• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कामरेड गढवाली

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–४१ "

  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    उपन्यासमा कुमाउ र गढवालका कैयौँ पात्रलाई लिइएको छ । तिनीहरूमध्ये सुनन्दा नै प्रमुख हुन्, जो उपन्यासमा सुरुदेखि अन्त्यसम्म पनि रहन्छिन् । गढवालका प्रमुख पात्र का. गढवाली नै हुन् । त्योबाहेक उपन्यासमा अल्मोडा कौसानीकी लक्ष्मी आश्रमकी सरला बहन, सुन्दरलाल बहुगुणा, विमला बहुगुणा, राधा बहन, मालतीदेवी, डा. जगदीशसहित अन्य कैयौँ पात्रको पनि चर्चा गरिएको छ । तिनीहरूमध्ये सुनन्दा पछि कामरेड गढवालीको स्थान नै सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।

    उनी घरपरिवार आमाबुवा आदिको ठेगान नभएका पात्र थिए । उनी आफ्नो सानै उमेरमा नै इलाहावादको महाकुम्भको मेलामा आफ्नो परिवारसित हुर्किएका थिए र उनको पुन: कहिल्यै आफ्नो परिवारसित भेट हुन सकेको थिएन । पछि उनले रिक्सा चलाउन थालेका थिए र त्यही क्रममा नै उनको भारतको कम्युनिस्ट पार्टीसँग सम्पर्क भएको थियो र त्यसको उनी एउटा पेसेवर कार्यकर्ता नै बनेका थिए ।
    का. गढवालीबारे उपन्यासमा लेखिएको छ– “गढवाल र कुमाउँका मानिसका लागि उनी कामरेड गढवाली मात्र थिए । त्योभन्दा बढी मानिसलाई उनका बारेमा केही थाहा थिएन । उनको वास्तविक नाम के थियो ? उनको घर कहाँ थियो ? उनको कुनै परिवार थियो वा थिएन ? उनको जात वा थर के थियो ? उनको शिक्षा कति थियो ? गढवाल कुमाउँमा आउनुभन्दा पहिले उनले कहाँ के गर्दथे । उनी कहाँबाट आएक थिए ? कसैलाई केही थाहा थिएन ।

    उनका विषयमा मानिसलाई यति मात्र थाहा थियो कि उनी एउटा कम्युनिस्ट थिए र त्यसकारण कामरेड थिए । कम्युनिस्टले सबै कम्युनिस्टलाई कामरेड भन्ने गर्दछन् तर उनका सन्दर्भमा कामरेडको अर्थ त्यो भन्दा बढी थियो । त्यो उनको नाम नै बनेको थियो ।

    मानिसले सधैँ उनको विषयमा जान्न चाहन्थे । कैयौँ पत्रकारले उनको व्यक्तिगत परिचयबारे उनीसित प्रश्न गरेका थिए । कैयौँ लेखकले उनको व्यक्तिगत विषयबारे जान्न चाहेका थिए तर उनका बारेमा त्यस प्रकारका सबै प्रयत्न असफल भएका थिए । उनले सधैँ नम्रता र दृढतापूर्वक ती प्रश्नलाई पन्छाउँथे । ती प्रश्न सोध्दा उनका चेहरामा एक प्रकारको वेदना वा आन्तरिक पीडाको भाव देखा पर्दथ्यो तर मानिसहरू त्यसलाई बुझ्न सक्दैनथे ।

    आफ्नो राजनीतिक गतिविधिको सिलसिलामा उनी कैयौँपल्ट गढवाल कुमाउँका विभिन्न भागमा गिरफ्तार भएका थिए । पुलिसले उनको व्यक्तिगत विषयमा जान्न कैयौँ प्रश्न गरेका थिए तर ती प्रश्नको जबाफ दिन उनले सधैँ अस्वीकार गरेका थिए । उनले आफ्नो टेकनामलाई नै आफ्नो नाम बताउँथे र गढवालको कुनै स्थानलाई आफ्नो ठेगाना बताउँथे ।

    कुमाउँ गढवालमा आएपछिको उनको जीवन पार्टीको जीवन भएको थियो । पार्टी जीवनभन्दा बाहिर उनको कुनै व्यक्तिगत जीवन थिएन । उनको कुनै व्यक्तिगत अस्तित्व थिएन् ।

