गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०८२ पुस १८ गते शुक्रबार सन्धिखर्कमा जिशाल जागरणसभा सम्पन्न गरेको छ ।
आयोजकका अनुसार जेनजी पुस्ताको आन्दोलन, यसबाट उत्पन्न परिस्थिति, आसन्न निर्वाचन र राष्ट्रिय राजनीतिको निकास र यसमा राजमोको भूमिका सार्वजनिक गर्न सो सभा सम्पन्न गरेको हो ।
दशकौँदेखि सत्तामा बस्ने दलले जनतालाई भोट बैङ्क बनाएर उक्त लगानी फिर्ता गर्न गरेको भ्रष्टाचार र बेथितीले भदौ २३ र २४ को घटना निम्तिएको उहाँहरूको आरोप थियो ।
भारत, अमेरिका र पश्चिमा देशले नेपाललाई क्रिडास्थल बनाएको जिकिर गर्दै नेताहरूले पहिले राजनीतिक शक्ति त अहिले जनजीको नाममा नेपालीलाई नै एजेन्ट बनाएर विद्रोह गर्न पठाएको उहाँहरूको दाबी थियो ।
एक गिलास मदिरादेखि पाँच सय र एक हजारसम्मको मूल्यमा भोट बेच्ने जनताको सचेतना र अमूल्य भोटलाई सिन्कीको भाउमा खरिद गर्ने दलको गलत प्रवृत्तिले मुलुकमा राजनैतिक स्थायित्व हुन नसकेको नेताहरूको आरोप थियो ।
कङ्ग्रेस, एमाले र माओवादीको नेृतत्वलाई समेत खरिद गरेको भारत, अमेरिका र पश्चिमा देशले अहिले जेनजीको नाममा केही नेपाली युवालाई एजेन्ट बनाएको उहाँहरूले खुलासा गर्नुभयो ।
भदौ २३ गते भएको नवयुवाको आन्दोलन र माग जायज भए पनि भदौ २४ गते आन्दोलन राजावादी, भारत र अमेरिकाले चलाइदिएको नेताहरूको दाबी थियो ।
कङ्ग्रेस–एमालेले साम्राज्यवादीको यथोचित आदेश नमानेपछि जेनजीको नाममा एजेन्ट खटाएको र उसको डिजाइनमा अहिलेको सरकार बनेको पनि उहाँहरूको जिकिर थियो ।
खाल्डोमा फसेको नेपाललाई बाहिर निकालेर सबल मुलुक बनाउन तत्काल निर्वाचन र नागरिक सचेतनाबाट विवेकपूर्ण मतदानको उहाँहरूले खाँचो औल्याउनुभयो ।
जिल्लाका छओटै पालिकाबाट राजमो नेताकार्यकर्ता र शुभचिन्तक हजारौँको सहभागितामा सन्धिखर्क–मसालबजारबाट र्याली सुरु भई बजार परिक्रमा गरी शान्तिबगैँचामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई राजमो महासचिव मनोज भट्ट, राजमो लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्री, प्रदेश समितिकै शेरबहादुर बिसी, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापा, अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला राना र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले सम्बोधन गर्नुभएको थियो ।
राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता तथा उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्यसँगै अघि बढेको सो सभाको सञ्चालन जिल्ला सचिवालय सदस्य जीवनारायण खनालले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका कलाकारले विभिन्न जनवादी गीत र नृत्यसमेत प्रस्तुत गर्नुभएको थियो ।
राजमो नेता सागर केसी, यमलाल पोख्रेल, बाबुराम पन्थी, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष टेकबहादुर थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का नेता सिद्धिप्रसाद भट्टराईलगायतका नेताको आतिथ्य रहेको उक्त कार्यक्रम बोल्ने वक्ताहरूले देश इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
