• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनोगत संवाद-१६

"सन्दर्भ ‘कामरेड जलजला उपन्यास”–३६ "

  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    राति सुनन्दा हर्केको घरमा नै बसिन् र उजेलीसँगै सुतिन् । अर्को दिन बिहान उनीहरू दुवै जना छिट्टै उठे । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “विस्तरामा पल्टेर नै उनीहरूले कैयौँ बेरसम्म कुरा गरिरहे ।

    सुनन्दाले मुख्य रूपले हर्के र उजेलीको जीवन, उनीहरूको कामबारे नै धेरै कुरा सोध्दै गइन् । उनीहरूको जीवनबारे जान्न उनी धेरै उत्सुक थिइन् । उजेलीले हर्के र आफ्नाबारे सबै कुरा बताउँदै गइन् ।

    सुनन्दाले जति जति उजेली र हर्केको कुरा सुन्दै गइन्, उनीहरू दुबैप्रतिको उनको आदरको भावना बढ्दै गयो । वास्तवमा उनीहरूको जोडी आदर्श क्रान्तिकारी जोडी थियो । दुबै जना पार्टी र क्रान्तिका लागि पूरै समर्पित थिए । उनीहरूको दाम्पत्य जीवन क्रान्ति र पार्टीप्रतिको उनीहरूको समर्पण, वैचारिक समानता, शोषित, मिहिनेतकश जनताको सेवा तथा उच्च प्रकारका पारस्परिक प्रेम, सम्मान, समानता र विश्वासमाथि आधारित थियो ।

    कुनै बेला हर्के जेलमा पर्दथे, कुनै बेला उजेली । कुनै बेला दुबै जना भूमिगत हुनुपर्दथ्यो । पार्टीको कामको सिलसिलामा उनीहरू देशका टाढाटाढाका भागमा जानुपर्दथ्यो । कैयौँपल्ट महिनौँमहिनौँसम्म पनि उनीहरूको भेट हुँदैनथ्यो । एकपल्ट ता उजेली तीन वर्षसम्म जेलमा परेकी थिइन् भने हर्के भूमिगत थिए । त्यो बेला पूरै ४ वर्षसम्म उनीहरूको भेट हुन पाएको थिएन ।

    उनीहरू एकअर्काबाट टाढा भए पनि उनीहरू दुबै जनाले एकअर्कालाई अगाध माया गर्दथे । दुबै जनाले पार्टी र क्रान्तिको काम गरिरहेका हुन्थे । त्यो विश्वासले उनीहरू दुबै जनालाई सन्तोष प्रदान गर्दथ्यो, जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरणा र बल दिन्थ्यो ।”

    सुनन्दा र हर्के ओखरकोटबाट बिहानै निस्के र भात खान नारीकोट कोइराको खगुलाल गुरुङको घरमा पुगे । त्यहाँबाट गौमुखी, पुँजा गाउँ, दियाल्नाचौर, इस्नाथान, तुषारा, लुङ हुँदै राति लुङ दोभाईको देवीबहादुर खत्रीको घरमा गएर बसे । अर्को दिन बिहान भात खान उनीहरू बिजुवारका रामहरि श्रेष्ठको घरमा पुगे । त्यो दिन उनीहरूले त्यही बसेर आराम गरे र अर्को दिन बिहानै उनीहरू जुम्रिकाँडाको बाटो हुँदै रोल्पातिर लागे ।

    सुनन्दा र खगुलाल गुरुङ बिजुवारबाट रोल्पातिर हिँडेको प्रसङ्ग उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– “दुबै जना चुपचाप हिँडिरहेका थिए । खगुलालको बानी यस्तै थियो । कुरा गर्न थालेपछि बोलिरहन्थे । चुप लागेपछि घन्टौँसम्म पनि चुप लागिरहन्थे ।

    सुनन्दाले कुनै प्रसङ्ग आए कुरा गर्दथिन् । प्रश्न पनि सोध्दै जान्थिन् तर उनको स्वयम् कुनै विषय निकालेर कुरा गर्ने बानी कम थियो । उनले आफूले कुरा गर्नुभन्दा सुन्न बढी मन पराउँथिन् । घन्टौँसम्म कसैको कुरा सुनिरहँदा पनि उनी आत्तिंदैनथिन् । कैयौँपल्ट कसैको कुरा घन्टौँसम्म सुन्दा पनि उनले केही सुनेकी हुँदैनथिन् वा कम सुनेकी हुन्थिन् । कोही मान्छे लगातार बोल्दै गइरहेको हुन्थ्यो । उनका मनमा बेग्लै कुरा खेलिरहेका हुन्थे । खास गरेर कसैले गरेको कुरा अनावश्यकजस्तो लाग्यो भने उनले त्यसै गर्दथिन् तर उनले बिचबिचमा “अँ”, “अँ”, “अनि” भन्दथिन् । त्यसकारण कुरा गर्ने मानिसलाई लाग्थ्यो, उनले कुरा सुनिराखेकी छन् तर उनले केही सुनिरहेकी हुँदैनथिन् ।

