• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अपाङ्गताभित्रको सुन्दर संसार सन्दर्भ

"'कामरेड जलजला’ उपन्यास–४० "

  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    उपन्यासमा लेखिएको छ– “बसन्त जन्मजात रूपमा नै दृष्टिविहीन थिए । उनको जन्म एउटा मध्यमवर्गीय परिवारमा भएको थियो । उनका बुबाआमाका चारओटा छोरा थिए । उनी साहिला थिए । बाबुआमा जीवित छँदासम्म त उनको राम्रै स्याहारसुसार भयो, पछि दाजुभाइ छुट्टिए । उनी आफ्‌ना बाबुआमासित नै बस्न थाले । बाबुआमाको मृत्युपछि उनको कुनै सहारा बाँकी रहेन । केही दिन एउटा दाइले लगेर पाल्थे, केही दिन अर्को दाइ वा भाइले तर त्यो क्रम चार/पाँच वर्ष मात्र चल्यो । त्यसपछि सबैले उनलाई छाडिदिए । त्यसपछि उनी सडकको महान् यात्रामा निस्कनुपरेको थियो ।
    जलजलाले सुनन्दातिर फर्केर भनिन्‌– यो पनि कति विचित्रको कुरा हो ?

    सुनन्दाले भनिन्‌– ‘के कुरा… ? के कुरा विचित्र लाग्यो दिदी तपाईंलाई ?

    जसको केही छैन, कोही छैन वा कुनै आश्रय छैन । ती सबैलाई सडकले आश्रय दिन्छ । सडकले ती सबैलाई आफ्‌नो छातीमा समाउँछ, आश्रय दिन्छ, लालनपालन गर्दछ र उनीहरूको संरक्षण गर्दछ । सडकको त्यो ठुलो महानताप्रति मानिसको कुनै ध्यान गएको छैन । शिव माहात्म्य, देवी माहात्म्य, विष्णु माहात्म्य आदि कैयौँ धार्मिक ग्रन्थ लेखिएका छन्, सडक माहात्म्य भनेर कसैले केही लेखेका छैनन् । पृथ्वी, वायु, पानी आदिसमेतको गुणगान गरेर कैयौँ पुस्तक लेखिएका छन् । सडकको विषयमा कुनै सामान्य लेख पनि लेखिएको छैन । सडकको निर्माणसम्बन्धी योजना वा प्रोजेक्टसम्बन्धी धेरै पुस्तक वा लेख लेखिएका छन् तर सडकले संसार भरका सबै आश्रयविहीन मानिसलाई व्यापक रूपमा जुन आश्रय दिन्छ, त्यसबारे केही लेखिएको छैन ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दालाई लाग्यो, वास्तवमा उनले एउटा नयाँ र मौलिक प्रश्न उठाएकी थिइन् ।

    उपन्यासमा लेखिएको छ– “जलजला केही बेर चुप लागिन् अनि उनले फेरि भनिन्, बसन्तले ठिकै भनेका थिए । उनले सडकको महायात्रा सुरु गरेका थिए । उनीहरूको यात्रा महायात्रा नै हो । त्यो कहाँ गएर टुङ्गिन्छ ? उनीहरूको गन्तव्य कहाँ हो ? कसैलाई थाहा छैन । उनीहरूलाई पनि थाहा छैन । कसैले उनीहरूको त्यो यात्राको ख्याल पनि गर्दैनन् ।”

    जलजला र सुनन्दाका दृष्टिकोणमा बसन्त र उर्मिला वा उनीहरू जस्ता अरू असङ्ख्य मानिस सडकको महान् यात्रामा निस्केका महान् यात्री नै थिए ।

    बसन्त र उर्मिलाले जुन प्रकारको जीवन जिउनु परिरहेको छ, त्यो सामान्य होइन । मानिसहरूले उनीहरूलाई बेग्लै दृष्टिकोणले हेर्दछन् । उनीहरूलाई अपहेलना र अपमान पनि गर्दछन् तर उनीहरू पनि हामीजस्तै मानिस हुन् । उनीहरूमा हामीमा जस्तै इच्छा र भावना हुन्छन् । उनीहरूको जुन प्रकारको अवस्था छ, त्यसका लागि उनीहरूको कुनै गल्ती छैन, खालि शारीरिक दृष्टिकोणले उनीहरूको अवस्था वा क्षमतामा केही भिन्नता छ तर समाजका हरेक मानिसमा कैयौँ प्रकारका शारीरिक भिन्नता हुन्छन् वा उनीहरूको क्षमता बेग्लाबेग्लै प्रकारका हुन्छन् । एउटा मान्छेले मिठो स्वरले गीत गाउन सक्छ भने सबैमा त्यस प्रकारको क्षमता हुँदैन । त्यस कारणले नै सङ्गीतकारले अरू सबै मानिसलाई अपहेलना, अपमान वा घृणा गर्नु ठिक हुन्छ ? कैयौँ कविले महाकाव्य लेख्छन् तर त्यो कारणले महाकाव्य लेख्न नसक्ने सबै मानिसलाई हीन ठान्नु सही हुन्छ ? संसारमा बेग्लाबेग्लै रङका मानिस हुन्छन् । सेता, पहेँला, काला, गोरा आदि । के त्यो कारणले बेग्लै रङ्ग भएका मानिसलाई अपमान गर्नु ठिक हुन्छ ?