    उनी जहिले पनि पार्टीको काममा एक स्थानबाट अर्को स्थानमा दौडिरहेका देखिन्थे । कुनै बेला भूमिगत रूपमा र कुनै बेला खुला रूपमा । स्वतन्त्रता आन्दोलन, किसान सङ्घर्ष, विद्यार्थी सङ्घर्ष, टिहरी गढवालको राजा विरोधी सङ्घर्ष, उत्तराखण्ड आन्दोलन, पार्टीक्लास, विचारगोष्ठी, सम्मेलन विभिन्न राजनीतिक वा आर्थिक विषयमा निस्कने जुलुस प्रदर्शन, पार्टीका विभिन्न पर्चा, पोस्टर र पत्रिकाको प्रकाशन, प्रुफ रिडिङ, सांस्कृतिक कार्यक्रम, विरोधी पक्षसित सैद्धान्तिक सङ्घर्ष, अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी प्रश्नदेखि लिएर विभिन्न स्थानीय प्रश्नसम्म जोडिएका सङ्घर्षमा नै उनको अत्यधिक समय बित्थ्यो । ती सबैदेखि बाहेक उनको व्यक्तिगत जीवन भन्ने केही हुँदैनथ्यो भने पनि हुन्छ ।

    जब राजनीतिक र सङ्गठनात्मक कामबाट उनलाई केही फुर्सद हुन्थ्यो, उनी जनताका सामाजिक वा सांस्कृतिक काममा भाग लिन पुग्थे । त्यहाँका लोकगीत, लोकनृत्य, जागरणगीत, वीरगाथा, चाडपर्वलाई नजिकैबाट बुझ्ने र अध्ययन गर्ने प्रयत्न गर्दथे । यहाँसम्म कि कुनै कुनै बेला त्यस सिलसिलामा उनले लामा यात्राहरू पनि गर्दथे । उनले कुमाउँ गढवालका सांस्कृतिक महत्त्वका कैयौँ यात्राको टाढाटाढासम्म पुगेर अवलोकन गरेका थिए । उनी प्रायश: रातभर एक्लै वनजङ्गलको बाटो हिँड्ने गर्दथे ।

    उनको राजनीति चन्द्रसिंह गढवालीसित घनिष्ट रूपले जोडिएको थियो । गढवाली ब्रिटिस सेनाको एउटा फौजी थिए । प्रथम विश्वयुद्धको समयमा उनले संसारका कतिपय देशमा गएर ब्रिटिस सेनाका तर्फबाट लडेका थिए । सन् १९३० को भारतको पेसावरको प्रसिद्ध सिपाही विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि उनलाई भारतका विभिन्न जेलमा करिब १६ वर्षजति राखिएको थियो । त्यो बेला जेलमा बस्दा उनको कैयौँ कम्युनिस्ट नेतासित सम्पर्क भएको थियो र उनी कम्युनिस्ट भएका थिए ।

    सन् १९४६ मा उनी जेलमुक्त भएका थिए । त्यसपछि भारतीय कम्युनिस्ट पार्टीको उत्तर प्रदेश कमिटीले कैयौँ कम्युनिस्ट कार्यकर्तालाई गढवालमा पार्टीको सङ्गठन गर्न पठाउने निर्णय गरेको थियो, जसमध्ये एक जना कामरेड गढवाली पनि थिए । उनले गढवालमा गएर चन्द्रसिंह गढवालीसित त्यहाँको पार्टी र आन्दोलनका काम गर्न थाले ।”

    उनको उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– “प्रारम्भमा का. गढवालीले गढवाली वा कुमाउनी शुद्ध बोल्न सक्दैनथे । जेजति बोल्दथे, त्यसको उच्चारण पनि केही बेग्लै हुन्थ्यो । त्यसबाट मानिसलाई यो बुझ्न गाह्रो पर्दैनथ्यो, उनी गढवाल र कुमाउँभन्दा बाहिर कतैबाट आएका थिए । हेर्दा उनी सामान्यजस्ता देखिन्थे तर उनको प्रचण्ड जोस, असीम उत्साह, अथक सक्रियता, कडा अनुशासन र गम्भीर जिम्मेवारीको भावना देखेर मानिसलाई यो बुझ्न बेर लागेन कि उनी कुनै बेग्लै धातुबाट बनेका थिए । जतिसुकै काम गर्नुपरे पनि उनी थाकेका देखिँदैनथे । जस्तोसुकै कठिन र अप्ठ्यारो स्थितिमा पनि उनी आत्तिँदैनथे । जस्तोसुकै ठुलो र कडा जिम्मेवारी लिनुपरे पनि उनी पछाडि हट्दैनथे । जतिसुकै ठुलो खतरा अगाडि आए पनि उनी भयभीत वा आतङ्कित हुँदैनथे । कुनै पनि दमनले उनलाई झुकाउँदैनथ्यो । सिद्धान्त, पार्टी र क्रान्तिप्रतिको उनको आस्था, भविष्यमाथिको उनको आशा र जनतामाथिको उनको विश्वास अगाध थियो ।”