    कैयौँपल्ट सुनन्दा चुपचाप लागेर बस्दथिन् । घन्टौँसम्म त्यसरी बस्दथिन् वा कसैसित हिँड्दा चुपचाप लागेर हिँड्थिन् तर वास्तविकता यो हुन्थ्यो, बाहिरबाट पूरै चुपचाप देखिए पनि उनका मनभित्र सधैँ कुनै न कुनै कुरा खेलिरहेको हुन्थ्यो । उनले मनमनै कैयौँ कुरा सोचिरहेकी हुन्थिन् । उनले आफ्नो अध्ययनसित सम्बन्धित विषयमा सोचिरहेकी हुन्थिन् । भावी योजना र कार्यक्रमबारे सोच्थिन् । अतीतमा उनलाई दु:खपीडा पुर्‍याएको विषयमा सोच्दथिन् । दर्शन वा इतिहाससित सम्बन्धित कैयौँ प्रश्नबारे सोच्दथिन् । आफूले पढेका पुस्तकबारे सोच्दथिन् । अखबारमा पढेका विषयमा मनमनै तिनीहरूबारे समालोचना गर्दथिन् । त्यसरी उनको मन कहिल्यै स्थिर रहँदैनथ्यो । उनको मन लगातार क्रियाशील भइरहन्थ्यो ।

    बाहिरबाट शान्त र चुपचाप देखिने सुनन्दाका मनमा सधैँ एउटा वा अर्को विचारको तरङ्ग उठिरहेको हुन्थ्यो । त्यहाँ नदीमा जस्तै छाल उठिरहेका हुन्थे । कुनै कुनै बेला ता उनका मनमा आँधी नै आउँथ्यो । कुनै बेला एकसाथ एकभन्दा बढी विचार खेल्न थाल्दथे । त्यहाँ एक प्रकारको द्वन्द्वको स्थिति हुन्थ्यो । त्यो बेला उनको चेहरामा उनको मनभित्र चलेको त्यो द्वन्द्वको प्रतिबिम्बलाई सजिलोसित पढ्न सकिन्थ्यो तर ती जे कुरा भए पनि ती सबैले उनका मनको स्थिरता वा शान्तिमा कुनै असर पार्दैनथ्यो । उनको स्वभावमा उनको मनभित्र चल्ने त्यस प्रकारको सङ्घर्ष वा आँधी तुफान वा कुनै बेला त्यहाँ उठ्ने ज्वारभाटाका बिचमा पनि नआत्तिने, उत्तेजित नहुने, स्थिर र शान्त रहने अद्भुत क्षमता थियो । त्यसैले जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि उनमा कुनै निराशाभाव पैदा हुँदैनथ्यो ।

    उनले साङ्ख्य दर्शनको यो सिद्धान्त पढेकी थिइन्– दु:खसुख, लाभहानि, मानअपमानलाई समान रूपले लिनू । उनले त्यो दार्शनिक सिद्धान्तलाई आत्मसात गर्ने प्रयत्न गर्दथिन् । अब त्यो उनको स्वभावजस्तै भइसकेको थियो । त्यसैले जस्तोसुकै प्रतिकूल र कठिन स्थितिमा पनि उनी प्रसन्न रहन्थिन् । त्यस प्रकारका स्वभावले उनलाई स्वस्थ रहन मदत पुर्‍याएको थियो भने उनको काम गर्ने उत्साह, सक्रियता र जोसमा पनि कहिल्यै कमी आउन दिँदैनथ्यो ।”

    केही माथि देउरालीमा पुगेपछि उनका अगाडि माडि खोलाको दृश्य अगाडि आयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाले केही बेरसम्म त्यहाँको सुन्दर दृश्य हेरिरहिन् । उनले क्यामेरा झिकेर केही फोटा खिचिन् । उनलाई लाग्दैनथ्यो, उनका क्यामेराले त्यहाँको सम्पूर्ण सुन्दर दृश्यलाई समाहित गर्न सक्दथ्यो । उनीसित भिडियो क्यामेरा भएको भए त्यो दृश्यलाई उनले बढी राम्ररी उतार्न सक्दथिन् । क्यामेराले कुनै चिजको स्थिर फोटो नै दिन सक्दथ्यो तर भिडियो क्यामेराले कुनै दृश्यलाई गतिशील रूपमा प्रस्तुत गर्दथ्यो । त्यसकारण क्यामेराले खिच्ने तस्बिरमा भन्दा भिडियो क्यामराले खिच्ने तस्बिरमा बढी यथार्थता वा सजीवपना हुन्थ्यो तर त्यसको पनि सीमा थियो । त्यसले कुनै खास एउटा समयको दृश्यलाई मात्र खिच्दथ्यो ।

    प्रकृति र जीवनमा पनि लगातार परिवर्तन भैरहन्थ्यो । त्यसलाई सम्पूर्ण रूपले जीवन्त रूप दिनु भिडियो क्यामराका लागि पनि सम्भव थिएन । त्यसले कुनै दृश्यलाई गतिशील रूपमा प्रस्तुत गरे पनि त्यसले कुनै दृश्यभित्रको आन्तरिक पक्ष, आन्तरिक मानवीय भावना वा त्यहाँ विद्यमान अन्तरविरोध, सङ्घर्ष भइरहने परिवर्तनलाई व्यक्त गर्न सक्दैनथ्यो । कुनै चित्र, कविता गीत वा महाकाव्यमा सायद त्यसको बढी राम्ररी चित्रण हुन सक्दथ्यो तैपनि कुनै बेला मानिसले कुनै दृश्यबाट अनुभूति गर्ने सम्पूर्ण सौन्दर्य वा अनुभूतिलाई कुनै सुन्दर कलात्मक चित्र, गीत वा महाकाव्यले पनि प्रतिनिधित्व गर्न सक्दैनथ्यो । त्यसरी प्रकृति, फोटो, भिडियो, गीत, कविता, महाकाव्य आदि जीवनमा विद्यमान सौन्दर्यलाई खालि प्रत्यक्ष रूपले मात्र अनुभूति गर्न सकिन्थ्यो । त्यसलाई कुनै पनि रूपमा स्थायित्व दिने प्रयत्न त्यसैको अत्यन्त सानो, गौण र महत्त्वहीन अंश हुन्थ्यो ।

