काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामाको माग भइरहेका बेला पाँचौ दिनको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
स्थायी कमिटीका अधिकांश नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि आज बिहानै ओलीले आफू निकट १३ जना स्थायी कमिटी सदस्यसँग परामर्श गर्नुभएको थियो । त्यस लगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच केहीबेर वार्ता भएको बताइएको छ ।
पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि ओलीको प्रधानमन्त्री पद संकटमा परेको छ । सोही संकटबाट कसरी पार लगाउने भन्ने विषयमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदसँग परामर्श गर्नुभएको हो । त्यस क्रममा प्रधानमन्त्रीले आफूलाई अप्ठेरोमा पारिएको भन्दै सहयोग गर्न नेताहरुसँग आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीनिकटका मानिने माओवादी तर्फका नेताहरु गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी थिए । यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखेरल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ सहभागी भएका स्रोतले बताएको छ ।
मंगलबार भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १७ जनाले ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । मंगलबार ओलीको पक्षमा रहेका कोही पनि स्थायी कमिटी सदस्यले बोलेका थिएनन् ।
बैठकमा विघटित नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिइएको विषयले पनि चर्चा पाएको थियो । अध्यक्ष प्रचण्डले ओलीलाई लक्षित गर्दै नेकपा (एमाले) कसको निर्देशनमा दर्ता गर्न लागिएको हो र दर्ता गर्न जाने झापाकी सन्ध्या तिवारी को हुन् भनी प्रश्न गर्नुभएको थियो भने उपाध्यक्ष वामदेव गौतमले ओलीकै निर्देशनमा नेकपा (एमाले) दर्ता गर्न लागिएको आफूसँग प्रमाण रहेको दाबी गर्नुभएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाबारे दिल्लीको भाका र बैठकको स्वर कसरी मिलिरहेको छ, भनेर प्रश्न राखेपछि नेताहरु चिढिएका थिए । त्यस क्रममा अर्का अध्यक्ष प्रचण्डले ‘तपाइँको राजीनामा दिल्लीले होइन मैले मागेको हुँ, प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुस्’ भनेपछि बैठक तनावपूर्ण बनेको थियो ।
स्थायी समिति बैठक बसिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले रष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरेका छन् । पार्टीभित्र तनाव बढ्दै जानु र प्रधानमन्त्रीको राजीनामा माग्नु तथा एमाले पार्टीलाई पूनर्जीवन दिने प्रयास गरिनुले राष्ट्रपतिसँगको भेट पुनः पार्टी विभाजन सहज बनाउने अध्यादेश ल्याउने तयारीका रुपमा हेरिएको छ ।
जे होस् नेकपाको निर्णायक मानिएको स्थायी समिति बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले दिने जवाफ चित्त नबुझे राजनीनामा माग्ने वा प्रधानमन्त्री पदबाट हटाउने सम्भावना देखिएको छ ।
तर, ओलीले पार्टी निर्णयलाई सहज रुपमा स्वीकार नगर्ने ओलीकै अभिव्यक्तिले संकेत गरिरहेको छ । यसो भएमा नेकपा फुट्ने निश्चित देखिन्छ ।