    उनमा यो विचित्र प्रकारको विशेषता थियो कि जब कुनै खतरा र दुस्मनको सामना गर्नुपर्दथ्यो, त्यस प्रकारको खतरा वा दुस्मनको आक्रमण जति बढी हुन्थ्यो, भित्रबाट उनमा त्यति नै बढी शक्ति उत्पन्न हुन्थ्यो । यस्तो देखिन्थ्यो उनीभित्र त्यस प्रकारको शक्तिको अपार भण्डार थियो । त्यो सूक्ष्म विन्दुबाट प्रकट भएर त्यसले झन्पछि झन् ठुलो, विशाल र सशक्त आकार लिदैं जान्थ्यो र झन्पछि झन् ठुलो क्षेत्रमा फैलिँदै जान्थ्यो ।

    उनीमाथि का. चन्द्रसिंह गढवालीको धेरै असर परेको थियो । उनका लागि चन्द्रसिंह गढवाली क्रान्तिकारी उत्साह, साहस, वीरता, नि:स्वार्थता, र अनुशासनका जीवित र मूर्त रूप थिए । उनको सम्पूर्ण क्षमता र शक्ति पार्टी, क्रान्ति र मिहिनेतकश जनताका लागि समर्पित थियो । त्यसकारण का. गढवालीलाई मनैदेखि स्वाभाविक रूपले यो लागेर आउँथ्यो, का. चन्द्रसिंह गढवालीलाई समर्थन गर्नुको अर्थ पार्टी र क्रान्तिलाई समर्थन गर्नु थियो ।
    का. गढवालीको चन्द्रसिंह गढवालीमाथिको विश्वास यति धेरै थियो कि उनको (का. गढवालीको) सम्पूर्ण मनोविज्ञान, चरित्र, सोच्ने र काम गर्ने तरिका, स्वत: र स्वयम्स्फूर्त रूपले नै का. चन्द्रसिंह गढवालीको जस्तो नै बन्दै गयो । खास गरेर अनुशासन र जिम्मेवारी पूरा गर्ने प्रश्नमा उनको स्वभाव चन्द्रसिंह गढवालीको जस्तै थियो, एउटा सैनिकको जस्तो ।

    का. गढवाली क्रमश: चन्द्रसिंह गढवालीका प्रतिरूपजस्तै बन्दै गए : विचार, स्वभाव र व्यवहार सबै दृष्टिकोणले । त्यसैले मानिसले उनलाई “भुरा गढवाली” भनेर बोलाउन थाले, जसको अर्थ गढवाली भाषामा “भाइ” वा “जुनियर” हुन्थ्यो । पछि क्रमश: उनको नामबाट “भुरा” विशेषण हराउँदै गयो र उनी खालि गढवाली मात्र बन्न गए । उनी सबैतिर का. गढवालीको नामले नै चिनिन थाले । त्यही उनको नाम भयो, त्यही उनको थर । उनले त्यो नामलाई अत्यन्त आदर, स्नेह र आत्मीयतापूर्वक स्वीकार गरेका थिए ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “कामरेड शब्दले करिब २ सय वर्षदेखिको समाजवादी कम्युनिस्ट आन्दोलनको महान् गौरवपूर्ण र क्रान्तिकारी परम्पराको मात्र होइन, अज्ञात ऐतिहासिक कालदेखि चल्दै आएको वर्गसङ्घर्ष र क्रान्तिकारी आन्दोलनको गौरवमय परम्पराको प्रतिनिधित्व गर्दथ्यो । त्यसकारण कामरेड शब्दले प्रतिनिधित्व गर्ने मानव जातिको त्यो महान् परम्पराको रक्षाका लागि उनले एउटा मात्र होइन, आफ्नो सयकडौँ, हजारौँ जीवनको बलिदान गरे पनि कम हुन्थ्यो ।”

    उनको नामको अर्को अंश “गढवाली” चन्द्रसिंह गढवालीसित जोडिएको थियो । अप्रिल २३, १९३० मा पेसावरमा ब्रिटिस साम्राज्यवादका विरुद्ध विद्रोहको झन्डा उठाएदेखि नै उनी लगातार क्रान्तिको झन्डा बोकेर अगाडि बढिरहेका थिए, पहिले भारतको स्वतन्त्रताका लागि र त्यसपछि समाजवाद तथा साम्यवादका महान् उद्देश्य बोकेर ।