    आफ्ना आसपासको सम्पूर्ण दृश्य हेरेर प्रत्यक्ष रूपले उनले जे जति अनुभूति गरिरहेकी थिइन्, अरूले त्यसबारे गर्ने बयान त्यसको सयौँ, लाखौँ, करोडौँ अंश पनि हुँदैनथ्यो । त्यसरी प्रकृति र जीवनको सौन्दर्यलगायत विलुप्त हुँदै गइरहेको हुन्छ । संसारभरि प्रकृति र जीवनमा कति धेरै सौन्दर्य छ तर ती सबैको सीमित रूपमा र सीमित व्यक्तिद्वारा सीमित क्षेत्रमा मात्र बोध वा उपयोग हुन सक्छ ।”

    अब उनीहरू रोल्पातिर जाँदै थिए । रोल्पामा थबाङ पर्दथ्यो अनि त्यहाँ जलजला धुरी पनि । जलजला धुरीमा नै भामा ओडार पनि पर्दथ्यो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनले मनमनै त्यो शब्दलाई दोहोर्‍याइन्, भामा ओडार । अब उनी स्वयम् भामा बनेकी थिइन् । जलजलालाई पार्टीसदस्यताको दर्खास्त दिँदा उनले आफ्नो ‘टेक’ नाम भामा नै लेखेकी थिइन् । त्यसरी उनले जलजलासित आफ्नो निकट सम्बन्ध कायम गर्न चाहन्थिन् । जलजला अनि भामा ! जलजला र भामा—ती दुबै शब्द रोल्पासितको उनीहरूको घनिष्ट र आत्मीय सम्बन्धका प्रतीक थिए, जीवन्त प्रतीक !”

    उपन्यासमा अगाडि लेखिएको छ– “अब कामरेड जलजला जीवित थिइनन् । त्यो कुराले सुनन्दालाई अत्यन्त ठुलो दु:ख पुगेको थियो । उनी मर्माहित भएकी थिइन् । रुस पुगेर उनले त्यो दु:खलाई भुल्ने प्रयत्न गरेकी थिइन् । सायद डा. जगदीशसित विवाह हुन पाएको भए उनको दु:ख कम हुन्थ्यो कि ? होइन, उनीसित विवाह भएको भए उनको दु:ख कम हुने थिएन तर झन् बढेर जान्थ्यो । उनको माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन भइसकेको थियो । उनको उनीसित विवाह भएको भए उनको पनि त्यही प्रकारले पतन हुन्थ्यो । त्यसकारण त्यो विवाह नभएर राम्रै भएको थियो ।

    आखिरमा खगुलाल र सुनन्दा थबाङगाउँ पुगे र बर्मन बुढाको घरमा बसे । त्यहाँ पुग्दा रात परिसकेको थियो । त्यसैले उनले आसपासका कुनै दृश्य देख्न सकिनन् । अर्को बिहान उठ्दा उनले सूर्यको प्रकाशमा चम्किरहेको जलजला धुरीलाई देखिन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “उनी भावविभोर भइन् । उनले त्यो पहाडलाई हेरिन् । हेरिरहिन् । कति सुन्दर र भव्य थियो त्यो जलजला ? नन्दादेवी हिमालयको विशालताका अगाडि त्यो धुरी धेरै नै सानो थियो । आफ्नो पर्वतारोहणको जीवनमा उनले कैयौँ पर्वत शिखर वा अग्ला हिमालय देखेकी थिइन् । तिनीहरूको तुलनामा त्यो सामान्य पहाड मात्र थियो । त्योबाहेक त्यो हिमालय पनि थिएन । त्यहाँ खालि हिउँदमा हिउँ जम्दथ्यो र गर्मी लागेपछि पग्लेर जान्थ्यो ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “तर सुनन्दाका लागि त्यसको महत्त्व त्यसको आकार र भौतिक स्वरूपमा थिएन । उनको लागि त्यसको महत्त्व त्यससित जोडिएका भावनासित थियो । उनलाई थाहा थियो, जलजला धुरीको हिउँ केही दिनमा नै पग्लनेछ तर त्यसले त्यो ठाउँप्रतिको उनको भावना वा आत्मीयतामा केही अन्तर ल्याउँदैनथ्यो । हिउँ पग्लेर गएर के भयो ? जलजलाको सम्झना ता त्यो ठाउँमा सधैँ जोडिइरहनेछ अनि त्यहाँको हिउँ पग्लेर गए पनि उनका लागि केही फरक पर्ने थिएन ।”

