सिरिया र साउदी अरेबियाबीच भएको समझदारीअनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदानस्वरूप उपलब्ध गराउने सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ।
बिहीबार दमास्कसमा दुई देशका ऊर्जा तथा विकास निकायहरूबीच भएको सहमतिअनुसार, यो अनुदान साउदी विकास कोषमार्फत प्रदान गरिनेछ।
सम्झौतामा साउदी विकास कोषका प्रमुख सुल्तान अब्दुर्रहमान अल–मारशद र सिरियाका ऊर्जा क्षेत्रका प्रमुख मोहम्मद अल–बशीरले हस्ताक्षर गर्नुभएको हो।
यस अनुदान सहयोगको निर्देशन साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउद तथा युवराज मोहम्मद बिन सलमानबाट आएको जनाइएको छ।
साउदी विकास कोषका अनुसार, यो सहयोगले सिरियाका तेल शुद्धीकरण केन्द्रहरूको सञ्चालनमा सघाउने, वित्तीय तथा प्राविधिक स्थायित्वलाई प्रवर्द्धन गर्ने तथा देशको मुख्य आर्थिक क्षेत्रहरूलाई पुनर्जीवित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
कोषले यस कदमलाई सिरियाली जनताप्रतिको साउदी सद्भाव तथा दुई देशबीचको मजबुत सम्बन्धको अभिव्यक्तिको रूपमा चित्रण गरेको छ।
सिरियाका लागि यो सहयोग ऊर्जा आपूर्तिको सुधार, औद्योगिक पुनर्निर्माण तथा जनताको जीवनस्तर उकास्नेतर्फको साउदी प्रतिबद्धताको प्रतीक मानिएको छ।