    चन्द्रसिंह गढवाली एउटा व्यक्ति मात्र थिए तर विश्वको महान् क्रान्तिकारी आन्दोलनमा सामेल भएपछि उनको व्यक्तित्वले आकाश छोएको थियो र त्यसपछि उनी एउटा व्यक्ति मात्र नरहेर एउटा आन्दोलन बन्न गएका थिए । क्रान्तिकारी आन्दोलनको प्रतीक बन्न गएका थिए । त्यसले गर्दा अब “गढवाली” शब्दले व्यक्तिगत रूपमा चन्द्रसिंहको होइन, एउटा महान् आन्दोलनको प्रतिनिधित्व गर्दथ्यो ।

    त्यो बेला पूरै भारतमा स्वतन्त्र आन्दोलन उच्च र व्यापक रूपमा बढिरहेको थियो । क्रान्तिकारी वामपन्थी आन्दोलन पनि अगाडि बढिरहेको थियो । विश्व विजयको फासिज्मवादी योजना पराजित भएको थियो । द्वितीय विश्वयुद्धपछि खालि सोभियत सङ्घमा मात्र सीमित रहेको समाजवादी व्यवस्थाले विश्वव्यापी रूप लिएको थियो । विश्वका अन्य देशमा पनि क्रान्तिका कम्युनिस्ट आन्दोलन उभारमा थियो । भारतको स्वतन्त्र आन्दोलन पनि उभारमा थियो । सुवासचन्द्र बोसको नेतृत्वको आजाद सेनाका सैनिकलाई ब्रिटिस सरकारद्वारा दिइएको सजायका विरुद्ध भारतभरि व्यापक असन्तोष थियो ।

    गढवाल कुमाउमा पनि स्वतन्त्रता आन्दोलनले तीव्र र व्यापक रूप लिएको थियो । श्रीदेव सुमन ८४ दिनको अनसनपछि सहिद भएका थिए र त्यसले गर्दा पनि गढवाल कुमाउमा व्यापक विरोध प्रर्दशन भइरहेका थिए । त्यही प्रकारको परिस्थितिमा पार्टीको काम गर्न कैयौँ कम्युनिस्ट गढवाल कुमाउमा आएका थिए र तिनीहरूमध्ये नै एक का. गढवाली पनि थिए ।

    गढवालको इतिहासमा टिहरीको राजाका विरुद्धको आन्दोलनले पनि ठुलो महत्त्व राख्दथ्यो । त्यो आन्दोलनका सिलसिलामा कैयौँ मानिस सहिद भएका थिए भने ठुलो सङ्ख्यामा आन्दोलनकारी पनि पिटिएका थिए । त्यो आन्दोलनमा चन्द्रसिंह गढवालीले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए र त्यसमा का. गढवालीको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो । अन्तमा आन्दोलनकारीले टिहरी राज्यमाथि कब्जा गरेका थिए । त्यहाँका राजा आफ्नी पत्नीसहित भागेर नरेन्द्रनगर गएका थिए र टिहरी राज्य स्वतन्त्र भएको थियो ।

    छिटै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुस र चीनका बिचमा मतभेद देखा पर्‍यो र त्यसको असर भारतको कम्युनिस्ट आन्दोलनमा पनि पर्‍यो । भारतको कम्युनिस्ट पार्टीमा फुट भयो र पार्टी सी.पी.एम र सी.पी.आई. मा विभाजित भयो । विश्व र भारतको पनि कम्युनिस्ट आन्दोलनमा भएको त्यस प्रकारको फुटको असर चन्द्रसिंह गढवालीमा पनि पर्‍यो ।

    उपन्यासमा अगाडि लेखिएको छ– “पार्टीमा भएको फुट र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेका भड्कावका कारणले उनी क्रमश: निराश र निष्क्रिय बन्दै गए । त्यो बेला अन्तर्राष्ट्रिय र भारतको पनि कम्युनिस्ट आन्दोलनमा जुन सैद्धान्तिक विवाद उत्पन्न भएको थियो, त्यसबारे उनले स्पष्ट दृष्टिकोण अपनाउन सकेनन् । उनका विचारमा देखा परेको त्यो अस्पष्टताको नकारात्मक असर उनको व्यवहारमा पर्‍यो ।

    पार्टीको काममा उनमा एक प्रकारको उदासिनता र निष्क्रियता देखा पर्न थाल्यो । उनको लामो क्रान्तिकारी इतिहास थियो, त्याग, बलिदान र अविरल सङ्घर्षको इतिहास थियो तर उनको चिन्तन समयको प्रवाहसित अगाडि बढ्न सकेन । व्यावहारिक राजनीतिमा उनी सङ्घर्षको लामो, महत्त्वपूर्ण र अविरल प्रक्रियाबाट गएका थिए तर विचारको क्षेत्रमा उनी त्यही प्रकारको सङ्घर्षबाट अगाडि बढेका थिएनन् । सिद्धान्त वा विचारको क्षेत्रमा त्यस प्रकारको सङ्घर्षका लागि उनी अभ्यस्त थिएनन् ।