    अर्को दिन खगुलाल, सुनन्दा र उमा भएर जलजला धुरीतिर लागे । सुनन्दा र उमा अगाडि लागे । खगुलाल र उनीहरूबाट अलि टाढै रहेर पछि पछि जान थाले । उनले सोचेका थिए, उनीहरूसित सँगसँगै जाँदा उनीहरूको कुराकानीमा बाधा पुग्नेछ । त्यसैले उनी उनीहरूभन्दा धेरै पछाडि हिँड्ने गरेका थिए । उमाले जलजला थबाङमा बसेको बेलाका कैयौँ कुरा सुनन्दालाई बताएकी थिइन् । त्यो बेला जलजलाले उनको एउटा साथी भएको र उनी धेरै टाढा भएको कुरा पनि बताएकी थिइन् । आफ्नो त्यो साथीबारे कुरा गर्दा जलजलाको अनुहार धेरै नै मलीन भएको थियो ।

    उपन्यासमा लेखिएको छ– “उमाको कुरा सुनेर सुनन्दा अत्यन्त मर्माहित बनेकी थिइन् । त्यो बेला उनलाई यस्तो अनुभव भयो, जलजलाका त्यो बेलाको सम्पूर्ण दु:ख र पिर उनीभित्र समाहित भएको थियो । उनले उमालाई अँगालो हालिन् र म्वाइँ खाइन् । उनका आँखाबाट आँसु पनि झरे तर उमाले ती आँसु देख्न पाइनन् ।”

    उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाको त्यो व्यवहार देखेर उमालाई आश्चर्य लागेर आयो र उनले सोधिन्, “दिदी, एउटा कुरा सोधूँ ?”
    “सोध ।”

    “जलजला दिदीले आफ्नो साथीलाई सम्झेर पिर मान्नुभएको थियो । आफ्नो साथीबाट टाढा हुँदा उहाँलाई पिर लागेको थियो । तपाईंको पनि कोही साथी छ ?”

    “छैन, मेरो कोही साथी छैन ।”

    सुनन्दाले ‘कोही साथी छैन’ ता भनिन् तर फेरि उनको मनमा कता कता यस्तो लागेर आयो : सायद उनले जे भनेकी थिइन्, त्यो सत्य थिएन । अब उनलाई यस्तो लाग्न थालेको थियो, उनले नजाँनिदो प्रकारले अजितलाई प्रेम गर्न थालेकी थिइन् । भेलेन्टिनाले पनि उनीसित त्यही प्रकारको कुरा गरेकी थिइन् । उनले उनको कुरालाई सिधै स्वीकार गर्न त सकेकी थिइनन् तर भनेकी थिइन्– “सायद” । त्यो “सायद” भित्र एउटा सत्य पनि लुकेको थियो । त्यो सत्य थियो– एउटा अज्ञात व्यक्ति अजितप्रति उनको मनमा बढ्दै गएको प्रेम । सायद त्यही प्रेमका कारणले नै त उनी एउटा पागलले जस्तै अजितलाई खोज्दै हिँडिरहेकी ता थिइनन् ? के उनी साँच्चिकै राजुलाजस्तै ता बनेकी थिइनन् ?

    उनलाई थाहा थिएन । उनको त्यो खोजीको यात्रा कहाँ गएर टुङ्गिनेछ या जीवनभरि पनि उनी आफ्नो गन्तव्यमा पुग्न नसक्ने त होइनन् ?

    राजुलाको प्रेम दु:खान्त रूपमा टुङ्गिएको थियो । उनी कुनै पनि अवस्थामा त्यस प्रकारको कल्पना गर्न तयार थिएनन् । त्यस प्रकारको कुनै पनि कल्पना उनको स्वभावका विरुद्ध थियो । उनी सधैँ यो आत्मविश्वासले भरिएकी हुन्थिन् कि अन्तमा उनी अजितलाई फेला पार्न सफल हुनेछिन् । सायद त्यसका लागि उनलाई जीवनभरि नै अजितलाई खोज्दै यात्रा गर्न किन नपरोस् ? त्यो आत्मविश्वासले नै उनलाई लगातार अगाडि बढिरहन बल प्रदान गर्दथ्यो ।

    केही बेरमा नै उनीहरू जलजला धुरीमा पुगे । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “तर अजितलाई पत्ता लगाउने उनका सबै प्रयत्न असफल भएका थिए । उनले भेटेका सबै पार्टीका साथीले उनलाई एउटै जवाफ दिने गरेका थिए– ‘हाम्रो पार्टीमा अजित नाम गरेको कुनै साथी भएको हामीलाई थाहा छैन ।’ अब अजितलाई कहाँ खाज्ने ? अब के गर्ने ? अब कहाँ जाने ? जलजला धुरीपछि कहाँ जाने ? उनले केही सोच्न सकिरहेकी थिइनन् ।

    जलजला धुरीको यात्रापछि उनलाई आफ्ना अगाडिका सबै बाटा बन्द भएजस्तो लाग्थ्यो । उनलाई आफ्ना अगाडि पूरै अन्धकार भएजस्तो लाग्थ्यो तर उनको एउटा स्वभाव नै बनेको थियो । घना अन्धकारका बिचमा पनि उनले प्रकाशको किरण खोज्ने प्रयत्न गर्दथिन् । चरम निराशा र असफलताको बेलामा पनि आशाको रेखा कोर्ने प्रयत्न गर्दथिन् । त्यस कारण जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उनीभित्र अगाडि बढ्नका लागि अदम्य उत्साहको सञ्चार भइरहेको हुन्थ्यो ।”

