काठमाडौँ । जेनजी मिराज समूहले आज सिंहदरबारको भित्तामा टाँसेको मागपत्र अर्को जेनजी सुधन गुरुङले खल्तीमा राखेर फर्किएको छ ।
मङ्सिर ८ गते सिंहदरबार वरिपरि तीन थरी दृश्य देखा परेका थिए । एक थरी सिंहदरबारको गेटमै रोकिए, अर्को थरीले प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरे र तेस्रो समूह मागपत्र खल्तीमा राखेर सुटुक्क फर्कियो । ती समूह मङ्सिर ९ गते पनि सिंहदरबार गेटमा पुगेका थिए ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मात्रपत्र बुझाउन गएका जेनजीका विभिन्न समूह त्यतिकै फर्किए । प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय परिसरमै होहल्ला र नाराबाजी गरे । अन्तमा सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किए ।
मिराज ढुङ्गाना, रविकिरण हमाललगायत जेनजी अगुवा मागपत्र लिएर गएका थिए । उनीहरू कोही राजावादी जेनजी थिए त कोही संविधान खारेजीको माग राख्ने जेनजी । यही भिडमा जेनजी अगुवाको नाममा सुधन गुरुङदेखि सुप्रिया शाहीसम्म थिए ।
गुरुङ पनि मागपत्र लिएर सिंहदरबार पुगेका थिए तर उनले पनि प्रधानमन्त्री कार्कीलाई भेट्न पाएनन् । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि मागपत्र गोजीमा हालेर सुटुक्क सिंहदरबारबाट बाहिरिएका थिए । त्यसपछि सुप्रियाको समूहले प्रधानमन्त्री कार्यालयमा हङ्गामा मच्चाएको थियो ।
प्राप्त जानकारीअनुसार सुधन गुरुङ प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले गरेका नियुक्तिबारे बुझ्न सिंहदरबार पुगेका थिए । उनले संवैधानिक नियुक्ति खारेज गर्न माग गरेको बताइएको छ तर अरू जेनजीले हल्लाखल्ला गरेपछि गुरुङले प्रधानमन्त्रीलाई भेटेनन् । यता प्रधानमन्त्री कार्कीले कुनै जेनजीलाई पनि भेट्न चाहेकी छैनन् ।
मिराज ढुङ्गाना समूहले संविधान खारेजीदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मको माग राखेको मागपत्र सिंहदरबारको पश्चिम गेटमा टाँसेर फर्किएको थियो । मङ्गलबार पनि उनीहरू सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ ।
देशभरि जेनजीका नाममा अवाञ्छित समूह र व्यक्तिले अराजकता मच्चाउन थालेपछि सरकार कठोर बन्न थालेको छ । अराजकता सिर्जना गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । त्यसैले अहिले जेनजीका अगुवाले गृहमन्त्री विरुद्ध प्रदर्शन तथा सामाजिक सञ्जालबाट विरोधको ट्रेन्डिङ चलाउन थालेका छन् ।
कुनै सङ्गठित शक्ति र नेता नहुँदा अचेल जेनजीका नाममा जो पनि समूह बनाएर आउने र प्रधानमन्त्रीसँगै भेट्न खोज्ने प्रवृत्ति बढेको छ । भेट्न समय नपाएपछि फेसबुकमा भिडिओ अपलोड गर्छन् । जेनजी आन्दोलनका नाममा नक्कली घाइते खडा भएका छन् । अनेक खाले मान्छे र पार्टीका कार्यकर्ता जेनजी अगुवा बनेर हैरान बनाइरहेका छन् ।
जेनजी आन्दोलनकै एक अभियन्ता कर्णाली संयोजक सुप्रिया शाहीले भने जेनजीका नाममा रक्षा बम र ओजश्वी थापाले सत्ताकब्जा गरेर अरूलाई निषेध गरेको आरोप लगाएकी छन् । शाहीका अनुसार ओजश्वी थापा सुधन गुरुङको “हामी नेपाल” संस्थाका कर्मचारी हुन् भने रक्षा बम जेनजी आन्दोलनको अगुवा दाबी गर्ने अमेरिकन युथ काउन्सिलकी सदस्य हुन् ।
टासी ल्हाजोमको नागरिकता छानबिन गर्नुपर्छ भनेपछि सुधन गुरुङ समूहको जेनजी कर्णाली संयोजकबाट कारबाहीमा परेकी सुप्रिया शाहीले आफूहरूलाई रक्षा बम र ओजश्वी थापाहरूले प्रधानमन्त्रीसँग भेट्नबाट रोकेको आरोप लगाएकी छन् ।