    वास्तवमा त्यो एउटा गम्भीर विषय हो । सम्पूर्ण मानव जातिसित सम्बन्धित गम्भीर विषय हो । संसारका लाखौँ मानिसमा शारीरिक दृष्टिकोणले मात्र होइन, मानसिक दृष्टिकोणले पनि कैयौँ कमजोरी वा भिन्नता हुन्छन् । त्यो कारणले उनीहरूलाई ठुलो पैमानामा अपमान गर्ने पनि गरिन्छ ।

    उपन्यासमा अगाडि लेखिएको छ– “कसैको आँखाले देख्ने क्षमता कम हुन सक्छ । कसैको सुन्ने शक्ति कम हुन सक्छ । कसैको बोल्ने क्षमता कम हुन सक्छ । कसैका हातखुट्टाका क्षमता कम हुन सक्छन् । ती कारणले कसैलाई हीन ठान्नु अवश्य पनि सही हुन्न । विभिन्न व्यक्तिका शारीरिक क्षमता बेग्लाबेग्लै प्रकारका हुन सक्छन् तर त्यो कारणले ती सम्पूर्ण रूपले असक्षम हुन्छन् भन्ने होइन । हकिङ्सलाई प्यारालाइसिस भएको थियो । उनी हि“डडुल गर्न असमर्थ थिए । उनी बोल्न पनि सक्दैनथे तर उनी संसारका महान् वैज्ञानिक बने । उनले अन्तरिक्षका ब्ल्याक होलसहित कैयौ“ रहस्यको उद्घाटन गरे । संसारमा त्यस प्रकारका असङ्ख्य उदाहरण पाइन्छन् ।”

    जलजला र सुनन्दाका बिचमा छलफलको त्यो क्रम लगातार अगाडि बढ्दै गयो । संसारका शारीरिक वा मानसिक रूपले कमजोर भएका तर जीवनमा अद्वितीय उपलब्धि गरेका अरू पनि कैयौँ उदाहरण थिए । अल्बर्ट आइस्टाइनले बालककालमा राम्ररी बोल्न पनि सक्दैनथे र राम्ररी अक्षर छुट्याउन पनि सक्दैनथे, त्यो उनको एक प्रकारको रोग नै थियो । त्यसैले पढाइमा उनी धेरै कमजोर थिए । उनी पछि विश्वका प्रसिद्ध वैज्ञानिक बने र उनलाई नोबेल पुरस्कार पनि मिल्यो । उनको गणना संसारको सबैभन्दा बुद्धिमान व्यक्तिका रूपमा हुन्छ । उनले सापेक्षताको सिद्धान्त पनि आविष्कार गरेका थिए । त्यही प्रकारले अमेरिकाका बत्तिसौँ राष्ट्रपति फ्राङ्कलिन रुजबेल्ट शारीरिक दृष्टिकोणले कमजोर थिए । प्यारालाइसिसको कारणले उनी खुट्टाले हिँड्न पनि सक्दैनथे र हिँडडुल गर्नका लागि उनले ह्‌विलचियरको सहायता लिनुपर्दथ्यो तर अपाङ्गताका कारणले उनको क्षमता र व्यक्तित्वको विकासमा कुनै बाधा पुगेन ।

    विश्वप्रसिद्ध उपन्यास ‘अग्निदीक्षा’ का लेखक निकोलाई ओस्त्रोभस्कीलाई पनि प्यारालाइसिस भएको थियो तर उनले विश्वको प्रगतिशील साहित्यमा ‘अग्निदीक्षा’ जस्तो महान् उपन्यास दिए ।

    इटलीका आन्द्रेय बोसेई पूरै दृष्टिविहीन थिए तर उनी विश्वप्रसिद्ध गायक बने । लुइस ब्रेली पूरै दृष्टिविहीन थिए । उनले दृष्टिविहीनका लागि ब्रेललिपिको आविष्कार गरेका थिए ।

