• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मनोगत संवाद–१२

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–३२ "

  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    फ्रान्स धेरै नै पछाडि छुटिसकेको थियो । जर्मनीमा प्रवेश गरेपछि उनको ध्यान केही बेरसम्म बाहिरका दृश्यतिर गयो । सबै दृश्य सुन्दर थिए । आकर्षक थिए तर उनको ध्यान धेरै बेरसम्म त्यतातिर गएन । उनले जर्मनीमा जुन दृश्य देखिरहेकी थिइन, ती दृश्य उनले फ्रान्समा देखेका दृश्यजस्तै थिए । दुवैमा एक प्रकारको एकरूपता थियो । त्यहाँ कुनै खास नयाँ कुरा थिएन । त्यसकारण धेरै बेरसम्म उनको ध्यान त्यतातिर गएन ।

    उपन्यासमा अगाडि लेखिएको थियो– “उनको ध्यान पुन: का. जलजलातिर गयो । जर्मनीमा आइपुग्दा उनलाई धेरै प्रसन्नताको अनुभव भइरहेको थियो तर त्यो प्रसन्नताको बेलामा कामरेड जलजला उनीसित थिइनन् । अहिले कामरेड जलजलासँगै भएको भए दुवै जना कति धेरै खुसी हुन्थे ? जर्मनीको इतिहास, साहित्य, संस्कृति, दर्शन वा कम्युनिस्ट आन्दोलन आदिबारे दुवै जनाले कति धेरै कुरा गर्दथे ? ती सबैसित सम्बन्धित स्थान वा स्मारकमा सँगसँगै भ्रमण गर्न पाउँदा उनीहरूलाई कति धेरै प्रसन्नता अनुभव हुन्थ्यो ? तर अब जलजला थिइनन् तैपनि कामरेड जलजलाको सम्झना थियो । जलजलाको अगाध माया बाँकी थियो । कामरेड जलजलाले दिएको प्रेरणा उनीसित थियो । त्यसका आधारमा जनमभरि नै उनी कामरेड जलजलाले देखाएको बाटामा अगाडि बढिरहनेछिन् । कामरेड जलजला उनीसित नभए पनि उनीसित सधैँ सँगसँगै हुनेछिन् ।

    “सुनन्दालाई यो सोचेर सन्तोष लागेको थियो कि कामरेड जलजला जीवित नभए पनि डा. जगदीश उनीसित सँगै थिए । कामरेड जलजलाले भनेकी थिइन्– प्रेम वा विवाहको आधार सिद्धान्त, विचार वा जीवनप्रतिको समान विश्वदृष्टिकोण हुनुपर्छ अनि एकअर्काप्रतिको आदर र विश्वास तथा विश्व दृष्टिकोणको कुरा गर्दा उनले बारम्बार सर्वहारा विश्वदृष्टिकोणमा जोड दिन्थिन् ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनको ध्यान डा. जगदीशतिर गयो । उनी पनि कम्युनिस्ट थिए । त्यसकारण उनीहरूका सिद्धान्त, विचार वा दृष्टिकोणमा समानता थियो । कतिपय प्रश्नमा उनीहरूको सोचाइमा अन्तर हुन सक्थ्यो तर पारस्परिक सम्बन्धका दौरानमा त्यो अन्तर समाधान हुँदै जान सक्थ्यो ।”

    उपन्यासमा लेखिएको छ– “डा. जगदीशका बारेमा सोच्दा उनका मनमा प्राय: एउटा प्रश्न उठ्ने गथ्र्यो । उनले डा. जगदीशलाई आदर गर्दथिन् तर कता कता उनलाई यस्तो लागेर आउँथ्यो : उनले डा. जगदीशप्रति वास्तविक प्रेमको अनुभूति गर्दैनथिन् । उनलाई उनीहरूका बिचमा केही दुरी भएजस्तो लाग्थ्यो । उनले उनी (डा. जगदीश) प्रति प्रेमका कारणले विवाह गर्ने निर्णय गरेकी थिइनन् तर कुरा केही बेग्लै थियो ।”
    कामरेड जलजलाको मृत्युबाट उनलाई ठुलो चोट पुगेको थियो । त्यो बेला उनी कतै टाढा जान चाहन्थिन्, भारतबाट धेरै टाढा, जहाँ उनले कामरेड जलजलाको मृत्युबाट पैदा भएको दु:खलाई भुल्न सकुन् । खास गरेर दिल्लीबाट ता उनी छिटै कतै टाढा जान चाहन्थिन्, जहाँ एउटा बस दुर्घटनामा उनको मृत्यु भएको थियो । उनी कामरेड जलजलासित जोडिएका सबै स्थानबाट टाढा जान चाहन्थिन् । लखनऊ, बनारस आदि सबै स्थानबाट उनी टाढा हुन चाहन्थिन् ।