    केही माथि डाँडामा पुगेपछि उनीहरूले चारैतिर हेर्न थाले । उनीहरूले केही पर ढुङ्गामा एउटा मान्छे बसेको देखेँ । उनीहरूलाई केही आश्चर्य लागेर आयो र त्यसका नजिकै गए । त्यो मानिस ध्यानमग्न भएर बसेको थियो तर हिउँमा उनीहरू हिँडेको आवाज सुनेपछि त्यो मानिसले उनीहरूतिर फर्केर हेर्‍यो । त्यो मानिसले ता उनीहरूलाई चिन्न सकेन तर सुनन्दाले तुरुन्तै त्यो मान्छेलाई चिनिन् । बनारसमा कान्ताले उनलाई अजितको फोटा दिएकी थिइन् । त्यो मानिस अजित नै थियो । त्यो कुरामा उनलाई कुनै शङ्का लागेन ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “आफ्नाअगाडि अजितलाई देखेर उनी प्रसन्नताले पागलजस्ती भइन् । यो कुराप्रति पनि उनको ध्यान गएन कि उनका नजिकै ऊ । उनले आफूलाई रोक्न सकिनन् र उनले अजितलाई अँगालो हाल्दै भनिन्, का. अजित !”
    सुनन्दा थबाङतिर आएको कुरा उनले थाहा पाएका थिए । पहिले त उनी एउटी अपरिचित महिलाले आफूलाई अँगालो हालेको देखेर केही आश्चर्यचकित भएका थिए तर पछि उनी सुनन्दा नै भएको कुरा अनुमान गर्न उनलाई मुस्किल परेन । उनले उनलाई आफ्नो अँगालोमा कस्दै भने– “का. भामा, तिमी यहाँ ?”

    उपन्यासमा अगाडि लेखिएको छ– “म बनारस गएको थिएँ । त्यहाँ शान्ति दिदीले तपाईं चितवन जान्छु भनेर गोरखपुर गएको थाहा पाएँ । गोरखपुर आउँदा तपाई का. खगुलालसित प्युठान लागेको थाहा पाएँ । बिजुवार आउँदा तपाईं थबाङतिर लागेको थाहा पाएँ । त्यसपछि म यतातिर लागेंँ ।”

    अजित त्यसरी आफूलाई खोज्दै आएको थाहा पाएर उनलाई धेरै खुसी लाग्यो । उनले मनमनै आफूलाई प्रश्न गरिन्– “के उनले पनि उनलाई प्रेम गर्दथे ?”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “अजित सिधै थबाङतिर नगएर पहिले जलजला धुरीतिर आउनुको कारण के थियो ? त्यसका पछाडि उनको कुन मनोभावले काम गरेको थियो ? कुन वेदना र पीडाले काम गरेको थियो ?

    जलजला धुरीसित जलजलाको सम्झना जोडिएको थियो अनि उनको विछोडले पैदा गरेको व्यथा ! त्यसैले उनी जलजला धुरीमा आएका हुन सक्दथे । जुन मनको व्यथाले सुनन्दालाई जलजला धुरीमा ल्याएको थियो, त्यही व्यथाले अजितलाई पनि त्यहाँ ल्याएको हुन सक्दथ्यो । त्यसैले उनी सिधै थबाङ नगएर जलजला धुरीतिर आएका थिए र त्यो एकान्तवनमा हिउँका बिचमा उनी चुपचाप लागेर बसेका थिए । सायद कैयौँ घन्टादेखि उनी त्यहाँ त्यसरी बसेका थिए । त्यसरी उनले आफ्नी जलजलालाई सम्झँदै थिए । त्यसरी उनले सायद आफ्नो जीवनको टुटेको कडीलाई जोड्ने प्रयत्न गर्दै थिए ।

    आफ्नो मनोदशाका कारणले उनलाई अजितको मनको त्यो सम्पूर्ण व्यथा र कथा बुझ्न केही गाह्रो परेन ।”

    त्यही बेला का. अगुलाल त्यहाँ आइपुगे । अजिततिर फर्केर भने : “का. आनन्द, तपाईं यहाँ ।” अजितलाई आनन्द भनेको सुनेर सुनन्दा आश्चर्यचकित भइन् । उनले आनन्दको प्रसङ्ग धेरै ठाउँमा सुनेकी थिइन् तर आनन्द नै अजित भएको कुरा उनलाई थाहा थिएन ।

    का. अजितले खगुलालतिर फर्कदै भने– “उहाँले का. जलजलालाई पार्टीको सदस्यताका लागि दर्खास्त दिनुभएको थियो । केन्द्रीय कार्यालयले उहाँलाई उम्मेदवार सदस्यको रूपमा स्वीकार गरेको छ । उहाँ अब का. भामा हुनुहुन्छ ।”
    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनका नामका अगाडि कामरेड शब्द जोडिएको थियो । त्यसबाट उनलाई धेरै खुसी लाग्यो । अब

    उनी कामरेड भएकी थिइन् । त्यसरी विश्वभरको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसित उनको सम्बन्ध जोडिएको थियो । उनी विश्वभरको मिहेनतकश जनताको महान् क्रान्तिकारी आन्दोलनको अङ्ग बन्न पुगेकी थिइन् । सुनन्दा धेरै नै भावविभोर भइन् ।”

    अब उनीहरू जलजला धुरीबाट फर्कदै थिए । फर्कने बेलामा अजितले जलजला धुरीसित जोडेर जलजलाबारे कुरा गरेका थिए । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले देखिन्, जलजलाको चर्चाबाट अजितको मुखमा एउटा दु:ख र विषादको रेखा कोरिएको थियो । सायद त्यो कुराप्रति अरू कसैको ध्यान गएन तर सुनन्दाबाट त्यो कुरा लुकेन ।

