– प्रकाश थापामगर, काठमाडौँ ।
मनको कुनामा
केही वर्षदेखि देशमा एउटा भाष्य निर्माण हुँदै आइरहेको छ : ‘यो देशमा केही हुँदैन, यहाँ कुनै सम्भावना छैन । त्यसैले विदेश जानुपर्दछ ।’ देशमा साँच्चै त्यही प्रकारको अवस्था छ त ? त्यसबारे बेग्लाबेग्लै दृष्टिकोण हुन सक्ला । यस विषयमा अनुसन्धान गर्ने हो भने बेग्लै निष्कर्ष निस्केला । यद्यपि यसको पक्षविपक्षमा बेग्लाबेग्लै धारणा पनि छन् । सरकार पक्ष आँकडाको खेल देखाउँदै भनिरहेछ– ‘देश समृद्धितर्फ गइरहेछ ।’ यता, त्रिभुवन विमानस्थलले भने हामीलाई बेग्लै परिदृष्य देखाइरहेको हुन्छ । विमानस्थलमा प्रत्येक दिनजसो हजारभन्दा बढी युवायुवतीको लर्को देखिन्छ । विद्यार्थीहरू एनओसी (नो अब्जेक्सन लेटर) का लागि लाइनमा छन् । एउटा निष्पक्ष दर्शकले भने सरकारको होइन, विमानस्थल र एनओसी शाखाको तथ्याङ्कमा विश्वास गर्ला ।
यिनै अन्यौलतामाझ यस विषयमा नमुना सर्वेक्षण गर्ने इच्छा केही समययता मेरो मनमा बुर्कुसी मारिरहेको थियो ।
हाम्रो देश कृषिप्रधान अवस्थामा छ । तथ्याङ्कले अझै पनि ६३ प्रतिशतजति जनता अझै पनि कृषिसित जोडिएको बताउँछ । यस्तो अवस्थामा ‘देशमा केही हुँदैन’ भन्ने भाष्यको वास्तविकता जाँच गर्न कृषिक्षेत्रमा नै जानुपर्ने निस्कर्षमा म पुगेको थिएँ ।
यो इच्छालाई पूरा गर्न म र प्राविधिक जिम्मेवारीसमेत वहन गर्नुभएका प्रगतिशील पत्रकार सङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ काठमाडौँका जिल्ला सदस्य गोविन्द शर्मा केही महिनाअगाडि तारकेश्वर नगरपालिकाको रामकोट पुगेका थियौँ तर किसान सङ्गठनका ती मित्रले व्यावसायिक खेती गर्नुहुँदो रहेनछ । त्यसैले कृषिक्षेत्रको सामान्य प्रतिनिधित्व भएकोजस्तो देखिए पनि जीविकोपार्जन नै हुने गरी त्यो कभरेजले मलाई सन्तुष्टि दिन सकेको थिएन । फलस्वरूप एउटा यस्तो फरक पात्रको खोजी जारी नै रहन पुग्यो ।
भेटिनुभयो उचित पात्र
मित्र गोविन्दजीले यसै प्रसङ्गमा जगत् रेग्मीको नाम लिनुभयो । वास्तवमा उहाँ एउटा यस्तो पात्र हुनुहुन्थ्यो, जसले राजनीति र कृषिकर्म सँगसँगै अगाडि बढाउनुभएको थियो । उहाँ नेकपा (मसाल) काठमाडौँको प्रवक्तासमेत हुनुहुन्थ्यो । उहाँले जीविकोपार्जनका लािग टोखा नगरपालिकाको भत्केकोपुलनजिकै कृषिकर्मसमेत गरिरहनु भएको थियो ।
केही दिनयता उनै जगत् रेग्मीसँग भेट्ने र त्यसबारे कुराकानी गर्ने योजना मनमा घुमिरहेको थियो । त्यो काम सम्पन्न गर्ने साइत जुऱ्यो, २०८२ भदौ २ गते सोमबारको बिहान ।
भेटका लागि पहिला गोविन्द शर्मासित समय लिएँ । त्यसपछि भदौ १ गते जगत्जीसित समय मागेँ । उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो ।
भनिन्छ, लक्ष्य निर्धारण गर्नु आफैमा पहिलो सफलता हो । जगत्जीसँग कुरा भ्रएप्छि एउटा सफलता प्राप्त भएजस्तो लागिरहेको थियो ।
हामी हिँड्यौँ
गोविन्दजी र म भदौ २ गते बिहानै ८ बजे हिँड्ने सल्लाह भएको थियो । बिहान ७ बजेतिर जगत्जीले आफै फोन गरेर ‘कतिखेर हिँड्नुहुन्छ’ भनेर सोध्नुभयो । उहाँको यो व्यवहारले हामीलाई झनै उत्साहित तुल्यायो ।
