काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाइको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाइ पनि कोरोनाकै कारण मृत्यु भएको थियो । भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो ।
असार २९ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिरएको थियो । सोही दिन नमुना सङ्कलन गरी हेटौँडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
बुधबार नेपालमा थप १ सय १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ, जसमा ११ हजार २५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन् ।
यस्तै, प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन् । बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पी.सी.आर. परीक्षण भएको छ । आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पी.सी.आर. परीक्षण भएको छ । देशभरि २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।