    सुनन्दाले दिल्लीमा एउटा बौद्ध चित्र हेरेकी थिइन् । त्यो चित्र बुद्धका साना साना चित्रले भरिएको थियो तर केही बेरसम्म ती चित्रमा ध्यानकेन्द्रित गरेर हेरेपछि त्यहाँ बुद्धको एउटै र भव्य चित्र बन्थ्यो । सायद अहिले पनि त्यस्तै भएको थियो ।

    सुनन्दाले आँखा उठाएर आकाशतिर हेर्न थालिन् । आकाश हेर्दाहेर्दै सुनन्दालाई यस्तो अनुभूति भयो, आकाशमा उनका भावनाले बौद्ध चित्रमा जस्तै एउटा आकार लिँदै गइरहेको थियो र ती सबैका बिचबाट एउटा चित्र देखा पर्दै गइरहेको थियो । त्यहाँ जलजलाको एउटा भव्य चित्र बन्दै गइरहेको थियो । त्यस चित्रमा सम्पूर्ण विश्व विलीन हुन लागेजस्तो र जलजला सम्पूर्ण विश्वमा समाविष्ट हुन थाले जस्तो देखिन्थ्यो । त्यसमा भूकम्पको कम्पन थियो । तुफानको वेग । समुद्रका ज्वारभाटाको प्रवाह । क्रान्तिको विस्फोट । सुनन्दालाई ती सबै कुरा जलजलाको चित्रमा समाहित भएका र जलजला ती सबैमा समाविष्ट भएजस्तो लाग्यो ।

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले एकटक लगाएर धेरैबेरसम्म आकाशमा हेरिरहेकी थिइन् । उनले के हेरिरहेकी थिइन् त्यसरी आकाशमा ? अजितलाई आश्चर्य लागेर आयो । आकाशमा हेर्दा उनको चेहरामा पनि कैयौँ भाव बन्दै र बिग्रँदै गइरहेका थिए । त्यस प्रकारका भावका बिचमा उनको (सुनन्दाको) चेहरा एक प्रकारले जलजलाको जस्तो देखिन थालेको थियो । अजितले उनको ध्यान भङ्ग गर्न उचित ठानेनन् र उनले पनि एकटक लगाएर सुनन्दाको चेहरामा हेर्न थाले ।

    केही बेरपछि सुनन्दाले आकाशबाट उनका आँखा हटाइन् । अहिलेसम्म उनलाई (सुनन्दालाई) आफ्नो आसपासको कुनै चिजको ज्ञान थिएन । यो कुराप्रति पनि उनको ध्यान गएको थिएन, उनी जलजला धुरीमा थिइन् र अगाडि अजित, खगुलाल र उमा थिए ।

    आकाशबाट ध्यान हटेपछि उनले पाइन्, अजितले एकटक लगाएर उनको चेहरामा हेरिरहेका थिए । दुबै जनाका आँखा जुधे । दुबैले एकअर्कासित कैयौँ प्रश्न गरे जस्तो वा एकअर्कासित कैयौँ प्रश्नको जबाफ खोजेजस्तो देखिन्थ्यो । उनीहरूले के प्रश्न गरिरहेका थिए ? एक अर्काेसित के जबाफ खोजिरहेका थिए ? त्यो कुरा उनीहरूलाई पनि थाहा थिएन होला ।”

    उनीहरू जलजला धुरीबाट जादै थिए । जलजलाको चर्चा भइरहेको थियो । त्यस सिलसिलामा अजितले भनेका थिए– “जलजला हाम्रा बिचमा नै कतै हुन सक्छिन् । यही जलजला धुरीमा कतै हुन सक्दछिन् । यहाँका पहाड, चौर र यहाँका रुख, वनजङ्गल र” केही रोकिएर उनले भने– “उनी भामा ओडारका नजिकै कतै हुन सक्छिन् ।”

    ती शब्दको उच्चारण गर्दा अजितको भाव केही अस्वाभाविकजस्तो भएको थियो । उनको आवाज केही कामेको थियो । सुनन्दाले आफ्ना आँखा उठाएर अजितको चेहरामा हेरिन् । ती शब्दको उच्चारण गर्दा अजित किन केही अकमकाएका थिए ? उनको आवाज किन अस्वाभाविकजस्तो भएको थियो ? त्यसको पछाडिको कारण भामा ओडारभन्दा बढी भामा नै त थिएनन् ? उनको नाम का. भामा थियो । के उनले भामा ओडारको कुरा गर्दा कही उनलाई (भामालाई) नै सम्बोधन गर्न त खोजेका थिएनन् । जलजला भामा ओडारका नजिक कतै पनि हुन सक्छिन् भन्नुका पछाडि कहीँ उनले उनलाई (सुनन्दालाई) नै जलजलाका रूपमा हेर्न खोजेका ता थिएनन् ? त्यसैले ती शब्दको उच्चारण गर्दा उनको आवाज केही अस्वाभाविक जस्तो र केही कामेजस्तो ता भएको थिएन ?