त्यो बिहान आवश्यक क्यामरा, मोबाइल, कलम, डायरी सबै एउटा झोलामा राखेर हामी कपनबाट हिँड्यौँ । सुकेधारासम्म पैदलै हिँडेर हामी चक्रपथको बस चढ्यौँ । गन्तव्यस्थलसम्म पुग्नका लागि मैले जगत्जीसित एकपटक फेरी कन्फर्म गरिसकेको थिएँ । सोहीअनुसार हामी गोङ्गबुचोक ओर्लियौँ । गोविन्दजी यसअघि प्रगतिशील देउसीभैलो खेल्ने क्रममा सो स्थानमा पुगिसक्नुभएकाले लोकेसनसम्म पुग्न कठिनाइ हुने छैन भन्नेमा हामी ढुक्क थियौँ ।
गोङ्गबुचोकबाट हामी भत्केको पुलसम्म जाने माइक्रोबस चढ्यौँ । हामीलाई जगत्जीले भत्केको पुलभन्दा अगाडि पिपलबोटमा ओर्लिन भन्नुभएको थियो । काठमाडौँका चालक/परिचालकलाई अझै पनि सहरिया विकृतिले छोइसकेको रहेनछ । उहाँहरूले ‘यही हो पिपलबोट, झर्नुस्’ भन्नुभयो । हामी झऱ्यौँ ।
सडकको बायापट्टि दुईओटा कच्ची बाटा भित्रतर्फ जान्थे । केही अलमलको अवस्था आएपछि एकपटक जगत्जीलाई फेरी फोन लगायौँ ।
जगत्जीले भन्नुभयो– ‘किराना पसलछेउको माथिल्लो बाटोबाट भित्र आउनुस् ।’ हामीले त्यसै गऱ्यौँ ।
पहिलो भेट भक्तजीसित
एक मिनट पनि नहिँड्दै एक जना चिनेको साथी हाम्रो अगाडिबाट अझै अगाडि गइरहनु भएको थियो ।
गोविन्दजीले भन्नुभयो– ‘उहाँ भक्तजी होइन ?’
कपडाले होजस्तो लागे पनि मैले ठम्याउन सकिरहेको थिइनँ । चस्मा लगाएर हेर्दा उहाँ भक्त विक नै हुनुहुन्थ्यो । उहाँ जातीय समता समाजका पूर्व महासचिव तथा हालका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ पनि सोही स्थानमा कृषिकर्म गर्नुहुन्थ्यो ।
गोविन्दजीले ‘भक्तजी’ भनेर आवाज लगाउनुभयो । उहाँले हामीतिर हेरेर पर्खनुभयो । भेट भएपछि उहाँले हामी यतातिर आउँछौँ भनेर सोच्दै नसोचेको, मेरोसम्म भने कपडा देखेर चिनेको जस्तो लागेको बताउनुभयो ।
हामी पहिला भक्तजीकहाँ पुग्यौँ । आँगनमा दुईओटा त्रिपालमा सूर्यमुखीका फूल सुकाइएको थियो । भक्तजीले पहिलो प्रयोगस्वरूप सूर्यमुखीको तेल निकाल्ने प्रयोजनका लागि थोरै मात्रामा त्यसको खेती गरेको बताउनुभयो । मैले सुकाइएको सूर्यमुखीको थुँगा हेरेँ । ठुला ठुला काला दाना, हेर्दै तेल बढी निस्केलाजस्तो लाग्यो ।
भक्तजीको परिवारले कुर्सीद्वारा आतिथ्य टक्राउनुभयो । पानी पिउन दिनुभयो । बिहानको १० बज्न थालेकाले हामी हतारमा थियौँ । भक्तजीको परिवारले खाना खाएर जान आग्रह गर्नुभएको थियो तर हाम्रो खाना जगत्जीकहाँ खाने हिजै ठेगान भइसकेको थियो ।
फेरी पनि जाँदाजाँदै काक्रो खायौँ । भक्तजीले आफूले लिजमा लिएको जमिनको बाटो हुँदै जगत्जीकहाँ हामीलाई लैजानुभयो । जाँदाजाँदै भक्तजीले आफ्नोबारेमा केही सूचना दिनुभयो ।
उहाँले साढे चार रोपनी जमिन वार्षिक एक लाख ४० हजार रुपियामा लिजमा लिनुभएको रहेछ । त्यो जमिनको आधाजसोमा धान लगाउनुभएको रहेछ । चार/पाँचओटा गह्रामा लगाएको धानले उहाँको परिवारलाई पुग्छ भन्दा मलाई पत्यार लागेन । पहाडतिर, खासगरी गुल्मीतिर त्यति जमिनमा बढीमा चार मुरी धान फल्दो हो । भक्तजीले १२ मुरी धान फल्छ भन्दा म आफै चकित थिएँ । बाँकी जमिनमा उहाँले गोलभेँडा, घिरौँलालगायत विभिन्न तरकारी लगाउनुभएको थियो । लोकल कुखुरा पनि पाल्नुभएको रहेछ भक्तजीले । प्रतिगोटा १५ सय/दुई हजार रुपियाँको दरले विक्री हुन्छ भन्नुभयो ।
मैले फरक प्रसङ्ग निकालेँ– ॅतपाईंहरूलाई माछा खान मन लाग्यो भने पोखरी खनेर माछा पाल्दा हुन्छ होला !’
