इस्लामावाद । पाकिस्तानको खाद्यान्नको निर्यात सन् २०२५ अगस्टमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ३५.२ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ।
‘पाकिस्तान ब्यूरो अफ स्टाटिस्टिक्स (पिबिएस)’ ले दिएको जानकारी अनुसार अगस्टमा ३४ करोड ७० लाख ६० हजार अमेरिकी डलर बराबरको खाद्यान्न निर्यात भएको थियो । गत वर्षको सोही महिनामा पाकिस्तानले ५३ करोड ६० लाख २० डलर बराबरको खाद्यान्न निर्यात गरेको थियो। मासिक आधारमा हेर्दा जुलाईको तुलनामा अगस्टमा कुल खाद्यान्न निर्यातमा १८.६ प्रतिशतले घटेको छ ।
पाकिस्तानको प्रमुख खाद्यान्न निर्यात मानिने चामल गत बर्षको अगस्टको तुलनामा ४३.५ प्रतिशतले घटेको छ । चामलबाट १४ करोड ६० लाख ३० हजार डलर आम्दानी भएको छ र यो जुलाईको तुलनामा १२.८ प्रतिशतले कमी हो ।
यस श्रेणीमा बासमती धानको निर्यात वार्षिक रूपमा ४८.५ प्रतिशत र मासिक ७.६ प्रतिशतले घटेर यसबाट हुने आम्दानी ५१ करोड ५० हजार डलरमा झरेको छ भने अन्य धानको निर्यात गत वर्षको तुलनामा ४०.४ प्रतिशत र जुलाईको तुलनामा १५.७ प्रतिशतले घटेर आम्दानी ९४ करोड ७० लाख डलरमा झरेको छ ।
माछाको निर्यात अघिल्लो बर्षको तुलनामा ४७.८ प्रतिशत बढेको छ । माछाबाट अगस्टमा मात्र २३ करोड ९० हजार डलर आम्दानी भएको छ ।
त्यस्तै, फलफूलको निर्यात अघिल्लो वर्षको अगस्टको तुलनामा ४.५ प्रतिशतले बढ्दा यसको निर्यातबाट भएको आम्दानी ३१ करोड ५० हजार डलर पुगेको छ । जुलाईको तुलनामा भने फलफूलको निर्यात ४५.६ प्रतिशतले घटेको छ ।
तरकारी निर्यात गत वर्षको तुलनामा ३९.८ प्रतिशतले घटेर १३करोड ४० लाख डलरमा झरेको छ । सुर्तीजन्य पदार्थको निर्यात गत बर्षको अगस्ट महिनाको तुलनामा ९०.९ प्रतिशत र मासिक रूपमा ५५.६ प्रतिशतले घटेर १० लाख ८० हजार डलर आम्दानीमा सीमित भएको छ।
अन्य क्षेत्रमा पनि मिश्रित प्रवृत्तिहरू देखा परेको तथ्याङ्कले देखाएको छ । मासु, मसला, तेलको बीउलगायतका बालीबाट पनि मनग्य आम्लनी हुन सकेको छैन ।