन’ लगाएका छन् भन्न कञ्जुस्याइँ गर्नुपर्दैन ।

    कमजोरी

    विवेचनात्मक कृतिको रूपमा लेखकको कमजोरी छैन भनिदिँदा हुन्छ यद्यपि लेखक भट्टले उपन्यास लेखक सिंहप्रतिको श्रद्धा नलुकाएर व्यक्त गरेका छन् । त्यससँगै त्यस्तो श्रद्धाको भारमुनि लेखक दबिनु सम्भव छ । “म आफै पनि नेपालको कम्युनिस्ट आन्दोलनको एउटा कार्यकर्ता भएकाले लेखकको कृतिले ममाथि प्रभाव पार्नु सवभाविक हो” (पृ. ३३) । लेखकको यो भनाइले यस्तै श्रद्धालाई बताउँछ ।

    सत्य यही हो, धेरै जस्तो विवेचनात्मक लेखन श्रद्धाकै कारण अस्तित्वमा आउँछ । अर्को तथ्य यो हो, विवेचनात्मक कृतिका लागि विषयवस्तु वा लेखकप्रतिको श्रद्धाले सकारात्मक भूमिका नै खेल्ने गर्दछ । त्यसैले लेखक भट्टको उपन्यासकार सिंहप्रतिको यस्तो श्रद्धाले तात्त्विक फरक पार्दैन भन्न सकिन्छ । उपन्यासमा मात्रै आधारित नभएर प्रशस्त सन्दर्भ सामग्री उपयोग गरिएकाले लेखक भट्टले आफ्नो यो विवेचनाप्रति अत्यधिक न्याय गरेको देखिन्छ । पाठकले प्रस्तुत कृति अध्ययन गर्दा ‘कामरेड जलजला’ भन्दा फरक स्वादको अनुभूति गर्नेछन् ।

    लेखक मूलत: वैचारिक लेखनमा अभ्यस्त भएकाले र साहित्यिक लेखनमा कम संलग्न रहेकाले (यो प्रथम साहित्यिक कृति भएकाले) पाठकलाई प्रस्तुत कृतिमा अपेक्षित साहित्यिक स्वादको कमी महसुस हुन सक्छ । वैचारिक लेखन खरो वा निर्मम हुन्छ भने साहित्यिक लेखन त्यसको तुलनामा लालित्यपूर्ण वा कलात्मक हुन्छ । यस अर्थमा प्रस्तुत पुस्तकमा यस खालका शब्दचयन वा शैलीको अभाव हुनु लेखकको कमजोरी होइन । आगामी समयमा यदि लेखकले साहित्यिक कृतितर्फ हात हाले भने त्यस्तो लेखनमा प्रष्ट रूपमा सुधार देख्न सकिने अपेक्षा राखौँ ।

    निष्कर्ष

    विज्ञसमीक्षित साहित्य प्रकाशनपूर्व लेखक र समीक्षकमाझ परिचय नगराइने पद्धति हुन्छ । यदि यो व्यवस्था नहुने हो भने लेखकप्रति समीक्षक पूर्वाग्रही हुनु सम्भव छ । साहित्यको विवेचना वा समालोचनामा पनि यस खालको तटस्थता वा वस्तुनिष्ठता आवश्यक देखिन्छ । सामालोचना वा विवेचना जे गर्दा पनि लेखकको वैचारिक आस्था वा पोर्टफोलियोलाई परै राखेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यसो नगरीकन कुनै पनि कृतिको निष्पक्ष मूल्याङ्कन हुन सक्दैन । यस्तो निष्कर्ष विवेचनामा भन्दा समालोचनामा झन् बढी लागु हुन्छ । यस अर्थमा विवेचनात्मक कृति भएकाले लेखक भट्टलाई यस्तो कुनै खतरा छैन । फेरि आफ्नै पार्टीको महामन्त्री भएकाले श्रद्धा देखाउनु अन्यथा होइन पनि । फेरि पनि भीमकाय पुस्तकको बारेमा सङ्क्षिप्तमा जानकारी गराउनुपर्ने कार्यभार लेखकमा रहेको हुँदा श्रद्धाको यो भारीले लेखकलाई नकारात्मक असर गरेको पाइन्न बरु इतिहासको प्रसङ्गमा धारणा बनाउँदा एउटै पार्टीको सदस्य भएको नाताले उनलाई लाभ नै पुगेको देखिन्छ ।

    समग्रमा ढाइ सय पृष्ठको यो मध्यम आकारको पुस्तकमार्फत् लेखक भट्ट ५ लाख शब्दरचित उपन्यासको सार निकाल्न सफल भएका छन् । ‘कामरेड जलजला उपन्यासमा के छ ?’ यसको विषयवस्तु पर्गेल्न लेखक भट्ट सफल भएका छन् । पुस्तकमा विषयवस्तुको तोडमोड कहीँ कतै छैन । उपन्यासलाई मुख्यत: वैचारिक कृति भनी उपन्यासकार स्वयम्ले दाबी गरिरहेको सन्दर्भमा लेखक भट्टले लेखकको सो दाबीलाई तथ्यमार्फत सदर गरिदिएका छन् ।

    उपन्यासकार सिंहको ‘कामरेड जलजला’ उपन्यास पढिसकेका पाठकले आफ्नो बुझाइ सही भयो कि भएन भनेर निष्कर्ष निकाल्नका लागि र नपढेका पाठकले सङ्क्षिप्तमा सो उपन्यासको विषयवस्तु बुझ्नका लागि यो पुस्तक पढ्नैपर्ने हुन्छ । जहाँसम्म सो उपन्यासका कमीकमजोरीको सन्दर्भ छ, त्यसका लागि पाठकले अन्य सामग्री अध्ययन गर्नुपर्ने हुन्छ । लेखक भट्टको यो पुस्तक यस सन्दर्भभन्दा फरक धरातलमा उभिएको छ ।

    २०८२ पुस २८ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.