भक्तजीले आफूले पोखरी खनेको तर पानीले बगाइदिएको जानकारी दिनुभयो । त्यहाँ बोरिङ खनेर सिचाइँको व्यवस्था भएको जानकारी उहाँले दिनुभयो ।
भक्तजीले त्यही साढे चार रोपनी जग्गाभित्र एउटा जस्तापाताले छाएको एउटा घरमा आफै बस्ने, अर्को घर आफन्तलाई दिएको र अझै अर्को घर भाडामा लगाएको जानकारी दिनुभयो ।
पुगियो जगत्जीको घर
अब हामी जगत्जीकहाँ पुग्यौँ । जगत्जी आफ्नै घरअगाडिबाट हाम्रो बाटो हेरिरहनु भएको थियो । त्यहाँ पुग्दासाथ उहाँले भन्नुभयो– ॅतपाईंहरू भक्तजीकहाँ पस्नुहोला भन्ने त मलाई लागेकै थियो ।’
भक्तजीको जस्तै जस्तापाताले छाएको घर । जगत्जीको परिवारमा आमा, जीवनसँगिनी, छोराबुहारी, छोरी सबै त्यहीँ हुनुहुन्थ्यो ।
त्यहाँ पुगेर पानी पियौँ पहिला । हामीलाई उहाँको कृषिकर्मबारे छिटोभन्दा छिटो बढीभन्दा बढी जान्ने हुटहुटी थियो । कुराकानी गर्ने क्रममा खेतको एक फन्को पनि लगायौँ हामीले ।
भक्तजीको जस्तै साढे चार रोपनी जमिन लिजमा लिइएको । उत्ति नै वार्षिक भाडा । यति थोरै जमिनमा गोलभेँडा, काउली, फर्सीको मुन्टा, फूल, धान, मकैजस्ता धेरै बारीले हामीलाई स्वागत गरिरहेका थिए ।
जगत्जीको परिवारले भोक लागेको होला, पहिले खान खाऊँ भनेर आतिथ्य दर्शाउनुभयो । हामीले भने पहिला काम गरौँ, त्यसपछि खाना खाऔँला भन्ने सल्लाह प्रस्तुत गऱ्यौँ । जगत्जी त्यसमा राजी हुनुभयो ।
पछाडि गोलभेँडाको घारी, अगाडि दुईओटा कुर्सी राखियो । जगत्जी र म बस्यौँ । गोविन्दजीले अर्को कुर्सी नजिक राखेर क्यामरा फिट गर्नुभयो । हामीले सरदर आधा घण्टाको समय अनुमान गरेर कुराकानीको तर्खरमा लाग्यौँ ।
कुराकानी सुरु
जगत्जी दैलेखबाट काठमाडौँ आउनुभएको । उहाँ पनि कृषिकर्म नै गर्नुहुथ्यो तर यहाँभन्दा धेरै नै परम्परागत ।
‘दैलेखमा पनि किसान नै थिएँ । छ–सात गाईभैसी पालिन्थ्यो तर परम्परागत कृषि गरेका थियौँ’ उहाँले भन्नुभयो ।
आजभन्दा छ वर्षअघि उहाँ काठमाडौँ आउनुभएको रहेछ । यहाँ आएपछि रोजगारीको अभाव हुने नै भयो । त्यति बेला उहाँले ११ हजार रुपियाँ भाडामा फ्ल्याट लिएर बस्नुहुँदोरहेछ ।
कृषिकर्म फेरी सुरु गर्ने विचार कसरी आयो । उहाँलाई ?