    उनको त्यस प्रकारको कुनै इतिहास थिएन । त्यसैले जब पार्टीका अगाडि तीव्र सैद्धान्तिक विवाद र अन्तर्सङ्घर्षको स्थिति उत्पन्न भयो । उनी त्यस सङ्घर्षमा सक्रिय रूपले अगाडि बढ्न असमर्थ भए । त्यसको असर उनका कार्यमा पर्‍यो । त्यसरी वैचारिक अस्पष्टताको परिणामस्वरूप एउटा क्रान्तिकारी कम्युनिस्टले निष्क्रियता वा पलायनको बाटो समात्दै गए । अक्टोबर १, १९७९ मा दिल्लीमा उनको मृत्यु भयो ।”

    भारतीय कम्युनिस्ट पार्टीमा विभाजन भएपछि चन्द्रसिंह गढवाली र का. गढवाली दुबै जना सी.पी.एम. मा सामेल भएका थिए तर पछि त्यसले पनि दक्षिणपन्थी भड्कावको बाटो लिन थाल्यो र त्यस भित्रबाट एउटा नक्सलवादी ग्रुप देखा पर्‍यो । का. गढवाली नक्सलवादी गु्रपमा सामेल भए तर चन्द्रसिंह गढवाली कतै पनि सामेल भएनन् । उनी निराश र निस्क्रिय हुँदै गए र त्यसरी उनले पलायनको बाटो समाते ।

    उपन्यासमा लेखिएको छ– “चन्द्रसिंह गढवाली उनका आदर्श थिए तर पार्टीमा सैद्धान्तिक विवाद पैदा भएपछि उनी निष्क्रिय भएका र पलायनको बाटो समातेको उनलाई राम्रो लागेको थिएन । त्यसबाट उनलाई धेरै ठुलो धक्का पुगेको थियो । यस कुराबाट उनलाई साँच्चिकै दु:ख पुगेको थियो, सङ्घर्षको अग्रिम पङ्क्तिमा रहेको एउटा क्रान्तिकारी सैनिकले पलायनको बाटो समातेको थियो ।”

    सी.पी.एम. ले संशोधनवादको बाटो समातेपछि पुन: विद्रोहको बाटो समात्नु आवश्यक थियो । त्यो बाटो थियो, नक्सलवादी आन्दोलन । कामरेड गढवालीले त्यसबारे का. चन्द्रसिंहसँग कुरा गरे तर त्यसका लागि उनी (चन्द्र सिंह) तयार भएनन् । त्यसपछि का. गढवालीले सी.पी.एम. सित विद्रोह गरेर उनी नक्सलवादी आन्दोलनमा सामेल भए । उनले कैयौँ सशस्त्र कारवाहीमा भाग लिए । का. चारुको मृत्युपछि सी.पी.आइै. (एमएल) पनि कैयौँ टुक्रामा विभाजित भयो । उनले तीमध्ये कुनै समूहलाई समर्थन गर्न सकेनन् । उनी विभाजित कुनै समूहमा सामेल भएनन् ।
    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “अहिले पनि उनको क्रान्तिकारी स्प्रिटमा कमी आएको थिएन तर सङ्गठनात्मक दृष्टिले उनी एक्ला थिए । उनको दर्शन थियो । सिद्धान्त थियो । स्प्रिट थियो तर सङ्गठन थिएन । एक्लै भए पनि जहाँ कुनै वर्गसङ्घर्ष चल्दथ्यो, कुनै आन्दोलन चल्दथ्यो, जहाँ उनको मदतको आवश्यकता पर्दथ्यो, उनी त्यहाँ पुग्दथे । त्यसरी समाजमा चल्ने सबै गतिविधि वा आन्दोलनसित, अनि सबै शोषित, उत्पीडित र मिहिनेतकश जनतासित उनले सधैँ निकट र सजीव सम्पर्क राख्ने प्रयत्न गर्दथे । त्यस सिलसिलामा उनी गढवाल कुमाउँका विभिन्न भागमा पुगिरहन्थे । जब उनी खालि हुन्थे, उनी एक्लै जङ्गल र पहाडको भ्रमणमा र कुनै बेला लामो यात्रामा पनि निस्कन्थे । एउटा झोला बोक्दथे अनि उनी कस्मिरदेखि आसामसम्मका पहाडको यात्रा गर्दै विभिन्न स्थानमा पुगिरहेका हुन्थे ।”

    एकदिन उनी कौसानीमाथिको पहाड र जङ्गलको बाटो हुँदै कौसानी आश्रमतिर आइरहेका थिए । उनी एक्लै हिँडिरहेका थिए । कुनै कुनै बेला उनले लाइट जलाउँथे तर धेरैजसो उनी अँध्यारोमा नै हिँडिरहेका हुन्थे ।

