ऋतु केसी ##
पुराना बर्बराउन छोडेकै छैनन्
नयाँ सलबलाइरहेका छन्
‘देश बनाउँछौँ’
तर बन्न त बनेकै थियो
ऊ बेलादेखि नै देश होइन
उनकै घर, नाता अनि इष्ट
रूप फेरेर आउँदैमा देश बन्दैन
नियत त उह्री बोकेर आएछौ
हुन त बोकाइदिने उही भएपछि
कसरी फेरियोस् र नियत ?
तिम्रो नियत
अनि मेरो देशको विडम्बना
खै के कविता लेखूँ ?
देशको माटो भन्छ
‘मलाइ नछोड’
वृद्ध बाउआमा इसारा गर्छन्
‘हाम्रो काख नछोड’
उता सानी सुक्सुकाउँदैछ
‘मेरो साथ नछोड’
बर्खे बाढीभन्दा पनि उर्लिएको
महँगीले गिज्याइरहेछ
गास, बास र कपासको जोहो
कसरी गर्छस् ?
देशप्रेम अनि परिवारको स्नेहलाई
झोलामा पोको पारेर
सीमा काटनुको पीडा
खै के लेखूँ कविता ?
रोजिरोटीको व्यवस्था भए
भोको पेट भरिने अवस्था आए
तिम्रो राष्ट्रदोहनलाइ खबरदारी
गर्ने सबै यतै हुनेछन
तिम्रा काला कर्तुतहरू
पोको फुकाएसरि
पर्दाफास गरिदिनेछन्
त्यसैले बिर्को बेस्सरी कसिदेऊ
सबै युवाहरूको
यति बाध्यतामा पारिदेऊ कि
यहाँ केही हुन्न र केही छैन
भनेर विवश युवा
राजी होस् सीमा काट्न
बाध्य होस् पासपोर्ट बोक्न
हाम्रो बाध्यता
अनि तिम्रो नियती
खै के लेखुँ कविता ?