• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनोगत संवाद–४

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–२४ "

  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    आज कामरेड जलजलाको मन व्यग्र थियो । धेरै दिन भइसकेको थियो, सुनन्दा अझै गोरखपुरबाट आइपुगेकी थिइनन् । अब उनी पार्टीको प्रशिक्षणको लागि छिट्टै बनारस जाने कुरा थियो । अजितसित भेट नभएको पनि धेरै महिना भएको थियो । त्यसैले आज कुनै कुरा वा कामप्रति उनको मन गएको थिएन । उनलाई न बाहिर जान मन लागेको थियो, न कोठामा बस्न, न बिस्तरामा सुत्न । उनले कोठाका सामान हेर्न थालिन् । ती सामान हेर्दाहेर्दै उनका मनमा कैयौँ कुरा उठे । सायद ती कुराको कुनै अर्थ थिएन तैपनि उनका मनमा ती कुरा खेलिरहेका थिए । ती सामान एकअर्काबाट पृथक थिए । अर्कातिर, तिनीहरूका बिचमा पारस्परिक सम्बन्ध पनि थियो । ती दुवैका बिचमा के अन्तर थियो ? सायद त्यो कुराको उत्तर पाउन सजिलो थिएन । त्यो नियम विश्वव्यापी थियो । संसारका प्रत्येक सामानमा त्यो नियम लागु हुन्थ्यो होला… । कति गहन र जटिल थियो, त्यो प्रश्नको जवाफ पाउनु ?

    बाहिरबाट हेर्दा ती सबै सामान सामान्यजस्ता देखिन्थे तर ती प्रत्येकको बेग्लाबेग्लै प्रकारले निर्माण भएको थियो । प्रत्येक सामानको संरचना बेग्लाबेग्लै प्रकारको थियो । ती सामान पनि बेग्लाबेग्लै प्रकारका थिए र बेग्लाबेग्लै प्रकारले कोठामा आएका थिए । उनलाई लाग्यो, बाहिरबाट हेर्दा सामान्यजस्ता देखिने प्रत्येक सामानको आआफ्नो बेग्लाबेग्लै प्रकारको महत्त्व थियो । प्रत्येक सामानको आफ्नो बेग्लाबेग्लै प्रकारको इतिहास थियो । उनलाई यस्तो लाग्यो, त्यहाँको प्रत्येक सामान प्रकृतिको विकास, समाजको विकास, श्रमको विकास र कार्यकुशलताको विकास वा अन्य धेरै कुराका सम्मिलित परिणाम थिए ।

    कोठाका सामान हेर्दै जाँदा उनको ध्यान कोठाको एउटा छेउमा, ढोकाको छेउमा राखिएका दुईओटा कुचाप्रति गयो । झट्ट हेर्दा नै थाहा हुन्थ्यो, ती सबैभन्दा उपेक्षित रूपमा राखिएका थिए, अपमान गरेर सबैभन्दा पर फालिएजस्तै गरेर । कोठालाई सफा र सुन्दर राख्न ती कुचाको महत्त्वपूर्ण देन थियो तर सबै सामानभन्दा ती उपेक्षित र अपहेलित थिए । समाजमा सबैभन्दा बढी परिश्रम गर्ने मानिस पनि त्यसै गरेर उपेक्षित र अपहेलित हुने गर्दथे ।

    उनलाई लाग्यो त्यो कुचो विश्व, प्रकृति, मानव समाजसमेतको लामो विकासक्रमको परिणाम थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सामान्यजस्तो देखिने त्यो कुचोका पछाडि कति ठुलो इतिहास थियो ? त्यससित कैयौँ कुरा जोडिएका थिए । त्यससित सम्पूर्ण ब्रह्माण्ड, पृथ्वीको उत्पत्ति, वनस्पतिको विकास, समाजको पनि कति लामो विकासक्रमको इतिहास जोडिएको थियो ?”

    त्यो कुचाको विषयमा उनका मनमा कैयौँ कुरा आउँदै र जाँदै गरे । ती कुराको कुनै आदि पनि थिएन र कुनै अन्त्य पनि थिएन । उपन्यासमा लेखिएको थियो– “कामरेड जलजलालाई यो सोचेर आश्चर्य लाग्यो कि त्यो सामान्यजस्तो देखिने कुचासित कति धेरै कुरा जोडिएका थिए । ती सबै विषयबारे सोच्दासोच्दै उनलाई यस्तो लाग्न थाल्यो, त्यसबारे एउटा ठुलो निबन्ध तयार हुन सक्थ्यो । एउटा कविता लेख्न सकिन्थ्यो । एउटा पुस्तक लेख्न सकिन्थ्यो तर फेरि उनले कुचोबारे नै कैयौँ थप नयाँ कुरा सोच्न थालिन् ।

    कुनै चित्रकारले त्यसबारे एउटा चित्र पनि बनाउन सक्थ्यो । त्यो चित्रमा एकातिर घरलाई सफा राख्न कुचोले प्रदान गरेको महत्त्वपूर्ण योगदान र अर्कातिर त्यसको उपेक्षित अवस्था—ती दुवै भाव व्यक्त भएमा त्यो सायद संसारको एउटा महान् चित्र बन्न सक्थ्यो । त्यो चित्रमा व्यक्त हुने भाव सायद मोनालिसाको ओठको मुस्कानको भावभन्दा पनि महान् हुन सक्थ्यो… ।”

    जलजला कुचाको नजिकै गइन् । त्यसलाई हातमा उठाइन् र त्यसलाई देखेर उनी धेरै नै भावुक भइन् ।

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “जलजला एकपल्ट मनमनै हाँसिन् । त्यो साधारण मुस्कान थियो तर त्यसमा कैयौँ कुरा मिसिएका थिए । कैयौँ भाव मिसिएका थिए । ती भाव के थिए ? तिनीहरूको व्याख्या गर्नु सजिलो थिएन । सायद मोनालिसाको मुखको मुस्कानको व्याख्या गर्नुभन्दा कठिन थियो ।

    सायद जलजलाले पनि अन्दाज गर्न सकेकी थिइनन्, उनको मुस्कानमा के के भाव लुकेका थिए । त्यहाँ कुनै एउटा मात्र भाव थियो वा एकै साथ अनगिन्ती भाव मिश्रित भएका थिए ?

