गाजापट्टी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान गरे पनि इजरायलले यस क्षेत्रमा आक्रमण गरिरहेको छ ।
हमासले सबै बन्धकलाई रिहा गर्न र ट्रम्पको शान्तियोजनाको विवरणमा वार्ता सुरु गर्न सहमत भएपछि ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा बमबारी रोक्न आग्रह गरेका थिए ।
हमासले गाजामा बन्दी बनाइएका बन्धकलाई रिहा गर्न तयार रहेको तर ट्रम्पको योजनाको विवरण र प्यालेस्टाइन क्षेत्रको भविष्यका बारेमा वार्ता गर्न चाहेको बताएको छ ।
सबै बन्धकको रिहाइका लागि आफ्नो स्वीकृति रहेको घोषणा हमासले शुक्रबार विज्ञप्तिमार्फत जनाएको थियो ।
हमासका एक वरिष्ठ अधिकारीले शनिबार सबै मुद्दालाई अन्तिम रूप दिन तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको बताए ।
भारी बमबारी
ट्रम्पको अपिलको बाबजुद गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायलले गाजा सहरमा निरन्तर आक्रमण गरेको तथा हताहत भएको अस्पतालले रिपोर्ट गरेका छन् ।
राष्ट्रपति ट्रम्पले बम विस्फोट रोक्न आह्वान गरे तापनि इजरायली सेनाले गाजा सहर र अन्य क्षेत्रमा दर्जनौँ हवाई आक्रमण र गोलाबारी गरेको नागरिक सुरक्षा प्रवक्ता महमुद बासललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
प्यालेस्टिनी समूहलाई आइतबारसम्म आफ्नो योजना स्वीकार गर्न वा सामना गर्ने समय दिइएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले ट्रम्पको आह्वानको जवाफमा इजरायलले सबै बन्धकको रिहाइका लागि ट्रम्प योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको बताएको थियो ।
हमासले योजनामा सहमति जनाउँदै यस क्षेत्रको भविष्यका बारेमा प्यालेस्टिनी छलफलमा सहभागी हुने र जिम्मेवारीपूर्वक योगदान गर्ने बताएको छ । (रासस/एएफपी)