    त्यो सोचेर उनी केही रोमान्चित भइन् । केही खुसी भइन् । त्यसरी उनी अजितकी साँच्चिकै कामरेड जलजला बन्न पाए ? कामरेड जलजलाको मृत्युबाट उनको जीवनमा पुगेको दु:ख वा अभावलाई केही मात्र पनि कम गर्दिन पाए त्यो उनका लागि धेरै नै खुसीको कुरा हुन्थ्यो । त्यसरी उनको सहयोद्धा भएर जीवनभरि पार्टी र क्रान्तिका बाटामा हिँड्न पाए उनको जीवन साँच्चिकै सार्थक हुन्थ्यो । त्यसो भएमा उनले अजितको टुटेको कडीलाई जोडिदिन सक्दथिन् ।

    उनले मनमै सोचिन्, के त्यो सम्भव होला ? उनले फेरि सोचिन् । सायद त्यो सम्भव हुने छैन तर फेरि उनले सोचिन्, त्यो अवश्य पनि सम्भव हुनेछ ।

    उनको मनमा अजितप्रतिको प्रेम उम्लेर आयो । उनले कैयौँबेरसम्म उनको (अजितको) मुखमा हेरिरहिन् । त्यही बेला हर्के उनीहरूतिर नै आउन थालेका देखिाए । हर्केले आइपुग्ने बित्तिकै कैयौँ प्रश्न गरेजस्तो वा एकअर्कासित कैयौँ प्रश्नको जबाफ खोजेजस्तो देखिन्थ्यो । उनीहरूले के प्रश्न गरिरहेका थिए ? एकअर्कोसित के जबाफ खोजिरहेका थिए ? त्यो कुरा उनीहरूलाई पनि थाहा थिएन होला ।

    हर्केले आइपुग्ने बित्तिकै भने– “गाउँमा पुलिस आएका छन् ।” उनले अजिततिर फर्केर भने– “तपाईं थबाङतिर आएको समाचार पाएछन् । त्यसैले तपाईंलाई पक्रन आएका रे ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनीहरूले कुरा गर्दै थिए । केही पर सिठी बजेको आवाज आयो । ८/९ जना पुलिस जङ्गलबाट बाहिर निस्केर उनीहरूतिर दगुर्दै आउँदै थिए । सबैभन्दा अगाडि असई थिए । उनले पिस्तोल समातेका थिए । दुईओटा पुलिसले राइफल समातेका थिए । बाँकी पुलिसले लौरा समातेका थिए ।

    असईले अजितलाई भने– अब तपाईं गिरफ्तार हुनुभयो । तपाईं चुपचाप हामीसित हिँड्नुहोस् । भाग्ने प्रयत्न गर्नुभयो भने हामीले गोली चलाउनेछौँ ।

    सुनन्दाले गम्भीर भएर त्यो स्थितिमाथि विचार गरिरहेकी थिइन् । उनले कति मुस्किलले अजितलाई फेला पारेकी थिइन् ? उनीसित भेट भएकोलगत्तै उनी (अजित) गिरफ्तार हुने कुरा उनका लागि असह्य थियो । जेलमा परेपछि उनी कहिले छुट्ने हुन् ? त्यो कुराको कुनै ठेगान थिएन । उनलाई जनमभरि पनि जेलमा राख्न सकिन्थ्यो । उनलाई बाटैमा मार्न पनि सकिन्थ्यो । उनले कामरेड जलजलालाई गुमाईसकेकी थिइन् । अब उनले कुनै पनि अवस्थामा अजितलाई गुमाउन चाहँदिनथिन् । सुनन्दाले मनमनै निश्चय गरिन्, मैले अजितलाई गिरफ्तार हुन दिन्न ।

    उनी (अजित) कामरेड जलजलाको नासो थिए । उनले (सुनन्दाले) उनी (अजित) गिरफ्तार भएको देख्न सक्दिनथिन् । त्यो कामरेड जलजलासित धोका हुन्थ्यो ।

    सुनन्दाले मनमनै एउटा निश्चय गरिन् । उनले पिस्तोल ताकेर उभिएको असईतिर फर्केर दृढ आवाजमा भनिन्– “उहाँ तपाईंसित जानुहुन्न ।” सबैले आश्चर्य मानेर सुनन्दातिर हेरे– अजित, खगुलाल, हर्के, उमा, असई र सबै पुलिसले ।

    एउटा चमत्कार भयो । सुनन्दाले उफ्रेर एक हवाई किक असईको हातमा हानिन् । उसका हातको पिस्तोल भुइँमा खस्यो । बिजुलीको बेगले सुनन्दाले त्यो पिस्तोल समातिन् र आकाशतिर फर्काएर गोली फायर गरिन् । त्यसपछि हातले घुमाएर त्यो पिस्तोल तल जङ्गलतिर फालिदिइन् । उनले एक क्षण पनि ढिला नगरेर अर्को एउटा किक राइफल समातेको पुलिसलाई मुक्काले हानिन् । त्यो भुइँमा गएर पछारियो र त्यसको हातको राइफल केही पर बजारियो । सुनन्दाले हत्तपत्त त्यसका गोली निकालेर टाढासम्म पुग्ने गरेर त्यो बन्दुक पनि फालिदिइन् । त्यसपछि अर्को पुलिसले सुनन्दातिर राइफल ताक्यो तर सुनन्दाले बिजुलीको गतिले लात्ताले त्यो उसको टाउकामा हानिन् र त्यो भुइँमा खस्यो । सुनन्दाले उसको भुइँमा खसेको राइफल उठाइन् र त्यसका पनि गोली निकालेर त्यसलाई जङ्गलतिर फालिदिइन् । असईले सबै पुलिसलाई सुनन्दालाई समात्ने अर्डर दिए । सबै पुलिस उनीतिर (सुनन्दातिर) अगाडि बढे । सुनन्दाले कराँतेको तालिम लिँदा कैयौँ मानिसलाई एक्लै हराएर कैयौँ राष्ट्रियस्तरका पुरस्कार जितेकी थिइन् । उनी एक्लै ती सबैसित लड्न थालिन् । उनी कुनै बेला आकाशमा उडेजस्तो देखिन्थिन् । कुनै बेला उनको मुक्का पुलिसको टाउकोमा पुगेको हुन्थ्यो । कुनै बेला उनको लात पुलिसको टाउकामा बज्रेको हुन्थ्यो ।