    त्यो भावको व्याख्या गर्न त्यहाँ कुनै कवि पनि थिएनन् ? चित्रकार थिएन्न । लियोनार्दो जीवित थिएनन् । त्यसैले उनको मुस्कानमा लुकेका ती भाव सधैँ क्षितिजमा हराएर गएका थिए । हराएको थिएन, अदृश्य मात्र भएको थियो तर सायद नष्ट भएको थिएन । संसारमा एकपल्ट प्रकट भएका वा अस्तित्वमा आएका कुनै कार्य, विचार वा भाव सायद कहिल्यै नष्ट हुँदैनथे । ती विश्व वा सम्पूर्ण ब्रह्माण्डमा मिलेर घुमिरहेका हुन्थे । भविष्यमा कुनै दिन कुनै वैज्ञानिक विधि पत्ता लागेमा सायद तिनीहरूलाई व्यक्त गर्न सम्भव हुन्थ्यो होला ।

    जलजलाको मुखमा कुचोलाई लिएर प्रकट भएको मुस्कानको व्याख्या गर्नु, चित्रण गर्नु वा त्यसबारे कविता वा महाकाव्य लेख्नु सम्भव हुन्थ्यो होला । त्यो भविष्यको कुरा थियो । अज्ञात भविष्यको कुरा तर तत्काल उनका मुखको मुस्कान हराएर गएको थियो । अदृश्य भएको थियो…।
    कामरेड जलजलाका आँखा खुलै थिए । उनले कोठामा चारैतिर हेरिरहेकी थिइन् । सायद कतै हेरिरहेकी पनि थिइनन् । उनले चारैतिर हेरिरहेकी थिइन् तर केही देखिरहेकी थिइनन् ।

    उनले कुनै कुरामा ध्यान नदिए पनि कैयौँ कुरा उनका आँखाका अगाडि आइरहेका थिए । उनले सबैतिरबाट ध्यान हटाउन प्रयत्न गरिरहेकी थिइन् तर उनले नचाहँदा–नचाहँदै पनि कैयौँ चिज उनका अगाडि देखा पर्दथे । अहिले ती सामानबारे कैयौँ कुरा उनका मनमा उठिरहेका थिए । ती कुराको कुनै अर्थ थिएन तैपनि कैयौँ कुरा उनका मनमा उठिरहेका थिए… ।”

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “अब उनको ध्यान सबैतिरबाट हटेर कोठातिर गयो । उनले त्यही कोठाबारे नै धेरै कुरा सोच्न थालिन् । अझ वास्तविक कुरा ता यो थियो कि उनले केही सोचिरहेकी थिइनन् तर सायद केही नसोच्दानसोच्दै पनि उनले केही सोचिरहेकी थिइन् । त्यसरी उनले एकै साथ केही सोचिरहेकी पनि थिइन्, केही सोचिरहेकी पनि थिइनन् अथवा केही सोचिरहेकी पनि थिइनन् तर साथै केही सोचिरहेकी पनि थिइन् । उनमा एकैसाथ ती दुवै प्रकारका भाव देखा परिरहेका थिए । सायद त्यसो गर्नु सम्भव थिएन तर सायद त्यसो गर्नु सम्भव पनि थियो ।”

    कोठाका सबै सामान हेर्दाहेर्दै उनको ध्यान त्यहाँ राखिएको एउटा गमलातिर गयो । गमलामा प्लास्टिकका फूल राखिएका थिए, ती नक्कली थिए र वास्तविक फूल थिएनन् । त्यहाँ वास्तविक फूल राखिएको भए ती छिटै ओइलाएर जान्थे तर नक्कली फूल लामो समयसम्म टिक्दथे ।
    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “गमलामा राखिएका सक्कली र नक्कली फूलबारे विचार गर्दागर्दै उनको ध्यान यो कुरापट्टि गयो : सक्कली फूलको तुलनामा नक्कली फूल लामो समयसम्म टिक्छन् तर नक्कली फूल लामो समय टिके पनि तिनीहरूमा सुगन्ध हुँदैन र त्यो सुगन्ध सक्कली फूलमा नै हुन्छ । नक्कली फूललाई जतिसुकै स्याहारे पनि सक्कली फूलमा पाइने प्राकृतिक सौन्दर्य कृत्रिम फूलमा हुँदैन । त्यसरी अन्ततः कृत्रिम फूलको तुलनामा सक्कली फूल नै श्रेष्ठ हुन्छन् ।”

    कामरेड जलजलालाई यो कुरामा पूर्ण विश्वास थियो कि अन्तमा जित सत्यको नै हुन्छ तर सत्यमा पुग्नको लागि सजिलो र सिधा बाटो थिएन । लामो विवाद र जटिल प्रक्रियाका बिचबाट भएर नै सत्यमा पुग्न सकिन्थ्यो । सत्यमा पुग्नको लागि दर्शनले पनि लामो समयदेखि प्रयत्न गर्दै आएको थियो तर त्यो प्रयत्न सधैँ विवाद र द्वन्द्वले भरिएको थियो । प्रकृति, चेतना वा भौतिक तत्त्व, आत्मा र ईश्वरमध्ये कुन तत्त्व सत्य हो । त्यसबारे दर्शनशास्त्रको क्षेत्रमा सधैँ विवाद चल्दै आएको थियो । सृष्टिको विषयमा पनि उनीहरूका बिचमा तीव्र मतभेद थियो ।

    उपन्यासमा लेखिएको छ– “सत्य र असत्यको परीक्षाका लागि सबैभन्दा ठुलो कसौटी व्यवहार नै थियो । विज्ञानले व्यवहारका आधारमा नै त्यो कुरालाई छुट्टाउने गर्दथ्यो तर व्यवहारले मात्र त्यसो गर्न सक्दैनथ्यो र व्यवहारलाई मार्गप्रदर्शन गर्नको लागि पनि उच्च प्रकारको ज्ञान वा चेतनाको आवश्यकता थियो । त्यस प्रकारको चेतना पुनः भौतिक तत्त्व वा व्यवहारबाट नै उत्पन्न हुन सक्थ्यो ।

    चेतनाको वा ज्ञानको उत्पत्तिको लागि सबैभन्दा मुख्य स्रोत मस्तिष्क नै थियो तर मस्तिष्कको विकास पनि भौतिक तत्त्वबाट नै भएको थियो र मस्तिष्क पनि स्वयम् एउटा भौतिक तत्त्व थियो, जुन ऋषिमहर्षिले भौतिक तत्त्वलाई गौण बताउँथे, त्यस्तको अस्तित्वलाई अस्वीकार गर्दथे वा ज्ञानको स्रोत भौतिक तत्त्वभन्दा बाहिर अलौकिक हुन्छ भन्ने विचार गर्दथे, उनीहरूको त्यस प्रकारको विचारको स्रोत पनि अन्ततः भौतिक तत्त्व वा मस्तिष्क नै हुन्थ्यो ।”

    कोठाका सामान हेर्दा हेर्दै जलजलाको ध्यान कोठामा राखिएका सुनन्दाका कपडातिर गयो । ती खादीका सामान्य कपडा मात्र थिए तर तिनीहरूका पछाडि पनि लामो राजनीतिक इतिहास थियो । भारतको स्वतन्त्रता आन्दोलनको सन्दर्भमा गान्धीले स्वदेशी कपडाको आन्दोलन चलाएका थिए । त्यो बेला आम जनताले समेत खादीका कपडा लगाउन थालेका थिए । अब भारतमा ब्रिटिस राज्यको अन्त भइसकेको थियो । अब ती कपडाप्रति पहिलेको जस्तो राष्ट्रिय जोस, उत्साह वा उमङ्ग थिएन । अब ती कपडालाई प्रायः गान्धीवादीले मात्र उपयोग गर्ने गर्दथे । सुनन्दा पनि गान्धीवादी थिइन् । उनले पनि खादीका कपडा नै प्रयोग गर्ने गर्दथिन् ।

