गणेश आचार्य, दाङ
“स्क्रिनभित्र हराएको सपना”
टाउको झुकाएर
स्क्रिनतिर हेर्ने भीड छ आज,
देश कहाँ छ?
नक्सा मात्रै देख्छ
मनले महसुस गर्दैन
रातभर टिकटोक
बिहानसम्म सपनाको स्क्रोल
राष्ट्रघात पनि ट्रेन्ड हुन्छ
देशप्रेमलाई भ्युज आउँदैन
गालीगलौज कविता भयो,
नाङ्गोपन कला
ज्ञान सुत्ने घडीमा
अज्ञानताले सेल्फी खिच्छ
विद्रोह लाइभ हुन्छ
तर परिवर्तन कहिल्यै अपलोड हुँदैन
लफंगा बन्नु सजिलो भयो
सजग बन्नु
पुरानो शैली जस्तो लाग्छ
मेरा मित्र
यो पुस्ता आँधी होइन
धुवा हो
जो एकछिन चम्कन्छ
तर आफ्नो अस्तित्व
आफैं जलाउँछ
तर पनि
एउटा कोठामा
कतै कसैले किताब पल्टाइरहेको छ
एउटा मनले
अझै देशलाई माया गरिरहेको छ
त्यही हो आशा,
त्यही हो भविष्य,
जुन कुनै दिन स्क्रिन होइन,
भूमिमा इतिहास लेख्नेछ
हामी त्यही सपना हौं,
जो अझै मेटिएको छैन
धैर्य गरौं
संयमित बनौं,
र फेरि एकपल्ट
आफ्नो गुमेको विवेक उठाऔं।