काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । नेकपाको स्थायी समिति बैठक जारी रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली बैठक सुरु हुनुभन्दा केही समय अगाडिमात्र राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ । केही दिन अघि मात्र प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन सक्रियता बढाएको अभिव्यक्ति दिनुभएको थियो । पार्टीको बैठक भारतीय दबाबबाट प्रभावित भएको छनक ओलीको अभिव्यक्तिमा थियो ।
नेकपाभित्र ओलीको कार्यशैलीलाई लिएर नेताहरुले आलोचना गर्दै आएका छन् । कतिपयले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटभाट अर्थपूर्ण रहेको बताइन्छ ।
नेकपा स्थायी समितिको बैठक एक हप्तादेखि बालुवाटारमा जारी छ । बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो । त्यसपछि आइतबार र सोमबार दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो ।
स्थायी समितिको बैठकमा सीमा समस्या, सरकारको कामकारबाही, पार्टी, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत ७ बुँदे एजेण्डामा छलफल भइरहेको छ । छलफलका क्रममा अधिकांश नेताहरुले सीमामा तारबार लगाउन माग गरेका छन् भने एमसीसी अनुमोदन नगर्न नेतृत्वलाई दबाब दिएका छन् ।