    जलजलाले कोठाका कैयौँ सामान हेर्दै गइन्, कोठामा बिछ्याइएको कार्पेट, टेबुलमा राखिएको रेडियो, आलमारीमा राखिएका पुस्तक आदि । ती सबैको आफ्नो बेग्लाबेग्लै प्रकारको इतिहास थियो । ती सबै निर्माणको लामो प्रक्रियाबाट बनेका थिए । तिनीहरूको निर्माणमा हजारौँ मानिसले परिश्रम गरेका थिए । तिनीहरूको निर्माणको क्रममा वर्गसङ्घर्षको लामो प्रक्रिया पनि चलेको हुन सक्दथ्यो । त्यो क्रममा अतिरिक्त मूल्य पनि पैदा भएको हुन सक्दथ्यो । त्यसरी ती सामानसित राजनीति, अर्थशास्त्र वा दर्शनको पनि बेग्लाबेग्लै प्रकारले सम्बन्ध कायम भएको हुन सक्दथ्यो । त्यसरी कोठामा देखिने सामान्य सामानका धेरै र अनगिन्ती पक्ष थिए ।

    त्यो कोठामा जुन सामान थिए, ती बेग्लाबेग्लै दिशाबाट र बेग्लाबेग्लै प्रकारले त्यहाँ आइपुगेका हुन सक्दथे । ती बेग्लाबेग्लै थिए तर कोठामा तिनीहरूका बिचमा अभिन्न सम्बन्ध कायम भएको थियो । सायद त्यसरी नै जसरी बेग्लाबेग्लै घरमा जन्मिएका केटीहरू बेग्लाबेग्लै ठाउँबाट विवाह भएर आएर एउटै घरका अभिन्न परिवार बन्न पुग्दछन् । त्यसरी जम्मा भएका सामानका बिचमा जुन सम्बन्ध कायम हुन्छ, ती पुनः छुट्टिएर बेग्लाबेग्लै पनि बन्न सक्दछन् ।

    अलजलाको ध्यान पुनः मानव शरीरतिर गयो । त्यो पनि संसारको कति धेरै जटिल र आश्चर्यजनक पदार्थ थियो ? उनलाई लाग्यो, सम्पूर्ण ब्रह्माण्डको संरचनाभन्दा शरीरको संरचना कम जटिल थिएन ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “शरीरका सयकडौँ अङ्ग थिए । प्रत्यक्ष रूपले देखिने अङ्गबाहेक शरीरमा हजारौँलाखौँ अङ्ग थिए । शरीरका सब सूक्ष्म अङ्ग, स्नायु वा कोषिकासमेतमाथि विचार गर्ने हो भने तिनीहरूको सङ्ख्या अरबौँ पनि पुग्न सक्थे । कति विचित्र थियो हाम्रो शरीर । कामरेड जलजलालाई यस्तो लाग्न थाल्यो, शरीरमा सारा विश्व नै अन्तर्निहित थियो… ।”

    उनको ध्यान शरीर र प्राणको सम्बन्धतिर गयो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “कामरेड जलजलाको मनमा शरीर र प्राण, जीवन र मृत्यु आदिसित जोडिएका यी कैयौँ प्रश्न उठे तर उनका मनमा त्यसबारे कुनै द्विविधा थिएन । उनी भौतिकवादी थिइन् । भौतिक तत्त्वभन्दा बाहिर ईश्वर, स्वर्ग, नर्क, आत्मा, पुनर्जन्म, परलोक आदि कुनै कुरामाथि उनलाई विश्वास लाग्दैनथ्यो तर उनी भौतिकवादी भए पनि शरीर र प्राणका बिचको प्रश्न अत्यन्त जटिल थियो । उनले कैयौँ बेरसम्म त्यसबारे सोचिरहिन्… ।

    हावा पनि एउटा भौतिक तत्त्व नै हो । केही क्षण त्यसबाट वञ्चित हुनेबित्तिकै मानिसको मृत्यु हुन्छ । यहाँसम्म कि मानिसको प्राण भौतिक तत्त्वभन्दा माथि बेग्लै र स्वतन्त्र हुन्छ भन्ने विचार राख्ने व्यक्तिका लागि पनि हावा बन्द भएपछि केही क्षण पनि बाँच्नु सम्भव हुन्न ।”

    उपन्यासमा लेखिएको छ– “शरीरबारे सोच्दासोच्दै कामरेड जलजलालाई लाग्न थाल्यो, शरीर सम्पूर्ण ब्रह्माण्डको प्रतिरूप हो । त्यसमा सम्पूर्ण ब्रह्माण्ड अन्तर्निहित छ । सायद कुरा त्योभन्दा बढी छ । संसारका प्रत्येक अणु, परमाणुमा शरीरका प्रत्येक स्नायु वा कोषिकामा सम्पूर्ण विश्व अन्तर्निहित छ । त्यही कुरा विपरीत रूपमा पनि सत्य हो । संसारका प्रत्येक अणु, परमाणु शरीरका प्रत्येक स्नायु वा कोष शरीरमा समाविष्ट छन् । उनीहरूका बिचमा घनिष्ठ वा अभिन्न सम्बन्ध हुन्छ… ।

    मानव शरीर वा प्रत्येक प्राणीको शरीर चेतनशील तर अहिलेसम्म ज्ञात भएका तारा, ग्रह आदि जड थिए । त्यो कारणले अर्थात् चेतना समाविष्ट भएको कारणले मानव शरीर सम्पूर्ण विश्वभन्दा उच्च र श्रेष्ठ रूप थियो । अन्यत्र खालि भौतिक पदार्थ मात्र हुन्छन् तर मानव शरीरमा चेतना पनि हुन्छ । त्यसकारण सबै चेतनशील प्राणीको प्रकृति सबै चन्द्र, तारा आदिभन्दा जटिल र उच्च थियो ।”

    मानिस र मृत्युका बिचको सम्बन्धमाथि विचार गरेर पनि कामरेड जलजला धेरै नै विचारमग्न वा एक प्रकारले आश्चर्यचकित पनि भइन् । त्यसबारे उनले पहिले केही सोचेकी थिइनन् तर आज उनलाई लाग्न थालेको थियो, त्यो अत्यन्त गम्भीर र रहस्यमय प्रश्न थियो । मानिस हजारौँ प्रकारका मृत्युका सम्भावनाका बिचमा बाँचिरहेको हुन्छ र कैयौँ प्रकारका रोगव्याधि वा दुर्घटनाका कारणले त्यसको मृत्यु हुन्छ तैपनि मानिस जीवनप्रति आशावादी हुन्छ र उसले सधैँ बाँच्नका लागि सङ्घर्ष गरिरहेको हुन्छ ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “आखिर मानिसभित्रको त्यस प्रकारको क्षमताको स्रोत वा रहस्य के हो ?

