काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल बुधबार कालापानी क्षेत्रको निरीक्षणमा गएका छन् । दुई सुरक्षा प्रमुखको सो क्षेत्रको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दुवै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको स्काई ट्रकमार्फत दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणमा निस्किएका हुन् ।
प्रधानसेनापति र सशस्त्रका आईजीपीको टोली बिहानै धनगढी प्रस्थान गरेको र त्यहीबाट सेनाकै एमआई–१७ हेलिकप्टरमा कालापानी क्षेत्र जाने जंगी अड्डाले जनाएको छ ।
दार्चुला सदरमुकामबाट छाङ्गरुमा रहेको सशस्त्रको बीओपी र नेपाली सेनाले घाटेबगडमा निर्माण गरिरहेको बाटो निरीक्षण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेकाे गृह स्रोतले जानकारी दिएको छ।
केही दिनअघि मात्रै नेपालको संसदबाट लिम्पियाधुरासमेत समेटेको नयाँ नक्सा पास भएको थियो । छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बीओपी व्यास गाविसमा पर्छ । व्यास गाविसमै कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत पर्छ ।
केही दिन अघि सशस्त्र प्रहरीले कालापानी क्षेत्रको गस्तीमा जाँदा भातीय अर्ध सैनिक बल (एसएसपी) ले अवरोध गरेको समाचार सार्वजनिक भएको थियो ।