    त्यही बेला डा. जगदीशको विवाहको प्रस्ताव आयो । उनले त्यो प्रस्ताव स्वीकार गरिन् र भारतबाट बाहिर लागिन् तर उनको मनमा डा. जगदीशप्रति प्रेम नभए पनि उनलाई विश्वास थियो, विवाहपछि त्यो प्रेम बढ्दै जानेछ । त्यसको आधार यो थियो कि दुवै जना कम्युनिस्ट थिए । डा. जगदीश पहिलेदेखि नै कम्युनिस्ट थिए, सुनन्दाले पनि त्यही दिशा समातेकी थिइन् ।

    उनीहरू जर्मनीको भ्रमणको क्रममा होलोकास्ट म्युजियममा पुगे । त्यहाँ हिटलरले यहुदीमाथि गरेका अत्याचार वा नरसंहारका कैयौँ स्मारक राखिएका थिए । सुनन्दाले त्यहाँ यहुदीमाथि गरिएका सबै अत्याचारको विवरण पढ्दै गइन् । कति भयानक थियो त्यो अत्याचार ? उनले हिटलरको क्रुर तानाशाही शासनबारे पहिले पनि पढेकी थिइन् तर उनले अन्दाज गरेकी थिइनन्, त्यो अत्याचार त्यति भयानक र बर्बर हुन सक्छ ।

    उनले त्यहाँ लेखिएका विवरण पढ्दै गइन् । त्यहाँ दिइएको विवरणले मात्र यहुदीमाथि भएको हत्याको सम्पूर्ण कथालाई बताउँदैनथ्यो, ती अत्याचारका कारणले सम्पूर्ण यहुदी समाज शारीरिक, सामाजिक, आर्थिक र मानसिक रूपले प्रताडित भएको थियो । उनीहरूको सम्पूर्ण समाज र जीवन खलबलिएको थियो । उनीहरूको सम्पूर्ण व्यथा र कथा सायद कहिल्यै प्रकाशमा आउने छैन । त्यो म्युजियममा दिइएको विवरणले त्यो सम्पूर्ण व्यथा र कथाको एउटा सानो झलक मात्र दिन्थ्यो ।

    एक ठाउँमा लेखिएको थियो– एउटा खुला क्याम्पमा एउटी आमा दुईओटा बच्चासित बसेकी थिइन् । बच्चा भोकै थिए । बच्चा कराइरहेका थिए । उनीहरूले भनिरहेका थिए– “आमा भोक लाग्यो । केही खान दिनुस् ।”

    सिपाहीले गोली हानेर ती बच्चालाई मारिदिएका थिए । सधैँका लागि उनीहरूको भोक शान्त बनाइदिएका थिए । कति क्रुर र अमानवीय थियो त्यो व्यवहार ? सुनन्दाले कैयौँ बेरसम्म त्यो घटनाबारे सोचिरहिन् । उनलाई यस्तो अनुभव भयो कि स्वयम् उनका काखका साना बच्चालाई नै त्यसरी हत्या गरिएको थियो ।

    अर्को ठाउँमा एउटा बालकले आफ्ना पितालाई लेखेको एउटा पत्र राखिएको थियो– “प्रिय बाबा, मैले धेरै दु:ख पाइरहेको छु । मर्नुभन्दा पहिले तपाईंलाई गुडबाई । हामीलाई बाँच्ने ठुलो रहर छ तर तिनीहरूले हामीलाई बाँच्न दिने छैनन् । हामीलाई मर्नुपर्नेछ । सधैँका लागि बिदा । मैले धेरै नै स्नेहपूर्वक तपाईंलाई किस गर्दछु ।”

    उपन्यासमा अगाडि लेखिएको छ– “त्यो सानो पत्रले सुनन्दालाई भित्रैदेखि हल्लाइदिएको थियो । उनी अत्यन्त मर्माहत बनेकी थिइन् । उनले आफ्ना आँसु रोक्न सकिनन् । डा. जगदीशको ता त्यतातिर ध्यान गएन । अर्चनाबाट त्यो कुरा लुकेन तर उनले केही भनिनन् ।