    उपन्यासमा अगाडि लेखिएको छ– “ती व्यक्तिले बिचबिचमा उभिएर प्रकृतिको दृश्य हेर्दथे । उनले त्यहाँ एक प्रकारको द्वन्द्व भइरहेको पाउँथे । प्रकाश र अन्धकारका बिचमा एक प्रकारको प्रसवको जस्तो अवस्था थियो । कुनै बेला उनलाई प्रकृति प्रसव पीडाको वेदनाले छट्पटाएजस्तो लाग्थ्यो । उनले कुनै नयाँ चिजलाई जन्म दिन थालेजस्तो भान हुन्थ्यो ।”

    वृद्ध पहाडैपहाड तलतिर झर्न थाले । कौसानीको लक्ष्मी आश्रमको नजिकै आएर उनी टक्क अडिए । उनले देखे, एउटी युवतीले एउटा रुखको आडमा बसेर एकटक लागेर हिमालयतिर हेरिरहेकी थिइन् । उनी हिँड्दा घाँसमा आवाज आइरहेको थियो तर त्यो आवाजले पनि ती युवतीको ध्यान भङ्ग भएन । उनले केही बेर उभिएर युवतीलाई हेरे अनि अगाडिको नन्दादेवी हिमालयलाई । फेरि युवतीलाई हेरे अनि फेरि सामनेको दृश्यलाई । उनलाई अकस्मात् यस्तो अनुभव हुन थाल्यो, उनले कुनै नयाँ कुरा देखिरहेका थिए । उनलाई यस्तो लाग्न थाल्यो, दुबैका बिचमा विचित्र प्रकारको समानता थियो, नन्दादेवी हिमालयमा र युवतीको चेहरामा । उनले नन्दादेवीमा युवतीको चेहरा देख्न थाले, युवतीमा नन्दादेवीको भव्य रूप । के त्यस्तो पनि हुन सक्दथ्यो तर त्यहाँ त्यस्तै भएको थियो । कति सुन्दर दृश्य थियो त्यो ?

    उनले नन्दादेवी पर्वतका कैयौँ तस्बिर खिचिसकेका थिए तर यो ती सबैभन्दा बेग्लै प्रकारको दृश्य थियो । उनले आफूलाई रोक्न सकेनन् । उनले झोला, लौरो, टर्चलाइट भुइँमा राखे र क्यामरा हातमा लिएर फोटो खिच्न तयार भए तर फोटो कसरी खिच्ने ? अझै घाम राम्ररी लागेको थिएन । अन्त घाम लागिहाले पनि अग्ला अग्ला रुखका कारणले त्यहाँ छाया परेको थियो तर उनले घाम लाग्दासम्म पर्खन पनि त सक्दैनथे । उनले पर्खन सक्दथे । त्यो दृश्यले ता उनलाई पर्खन सक्दैनथ्यो । फ्लास लगाउँदा त्यसको चमकले युवतीको ध्यान भङ्ग हुने डर थियो । के गर्ने ?
    अन्तमा उनले बिना फ्लास नै फोटो खिच्ने विचार गरे र तीन दिशाबाट बेग्लाबेग्लै पोजमा फोटो खिच्ने प्रयत्न गरेका थिए तर उनको मनले मानेन । विनाफ्लास खिचेको फोटो राम्रो आएन भने ? त्यति महत्त्वपूर्ण दृश्य सधैँका लागि लुप्त हुनेछ । त्यो मौका सधैँ त आउन्न । अन्तमा उनले फ्लास लगाएर फोटो खिच्ने विचार गरे । त्यसो गर्दा उनको ध्यान भङ्ग भए पनि एउटा फोटो त आउँछ । उनले क्यामरा दबाए । बाहिर प्रकाश फैलियो । युवतीको ध्यान भङ्ग भयो । उनी तर्सेर उठिन् ।
    प्रकृतिको त्यति राम्रो दृश्य बिगार्नुपरेकोमा वृद्धलाई यस्तो महसुस भयो, उनले कलाको एउटा कुनै सुन्दरतम नमुनालाई नष्ट गरेका थिए तर कुनै उपाय थिएन । कुनै विकल्प थिएन । त्यो दृश्य आखिर केही बेरपछि त हराएर नै जानेवाला थियो । युवती सधैँ ता त्यहाँ त्यसरी ध्यान लगाएर बस्ने थिइनन् । कमसेकम यो खुसीको कुरा थियो कि उनले त्यस दृश्यलाई क्यामरामा बन्द गरेर तिनीहरूलाई स्थायित्व प्रदान गरेका थिए ।