    त्यस सन्दर्भमा हेलेन केलरको नाम पनि उल्लेखनीय छ । उनी अमेरिकी नागरिक थिइन् । उनको जन्म सन् १८८० मा भएको थियो र मृत्यु सन् १९८० मा । कुनै अज्ञात रोगका कारणले १९ महिनाको उमेरमा नै उनको देख्ने र सुन्ने क्षमता नष्ट भएको थियो तैपनि उनीजस्तो महिलाले स्नातक परीक्षा उत्तीर्ण गरेकी थिइन् र स्नातक परीक्षा उत्तीर्ण गर्ने त्यस प्रकारकी विश्वकी नै पहिलो व्यक्ति थिइन् । आफ्‌नो जीवनबारे उनले लेखेको आत्मकथा पनि अङ्ग्रेजी साहित्यमा प्रसिद्ध छ । उनले विश्वभरि भ्रमण गरेर युद्धको विरोध, महिलाको मताधिकार र अन्य अधिकार र समाजवाद समेतबारे अभियान चलाएकी थिइन् । बाल्यकालमा नै देख्ने र सुन्ने क्षमता नष्ट भएकी महिलाको त्यस प्रकारको उपलब्धिले विश्वको अपाङ्गताको इतिहासमा नै धेरै ठुलो महत्व राख्छ ।

    मोहम्मद अलीलाई सानैदेखि एक प्रकारको रोग थियो । त्यो कारणले उनले मुस्किलले नै लेखपढ गर्न सक्दथे तर उनी विश्वप्रसिद्ध मुक्केबाज बने ।

    उपन्यासमा लेखिएको छ– सुनन्दाले भनिन्‌, यी केही उदाहरणबाट प्रस्ट हुन्छ, कुनै मानिसमा केही शारीरिक कमजोरी भए पनि उनीहरू पूरै असक्षम हुन्छन् भन्ने होइन । दृष्टिविहीन, कान सुन्न नसक्ने, प्यारालाइसिस भएका मानिसले पनि विश्वमा ठुला सफलता प्राप्त गरेका छन् । उनीहरूले विश्वमा धेरै नै सफलता प्राप्त गरेका छन् । अर्कातिर जुन मानिस शारीरिक दृष्टिकोणले धेरै नै राम्रा हुन्छन्, उनीहरूले पनि संसारमा कैयौ“ नराम्रा काम गर्ने गरेका छन् । ठुलाठुला अपराधीहउनीहरूका बिचबाट नै पैदा हुने गरेका छन् ।

    कामरेड जलजलाले भनिन्‌– समाजमा महिला, दलित यहाँसम्म कि मिहेनतकस जनतालाई हेय दृष्टिकोणले हेर्ने सोचाइ पहिलेदेखि रहँदै आएको छ । रङ, जाति, धनसम्पत्ति आदिका आधारमा भेदभाव गर्ने दृष्टिकोण पनि पहिलेदेखि रहँदै आएको छ । अमेरिकालाई धेरै नै सभ्य र विकसित देश मानिन्छ तर त्यहाँ पनि रङका आधारमा हब्सीलाई भेदभाव गर्ने सोचाइ व्यापक रूपमा पाइन्छ तर यसको एउटा सकारात्मक पक्ष पनि छ । त्यस प्रकारका सबै भेदभावका विरुद्ध समाजमा लामो समयदेखि सङ्घर्ष चल्दै आएका छन् । त्यसको परिणामस्वरूप अब महिला, दलित आदिलाई पहिले जति नै पूरै अपहेलना गरिन्न । मजदुर किसानलाई पनि पहिलेझैँ हेय दृष्टिकोणले हेरिन्न । पहिलेको अवस्थामा पूरै सुधार भएको छ भन्ने होइन तर पहिलेको तुलनामा स्थितिमा धेरै सुधार भएको छ । ती विभिन्न प्रश्नमा अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै जागरण आएको छ, आन्दोलन उठेका छन् वा संयुक्त राष्ट्र सङ्घका अभिसन्धि भएका छन् । विभिन्न देशमा पनि ती प्रश्नमा कैयौँ कानुन बनेका छन् । त्यही कुरा अपाङ्गताका सन्दर्भमा पनि सत्य हो । गत कालमा उनीहरूप्रतिको अपमानजनक र भेदभावपूर्ण सामाजिक भावनामा परिवर्तनको लागि विश्वव्यापी रूपमा नै धेरै प्रयत्न भएका छन् ।

    त्यसपछि कामरेड जलजला र सुनन्दाका बिचमा अपाङ्गताको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा आएको जागरण र उनीहरूको सङ्गठन निर्माणको लागि भएका प्रयत्नबारे विस्तृत रूपले चर्चा हुन थाल्यो । अपाङ्गता भएका मानिसमा करिब १५० वर्षदेखि जागरण आउन थालेको थियो । उनीहरूले आफ्‌नो हकअधिकारका लागि विभिन्न प्रकारले आन्दोलन पनि गर्दै आएका थिए । कैयौँ न्यायप्रेमी जनताले उनीहरूका हक र अधिकारका लागि आवाज पनि उठाउँदै आएका छन् । खास गरेर बिसौँ शताब्दी सुरु भएपछि त्यस दिशामा धेरै काम भएका छन् । विभिन्न देशमा उनीहरूका हक र अधिकारका लागि कैयौँ कानुन पनि बन्न सुरु भयो । संसारका कैयौ“ देशमा अपाङ्गता भएका मानिसले विभिन्न प्रकारका सङ्गठनको पनि निर्माण गर्दै गए । ती सङ्गठनलाई अन्तर्राष्ट्रिय रूप दिने पनि प्रयत्न हुन थाले । त्यो क्रम अगाडि बढ्दै गयो । सन् १९७२ मा अस्ट्रेलियाको सिड्नीमा अपाङ्गता भएका मानिसको एउटा सम्मेलन भयो । उनीहरूले आफ्‌ना समस्यामाथि विस्तृत रूपले छलफल गरे ।

