काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । यो अवधिमा कूल २६ वटा बैठक बसेका र १० वटा विधेयक पारित भएको संसद सचिवालयले जानकारी दिएको छ ।
गत वैशाख २६ गते राष्ट्रपति भण्डारीले संघीय संसद छैटौं अधिवेशन आह्वान गर्नुभएको थियो । अधिवेशनले सबैभन्दा महत्वपूर्ण काम संविधान संशोधन विधेयक पारित गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका अतिक्रमित भूमि समेटेर जारी नयाँ नक्सा बमोजिम निशानछाप परिवर्तनका लागि संविधान संशोधन गरिएको हो ।
जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित भएको थियो । सो विधेयक असार ४ गते राष्ट्रियसभाबाट पनि पारित भएर राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको थियो ।
जेठ २ गते राष्ट्रपति भण्डारीद्वारा संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने जेठ १५ गते बजेट पेश भएको थियो। अधिवेशनले विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित गरेको छ ।