दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले पुँजीपतिवर्गबाट नयाँ जनवादी क्रान्ति सम्भव नहुने बताउनु भएको छ । थापाले १३३औँ माओ जयन्ती समारोहलाई सम्वोधन गर्दै सो धारणा राख्नुभएको हो ।
‘माओले चीनमा पुँजीवादी क्रान्तिको नेतृत्व पुँजीपतिले हैन कम्युनिस्टहरूले नै गर्नु पर्छ भन्ने अवधारणाका आधारमा नयाँजनवादी क्रान्तिको अबधारणा अगाडि सारेका हुन् ।’ थापाले अगाडि भन्नु भयो– ‘नेपालको अहिलेको आर्थिक प्रणालीका आधारमा हेर्दा नयाँ जनवादी क्रान्ति जरुरी छ, त्यसको नेतृत्व नेकपा (मसाल)ले मात्र गर्न सक्दछ ।’
नेपालमा रहेका पुँजीवादी पार्टीहरू अब दलालपुँजीवादीमा परिणत भएकाले उनीहरूबाट पुँजीवादी क्रान्ति सम्भब नभएकाले कम्युनिस्ट पार्टीमात्र अब नेपालको पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने थापाले बताउनु भयो ।
उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले विश्वब्यापी कम्युनिस्ट आन्दोलन रक्षात्मक अबस्थामा भएको तर नेपालमा कम्युनिस्ट जनमत भए पनि संसदवादी कम्युनिस्ट पार्टीले कम्युनिस्ट जनमतलाई नबउदारबादी नीति र दलाल पुँजीवादी कार्यक्रममा दुरुपयोग गरेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समिति कोषाध्यक्ष झबिलाल कालाथोकिको अध्यक्षता, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला कोषाध्यक्ष सेरबहादुर पुनको सञ्चालनबाट अगाडि बढेको थियो ।अखिल नेपाल किसान महासंघ पुर्ब जिल्ला अध्यक्ष मिनु सुबेदीको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु गरिएको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिब कृष्णा राना, जिल्ला सदस्य मेघराज भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, जातीय समता समाज जिल्ला कोषाध्यक्ष पोषण नेपाली, अखिल नेपाल महिला संघ घोराही नगर अध्यक्ष हेमा पोख्रेलले मन्तव्य राख्नु भएको थियोे ।