    सन् १९८० मा क्यानडामा अपाङ्गता भएका मानिसको एउटा विश्वव्यापी सम्मेलन भयो । क्यानडामा भएको एउटा अर्को सम्मेलनमा अपाङ्गता भएका मानिसको एउटा अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण भयो, जसको अध्यक्षमा क्यानडाका हेनरी इन्स र उपाध्यक्षमा स्वीडेनका बेङ्ट लिनक्विन्ट निर्वाचित भएका थिए । त्यो अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका अपाङ्गता भएका मानिसका करिब ११ सय सङ्गठनका प्रतिनिधि सामेल भएका थिए । त्यसको पहिलो महाधिवेशन ३० नोभेम्बरदेखि ४ डिसेम्बर १९८१ सम्म सिङ्गापुरमा सम्पन्न भएको थियो । त्यसमा संसारभरका करिब ४०० प्रतिनिधि सहभागी भएका थिए । पछि त्यो अन्तर्राष्ट्रियले विभिन्न महादेशमा पनि आफ्‌ना सङ्गठनको बिस्तार गर्दै लग्यो । त्यस सिलसिलामा युवक र महिलाको सङ्गठनमा विशेष ध्यान दिइयो ।

    माथि अपाङ्गताको क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा जुन गतिविधि बढ्दै गए, त्यो काल उनीहरूको कार्यकालभन्दा बाहिरको विषय थियो र त्यसबारे उनीहरूलाई जानकारी हुन सक्दैनथ्यो । त्यही पनि उनीहरूले अपाङ्गताको क्षेत्रमा उज्ज्वल भविष्यको आशा गरेका थिए र त्यसअनुरूप कैयौँ कार्य सम्पन्न हुँदै पनि गए । उपन्यासमा उनीहरूको कार्यकालभन्दा पछि अपाङ्गताको क्षेत्रमा भएका प्रगतिको पनि चर्चा गरिएको छ ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सन् १९९० मा अमेरिकामा अपाङ्गता भएका मानिसको हक र हित सुनिश्चित गर्नका लागि कानुन बन्यो । अपाङ्गता भएका मानिसको विश्वव्यापी गतिविधि क्रमशः यति शक्तिशाली र व्यापक बन्दै गयो, त्यसलाई संयुक्त राष्ट्र सङ्घले पनि गम्भीर रूपमा लिन थाल्यो । सन् १९९२ मा त्यसको साधारणसभाले डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवस घोषित गर्‍यो । त्यस बेलादेखि अहिलेसम्म डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रूपमा मनाउने गरिएको छ ।

    त्यो क्रम अगाडि बढ्दै गयो । डिसेम्बर १३, २००६ मा संयुक्त राष्ट्र सङ्घले अपाङ्गसम्बन्धी घोषणापत्र (Right of Persons with disabilities and its optional protocol) पारित गर्‍यो ।

    कामरेड जलजला र सुनन्दाले अपाङ्गता भएका कैयौँ व्यक्तिले जीवनमा सफलता प्राप्त गरेका कैयौँ व्यक्तिबारे चर्चा गरेका थिए तर त्यसपछि पनि त्यसरी सफलता प्राप्त गरेका कैयौँ व्यक्तिबारे उपन्यासमा चर्चा गरिएको छ । त्यस सन्दर्भमा डच नागरिक एस्टर भर्गेरको पनि चर्चा गरिएको छ । उनी डच नागरिक थिइन् । ९ वर्षको उमेरमा नै प्यारालाइसिसको कारणले उनी खुट्टाले हिँड्न नसक्ने भएकी थिइन् तर त्यो शारीरिक अवस्थामा पनि उनी विश्वकी नं. १ ह्‌विलचियर टेनिस खेलाडी बनेकी थिइन् र सन् १९१३ मा खेलजीवनबाट अवकास लिँदासम्म आफ्‌नो खेलमा उनी अपराजित रहेकी थिइन् । उनले ४७० म्याच खेलेकी थिइन् । टेनिसको खेलमा उनले ४८ ओटा ग्रान्डस्लम टुर्नामेन्ट जितेकी थिइन् । उनले ७ ओटा पारालमपिक्स पदवी पनि जितेकी थिइन् । विश्वका अपाङ्गता भएका खेलाडीमध्ये उनको स्थान सबैभन्दा माथि छ ।