    एउटा अनचिनारो वृद्ध मान्छेले आफ्नो फोटो खिचेको देखेर सुनन्दा धेरै नै रिसाइन् र त्यहाँबाट जुर्फुराएर हिडिन् । पछि वृद्धाले उनलाई यो बताएर सम्झाएकी त्यो बेला नन्दादेवी हिमालय र उनको चेहेरामा विचित्र प्रकारको तादात्म्य सम्बन्ध देखा परेको थियो । यदि उनलाई बताएर त्यो फोटो खिचेको भए त्यो, स्वत: विलुप्त हुन्थ्यो । त्यसकारण त्यो बेला देखा परेको प्रकृति र सुनन्दाका बिचको सादृश्यताबाट जुन अद्वितीय सौन्दर्यको रचना भएको थियो, त्यसलाई खेर फाल्न दिनु उचित हुँदैनथ्यो । त्यसैले उनले युवतीलाई थाहा नदिईकन उनको फोटो खिच्नुपरेको थियो । कामरेड गढवालीको कुरा सुनेर सुनन्दाको चित्त बुझ्यो ।

    उनलाई छिटै यो कुरा पनि थाहा भयो कि ती व्यक्ति का. गढवाली नै थिए । उनका कम्युनिस्ट विचारसित उनी सहमत थिएनन् तर उनको त्याग, बलिदान तथा देश र जनताका लागि समर्पित जीवनबारे उनले धेरै सुनेकी थिइन् । त्यसकारण उनको मनमा उनीप्रति धेरै नै आदर र सम्मानको भाव थियो ।

    वृद्धले कैयौँ बेरसम्म युवतीलाई हेरिरहे र उनीप्रति उनको मनमा आदर र स्नेहको भाव पैदा भयो । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनले आफ्ना अगाडि उभिएकी विचित्रकी युवतीलाई हेरे । उनी गान्धीवादी थिइन्, कम्युनिस्ट विरोधी । त्यस कुरालाई उनलेविना हिचकिचाहट र दृढ शब्दमा राखेकी थिइन् । त्यो एउटा कुराले मात्र पनि उनको उच्च प्रकारको आत्मबल र दृढ चरित्र भएको कुरालाई बताउँथ्यो तर कम्युनिस्ट विरोधी भएर पनि उनले जुन शब्दमा उनलाई सम्बोधन गरेकी थिइन्, त्यो सामान्य कुरा थिएन । उनले उनीप्रति आदर प्रकट गरेकी थिइन् र उनलाई सन्त र ऋषि बताएकी थिइन् । अहिलेसम्म उनलाई कसैले त्यसरी सम्बोधन गरेको थिएन । उनले पनि कहिल्यै आफूलाई त्यस रूपमा हेरेका थिएनन् । एकसाथ उनीप्रतिको विरोध र आदरभाव उनको त्यो भनाइले उनमा भएको उच्च प्रकारको वैचारिक सन्तुलन र सिद्धान्तनिष्ठतालाई पनि बताउँदथ्यो । कुनै सिद्धान्तनिष्ठ व्यक्तिले नै अरू कुनै सिद्धान्तनिष्ठ व्यक्तिलाई चिन्न र उसप्रति आदर प्रकट गर्न सक्छ ।”

    कुराको सिलसिलामा का. गढवालीले भने : मेरो कुनै घर छैन, परिवार छैन । त्यसकारण घुम्ने मात्र मेरो काम हो तर मेरो भ्रमण कुनै उद्देश्यका लागि नै हुन्छ ।
    गढवालीले अगाडि भन्दै गए– त्यो उद्देश्य समाजमा परिवर्तन गर्ने हो । एउटा नयाँ समाजको निर्माण गर्ने हो । एउटा सुखी र सुन्दर संसारको निर्माण तर मेरो उद्देश्य कति सफल हुन्छ ? मलाई थाहा छैन तैपनि मेरो काम लगातार अगाडि बढ्ने हो र जति सम्भव हुन्छ, मैले लगातार आफ्नो उद्देश्यतिर बढ्ने कोसिस गर्दछु ।”
    सुनन्दाले गम्भीर भएर आफ्नो अगाडिका वृद्धलाई हेरिरहिन् । वास्तवमा उनका कुरा सुनेर उनका (सुनन्दाका) मनमा उनीप्रति धेरै श्रद्धाको भाव पैदा भएको थियो । वास्तवमा उनी गीताले बताएजस्तो फलको आशा नगरीकन निष्काम भावले आफ्नो उद्देश्यका लागि काम गर्ने, सायद आफ्नो सम्पूर्ण जीवन नै समर्पण गर्ने, कर्मयोगी थिए । त्यो बेला उनले यो कुरा बिर्सेकी थिइन् कि उनी एउटी गान्धीवादी थिइन् र उनका अगाडि बसेका वृद्ध एउटा कम्युनिस्ट ।