    जलजलाले मानव जीवनलाई सामान्य प्रकारले नै हेर्दै आएकी थिइन् तर आज उनलाई लाग्न थाल्यो, उनले जति सोचिन् वा बुझ्थिन्, त्योभन्दा मानव जीवन कैयौँ गुणा जटिल, गम्भीर र रहस्यमय छ । विश्वको संरचना बुझ्न यसकारणले कठिन छ कि त्यो अत्यन्त ठुलो र अनन्त क्षेत्रमा फैलिएको छ । त्यो कहाँसम्म फैलिएको छ र कति ठुलो छ ? कल्पनासम्म गर्न पनि गाह्रो छ तर शरीर प्रत्यक्ष रूपले हाम्रो अगाडि हुन्छ तैपनि त्यसबारे जान्न हामीलाई गाह्रो छ ।”

    जलजलाको ध्यान जीवनका अन्य विभिन्न पक्षतिर गयो । मानिसका सयकडौँ, हजारौँ प्रकारका क्रियाकलाप हुन्थे । एउटा सानो बच्चाको पनि बेग्लाबेग्लै मान्छेसित बेग्लाबेग्लै प्रकारको व्यवहार हुन्थ्यो । एउटी विवाहित महिलाका बेग्लाबेग्लै नातासम्बन्ध वा सामाजिक सम्बन्ध भएका मान्छेसित बेग्लाबेग्लै प्रकारको व्यवहार हुन्थ्यो । कति धेरै विचित्रता थियो मानवको स्वभावमा ।

    उनको ध्यान पुनः कोठातिर गयो । संसारमा हजारौँ प्रकारका कोठा हुन्थे । ती बेग्लाबेग्लै प्रकारका हुन्थे । तिनीहरूको आकार वा रूपमा कैयौँ प्रकारको भिन्नता हुन्थ्यो । कुनै कुनै महल वा ठुल्ठुला होटेलमा हजारौँ कोठा पनि हुन्थे । तिनीहरूको बनावट पनि बेग्लाबेग्लै प्रकारको हुन्थ्यो । विभिन्न जाति, धर्म वा राजनीतिक आस्थाका आधारमा तिनीहरूको सजावटमा पनि धेरै नै भिन्नता हुन्थ्यो तर एउटा कुरामा गएर तिनीहरूमा एउटा मौलिक एकता हुन्थ्यो । कोठा जस्ता भए पनि अन्त्यमा कुनै मानिस एउटा खाट वा विस्ताराको सीमित क्षेत्रमा नै सुत्नुपर्दथ्यो ।

    कामरेड जलजलाको ध्यान संसारका विभिन्न मानिसका बिचमा हुने प्रेम वा विवाहप्रति गयो । त्यो पनि कम आश्चर्यको कुरा थिएन । आपसमा कुनै सम्बन्ध नभएका महिला र पुरुषको बिचमा आपसमा सम्बन्ध हुन्छ र प्रेम वा विवाह हुन्छ । त्यसरी कुनै युवक वा युवतीको संसारका लाखौँ मान्छेसित सम्बन्ध हुन सक्दछ तर कुनै दुई जनाका बिचमा सम्बन्ध कायम हुन्छ । कतिपय अवस्थामा ती सम्बन्ध टुट्ने पनि गर्दछन् ।

    ती कुरा सोच्दासोच्दै जलजलाको ध्यान अजित र उनका बिचको सम्बन्ध वा प्रेमतिर गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “अजितसितको उनको प्रेम पनि एउटा संयोग थियो । उनीहरूका बिचमा प्रेम सुरु हुनुभन्दा पहिले उनीहरू दुवै एकअर्काबाट टाढा थिए । असम्बन्धित थिए । एकअर्कासित अपरिचित थिए । उनीहरू दुवैमध्ये कसैले पनि एकअर्काको नजिक आउनेछन्, आपसमा प्रेम गर्न थाल्नेछन् भनेर कल्पना पनि गरेका थिएनन् तैपनि उनीहरूका बिचमा प्रेम भयो । त्यो प्रेम गरेकाले पार्टीले उनीहरूमाथि अनुशासनको कारबाही पनि गऱ्यो । उनीहरूलाई एकअर्काबाट टाढा पनि गराइयो तैपनि उनीहरू एकअर्काका नजिक छन् । उनीहरूले एकअर्कालाई प्रेम गर्दछन् । अजित र आफ्ना बिचको प्रेमबारे सोच्दासोच्दै उनी मनमनै हाँसिन् ।”

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “एकपल्ट कोठा र त्यहाँका सामानबारे विचार गर्दागर्दै उनी प्लेटोको दिव्यलोक पुगेकी थिइन् । अब उनले अजितसितको प्रेमबारे सोच्न थालेकी थिइन् । जलजला कल्पनाबाट फेरि यथार्थमा फर्किन् ।”

    आज कामरेड जलजला हजरतगञ्जतिर घुमेर फर्केकी थिइन् । त्यहाँ उनी दादा कामरेडको पुस्तक पसलमा पसेर फर्केकी थिइन् । फर्कदा उनी बादशाहनगरको सुनन्दाका बाबाको चियाको पसलमा पनि पसेकी थिइन् । सुनन्दा र विद्या अझैसम्म फर्केर नआएकोमा उनी पनि धेरै चिन्तित थिए । कोठामा पुग्दा सरस्वतीले खाना पकाएर तयार पारेकी थिइन् । खाना खाएर उनी आफ्नो कोठातिर लागिन् ।

    आज उनको मनमा एउटा कुरा खेलिरहेको थियो । शोषक वर्गले शोषित वर्गमाथि गर्ने शोषण र उत्पीडनबारे मार्क्सवादी साहित्यमा धेरै लेखिएको थियो तर उनको ध्यान यो कुराप्रति गयो कि स्वयम् शोषित वर्गका बिचमा पनि कैयौँ प्रकारका अर्न्तविरोध हुन्छन् र उनीहरूले एकअर्कामाथि कैयौँ प्रकारले शोषण, उत्पीडन वा अन्याय, अत्याचार गर्ने गर्दछन् ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो : “मार्क्सवादले पुँजीवादी वर्गद्वारा शोषित जनतामाथि हुने शोषणको विस्तृत रूपले व्याख्या गरेको थियो । समाजमा विद्यमान शोषण, अन्याय, अत्याचारका विरुद्ध कम्युनिस्टले संसारभरि नै लामो समयदेखि सङ्घर्ष गर्दै आएका थिए तर त्यसको एउटा अर्को पक्षतिर आज कामरेड जलजलाको बढी ध्यान गइरहेको थियो ।

    शोषित जनता खालि शोषक वर्गद्वारा मात्र पीडित हुँदैनन्, स्वयम् शोषित जनताका बिचमा पनि कैयौँ प्रकारका अन्तर्विरोध हुन्छन् । उनीहरूले परस्परमा कैयौँ प्रकारका उत्पीडन गर्दछन् । त्यसबारे सोच्दासोच्दै उनलाई लाग्यो, स्वयम् शोषित वर्गको बिचमा परस्परमा उत्पीडन, अन्याय, अत्याचार पनि व्यापक रूपले हुने गर्दछन् ।

    उनको मनमा शोषित जनताका बिच अन्तर्विरोध वा उनीहरूले एकअर्कामाथि गर्ने शोषण, उत्पीडन वा अन्याय, अत्याचारको कैयौँ दृश्य घुमिरहे ।”

    सर्वप्रथम उनको ध्यान महिलाका बिचका अन्तर्विरोध वा उनीहरूले एकअर्कामाथि गर्ने अन्याय र अत्याचारप्रति गयो । उनले एउटा अमेरिकी लेखिकाले लेखेको पुस्तक पढेकी थिइन् । त्यसमा उनले यो बताएकी थिइन् कि महिलाका पुरुषसित हुने अन्तर्विरोधभन्दा स्वयम् महिलाका बिचमा धेरै अन्तर्विरोध हुन्छन् । त्यो कुरामा कति सत्यता थियो ? त्यो भन्न त उनलाई मुस्किल पर्दथ्यो तर स्वयम् महिलाका बिचमा थुप्रै अन्तर्विरोध भएको वा उनीहरूले एकअर्कामाथि अन्याय अत्याचार गर्ने गरेको कुरा अवश्य पनि सत्य थियो ।