    जोन नास अमेरिकन नागरिक थिए । उनको जन्म सन् १९२८ मा भएको थियो । एउटा रोगका कारणले उनी अपाङ्ग भएका थिए तैपनि उनी विश्वप्रसिद्ध गणितज्ञ थिए र उनलाई १९९४ मा अर्थशास्त्रमा नोबल पुरस्कार मिलेको थियो । उनको नामबाट एउटा “सुन्दर मन” शीर्षकको एउटा फिल्म बनेको थियो । त्यसलाई ओस्कार पुरस्कार पनि प्राप्त भएको थियो ।

    फ्रिडा काहलो मेक्सिकोकी नागरिक थिइन् र उनको जन्म सन् १९०७ मा भएको थियो । पोलियो रोगका कारणले उनको दाया खुट्टा बायाभन्दा छोटो र पातलो पनि भएको थियो । एउटा अर्को दुर्घटनाका कारणले उनको अपाङ्गता झन् बढेको थियो । त्यसैले उनी बिस्तराबाट उठ्न सक्दिनथिन् तैपनि उनी एउटी विश्वप्रसिद्ध चित्रकार बनिन् । उनका कैयौँ चित्र अमेरिकामा धेरै नै प्रसिद्ध बनेका छन् ।

    उपन्यासमा एउटा प्रसिद्ध भारतीय महिला पर्वतारोही अरूणिमा सिन्हाको पनि चर्चा गरिएको थियो । उनले रेलको यात्रा गरिरहेका बेला गुण्डाको प्रतिरोध गर्दा उनीहरूले उनलाई रेलबाट बाहिर फ्याकिदिँदा अर्कातिरबाट आएको एउटा रेलले उनको एउटा खुट्टा काटिदिएको थियो तैपनि उनले पर्वतारोहणको अभ्यास गरिन् र सगरमाथा शिखरमा पुग्नसमेत सफल भएकी थिइन् । उनले संसारका अरू कैयौँ उच्च शिखरमा पनि विजय प्राप्त गरेकी थिइन् ।

    उनले भनेअनुसार उनी खुट्टाको बलमा होइन, आफ्‌नो मस्तिष्कको बलमा नै त्यस प्रकारको सफलता प्राप्त गर्न सफल भएकी थिइन् । त्यसको अर्थ हो, आफ्‌नो उच्च इच्छाशक्ति र अदम्य साहसको बलमा नै उनले त्यस प्रकारको सफलता प्राप्त गरेकी थिइन् । उनले यो पनि भन्ने गर्थिन्, कुनै उच्च उद्देश्य प्राप्त गर्नको लागि मानिस बहुलाउन सक्नुपर्छ ।

    उपन्यासमा नेपालका पनि अपाङ्गता भएका मानिसले कैयौँ उच्च सफलता प्राप्त गरेका उदाहरण दिएका छन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “नेपालको अपाङ्गताको इतिहासमा खगेन्द्रबहादुर बस्नेतको सबैभन्दा महत्वपूर्ण स्थान छ ।”

    उनमा जन्मजात अपाङ्गता थिएन । पछि उनको खुट्टा दुख्न थाल्यो । भारत वा नेपालमा धेरै उपचार गराउँदा पनि उनलाई पुनः कहिल्यै सन्चो भएन । उनले जीवनभरि नै बिस्तरामा पल्टेर जीवन बिताउनुपर्‍यो । नेपालको अपाङ्गताको इतिहासमा उनको महत्व यसकारणले छ, उनले आफ्‌नो जीवनकालमा अपाङ्गताको क्षेत्रमा धेरै सेवा दिए र अपाङ्गता भएका मानिसको कल्याणका लागि महत्वपूर्ण कार्य गरे । त्यस सिलसिलामा चितवनको नारायणघाटमा खोलिएको नवजीवन केन्द्र विशेष रूपले उल्लेखनीय छ । त्यहाँ आँखा नदेख्ने, कान नसुन्ने, बोल्न नसक्ने वा मानसिक दृष्टिकोणले कमजोर भएका व्यक्तिका लागि बस्ने, खाने र उपचारसमेतको व्यवस्था छ ।

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ : “शारीरिक दृष्टिकोणले कमजोर भएर पनि साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिको सूचीमा पारिजात र झमक कुमारीको नाम विशेष रूपले उल्लेखनीय छन् । प्यारालाइसिसको कारणले पारिजात शारीरिक दृष्टिकोणले धेरै नै कमजोर भएकी थिइन् तैपनि उनी नेपालकी प्रसिद्ध साहित्यकार बन्न पुगिन् । खास गरेर उपन्यासको क्षेत्रमा उनको महत्वपूर्ण देन रहेको छ…।”

    साहित्यको क्षेत्रमा झमक कुमारीको पनि महत्वपूर्ण स्थान छ । अपाङ्गताका कारणले उनले हातले कुनै काम गर्न सक्दिनन् र लेख्न पनि सक्दिनन् । उनले सबै काम खुट्टाले नै गर्दछिन् । दाया खुट्टाले कलम समातेर लेख्ने गर्छिन् । सायद त्यो संसारको नै एउटा विरलै पाइने उदाहरण हो ।

