सिड्नी । अस्ट्रेलियाले १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै गर्दा त्यहाँका किसोरकिसोरीलाई तिनको इन्स्टाग्राम, फेसबुक र थ्रेड्स अकाउन्ट बन्द गरिन लागेको छ ।
ती तीनथरी सामाजिक सञ्जालको मालिक कम्पनी मेटाले भनेको छ– उसले १३ देखि १५ वर्ष उमेरकालाई उनीहरूको अकाउन्ट डिसेम्बर ४ देखि निष्क्रिय बन्ने सूचना टेक्स्ट, इमेल वा एपमार्फत् दिन थालेको छ ।
अस्ट्रेलियामा सो प्रतिबन्ध डिसेम्बर १० देखि लागु हुने बताइएको छ ।
प्रतिबन्धमा अरू पनि
उक्त प्रतिबन्धले टिकटक, युट्युब, एक्स र रेडिटलाई पनि समेट्छ । प्रधानमन्त्री एन्थनी अल्बानेजीका अनुसार विश्वकै पहिलो त्यस्तो प्रतिबन्ध बच्चालाई बच्चाकै रूपमा रहन दिन लक्षित छ ।
मेटा तथा अन्य कम्पनीले प्रतिबन्धको विरोध जनाएका छन् तर त्यसलाई मान्ने पनि बताए ।
अस्ट्रेलियाको इन्टरनेट नियामक निकायले त्यहाँ १३–१५ वर्ष उमेर समूहका डेढ लाख फेसबुक प्रयोगकर्ता तथा साढे तीन लाख इन्स्टाग्राम प्रयोगकर्ता रहेको अनुमान गरेको छ ।
डिसेम्बर ४ देखि १६ वर्षमुनिका उमेर समूहकाले मेटाका कुनै पनि सामाजिक सञ्जाल अकाउन्ट खोल्न पाउने छैनन् ।
कम्पनीले किसोरकिसोरीलाई तिनको सम्पर्क विवरण उपलब्ध गराउन भनेको छ ताकि तिनको उमेर पुग्नासाथ उसले अकाउन्ट खोल्न सकिने सूचना उपलब्ध गराउने छ ।
अहिलेका लागि उनीले आफ्ना बन्द गर्न लागिएका अकाउन्टलाई डाउनलोड गर्न सक्नेछन् । तिनका पोस्ट, भिडिओ तथा म्यासेज पनि कतै सेभ गरेर राख्न सक्नेछन् ।
उमेरको प्रमाणीकरण
इन्स्टाग्राम, फेसबुक र थ्रेड्स प्रयोग गर्न आफ्नो उमेर पुगेको ठान्ने किसोरकिसोरीलाई मेटाले फ्यासिअल एज स्क्यानका लागि भिडिओ सेल्फी दिन भनेको छ वा उनीहरूले सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी पहिचानपत्र दिन सक्नेछन् ।
प्रमाणीकरणका यी विधिलाई अस्ट्रेलियन सरकारले अह्राएको प्रतिवेदनअन्तर्गत युकेस्थित एज चेक सर्टिफिकेसन स्कीम (एसिसिएस) ले यसै वर्ष परीक्षण गरेको थियो ।
एसिसिएसले सो प्रतिवेदनमा सबै विधिको आआफ्नै फाइदा रहेको तर सबै मामिलामा उपयुक्त हुने एउटै समाधान फेला नपारेको उल्लेख गरेको छ।
१६ वर्षमुनिका उमेर समूहकालाई प्रतिबन्ध लगाउने यथोचित कदम नचालेमा त्यस्ता सामाजिक सञ्जालका प्ल्याटफर्मलाई ५ करोड अस्ट्रेलियन डलरसम्म जरिजाना तिराइन सक्छ ।
‘डिसेम्बर १० भित्रै १६ वर्षमुनिका सबै प्रयोगकर्तालाई हटाउन हामी परिश्रम गरिरहेका छौँ तर कानुनको पालनाको यो प्रक्रिया निरन्तर गरिरहनुपर्ने र जटिल प्रक्रिया पनि हो’ मेटाका उपाध्यक्ष तथा ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेभिसले रोएटर्स फाइनान्सियललाई भने ।
मेटाले १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्न अभिभावकको स्वीकृति आवश्यक बनाइने विधि उचित हुने बताइरहेको छ ।
‘किसोरकिसोरी चतुर हुन्छन् र तिनले यस्ता नियम तोड्ने उपाय पहिल्याउन सक्छन्’ उसले अस्ट्रेलियाको सेभेन न्युलाई भन्यो– ‘हामी कानुनको पालनामा प्रतिबद्ध छौँ अनि त्यसका लागि आवश्यक कदम चाल्दैछौँ ।’
अस्ट्रेलियाको इसेफ्टी कमिसनर जुली इन्मान ग्रान्टले उक्त प्रतिबन्ध किसोरकिसोरीलाई सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गर्दा हुने दबाव तथा जोखिमबाट जोगाउन लक्षित भएको बताइन् ।
के केमा प्रतिबन्ध ?
अस्ट्रेलियाको इसेफ्टी कमिसनरले उमेरजन्य प्रतिबन्धले कुन कुन सामाजिक सञ्जाल प्रभावित हुनछन् भनेर सूची प्रकाशित गरेको छ ।
ती हुन् : फेसबुक, इन्स्टाग्राम, किक, रेडिट, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स (ट्विटर), युट्युब ।
प्रतिबन्धले नसमेटेका सञ्जाल निम्न छन् : डिस्कोर्ड, गिटहब, गुगल क्लासरुम, लेगो प्ले, मेसेन्जर, रोब्लक्स, स्टिम एन्ड स्टिम च्याट, ह्वाट्सएप, युट्युब किड्स ।