    उपन्यासमा लेखिएको छ– “समाजमा सासूबुहारी, नन्दभाउजू, देउरानीजेठानी, सौतासौता आदिका बिचमा शताब्दीयौँदेखि विभिन्न प्रकारका वैमनस्यता वा अन्तर्विरोध हुने गरेका कुरा आम रूपमा थाहा भएको कुरा हो । उनीहरूले एकअर्कामाथि कैयौँ प्रकारका उत्पीडन वा अत्याचार पनि गर्ने गर्दछन् । त्यसबारे कैयौँ कथा, कविता वा उपन्यास लेखिएका छन् । सिनेमा बनेका छन् । निम्नवर्गीय जनताका बिचमा पनि आपसमा कैयौँ अन्तर्विरोध हुन्छन् । समाजमा बाबुछोरा, दाजुभाइका बिचमा पनि आपसमा कैयौँ झगडा चलेको वा कतिपय अवस्थामा एकले अर्कालाई हत्यासम्म गरेका उदाहरण पाइन्छन् ।

    असामाजिक तत्त्व पनि समाजका बिचबाट नै आएका हुन्छन् । मार्क्सले उनीहरूलाई आवारा सर्वहारा वर्ग पनि बताएका छन् । तिनीहरूमा चोर, डाँकु, पकेटमार आदि आउँछन् । तिनीहरू निम्नवर्गबाट नै आएका हुन्छन् तर उनीहरूले विभिन्न तरिकाले निम्नवर्गीय जनतालाई नै प्रताडित गर्ने गर्दछन् । उनको ध्यान विश्वव्यापी रूपमा फैलिएको ड्रग्सको कारोबारतिर गयो । त्यसद्वारा ठुलो पैमानामा स्कुलकलेजका विद्यार्थीको जीवन बर्बाद गर्ने गरिन्छ ।

    उनको ध्यान महिलाको बेचविखन वा देहव्यापारतिर गयो । कैयौँ मानिसले महिलालाई भगाएर विदेशमा लगेर बेच्ने वा वेश्यावृत्तिमा लगाउने कार्य पनि गर्दछन् । त्यस प्रकारको अवैध धन्दामा ठुलो सङ्ख्यामा निम्नवर्गीय मानिस वा महिला पनि लागेका हुन्छन् । मानव तस्करीको धन्दामा पनि ठुलो सङ्ख्यामा निम्नवर्गीय मानिस पनि लागेका हुन्छन् ।

    उनले कतिपय अखबारमा पढेकी थिइन्, भिक मागेर खाने मानिसका पनि कतिपय दादा हुन्छन् । तिनीहरूले बाटोमा भिक मागेर बस्ने मानिसबाट जबर्जस्ती पैसा असुल गर्ने गर्दछन् । कतिपय अवस्थामा केटाकेटीलाई चोरेर लगेर हातखुट्टा भाचिदिएर वा आखाँ फोरिदिएर बाटामा भिक माग्न बसाल्छन् र उनीहरूले भिक मागेको पैसामध्येबाट पैसा असुल गर्ने गर्दछन् । एउटा अखबारमा उनले यो पनि पढेकी थिइन्, कतिपय मान्छेहरूले केटाकेटी चोरेर लैजान्छन् र उनीहरूका किड्नी निकालेर बेच्ने गर्दछन् । एउटा अखबारमा उनले यो पनि पढेकी थिइन्, कतिपय साना केटाकेटीलाई चोरेर होटेलमा बेच्ने गरिन्छ, जहाँ उनीहरूलाई काटेर उनीहरूको मासुको व्यापार गर्ने गरिन्छ ।

    संसारका विभिन्न प्रतिक्रियावादी सेनाका सिपाही प्रायः निम्नवर्गबाट नै आएका हुन्छन् तर उनीहरूले देशभित्र वा विदेशमा आक्रमणको बेलामा कैयौँ प्रकारका अत्याचार गर्ने गर्दछन् । उनीहरू स्वयम् शोषित वर्गबाट आएका हुन्छन् तर उनीहरूले नै शोषित जनतामाथि कैयौँ प्रकारका अत्याचार गर्दछन् ।

    उपन्यासमा लेखिएको छ– “सोच्दासोच्दै कामरेड जलजलालाई यस्तो लाग्न थाल्यो, सबै प्रकारका शोषण, उत्पीडनको मूलमा व्यक्तिगत प्रवृत्ति रहेको छ । अरूलाई नोक्सान पुऱ्याएर लाभ उठाउने प्रवृत्ति । अरूलाई दुःख दिएर सुख प्राप्त गर्ने प्रवृत्ति । अरूको कमाइलाई अपहरण गरेर सम्पत्ति सङ्कलन गर्ने प्रवृत्ति । त्यो प्रवृत्ति खालि शोषक वर्गमा मात्र होइन, शोषित र मिहिनेतकश जनतामा पनि व्यापक रूपमा पाइन्छ ।”

    माथि स्वयम् शोषित जनताले एकअर्कामाथि गर्ने शोषण उत्पीडन वा अन्याय, अत्याचार सायद त्यही प्रकारको प्रवृत्तिका परिणाम हुन् । उनले माओले लेखेको पुस्तक “जनताका बिचका अन्तर्विरोधलाई कसरी सञ्चालन गर्ने ? मा लेखिएको यो कुरा सम्झिन् : दुस्मनसितका अन्तर्विरोधलाई शत्रुतापूर्ण तरिकाले र जनताका बिचका अन्तर्विरोधलाई मैत्रीपूर्ण तरिकाले समाधान गर्ने प्रयत्न गर्नुपर्दछ ।

    कामरेड जलजला भौतिकवादी थिइन् । त्यसैले उनले यो कुरामाथि विश्वास गर्दथिन् कि विश्वको निर्णयात्मक तत्त्व भौतिक तत्त्व नै थियो तर आज उनलाई यस्तो लाग्न थालिरहेको थियो, मानव समाजमा भावनात्मक पक्षको पनि ठुलो र कतिपय अवस्थामा निर्णयात्मक महत्त्व हुन्छ । उनको ध्यान देशभक्तितिर गयो । त्यो भावना नै थियो तर संसारमा भावनात्मक रूपले मात्र त्यसको महत्त्व थिएन, भौतिक जीवनमा पनि त्यसले धेरै नै महत्त्व राख्दथ्यो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “मानिसमा आम रूपमा आफ्नो देशप्रति देशभक्तिको भावना पाइन्छ । देशभक्तहरू आफ्नो देशका लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्न तयार हुन्छन् । आफ्नो स्वार्थ र जीवन पनि देशका लागि बलिदान गर्न तयार हुन्छन् । त्यसको कारण भावना नै हो ।”

    देशभक्तिको भावना कुनै शाश्वत भावना होइन, विभिन्न अवस्थामा त्यस प्रकारको देशभक्तिको भावनामा अन्तर हुने गर्दछ । कुनै व्यक्ति वा समूहमा आफ्नो देशप्रति देशभक्तिको भावना हुन्छ भने दुस्मन देशप्रति शत्रुताको भावना तर त्यो देशका जनतामा आफ्नो देशप्रति देशभक्तिको भावना हुन्छ ।

