काठमाडौं । नेपाल पत्रकार महासंघले भारतीय मिडियालाई नेपालविरुद्धका वकवास बन्द गर्न चेतावनी दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।
बिहीबार विज्ञप्ति निकालेर महासंघले भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको बताएको छ ।
महासचिव रमेश विष्टद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ।’
साथै, महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

