काठमाडौं । प्रेस काउन्सिल नेपालले भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रकाशित गर्न थालेको भन्दै त्यसलाई रोक्न भारतीय प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको छ ।
केही दिन यता भारतीय च्यानलहरुले अत्यन्तै आपत्तिजनक र अराजक सामग्रीहरु प्रकाशित गरी नेपालीको मानमर्दन गरिरहेका छन् । त्यसप्रति प्रेस काउन्सिलले चासो राखेको अध्यक्ष किशोर श्रेष्ठले बताउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा त्यसबारे जानकारी दिँदै भारतीय प्रेस काउन्सिलले टेलिभिजनलाई अनुगमन गर्न नपाउने नियम भएकोले नेपाल सरकारले नै कानुन बनाएर नेपालमा भारतीय च्यानल रोक्नुपर्ने सुझाव दिनुभएको छ ।
श्रेष्ठले लेख्नुभएको छ, ‘भारतीय टिभी च्यानलहरुबाट नेपाल र नेपालीविरुद्ध अपुष्ट, अक्षम्य, आपत्तिजनक, भ्रामक र अराजक सामग्री प्रशारणमा बढोत्तरी भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र पर्दैन ! त्यो पत्रकारिता नभई गालिकारिता र पर्चाकारिता हो ! यसवारे हामीले समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेका छौं तर विद्युतीय मिडिया उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनपर्ने कानूनी ब्यवस्थाको कारण त्यहाँ समस्या छ ! युट्युबलगायत नेपालमा डोमेन नरहेका यस्ता च्यानलहरुबाट हुने आपत्तिजनक सामग्री प्रशारणको नियमनका निम्ति हामीले दुई महिनाअघि नै नेपाल सरकारलाई बैधानिक ब्यवस्था मिलाउन पत्राचार गरेका हौं तर सरकार आफैँले किन फाइल थन्क्याएर अराजकतालाई आमन्त्रण गरेको हो, यसवारे अन्जान छौँ !’