    उपन्यासमा लेखिएको छ– “राष्ट्र वा राष्ट्रियतासम्बन्धी सोचेर पनि मूल रूपमा भावनाको आधारमा नै बन्ने वा बिग्रने गर्दछन् । त्यस सन्दर्भमा भारत र पाकिस्तानका उदाहरण लिन सकिन्छ । पहिले भारत एउटा देश थियो । त्यो बेला देशभक्ति वा राष्ट्रियताको भावना सम्पूर्ण भारतमा फैलिएको हुन्थ्यो तर भारत विभाजन भएर दुइटा देश बनेपछि भारत र पाकिस्तानका बिचको राष्ट्रियता वा देशभक्तिको भावना बेग्लाबेग्लै वा एकअर्काको विपरीत बन्न जान्छ ।

    उपन्यासमा यो पनि लेखिएको छ– “पहिले नेपालमा बाइसे/चौबिसे साना राज्य थिए । त्यो बेला उनीहरूको देशभक्ति वा राष्ट्रियताको भावना आफ्ना ती साना राज्यसम्म नै सीमित हुन्थ्यो तर नेपाल राज्यको एकीकरणपछि देशभक्ति वा राष्ट्रियताको सोचाइ पहिलेभन्दा फराकिलो बनेको छ ।

    निश्चय नै भौतिक परिस्थितिले पनि राष्ट्रियताको भावनालाई निर्धारित गर्ने गर्दछ । कुनै खास अवस्थामा एउटा देश टुक्रिएर एकभन्दा बढी देश बन्न सक्दछन् वा दुईभन्दा बढी देश मिलेर एउटा देश बन्ने गर्दछ । त्यो भौतिक परिवर्तनले पनि कुनै देशको राष्ट्रियता वा देशभक्तिको भावनामा परिवर्तन ल्याउन सक्दछ । जलजलाको ध्यान ती बेग्लाबेग्लै पक्षप्रति गइरहेको थियो । आज उनको ध्यान कैयौँ विषयतिर गइरहेको थियो । उनको ध्यान विद्यमान समाजमा प्रचलित विवाहसम्बन्धी बेग्लाबेग्लै प्रचलनतिर गयो ।

    उनले एङ्गेल्सले लेखेको ’व्यक्तिगत सम्पत्ति, परिवार र राज्यको उत्पत्ति’ पुस्तक पढेकी थिइन् । त्यसमा लेखिएको थियो– यौन र विवाहबारे पनि बेग्लाबेग्लै देश, काल र समाजमा मानिसको व्यवहार वा प्रचलनमा कैयौँ अन्तर हुन्छन् । पहिले समाजमा विवाहको कुनै प्रचलन थिएन । पछि विवाहको प्रचलन सुरु भयो । विवाहको प्रथामा पनि लगातार परिवर्तन हुँदै आएको छ । सामूहिक विवाह प्रथा, बहुपति प्रथा, बहुपत्नी प्रथा वा अहिले विश्वमा आम रूपमा प्रचलित एकनिष्ठ विवाहप्रथा । त्यस सन्दर्भमा एङ्गेल्सले यो पनि लेखेका थिए– ‘अहिलेको एकल विवाह प्रथामा पनि भविष्यमा परिवर्तन हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न’ तर त्यो परिवर्तन कुन रूपमा हुनेछ ? त्यसबारे उनले केही लेखेका थिएनन् र पहिले नै त्यसबारे कुनै भविष्यवाणी गर्नु उनको लागि सम्भव थिएन । त्यसो गर्नु वैज्ञानिक पद्धति पनि हुँदैनथ्यो ।

    उनको ध्यान हिन्दु समाजमा प्रचलित विभिन्न विवाह प्रथातिर गयो । त्यहाँ बेग्लाबेग्लै जाति सम्प्रदायमा बेग्लाबेग्लै विवाह प्रथाको प्रचलन थियो । एउटी ब्राह्मण घरकी कन्या र दलित जातिको युवकका बिचमा विवाह भएमा कडा दण्डसजायको प्रथा थियो । त्यो विवाहबाट भौतिक रूपमा कुनै अन्तर आउँदैनथ्यो तर त्यस प्रकारको भेदभावका पछाडिको मुख्य कारण भावनात्मक नै हुन्थ्यो । मानिसका भावनाले मानिसको व्यवहारमाथि पनि धेरै प्रभाव पार्दछ तर मानिसका भावना पनि स्थिर रहने कुरा हुँदैनथे, तिनीहरूमा परिवर्तन भइरहन्थ्यो र त्यसअनुसार मानिसको व्यवहारमा पनि परिवर्तन हुने गर्दथ्यो ।”

    मानिसमा पाइने बेग्लाबेग्लै धर्मका पछाडि पनि मुख्य रूपले भावनाले नै काम गरेको हुन्छ । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “धर्मको कुरा भावना वा मानिसको आस्थासित नै जोडिएको हुन्छ । त्यसले मानिसका मनमा गहिरो जरा हालेको हुन्छ । त्यससम्बन्धी अन्तर्विरोधका कारणले मानिसहरू आपसमा लड्न वा युद्ध गर्न पनि तयार हुन्छन् । त्यही विवादका कारणले कैयौँ देशको विभाजन हुन्छ । इतिहासमा धर्मका कारणले ठुला ठुला युद्ध भएका थुप्रै उदाहरण पाइन्छन् ।

    जलजलाले एउटा लेखकले लेखेको यो कुरा पढेकी थिइन् : संसारमा सबैभन्दा धेरै युद्ध धर्मका कारणले नै भएका छन् ।”

    जलजलाको ध्यान आर्थिक पक्षतिर गयो । मानिसको जीवननिर्वाहमा आर्थिक पक्षको कति धेरै महत्त्व छ । त्यो आम रूपमा थाहा भएको कुरा हो तर एउटा सीमा काटेपछि आर्थिक पक्षले भावनात्मक रूप नै लिन पुग्दछ ।

    जब मानिसले आवश्यकताभन्दा कैयौँ गुणा बढी सम्पत्ति जम्मा गर्दछन्, त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यस प्रकारको सम्पत्तिको व्यक्तिगत जीवनमा कुनै अर्थ हुन्न । ठुलो पैमानामा त्यो सम्पत्तिको खालि भावनात्मक दृष्टिले मात्र अर्थ हुन्छ । भौतिक दृष्टिले त्यसको कुनै अर्थ हुन्न तैपनि मानिसले सम्पत्ति जम्मा गर्न ठुलो पैमानामा शोषण, उत्पीडन गर्दछन् । युद्ध गर्दछन् । नरसंहार गर्दछन् । त्यस प्रकारको प्रवृत्तिलाई पागलपन नै ता नभनौँ तर एक प्रकारको वा चरम प्रकारको मानसिक विकृति नै हो ।”

    कामरेड जलजलाको ध्यान मानिसले लगाउने कपडातिर गयो । त्यसको मुख्य आवश्यकता जाडो वा गर्मीबाट बच्नको लागि नै हुन्छ । त्यो भौतिक पक्ष हो तर त्यसमा पनि भावनात्मक पक्षले महत्त्वपूर्ण काम गरेको हुन्छ । मानिसले बेग्लाबेग्लै रङ र आकारका कपडा लगाउँछन् वा लोग्ने मान्छे र महिलाले लगाउने कपडा पनि बेग्लाबेग्लै हुन्छन् । बेग्लाबेग्लै देश, जाति, धर्म वा सम्प्रदायका पनि बेग्लाबेग्लै प्रकारका कपडा हुन्छन् ।

