काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २५५ जनामध्ये काठमाडौं उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
यसअघि उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए । त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ । २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ । प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन् ।