    सुनन्दाको आँसुमा उनले धेरै कुरा पढिन् । ती आँसुले खालि त्यो चिठीमा उल्लेख गरिएको एउटा बालकको दु:ख र वेदनालाई मात्र बताउँदैनथ्यो, त्यसले फासिवादद्वारा त्यसरी वा अन्य कैयौँ क्रुर तरिकाले हत्या गरिएका बालबालिकाप्रतिको उनको मनमा उठेको गहिरो दु:ख र वेदनालाई बताउँथ्यो । सायद कुरा त्योभन्दा बढी थियो । ती आँसुले संसारभरमा कैयौँ प्रकारका अन्याय, अत्याचार र यातना वा भोकको पीडाले मरेका वा भविष्यमा पनि मर्न सक्ने करोडौँ बालबालिकाप्रतिको उनका मनमा उठेको दु:ख, पीडा र भावनालाई बताउँथे ।

    अर्चनालाई यस्तो लाग्यो, ती आँसु एउटी आमाका आँसु थिए । उनका कुनै बच्चा भएका थिएनन् तर उनलाई यस्तो लाग्यो, उनी अकस्मात् एउटी आमामा बदलिएकी थिइन्, संसारका लाखौँ, करोडौँ बच्चाकी आमा । सुनन्दाको विशाल ममतामयी चित्र उनका अगाडि देखा पर्‍यो ।”

    “सबै नारीले जन्मकालदेखि नै आमाको मुटु ल्याएर आएका हुन्छन्” त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनीहरूले जन्मकालदेखि नै त्यस प्रकारको मुटु ल्याएर आएका हुन्छन् यद्यपि यो कुरा बेग्लै हो, त्यो कुन महिलामा कुन बेला प्रस्फुटित हुन्छ ? त्यो बेग्लाबेग्लै नारीको अनुभूति, त्यसको स्तर र भावनाको गहिराइ वा परिस्थितिमाथि निर्भर गर्दछ– कुन बेला त्यो हृदयभित्र दबेर बस्छ वा कुन बेला त्यो विस्फोटक रूपमा प्रकट हुन्छ ? त्यसको कुनै निश्चित समय वा नियम हुँदैन ।”

    अर्को दिन बिहान ब्रेकफास्ट गरेपछि सुनन्दा, अर्चना र डा. जगदीश ससेन यातनागृहतिर लागे । त्यो क्याम्प बर्लिनबाट ३५ किलोमिटर उत्तरपूर्वी जर्मनीमा पर्दथ्यो । करिब ७७ हजार बन्दीको त्यहाँ हत्या गरिएको थियो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यो कुरा थाहा पाएर सुनन्दा अत्यन्त मर्माहित भइन् । तथ्याङ्कले मात्र उनीहरूको अवस्थालाई बताउँदैनथ्यो, त्यसरी त्यहाँ ल्याएर यातनागृहमा राख्दा वा हत्या गर्दा प्रत्येक मानिसको मानसिक अवस्था कस्तो भएको थियो ? उनीहरूलाई कति दु:ख र पीडा पुगेको थियो होला ? त्यहाँ उनीहरूले कति धेरै कष्टप्रद जीवन बिताउनुपरेको थियो होला ? उनीहरूका परिवारजन थिए होलान् । बाउआमा, छोराछोरी, पतिपत्नी, इष्टमित्र आदि सबै, ती सबैमा कति धेरै आतङ्क फैलिएको थियो होला ? उनलाई लाग्यो, त्यो बेला त्यो क्याम्प मात्र होइन, सम्पूर्ण जर्मनी यातना गृहमा परिणत भएको थियो । जर्मनी मात्र किन ? त्यो बेला सम्पूर्ण युरोप नै यातना गृह बनेको थियो ।
    अर्चनाले भनिन्– सोभियत लालसेना त्यो क्याम्पमा आइपुग्दा त्यहाँ खालि तीन हजार मात्र बन्दी थिए, तिनीहरूमध्ये १४ सय महिला थिए । सुनन्दाले मनमनै भनिन्, त्यसरी मुक्त हुँदा उनीहरू कति प्रसन्न भए होलान् ? तर सुनन्दाको मुख तुरुन्त अँधेरो भयो । त्यो प्रसन्नता लाखौँ मानिसमाथिको यातना र हत्याको खण्डहरमा उभिएको थियो तैपनि हिटलरको हार भएको थियो । फासिवाद पराजित भएको थियो । त्यो महान् उपलब्धि थियो । त्यसका लागि उनी प्रसन्न भएकी थिइन् ।”

