शङ्करप्रसाद पोखरेल, कावासोती ।
राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजित राजनीतिक प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । २०८२ पुस २६ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सङ्गठनलाई वैचारिक रूपमा सुदृढ बनाउने, कार्यकर्ताको राजनीतिक चेतनास्तर उकास्ने तथा आपसी एकता, सहकार्य र अनुशासनलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, जनवर्गीय सङ्गठन, बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल हुनुहुन्थ्यो ।
प्रशिक्षणको क्रममा उहाँले विभिन्न दार्शनिक चिन्तन, राजनीतिक सिद्धान्त, नेपाली वाम आन्दोलनको ऐतिहासिक पृष्ठभूमि तथा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे विश्लेषण गर्नुभएको थियो ।
खरेलले समाज रूपान्तरणका लागि वैचारिक स्पष्टता, सङ्गठनात्मक अनुशासन र जनमुखी प्रतिबद्धता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाले सिर्जना गरेका आर्थिक, सामाजिक तथा राजनीतिक असमानताका कारण आम नागरिकले भोग्नुपरेका समस्याको विस्तृत चर्चा गर्नुभयो ।
ती समस्याको समाधानका लागि वैकल्पिक राजनीतिक मार्ग र विचारधाराको आवश्यकता औँल्याउँदै उहाँले राजनीति सत्ताप्राप्तिको साधन मात्र नभई समाज परिवर्तनको प्रभावकारी माध्यम भएको दाबी गर्नुभयो ।
उहाँले राजनीतिक कार्यकर्ताले विचार, व्यवहार र आचरणबिच एकरूपता कायम गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
खरेलले वर्तमान नेपाली राजनीतिमा देखिएका अवसरवाद, व्यक्तिवाद र स्वार्थकेन्द्रित प्रवृत्तिले जनताको भरोसा कमजोर बनाउँदै लगेको उल्लेख गर्नुभयो ।
त्यस प्रकारका प्रवृत्ति विरुद्ध विचारप्रधान, मूल्यनिष्ठ र जनपक्षीय राजनीतिक अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो ।
साथै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सामाजिक न्यायजस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई राजनीतिक आन्दोलनको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागिरथ शर्मा र दीपक पाण्डेले पार्टीको वर्तमान राजनीतिक कार्यदिशा, सङ्गठन विस्तारको आवश्यकता तथा स्थानीय तहमा पार्टीको भूमिका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्युठान गौमुखी गाउँपालिका–५ का वडाअध्यक्ष बरुणध्वज मल्ल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य शालिकराम सापकोटा, नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार गोविन्द अम्माई, धनबहादुर सुत्पराई, रक्तिम सांस्कृतिक अभियानका कृष्ण गिरी र भक्तबहादुर उचै, मूल प्रवाह अखिल भारतका नेपाली एकता समाजका नेता प्रेम सापकोटा, युएई नेपाली एकता समाजका प्रतिनिधि बाबुराम शर्मा, वडा नं. १६ का वडासदस्य कृष्ण गिरी, राजमो नगर समिति उपाध्यक्ष ऋषिराम कँडेल, मूल प्रवाहकै सी.पी. सुवेदीलगायतले पनि धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतराले, सञ्चालन सचिव मानबहादुर रानाभाटले र स्वागत मन्तव्य तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतोले राख्नुभएको थियो ।
औपचारिक कार्यक्रम समापनपश्चात् वनभोज कार्यक्रम आयोजना गरिएको थियो । वनभोज कार्यक्रममा सहभागीबिच आपसी चिनजान, अनुभव आदानप्रदान तथा सौहार्दपूर्ण छलफल भएको थियो ।
सहभागीले यस्ता कार्यक्रमले राजनीतिक कार्यकर्ताबिचको सम्बन्ध थप सुदृढ बनाउँदै सङ्गठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको बताइएको छ ।


