काठमाडौँ । भेनेजुयलामाथि अमेरिकाले गरेको साम्राज्यवादी आक्रमण विरुद्ध पाँच राजनीतिक दलको बैठक सम्पन्न भएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा २०८२ पुस २३ गते बुधबार सो बैठक सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सम्पन्न सो बैठकमा मसालका महामन्त्री सिंहसँगै, राजमो कावा अध्यक्ष रश्मिराज नेपाली, नेपाली कम्युनिस्ट पार्टीका लीलामणि पोखरेल, नेकपा (संयुक्त) का नेता दामोदर अर्याल र राजनीतिक संवाद थालनीका प्रमुख सङ्गीत स्रोताको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेकपाका बलराम बासकोटा, मसालका प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो महासचिव मनोज भट्ट, राजमो सम्बद्ध नेताहरू भैरवराज रेग्मी, समीर सिंह, वासुदेव पोखरेल, सुवास जिसीलगायतको पनि उपस्थिति रहेको थियो ।
बैठकमा भेनेजुयलाका राष्ट्रपति निकोलर मदुरोलाई गिरफ्तार गर्ने अमेरिकी कदमलाई साम्राज्यवादको संज्ञा दिँदै त्यसबारे विरोध कार्यक्रम दिने विषयमा छलफल भएको बताइएको छ ।
त्यसबारे ठोस कार्यक्रम तयार गर्न अर्को बैठक छिट्टै बस्ने समझदारी भएको बताइएको छ ।