    ससेन हाउसेज क्याम्पपछि उनीहरू महिलाका लागि बनेको यातनागृह हेर्न गए । त्यो क्याम्पमा करिब एक लाख ३० हजारजति महिलालाई राखिएको थियो । उपन्यासमा लेखिएको छ– “त्यो सुनेर सुनन्दा स्तब्धजस्तै भइन् । एक लाख ३० हजार महिला बन्दी एउटै क्याम्पमा ? उनीहरूलाई त्यति ठुलो सङ्ख्यामा त्यहाँ किन ल्याइएको थियो होला ? उनीहरूका मनमा कति ठुलो पिर परेको थियो होला ? त्यसले गर्दा कतिका परिवार नष्ट भए होलान् ।”

    उनले सोच्दै गइन् । त्यो कुराको कुनै अन्त थिएन । कुनै सीमा थिएन । जति सोचे पनि उनीहरूको दु:ख, पीडा, कष्ट, उनीहरूको सम्पूर्ण जीवन र समाजमा समेत पुगेको क्षतिको अन्दाज गर्न सकिँदैनथ्यो ।

    त्यो क्याम्पमा युरोपका करिब ४० देशका महिलालाई राखिएको थियो । त्यहाँ सबैभन्दा बढी सङ्ख्यामा यहुदी महिला राखिएका थिए । त्यसका साथै त्यहाँ सोभियत सङ्घ, जर्मनी, अस्ट्रिया, हङ्गेरी, फ्रान्स, चेकोस्लोभाकिया, बेलारुस, युगोस्लोभिया आदि देशका महिलालाई पनि राखिएको थियो । त्यहाँ सबभन्दा बढी राजनीतिक बन्दी थिए । राजनीतिक बन्दीमा मुख्यत: कम्युनिस्ट र सोभियत सङ्घमा गिरफ्तार बन्दी महिला नै हुन्थे । राजनीतिक बन्दीबाहेक यहुदी, जिप्सी, वेश्या, विभिन्न अपराधमा संलग्न आदि महिला राखिएका थिए ।

    महिलाको यातनागृहपछि उनीहरू इटर्सवर्गमा रहेको बुचेन वाल्ड यातना क्याम्प हेर्न गए । त्यो क्याम्पको सम्पूर्ण कालमा दुई लाख ३८ हजारजति मानिसलाई बन्दी बनाएर राखिएको थियो । त्यो क्याम्पमा करिब ५६ हजारजति बन्दीको हत्या गरिएको थियो । त्यहाँ हत्या गरिएका राजबन्दीमध्ये अर्नेस्ट थेलमन प्रमुख थिए । उनी वेभर रिपब्लिक कम्युनिस्ट पार्टीका अध्यक्ष थिए । उनी राष्ट्रपति पदका लागि दुईपल्ट उम्मेदवार पनि बनेका थिए । उनी कम्युनिस्ट अन्तर्राष्ट्रियको केन्द्रीय समितिको सदस्य पनि थिए ।

    उनलाई ११ वर्षसम्म त्यो क्याम्पको एकान्त कोठामा बन्दी बनाएर राखिएको थियो । उनलाई बारम्बार माफी माग्न दबाब दिँदा पनि उनले अस्वीकार गरेका थिए र अन्तमा अगस्त १८, १९४४ मा एउटा मेसिनद्वारा उनको टाउको काटेर हत्या गरिएको थियो ।

    उपन्यासमा लेखिएको छ– “सुनन्दाले कैयौँ बेरसम्म ध्यान मग्न भएर थेलमनलाई मृत्युदण्ड दिएको ठाउँ र त्यो मेसिनलाई हेरिराखिन् । उनले ११ वर्षसम्म कालकोठरीमा जीवन बिताएका थिए र अन्तसम्म पनि उनी माफी माग्न तयार भएका थिएनन् । त्यसरी उनी आफ्नो सिद्धान्त र आस्थामा अटल रहेका एक महान् सहिद थिए । उनका मनमा उनीप्रति असीम आदर र श्रद्धाको भाव पैदा भयो ।”

