हरेक दिन
कैयौँ अपरिचितहरूलाई परिचित जस्तै गर्नुपर्ने
परिचितहरूबाटचाहिँ अपरिचित नै रहन लुक्नुपर्ने
काठमाडौँ सहर
चिनेकाहरूले नचिनेको व्यवहार गर्ने
नचिनेकाहरूलाई चिनेकै आत्मीयता दर्साउनुपर्ने
काठमाडौँ सहर
रहरका थुप्राहरूले दबिएको भोगी खाल्डो
अतृप्तिहरूले डसिएको कङ्क्रिट मसानघाट
काठमाडौँ सहर
पशुपतिनाथका शङ्ख–घन्टहरूको सुमधुर ध्वनिभन्दा अगावै
स्वयम्भूनाथ र महाबौद्धका धुपहरूको सुगन्धभन्दा अगाडि नै
जालझेल, ठगीलुट र व्यक्तिगत स्वार्थ उत्पादनको कारखाना
काठमाडौँ सहर
एकछिन भेटिदिनैपर्ने
तर सदा हतारोमा भाग्ने
एक छाक खाइदिनैपर्ने
तर दोस्रो छाक शङ्कास्पद रहने
एक रात बसिदिनैपर्ने
तर भोलिपल्टको बास
कुम्लोकुटुरोको त के
स्वयं उसकै पनि ठेगान नहुने
काठमाडौँ सहर
म गाउँ
नचिनेकासँग पनि खुलेर हाँस्नु सक्छु
कहिल्यै नभेटेकालाई पनि एक्लै बास दिन सक्छु
काठमाडौँ
तिमी फेरि मकहाँ फर्क
मान्छे हुनुको सार्थकता
तिमीभित्र ब्युँताइदिनेछु
काठमाडौँ
फेरि तिमी गाउँ बनिदेऊ ।
२०८२ पुस १ गते मङ्गलवार
गठ्ठाघर, मध्यपुर ठिमी–०३, भक्तपुर