    उनको ध्यान यो कुराप्रति गयो कि लोग्ने मान्छेले लगाउने कपडा प्रायशः महिलाले पनि लगाउने गर्दछन् तर महिलाले लगाउने कपडा कुनै पुरुषले लगाउने गरेका हुँदैनन् । महिला र पुरुषको समानताको आन्दोलनमा धेरै नै जोड दिने व्यक्तिले पनि त्यस्तो गरेको पाइँदैन । आखिर त्यसको सामाजिक वा मनोवैज्ञानिक कारण के थियो ? उनले त्यसबारे कैयौँ बेरसम्म सोचिन् तर कुनै निष्कर्षमा पुगिनन् । स्पष्ट छ कि कपडाको रूपरङ वा आकारमा हुने त्यस प्रकारको भिन्नताका पछाडि भौतिक पक्षले भन्दा भावनात्मक पक्षले नै बढी काम गरेको हुन्छ ।
    जोगीले लगाउने कपडा पनि बेग्लाबेग्लै प्रकारका हुन्छन् । राजामहाराजा, अफिसर, सिपाही आदिले लगाउने कपडा पनि बेग्लाबेग्लै प्रकारका हुन्छन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यसबाट के देखिन्छ भने कपडा वा फेसनमा हुने त्यो भिन्नताका पछाडि भौतिक पक्षले भन्दा भावनात्मक पक्षले बढी काम गरेको हुन्छ ।”

    जस्तो कि माथि उल्लेख गरियो, धर्मको मुख्य सम्बन्ध भावना वा आस्थासित नै हुन्छ तर त्यसले पनि भौतिक जीवनमा धेरै नै असर पारेको हुन्छ । त्यसै गरेर दर्शनको मुख्य सम्बन्ध विचारधारासित नै हुन्छ यद्यपि त्यसलाई जन्म भौतिक परिस्थितिले दिन्छ तर एकपल्ट उत्पन्न भएपछि त्यसले भौतिक जगत्लाई पनि धेरै नै प्रभावित पार्दछ ।

    उपन्यासमा लेखिएको छ– “त्यसबारे विचार गर्दागर्दै उनको ध्यान विभिन्न धर्म, दर्शन, साहित्यतिर गयो । धर्मका बारेमा त्यो कुरा पूरै लागु हुन्छ । हिन्दु, बौद्ध, इसाई, मुस्लिम आदि धर्मले विश्वलाई भौतिक रूपले नै कति धेरै असर पारेका थिए ? त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यही कुरा दर्शनबारे पनि सत्य हो । दार्शनिकले प्राचीनकालदेखि नै विश्व, प्रकृति, समाज वा नैतिकताबारे धेरै चिन्तन वा व्याख्या गर्दै आएका छन् । त्यसबाट बेग्लाबेग्लै देशका राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था, सांस्कृतिक वा मानिसको चिन्तत र व्यवहारमा पनि धेरै नै असर पर्ने गरेको छ । त्यो कुरा मार्क्सवादबारे पनि सत्य हो ।

    मार्क्सवादले विश्वव्यापी रूपमा नै कम्युनिस्ट आन्दोलनलाई जन्म दिएको छ । त्यसको परिणामस्वरूप विश्व समाजवादी व्यवस्थाको जन्म भयो ।”

    कामरेड जलजला गोमती एक्सप्रेसद्वारा लखनऊबाट दिल्लीतिर जाँदै थिइन् । उनी लखनऊबाट धेरै अगाडि गइसकेकी थिइन् र कानपुर अझै आइसकेको थिएन । उनी रेलको झ्यालको सिटमा बसेकी थिइन् । उनले झ्यालबाट बाहिरका दृश्य हेर्दै थिइन् ।

    त्यस बेलाको उनको मनको भावनाको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– उनले आफ्नाअगाडिका सबै दृश्य हेर्दथिन् । ती सबै दृश्य नेपालभन्दा धेरै टाढा भारतका थिए । नेपाल र भारतका बिचमा राष्ट्रियताको एउटा सीमा थियो तर उनलाई बाहिरका ती दृश्य हेर्दा कुनै अन्तर भएकोजस्तो लाग्दैनथ्यो । त्यहाँका सबै दृश्य वा मानिस नेपालका जस्तै थिए । उनलाई ती सबैमध्ये कुनै पनि चिजलाई विदेशी भएजस्तो लाग्दैनथ्यो ।

    उनको ध्यान सुनन्दातिर गयो । उनी नेपाली थिइनन् र भारतीय थिइन् । त्यसरी उनी विदेशी महिला थिइन् तर उनको कुन कुरा विदेशी थियो ? उनलाई छुट्याउन मुस्किल परिरहेको थियो । उनका आफ्नै बहिनीभन्दा उनी कम आत्मीय थिइनन् ।

    सरस्वती पनि विदेशी महिला थिइन् तर उनलाई लाग्थ्यो, उनी (सरस्वती) कुनै पनि अर्थमा विदेशी थिइनन् । उनी उनकी (कामरेड जलजलाकी) आफ्नै आमाजस्तै थिइन् । कुरा खालि सुनन्दा र सरस्वतीको मात्र थिएन । त्यो कुरा अरू पनि हजारौँलाखौँ भारतीयबारे सत्य थियो । नेपालमा तानाशाही व्यवस्था थियो र उनीहरू शरणार्थीका रूपमा भारतमा आएका थिए तर भारतका हजारौँलाखौँ जनताले उनीहरूप्रति प्रेम र सहानुभूति प्रकट गरेका थिए । उनीहरूको त्यो प्रेम वा सहानुभूति कुनै नेपालीको भन्दा कम थिएन ।

    त्यस सन्दर्भमा उपन्यासमा अगाडि लेखिएको छ– “उनले केही बेरसम्म ती कुराबारे विचार गरिरहिन् । त्यो कुरा खालि नेपाली र भारतीयबारे मात्र सत्य थिएन, संसारभरिका करोडौँअरबौँ मानिसबारे पनि सत्य थियो । जब उनीहरूको आपसमा भेट हुन्छ र आपसमा व्यवहार गर्दछन् । उनीहरूले एक अर्कालाई विदेशी ठानेका हुँदैनन् । उनीहरूको परस्परको व्यवहार सामान्य हुन्छ । अर्को शब्दमा भन्ने हो भने त्यो व्यवहार मानवीय भावनाद्वारा ओतप्रोत हुन्छ ।

    मानवका बिचको त्यस प्रकारको मानवीय सम्बन्धमा राष्ट्रियता, धर्म वा सम्प्रदायले कैयौँ प्रकारका व्यवधान पैदा गर्दछन् । त्यो कुरा सोचेर जलजलालाई दुःख लागेर आयो ।”

    उपन्यासमा लेखिएको छ : “उनी अहिले दिल्ली जाँदै थिइन् । उनको यात्राका पछाडि एउटा योजना थियो । एउटा उद्देश्य थियो । पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क बढाउने । दिल्लीमा गएर एमए गर्ने । अङ्ग्रेजी साहित्य पढ्ने तर उनका ती सबै योजना उनले सोचेजस्तै अगाडि बढ्नेछन् वा कुनै घटनाक्रमले तिनीहरूलाई बेग्लै दिशामा मोडिदिनेछ ? उनले अहिले नै कुनै कल्पना गर्न सक्दिनथिन् । कल्पना गरे पनि तिनीहरूको भविष्य कस्तो हुनेछ ? उनले सोचेजस्तै नै उनको भविष्य अगाडि बढ्नेछ वा त्यसले बेग्लै दिशा वा मोड लिनेछ । त्यसबारे निश्चित रूपले केही भन्न सकिँदैनथ्यो ।”