    उपन्यासमा कमल लामिछानेको नामको पनि उल्लेख गरिएको छ । उनी जन्मजात रूपमा दृष्टिविहीन थिए तर उनले जापान विश्वविद्यालयबाट पिएचडी गरेका थिए ।

    मोहनसुन्दर श्रेष्ठ पनि दृष्टिविहीन थिए तैपनि उनले चालिस वर्षभन्दा बढी समयसम्म सरोदवादन गर्दै आएका थिए ।

    सङ्गीत र साहित्यको क्षेत्रमा उच्च सफलता प्राप्त गर्ने अर्का व्यक्ति शम्भुकुमार मिलन थिए । उनको मुख्य योगदान सङ्गीतको क्षेत्रमा भए पनि साहित्यतर्फ पनि उनको रुचि रहने गरेको थियो । विभिन्न पत्रपत्रिकामा उनका गीत, कविता, गजल, बालकथा (आधा दर्जन कविता सङ्ग्रह र १ खण्डकाव्यसमेत) आदि प्रकाशित भएका छन् ।

    पूर्णदेवी कङ्साकार नेपालकी एसएलसी पास गर्ने पहिलो दृष्टिविहीन व्यक्ति हुन् ।

    नरबहादुर लिम्बू जन्मजात दृष्टिविहीन थिएनन् । चार वर्षको उमेरमा एउटा रोगका कारणले उनी दृष्टिविहीन बन्न गएका थिए । उनले अरूको घरमा काम गरेर जीवन निर्वाह गर्दथे तर पछि उनले इतिहास विषयमा एमएसम्मको पढाइ गरेका थिए र उनी नेपालको नेत्रहीन सङ्घको अध्यक्ष पनि भएका थिए ।

    उपन्यासमा जन्मजात रूपमा दृष्टिविहीन भएका गोविन्दप्रसाद आचार्यको चर्चा गर्दै लेखिएको थियो– “जन्मजात रूपमा दृष्टिविहीन भएका व्यक्तिमध्ये नेपालबाट पिएचडी गर्ने नेपालका प्रथम व्यक्ति हुन् । उनले त्रिविबाट साहित्यमा पिएचडी गरेका छन् । उनी काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा उपप्राध्यापक छन् । उनी अपाङ्गता अनुसन्धान केन्द्र नेपालको अध्यक्ष, श्रव्य पुस्तकालय तथा स्रोत केन्द्र नेपालको सदस्य पनि छन् । उनका धेरै लेख र कविता पनि पत्रपत्रिकामा प्रकाशित भएका छन् । उनका रचना वामपन्थी आन्दोलनसँग सम्बन्धित छन् । उनको पिएचडीको शोधकार्य पनि प्रगतिशील साहित्यमा केन्द्रित छ । उनी लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय छन् ।”

    नेपालमा अपाङ्गताका बाबजुद जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिको लामो सूची छ । त्यस्ता व्यक्तिले नृत्य, सङ्गीत, साहित्य, प्रशासन, खेलकुद, शिक्षा आदि विभिन्न क्षेत्रमा उच्च सफलता प्राप्त गरेका छन् ।

    नेपालमा एउटा मात्र खुट्टा भएर पनि नृत्यको क्षेत्रमा सफलता प्राप्त गरेका कैयौँ महिला छन् । त्यस प्रकारका महिलामा निलम ढुङ्गाना, रोमा न्यौपाने, रश्मी खरेल, सृष्टि केसी, निर्मला भण्डारी आदिको नाम उल्लेखनीय छ ।

    उपन्यासमा त्यस प्रकारका अरू पनि कैयौँ नाम उल्लेख गरिएको छ । त्यस प्रकारका व्यक्तिमध्ये एउटी लक्ष्मी गुरुङ हुन् । उनले अपाङ्गताका कारणले धेरै हिँडडुल गर्न सक्दैनथिन् तैपनि सङ्गीतको क्षेत्रमा उनको उल्खनीय देन रहेको थियो । उनले कालजयी गीत गाएर वामपन्थी आन्दोलनलाई सशक्तीकरण गर्नमा उच्च भूमिका खेलेकी थिइन् । उनी हिडडुल गर्न सक्दैनथिन् र कतै जाँदा गाडी नचल्ने ठाउँमा उनलाई डोकामा बोकेर लैजानुपर्दथ्यो ।

    अपाङ्गताका कारणले हिँड्डुल गर्न नसकेता पनि प्रशासन वा कूटनीतिक सेवाको क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त गरेका व्यक्ति सुशीलकुमार लम्साल हुन् । आफ्‌नो शारीरिक कमजोरीका कारणले उनी खुट्टाले हिँड्न सक्दैनन् र ह्‌विलचियरमा मात्र हिँड्छन् । उनले कैयौँ वर्षदेखि नेपालको परराष्ट्र मन्त्रालयमा काम गर्दै आएका थिए । उनले नेपालका कैयाँै विदेशी दूताबासमा पनि उच्च पदमा रहेर काम गरेका थिए र पछि मिश्रका लागि राजदूतमा नियुक्त गरिएका थिए ।