    सुनन्दाले मनमनै सोचिन, त्यहाँ मृत्युदण्ड दिइएका थेलमन एउटा प्रतिनिधि पात्र मात्र थिए । त्यहाँ हजारौँ हजारौँ क्रान्तिकारीलाई, निर्दोष व्यक्तिलाई यातना दिइएको थियो वा मृत्युदण्ड दिइएको थियो । त्यसैले त्यो यातनागृह सहिदको रक्तद्वारा सिर्जित पुण्यभूमि थियो ।
    उनीहरू म्युनिकको एउटा यातनागृह हेर्न गए । त्यसपछि उनीहरू एउटा वयोवृद्ध कम्युनिस्ट नेता अलेक्जेन्डरलाई भेट्न गए । त्यसपछि उनीहरू बर्लिनतिर फर्कँदै थिए । सुनन्दाले अर्चनाका पति फ्रेडरिकले कार हाँकिरहेका थिए । सुनन्दा र अर्चना पछाडिपट्टिको सिटमा बसेका थिए । सुनन्दाको अलेक्जेन्डरसित भएका कुराकानीका नोट पढ्दै थिइन् ।

    उनको सबैभन्दा बढी ध्यान एनफ्रेङ्कको डायरीतिर गएको थियो । उनी यहुदी युवती थिइन् । उनको परिवार जर्मनमा बस्दथ्यो तर त्यहाँ हिटलरको आतङ्क सुरु भएपछि उनीहरू नेदरल्यान्ड गएर बसेका थिए । त्यहाँ उनीहरू एउटा घरको फ्ल्याटमा दुई वर्षसम्म भूमिगत भएर बसेका थिए । पछि उनीहरू त्यहाँ बसेको कुरा थाहा भयो र उनीहरूको पूरै परिवारलाई गिरफ्तार गरेर यातनागृहमा राखियो । त्यो यातनागृहमा उनका सबै परिवारको हत्या गरियो र हिटलरको पतनपछि उनी मुक्त भइन् । उनको डायरी उनको परिवार गिरफ्तार हुनुभन्दा पहिले लेखिएको थियो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनलाई गिरफ्तार गरेर यातनागृहमा हालेपछि र मृत्युको दिनसम्म उनले कति कष्ट भोग्नुपर्‍यो ? उनी कति प्रताडित भइन् ? त्यसको उनको मनमा कति असर परेको थियो ? त्यो कुराको डायरी कहिल्यै लेखिएन । उनका ती सबै दु:ख, पीडा र आर्तनादका कथा सधैँका लागि यातनागृहका खण्डहरमा दबेर गएका छन्, सधैँ, सधैँका लागि ।

    एनफ्रेङ्कका मात्र होइन, करोडौँ मानिसका त्यस प्रकारका कथा सधैँका लागि नै दबेर गएका छन् । हिटलरको शासनकालमा खालि यातनागृहमा राखिएका र हत्या गरिएका बन्दीहरूले मात्र होइन, पूरै युरोपमा बस्ने मानिसले पनि ठुलो दु:ख, पीडा भोग्नुपरेको थियो । ती सबैका डायरी पनि कहिल्यै लेखिएनन् ।”

    अब सुनन्दा र डा. जगदीशको जर्मनको यात्रा समाप्त भएको थियो । फ्रेडिक र अर्चनाका साथ उनीहरू दुवै जनाको जर्मन यात्राबारे छलफल सुरु भयो । त्यो एक प्रकारले उनीहरूको जर्मन यात्राको समीक्षाजस्तै थियो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “केही बेरको कुराकानीपछि उनीहरूको छलफल हिटलरमा गएर केन्द्रित भयो । सुनन्दाले प्रश्न गरिन्, महान् दार्शनिक र उच्च सांस्कृतिक धरातल भएको देशमा हिटलरजस्तो व्यक्ति र नाजी पार्टीको कसरी उद्भव हुन सक्यो ? उनले पहिले पनि धेरैपल्ट त्यो प्रश्न उठाएकी थिइन् तर उनलाई त्यसको कुनै सन्तोषजनक जबाफ मिलेको थिएन । त्यसैले उनको मस्तिष्कमा त्यो प्रश्नले बारम्बार चक्कर लगाइरहन्थ्यो र आज पनि उनले पुन: त्यो प्रश्न उठाएकी थिइन् ।”

    अर्को दिन सुनन्दा र डा. जगदीश प्लेनमा बर्लिनबाट मस्कोतिर जाँदै थिए । सुनन्दाका मनमा हिटलर र उसले गरेका अत्याचारबारे कैयौँ कुरा घुमिरहेका थिए । उनका मनमा कैयौँ प्रश्न उठिरहेका थिए । कैयौँ तर्कवितर्क भइरहेका थिए ।