    रेल कानपुर जक्सनबाट छुटेर अगाडितिर दौडिरहेको थियो । जलजलाले केही बेर बाहिरका दृश्य हेरिन् । त्यसपछि रेलको डिब्बाभित्र बसेका यात्रुलाई हेर्न थालिन् । बाहिरका दृश्य र रेलको डिब्बामा बसेका यात्रुलाई हेर्दाहेर्दै उनलाई अकस्मात् यस्तो लागेर आयो, जस्तो उपन्यासमा लेखिएको छ– “चिजलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन भएको थियो । उनलाई अकस्मात् दिव्यदृष्टि प्राप्त भएजस्तो लाग्यो, महाभारतका सञ्जयलाई जस्तो । उनलाई यस्तो लाग्न थाल्यो, उनले आफ्नो अगाडि भएको कुनै चिजलाई मात्र होइन, टाढाटाढाका वा सुदूर अतीत र भविष्यका चिजलाई पनि प्रत्यक्ष रूपले आफ्ना अगाडि देख्न सक्दथिन् । तिनीहरूका अन्तर्वस्तुलाई पनि समग्र रूपले बुझ्न सक्थिन् ।”

    आज बिहान उनले लखनऊको सुनन्दाको कोठा छाडेर आएकी थिइन् तर उनको मनमा त्यो कोठाका दृश्य घुमिरहेका थिए । अहिले उनलाई कोठाका सामान पहिलेभन्दा बेग्लै र महत्त्वपूर्ण लाग्न थालिरहेका थिए । सुनन्दाका आलमारीमा ज्ञानविज्ञान, दर्शन, इतिहास वा साहित्यसित सम्बन्धित पुस्तक नै थिए तर उनको ध्यान यो कुराप्रति गएको थियो कि त्यहाँ भएका प्रत्येक पुस्तक कुनै एउटा लेखकको कृतिभन्दा सम्पूर्ण मानव समाजको ज्ञान विकासको समष्टि रूप हुन्थ्यो । त्यसबारे उपन्यासमा लेखिएको छ– “कुनै दार्शनिकको कृति खालि त्यो दार्शनिकको मात्र रचना हुन्न, त्यो पहिलेदेखि हुँदै आएको बौद्धिक विकास, मतमतान्तरको परिणाम पनि हुन्छ । समकालीन समाजको पनि त्यसमा असर परेको हुन्छ । त्यहाँ चल्ने वैचारिक द्वन्द्व पनि त्यहाँ प्रतिबिम्बित भएको हुन्छ । त्यसरी कुनै दार्शनिकको कृति यस्ता हजारौँ कुराको सम्मिलित रूप हुन्छ ।”

    कामरेड जलजलाको ध्यान कोठामा झुन्डिएको सुनन्दाको एउटा फोटोतिर गयो । उनले सबै खादीका नै कपडा लगाएकी थिइन् । साडी, कुर्ता, दुपट्टा खादीले नै बनेको, एउटा झोला । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाका आखाँ हेर्दा यस्तो लाग्थ्यो, उनले टाढाटाढासम्म हिमालयभन्दा धेरै माथि आकाशसम्म, सुदूर भविष्यसम्म, सुदूर अन्तरिक्षसम्म हेरिरहेकी थिइन्… । सायद उनले केही सोचिरहेकी थिइन् । केही होइन, धेरै कुरा सोचिरहेकी थिइन् । कुनै कल्पना गरिरहेकी थिइन् । कुनै सपना देखिरहेकी थिइन् । सायद उनको आँखामा आफ्नो कल्पना र सपनालाई मूर्त रूप दिने कुनै दृढ सङ्कल्प रहेको थियो ।

    उनका आँखामा एउटा ज्योति चम्कन्थ्यो । दृढतापूर्वक अगाडि बढ्ने अठोट झल्कन्थ्यो । अविचलित र निरन्तर अगाडि बढ्ने दृढता । यस्तो लाग्थ्यो, संसारका कुनै दुःखकष्ट, विघ्नबाधा, खतरा कुनै चिजले पनि उनको गतिलाई रोक्न सक्दैनथे ।

    त्यो साधारण फोटोमा उनको कति ठुलो व्यक्तित्व लुकेको थियो ? त्यो व्यक्तित्व साधारण थिएन । अद्भुत प्रकारको थियो । जलजलाले कैयौँ बेरसम्म त्यो तस्बिर, तस्बिरभन्दा पनि उनको चेहरा, चेहराभन्दा पनि उनका आँखालाई हेरिरहिन्…।”

    उपन्यासमा अगाडि लेखिएको छ– “जलजला भौतिकवादी थिइन् । त्यसैले उनले आत्मा अमर हुन्छ र त्यसले कैयौँ जन्म लिन्छ भन्ने मान्यतामा विश्वास गर्दिनथिन् । त्यो कुरामा विश्वास नगरे पनि अहिले उनलाई यस्तो लागिरहेको थियो, उनको सुनन्दासित जन्मजन्मको सम्बन्ध थियो ।”
    कामरेड जलजलाले जति मानिसको भावना र विचार पक्षबारे विचार गर्थिन्, त्यति नै बढी त्यसको कैयौँ गुणा बढी महत्त्वतिर उनको ध्यान जान्थ्यो । एउटा मात्र व्यक्तिको बारेमा विचार गर्ने हो भने पनि उसका मनमा हजारौँहजार प्रकारका भावना वा विचार पैदा हुने गर्दछन् । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “संसारभरिका मानिसको त्यस प्रकारको भावना वा विचारबारे सम्मिलित रूपले विचार गर्ने हो भने संसारमा भावना वा विचारको एउटा सागर वा महासागर नै बन्नेछ । सायद तिनीहरू सागर वा महासागरभन्दा पनि विशाल हुनेछन् ।
    समुद्रमा ज्वारभाटा उठ्ने गर्दछन् तर मानिसका मनमा उठ्ने ज्वारभाटा समुद्रमा उठ्ने ज्वारभाटाभन्दा कैयौँ गुणा शक्तिशाली हुन्छन् । समुद्रको ज्वारभाटा वा सुनामीका कैयौँ विनाशकारी परिणाम हुन्छन् । मानिसका मस्तिष्कमा उठ्ने विचार वा भावनाका ज्वारभाटा तिनीहरूभन्दा शक्तिशाली हुन्छन् । तिनीहरूको परिणामस्वरूप समाजमा कैयौँ प्रकारका दुर्घटना हुन्छन् । आन्दोलन र क्रान्ति हुन्छन् वा युद्ध, महायुद्ध वा विश्वयुद्ध हुन्छन् । त्यसरी मानिसका मनमा उठ्ने ज्वारभाटा समुद्र वा महासागरमा उठ्ने ज्वारभाटा वा तुफानभन्दा कैयौँ गुणा विनाशकारी वा प्रलयकारी पनि हुन सक्दछन् ।” क्रमशः

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.