    चन्द्रबहादुर डाँगी दाङका बासिन्दा थिए । उनले गिनिज विश्व रेकर्डमा दुईओटा रेकर्ड बनाएका थिए : प्रथम– संसारको सबैभन्दा होचो मानिसका रूपमा द्वितीय– संसारका होचामध्ये सबैभन्दा जेठा व्यक्तिका रूपमा । उनलाई सन् २०१२ मा ती दुबै पुरस्कार दिइएको थियो ।

    रमेशबाबु तिवारी शारीरिक अपाङ्ग भएर पनि विभिन्न सङ्घसंस्थामा आबद्ध भई अपाङ्गता भएका व्यक्तिको हकहित, अधिकारका सवालमा आवाज उठाउने र दृष्टिविहीनका लागि श्रव्य पुस्तक उत्पादन गरी वितरण गर्ने कार्यमा संलग्न हुँदै आएका छन् ।

    निर्मला ज्ञवाली दृष्टिविहीन पत्रकार हुन् । उनले रेडियो कार्यक्रम पनि सञ्चालन गर्दै आएकी थिइन् । उनी अमेरिकामा गई भुटानी शरणार्थी दृष्टिविहीनलाई विदेशमा रहँदा कसरी दैनिक जीवन बिताउनुपर्छ भन्ने विषयमा तालिम लिई उक्त संस्थामा जागिरे भई प्रशिक्षकको रूपमा रहेकी थिइन् ।

    जङ्गबहादुर बोगटीको बझाङको छान्ना गाउँमा १९९८ सालमा जन्म भएको थियो र २०६६ मङ्सिर ४ गते उनको निधन भएको थियो । उनी नेपालका दृष्टिविहीनका क्षेत्रमा नयाँ आयाम थप्ने व्यक्तित्व हुन् । उनले नेपालमा ब्रेललिपिको स्थापना गरेका थिए । उनले २०२१ सालमा लेब्रोटरी स्कुल कीर्तिपुरमा दृष्टिविहीनलाई पढाउने पहिलो स्कुल स्थापना गरेका थिए । उनले घरेलुमा बेतबाँसको शिक्षक भई काम गरे ।

    सुरेशराज भण्डारी २०२१ सालमा भक्तपुरको बोलाछेँमा जन्मेका थिए । उनी जन्मदा दृष्टिविहीन थिएनन् । जन्मेको २७ महिनापछि टाइफाइट रोगबाट दृष्टिविहीन हुन पुगे । उनले कानुनमा एलएलसी पास गरेका छन् । जापानबाट अकुपञ्चर र मसाजको तालिम लिई काम गर्दै आएका छन् । उनले अपाङ्गताको क्षेत्रमा कैयौँ अध्ययन र अनुसन्धानका काम गरेका छन् ।

    गणेशलाल श्रेष्ठ १९५८ मा ललितपुर जिल्लामा जन्मेका थिए । उनको निधन २०२९ सालमा भयो । उनी रेडियो नेपालमा वाद्य प्रबन्धक थिए । उनले जस्ताबाजा पनि छामेपछि बजाउन सक्थे । उनी सङ्गीतका गुरुका रूपमा अहिलेसम्म पनि सम्मानित छन् ।

    उपन्यासमा अर्घाखाँचीका खुबिराम शर्माको चर्चा गर्दै लेखिएको छ– “उनी जन्मजात रूपमा दृष्टिविहीन थिएनन् । पछि एउटा रोगका कारणले उनको आँखाको ज्योति गएको थियो । दृष्टिविहीन भएर पनि नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रिय भएका उनी सायद नेपालका एक मात्र व्यक्ति हुन् । उनले पहिले नेपाली काङ्ग्रेसमा काम गर्दथे र २०१५ सालमा कम्युनिस्ट पार्टीमा सामेल भएका थिए । उनले देशका विभिन्न भागमा घुमेर पार्टीको सङ्गठनको काम गर्दथे । नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनमा उनी केन्द्रीय समितिमा चुनिएका थिए ।”

    उपन्यासमा मेनुका पौडेलको चर्चा गर्दै लेखिएको छ– “उनी जन्मजात रूपमा दृष्टिविहीन हुन् । उनले सङ्गीतमा उच्च शिक्षा प्राप्त गरेकी छन् । उनी नेपाल र भारतमा समेत सङ्गीतको क्षेत्रमा धेरै नै प्रसिद्ध भएकी छन् । उनले आफ्‌नो दैनिक कार्य र टाढाटाढासम्मको यात्रासमेत कसैको साथ नलिईकन एक्लै गर्न सक्दछिन् । उनले नेपाल, भारत मात्र होइन, विश्वव्यापी रूपमा नै सङ्गीतको यात्रा गरेर देशको नाम उचो गराउने सम्भावना छ ।