    अन्तमा हिटलरको हार भयो र उसले आत्महत्या गरेको थियो तर त्यो परिणामले यो प्रश्नको जबाफ दिँदैनथ्यो : आखिर जर्मनीमा उसको उद्भव किन र कसरी भएको थियो ? जर्मनीजस्तो सभ्य र उन्नत जातिले त्यस प्रकारका शक्तिको विकासमा किन नियन्त्रण गर्न सकेको थिएन ?
    सुनन्दाका आँखाका अगाडि ती लाखौँलाख मानिस, वृद्ध महिला, बालबालिका र अपाङ्गका दृश्य घुमिरह्यो, जो हिटलरका अत्याचारका सिकार भएका थिए ।

    हिटलरको उद्भवका पछाडि सबैभन्दा मुख्य कारणता यो थियो कि उसको चरित्र र कार्यविधिबारे नै जर्मनीमा स्पष्ट दृष्टिकोण बन्न सकेको थिएन । उसको सबैभन्दा ठुलो सैद्धान्तिक आधार जातिवाद नै थियो । त्यसले जर्मन जातिलाई संसारको सबैभन्दा श्रेष्ठ जातिको रूपमा व्याख्या गर्‍यो । त्यसका आधारमा ऊ जर्मन जातिको समर्थन प्राप्त गर्न काफी हदसम्म सफल भयो ।

    जर्मन जातिको श्रेष्ठताका लागि हिटलरले दुईओटा कुरामा जोड दिएको थियो : प्रथम– यहुदी जाति एउटा निकृष्ट जाति थियो । समाजमा त्यो जातिको अस्तित्व रहँदासम्म उनीहरूसितको रहेको रक्तको सम्मिश्रणको कारणले जर्मन जातिको श्रेष्ठतामा आँच पुग्न सक्थ्यो । द्वितीय– जर्मन जातिलाई आफ्नो अस्तित्वका लागि आवश्यक पर्नेजति संसारको भूमिमा विजय प्राप्त गर्ने अधिकार थियो । पहिलो धारणाका कारणले त्यसले यहुदी जातिलाई सम्पूर्ण रूपले उन्मूलन गर्ने र दोस्रो धारणाका कारणले विश्व विजय गर्ने योजनालाई अगाडि बढाउने नीति अपनायो ।
    हिटलर वा नाजीवादका दुई आधारभूत सिद्धान्त तिनीहरू नै थिए । सुनन्दाले हिटलरका ती दुवै सिद्धान्तबारे कैयौँ बेरसम्म सोचिरहिन् । ती सिद्धान्तका आधारमा उसले संसारमा कति धेरै विनाश मच्चाएको थियो ?

    उपन्यासमा लेखिएको छ– “सुनन्दा केही बेर रोकिइन् । अनि उनले केहीबेर सोच्न थालिन् । संसारमा धेरैतिर त्यस्तो हुने गरेको छ ।

    प्रतिक्रियावादी शक्तिको भ्रममा परेर जनताले उनीहरूलाई समर्थन गर्ने गर्छन् । जनताको त्यस प्रकारको समर्थनले पनि प्रतिक्रियावादीलाई आफ्नो सत्ता टिकाउन मदत पुग्ने गर्दछ । संसारभरि त्यस्तो हुँदै आएको छ र जर्मनीमा पनि त्यही भयो ।”

    उपन्यासमा लेखिएको छ– “सुनन्दाले प्लेनको झ्यालबाट बाहिरतिर हेरिन् र टाढा टाढासम्म हेरिन् । उनलाई यस्तो लागिरहेको थियो, अन्तमा त्यो दिन आउनेछ, जब संसारमा हिटलरको जन्म र पुनर्जन्मका सम्भावना समूल रूपले नष्ट हुनेछन् ।

    अब प्लेन रुसको भूमिमाथि उडिरहेको थियो । डा. जगदीशले भने– अब हामी केही बेरमा मस्को पुग्नेछौँ । मस्को शब्द सुन्नेबित्तिकै सुनन्दाको मनमा एक प्रकारको करेन्ट लागेजस्तो भयो ।

    मस्को पुगेपछि नै उनको डा. जगदीशसित विवाह हुँदै थियो । त्यसले उनको जीवनमा एउटा नयाँ मोड ल्याउँदै थियो । उनका अगाडि एउटा अज्ञात र अनिश्चित भविष्य उभिएको थियो । उनका मनमा एक प्रकारको घबराहट, डरजस्तो भाव पैदा भयो । कस्तो हुनेछ त्यो जीवन ? कस्तो हुनेछ त्यो भविष्य ? उनले केही सोच्न सकिनन् ।”

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.