काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतमले तत्कालिन अवस्थामा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार बैठकमा धारणा राख्दै गौतमले महाकालीको मुहान टुंगो नलगाइकन हतारमा सन्धि गर्दा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमाथि भारतले कब्जा जनाएको बताउनुभयो । गौतमले महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथि कारबाही भएको र २०५४ सालमा पार्टी फुटेको स्मरण गराउनुभयो ।
‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्यो’, गौतमले भनाई उदृत गर्दै एक नेताले भने, ‘महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ ।’
तत्कालिन नेकपा (एमाले) महाकाली सन्धिको पक्षमा उभिएपछि नेता गौतमको नेतृत्वमा एमालेबाट चोइटिएर नेकपा (माले) गठन भएको थियो । तर, पछि गौतमसहितका अधिकांश नेताहरु एमालेमै फर्किएका थिए भने सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) अहिले पनि छ ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले भारतले मिचेको नेपालको भू–भाग तत्काल फिर्ता ल्याउने तत्काल कूटनीतिक पहल सुरु गर्न आग्रह गरे ।
सरकारले भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि पहिलोपटक बसेको नेकपा स्थायी समिति बैठकमा जमिन फिर्ताको लागि अन्तर्राष्ट्रियकरण गर्न केही नेताले सुझाब दिएका हुन् ।