    उपन्यासमा शारीरिक अपाङ्गताका बाबजुद खेलकुदको क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिको पहिले नै चर्चा भइसकेको छ । नेपालमा त्यस प्रकारका व्यक्तिमा पलेशा गोवर्धनको नाम उल्लेखनीय छ । उनले तेक्वान्दोको खेलकुदमा कैयौँ सफलता प्राप्त गरेकी थिइन् । उनले चीनको पेकिङमा भएको तेक्वान्दो प्रतियोगितामा इरानकी खेलाडीलाई पराजित गरेर स्वर्णपदक जितेकी थिइन् । उपन्यासको कालभन्दा पछिको कुरा भएको हुनाले उपन्यासमा चर्चा गरिएको छैन तैपनि सन् २०२२ मा हाङझोउ चीनमा एसियन पारा गेम्समा काँस्यपदक, सन् २०२४ पेरिसमा पेरिस पारालिम्पिक खेलमा काँस्यपदक जितेको कुराको यहाँ उल्लेख गर्नुपर्ने सायद अप्रासङ्गिक हुने छैन । त्यही प्रकारले उनले मलेसियामा सम्पन्न एसिलायली पारा ताइक्वान्दो च्याम्पियनसिपमा कास्यपदक, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र काँस्य जितेकी छन् । उनी नेपालकी पहिलो पारालिम्पिक पदक विजेता थिइन् । उनी अपाङ्ग खेलाडीका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनलाई नेपाल वा विभिन्न अन्तर्राष्ट्रिय सरकारी वा गैरसरकारी संस्थाबाट कैयौँ सम्मान प्रदान गरिएको थियो ।

    भविष्यमा अपाङ्गताको क्षेत्रमा हुने परिवर्तन वा आन्दोलनबारे ता उनीहरूले कुरा गर्न सक्दैनथे तैपनि उनीहरूले भविष्यको अपाङ्गताको संसारबारे कैयौँ विचार गर्न सक्दथे र त्यसबारे कामरेड जलजला र सुनन्दाका बिचमा लामो कुराकानी भइरह्यो ।

    उनीहरू दुबै जनाले यो कुरामा जोड दिएका थिए, आज संसारमा जुन अपाङ्गता थियो, कुनै दिन त्यो इतिहासको कुरा हुनेछ । समाजमा पहिलेका असाध्यै देखिने कैयौँ रोग समाप्त भएर गएका थिए वा ती नाम मात्रका रूपमा बाँकी रहेका थिए । त्यही प्रकारले अपाङ्गता पनि एउटा रोग थियो शारीरिक वा मानसिक रूपमा देखा पर्ने कुनै कमजोरीको परिणामस्वरूप नै एक वा अर्को प्रकारले अपाङ्गता उत्पन्न हुने गर्दथ्यो । चिकित्सा विज्ञानले त्यस प्रकारका धेरै रोगलाई निवारण गर्दै गएको थियो वा तिनीहरूमाथि विजय प्राप्त गरेको थियो । त्यही प्रकारले कुनै दिन अपाङ्गता सम्पूर्ण रूपले निर्मूल हुनेछ भन्ने कुरामाथि उनीहरूलाई विश्वास थियो ।

    उपन्यासमा लेखिएको छ– “सुनन्दाले भनिन्, अपाङ्गता भएका मानिसको सबैभन्दा ठुलो कमजोरी के हो भने उनीहरूले आफ्‌ना शारीरिक वा मानसिक कमजोरीका कारणले आफूलाई कमजोर ठान्छन् । त्यही कारणले उनीहरूले आफूभित्रको महान् क्षमतालाई देख्न सक्दैनन् र जीवनको दौडमा पछाडि पर्छन् तर एकपल्ट त्यो कमजोरीबाट मुक्त हुनेबित्तिकै उनीहरूले जीवनमा अद्भुत र महान् सफलता प्राप्त गर्न सक्छन् । अपाङ्गताले पनि मानिसको कुनै एउटा कमजोरीलाई मात्र बताउँछ । ऊ आँखाले नदेख्ने हुन सक्छ । कानले नसुन्ने हुन सक्छ । एउटा वा दुबै खुट्टाले हिँड्न नसक्ने हुन सक्छ । बोल्न नसक्ने हुन सक्छ तर त्यो कमजोरीले नै उसको सम्पूर्ण व्यक्तित्वलाई बताउँदैन । कुनै खास त्यस्तो कमजोरीभित्र एउटा महान् व्यक्तित्व लुकेको हुन सक्छ । अपाङ्गताभित्र एउटा अद्भुत संसार लुकेको हुनसक्छ…. ।”

    कामरेड जलजला एक्लै बडबडाइन् । उनले मनमनै सोचिन्, त्यो अद्भुत संसार प्रकाशमा आयो भने सारा संसारमा चकाचौध हुनेछ ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.