    गढवालीले पनि ध्यानमग्न भएर सुनन्दाको मुखमा हेरिरहेका थिए । उनलाई लागिरहेको थियो उनका अगाडि बसेकी युवतीको मनमा कुनै गम्भीर भाव खेलिरहेको थियो । त्यो भाव के थियो, उनले सोध्न सकेनन् र सोध्नु उचित पनि ठानेनन् ।

    सुनन्दाले गम्भीर भएर भनिन्– “तपाईंहरूजस्ता कर्मयोगीका कारणले नै समाज अगाडि बढ्छ । त्यसको उन्नति हुँदै जान्छ ।”

    का. गढवालीले केही बोलेनन् । उनले एकटक लगाएर युवतीलाई हेरिरहे । उनलाई लाग्यो, ती युवतीको चेहरामा ज्योति चम्किरहेको थियो । उनी कुनै महान् उद्देश्यलाई आफ्नो आदर्श बनाएर अगाडि बढिरहेकी थिइन् ।

    सुनन्दाको नाम पहिले नन्दादेवी थियो । पछि सुनन्दा रहेको थियो । उनी कसरी नन्दादेवीबाट सुनन्दा बनेकी थिइन् । त्यसको पनि एउटा कथा नै थियो । नन्दादेवी हिमालयमा एउटा अमेरिकन पर्वतारोही विली अनसोइल्डा नन्दादेवी हिमालयको आरोहणमा आएका थिए । उनले भनेका थिए, उनकी छोरी जन्मेमा उनले आफ्नी छोरीको नाम नन्दादेवी नै राखिदिनेछन् । संयोगले उनकी छोरी जन्मिइन् र उनको नाम नन्दादेवी अन्सोइल्डा नै रह्यो । उनका जेठा बुबाले विवाह नै गरेका थिएनन् र त्यसैले उनका कुनै सन्तान भएको थिएन । त्यसैले उनले आफ्नी बुहारीबाट जन्मेकी छोरीको नाम नन्दादेवी नै राखिदिएका थिए तर पछि स्कुलमा एउटा शिक्षकले उनको नामबाट नन्दादेवी हटाएर र सुनन्दा थपेर उनको नाम सुनन्दा बनाइदिएका थिए ।

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ – “मलाई नन्दादेवी कुनै पहाडको नाम होजस्तो नै लाग्दैन । मलाई एउटै आमाबाट जन्मेकी साक्खै दिदीजस्तो लाग्छ । मेरा कोही दिदीबहिनी पनि छैनन् । आमा मात्र घरमा हुनुहुन्छ । म घरबाट टाढा छु । यहाँ मेरो आफ्नो भन्नु यही नन्दादेवी हिमालय ।”

    विदा भएर केही पर पुगेपछि का. गढवाली पुन: फर्केर आए र उनले भने : पर्खनुहोस्, ‘तपाईंसित एउटा कुरा गर्न बाँकी रह्यो ।

    के कुरा ?

    तपाईंलाई एउटा समाचार दिनुछ ।

    के समाचार ?

    एउटा दुखान्त समाचार……. ।

    गढवालीको कुरा सुनेर सुनन्दा केही आत्तिइन् तर उनले मुखले केही भन्न सकिनन् ।

    का. गढवालीले भने– अहिले बिहान कौसानीतिर आउँदाआउँदै रेडियोमा मैले उनको समाचार सुनेको थिएँ । आज सेप्टेम्बरको ११ तारिक हो । अस्ति ९ तारिकका दिन हिमालय आरोहणको क्रममा चौथो क्याम्पमा उनको मृत्यु भयो । डायरियाका कारणले उनको मृत्यु भयो । उनका पिता उनलाई हिमालयमा नै गाडेर फर्के ।
    त्यसपछि उपन्यासमा लेखिएको छ– “उनका आँखाबाट बररर… आँसु झरे । उनी थचक्क भुइँमा बसिन् र घोप्टो परेर रुन थालिन् । का. गढवालीले आफूलाई रोक्न सकेनन् । उनले सुनन्दाको टाउकामा हात राखेर मुसार्न थाले । नन्दादेवीको मृत्युको समाचार सुनेर सुनन्दालाई साँच्चिकै धेरै दु:ख पुगेको थियो । का. गढवालीले आफ्नो टाउकामा हात राखेर मुसार्न थालेपछि उनी झन् भावुक भइन् । सुनन्दाले का. गढवालीलाई अँगालो हालेर भक्कानो छाडेर रुन थालिन् ।

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.