    उनको लडाइँमा एउटा ताल थियो । एउटा लय थियो । उनको चेहरामा गजबको दृढता र शक्ति झल्किरहेको थियो । त्यहाँ एक प्रकारको ज्योति चम्किरहेको थियो । सम्पूर्ण रूपमा उनको त्यो सङ्घर्षको दृश्य अत्यन्त सुन्दर र आकर्षक देखिएको थियो ।

    अजित सुनन्दाको त्यो बाह्य स्वरूपभन्दा बढी उनीभित्रको मानसिक संरचना र भावनालाई, सम्पूर्ण व्यक्तित्वलाई अवलोकन गर्ने प्रयत्न गर्दै थिए । उनले बाहिर जुन शक्तिको प्रदर्शन गरिरहेकी थिइन्, एउटा उच्च प्रकारको चिन्तन, चरित्र र नैतिकताको सन्तुलनविना सम्भव थिएन । आखिर उनले उनलाई (अजितलाई) गिरफ्तार हुनबाट बचाउनका लागि नै एक्लै पुलिससित लड्न तयार भएकी थिइन् । सुनन्दा पुलिससित लड्न तयार नभएको भए आज उनी गिरफ्तार हुन्थे ।

    हर्केले शिविरमा लकडीहातको राम्रो तालिम लिएका थिए । अब पुलिससित हतियार थिएनन् । हर्केले एक्लै उनीहरू सबैलाई पराजित गर्न सक्दथे र त्यस्तै पनि भयो । असई र सबै पुलिस त्यहाँबाट दगुर्दै भागेर गए ।

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दा केही नभनीकन आकाशतिर हेरिरहेकी थिइन् । सायद उनले कामरेड जलजलालाई यो सन्देश दिँदै थिइन्, कामरेड जलजला दिदी, मैले तपाईंको नासोलाई सधैँ बचाएर राख्नेछु । मैले आफ्नो प्राण दिएर पनि तपाईंकी अजितको रक्षा गर्नेछु । तपाईंले देखाएको बाटोमा म सधैँ अगाडि बढिरहनेछु । तपाईंले मेरा हातमा जुन मसाल दिनुभएको छ, मैले त्यसलाई सधैँ प्रज्ज्वलित राख्न सङ्घर्ष गरिरहनेछु । त्यसका लागि सम्पूर्ण रूपले आफूलाई बलिदान दिनुपरे पनि म सधैँ तयार रहनेछु ।”

    त्यो बेला सुनन्दाको चेहरामा गजबको भाव देखा परेको थियो । यस्तो लाग्थ्यो, सम्पूर्ण पार्टी र क्रान्तिसित उनको तादात्म्य सम्बन्ध कायम भएको थियो । क्रान्ति र पार्टीका लागि सम्पूर्ण रूपले बलिदान गर्ने उच्च प्रकारको दृढ निश्चय उनको आँखामा चम्किरहेको थियो । उनलाई हेर्दा यस्तो लाग्थ्यो, उनी क्रान्तिको साक्षात् प्रतिरूप वा मूर्त रूप बनेकी थिइन् । अजितले उनको चेहरामा हेरे र आश्चर्यचकित भए । उनको चेहरामा देखा परेको त्यस प्रकारको भाव सामान्य थिएन तर असाधारण थियो, कसैका चेहरामा विरलै देखा पर्ने भाव ।

    उनले कुनै कुनै बेला त्यही प्रकारको भाव कामरेड जलजलाको चेहरामा पनि देख्दथे । आज त्यही प्रकारको भाव सुनन्दाको चेहरामा देखेर उनलाई धेरै नै खुसी लागेर आयो । उनलाई त्यस बेला यस्तो पनि लागेर आएको थियो, कहीँ सुनन्दाको रूपमा कामरेड जलजला नै उनका अगाडि प्रकट त भएकी थिइनन् ?

    सायद त्यो सत्य थिएन तर फेरि उनले सोचे, सायद त्यो सत्य नै थियो । उनलाई यस्तो लाग्यो, त्यो सत्यमा असत्य अन्तरनिहित थियो र असत्यमा सत्य अन्तरनिहित थियो । दुबै एकअर्काेमा मिलेका थिए । ती दुबैमध्ये कुन कुरा सत्य थियो र कुन असत्य ? त्यो ठम्याउन अजितलाई गाह्रो परिरहेको थियो तैपनि उनलाई यस्तो लागिरहेको थियो, ती दुबैमध्ये सत्यको पक्ष नै मुख्य थियो ।

    अजितले कैयौँ बेरसम्म एकाग्र भएर सुनन्दाको चेहरामा हेरिराखे । त्यसरी उनले सुनन्दामा कामरेड जलजलालाई खोज्ने प्रयत्न गरेजस्तो देखिन्थ्यो ।

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.