उहाँले भन्नुभयो– ‘आयस्रोतको अभाव । महँगीको समस्या त छँदैथियो । मभन्दा पहिला एक वर्षअघिदेखि भक्तजीले यहीँ बस्न सुरु गर्नुभएको थियो । मैले पनि यही इलाकामा बस्ने निधो गरेँ ।’
कषिकर्म गर्दा परिवारका सबै सदस्यले श्रममा भाग लिने, उत्पादन पनि हुने, कोठाभाडाको समस्या पनि समाधान हुने भएकाले यो विकल्प उपयुक्त लागेको उहाँको ठम्याइँ थियो ।
‘१२–१५ मुरी धान फल्छ । चार/पाँचओटा टनेल छन् । एक सिजनको आम्दानी नै डेढ लाख रुपियाँजति हुन्छ । त्यसले नै भाडा तिर्न पुग्छ । त्यसबाहेक खर्च कटाएर वार्षिक छ/सात लाख रुपियाँ बचाउँछौँ’ काठमाडौँमा थोरै लगानीमा बस्ने यो सही तरिका भएको उहाँको किटानी थियो ।
युरोपबराबरकै कमाइ हुन्छ
रेग्मीले आफूवरिपरि तीन घर कृषिकर्ममा लागेको जानकारी दिनुभयो । नुवाकोटका ज्ञानबहादुर तामाङको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘ज्ञानबहादुरजीको परिवारमा चार जना हुनुहुन्छ । जमिन यत्ति नै हो । गाईफर्म पनि छ । दुध बेच्नुहुन्छ । मलखाद पनि छ ।’
उहाँले अगाडि भन्नुभयो– ‘ज्ञानबहादुरजीले केही दिनअघि असार मसान्तसम्मको एक वर्षको आम्दानीखर्चको हिसाब गर्नुभएछ । यस अवधिमा खर्च कटाएर १५ लाख बचाउनुभएछ उहाँले । भएन त युरोप गएबराबरको कमाइ ?’
उहाँले आफूवरिपरिका तीन परिवारको कृषिकर्मको आधारमा पौरखी हातलाई विदेश जानुनपर्ने निष्कर्ष निकाल्न सकिने बताउनुभयो ।
‘ज्ञानबहादुरजीले १५ लाख कमाउनुभयो वर्षमा । युरोप–अमेरिका जानेले पनि कमाउने त्यत्ति नै हो’ उहाँले भन्नुभयो– ‘मैले पनि वर्षमा छ/सात लाख बचाउँछु । खाडी मुलुक जानेले पनि महिनामा कमाउने ३५–४० हजार रुपियाँ न हो । त्यस हिसाबले मेरै कमाइ बढी हुन्छ ।’
पार्टीको प्रवक्तासमेत भएकाले पूरै समय कृषिकार्यलाई दिन नसकेको बताउनुहुन्छ, रेग्मी । पार्टीको काम र दैनिकजसो सामाजिक काममा सामेल हुनुपर्दा परिवारका अरू सदस्यले कृषिकर्म गरेको उहाँको भनाइ छ ।
कृषिकर्मकै आयले एउटा छोराले मध्यपश्चिम युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ पढिरहेका, अरू छोरा र छोरीले पनि पढिरहेको उहाँले जानकारी दिनुभयो ।
‘मेरो परिवारमा कोही पनि फुर्सदिला छैनन्’ उहाँले भन्नुभयो– ‘श्रीमती, छोरा, बुहारी, छोरी सबैले काम गर्छन् ।’
भर्खरै लगाएको गोलभेँडाको बेर्ना देखाउँदै रेग्मीले भन्नुभयो– ‘यो बिरुवा हिँजो छोराबुहारीले लगाएका हुन् ।’
नगदेबालीमा जोड
रेग्मीले करिब साढे चार रोपनी जग्गा लिजमा लिनुभएको छ । त्यसमध्ये दुई रोपनीमा धान लगाउनुहुन्छ ।
उहाँले भन्नुभयो– ‘दुई रोपनी जग्गा अलि धापिलो छ । त्यसैले त्यहाँ धान लगाएको हो ।’
बर्खामा मात्रै सो जग्गामा धान रोप्ने, अन्य समयमा नगदेबाली नै लगाउने गरेको जानकारी दिनुभयो । खासगरी गेलभेँडा र सागको खेती बढी हुँदो रहेछ त्यहाँ ।
‘वर्षमा दुई/तीन सिजन गोलभेँडा फल्छ । साग र विभिन्न थरीका हुन्छन्’ उहाँले भन्नुभयो ।
त्यसबाहेक उहाँले फूल पनि लगाउनुभएको छ, तिहारलाई लक्षित गरेर । उहाँकी जीवनसँगिनी भन्दै हुनुहुन्थ्यो– ‘यसपालि फूल फुल्दैन कि क्या हो, दशैँतिहार छिटो परेको छ ।’
उहाँका खेतमा फर्सीका मुन्टादेखि खोलेसाग, मकैजस्ता विभिन्न बाली छन् तर मुख्य जोड नगदेबालीमा छ । उहाँको मुख्य नगदेबाली साग र गोलभेँडा हो । १५–२० हजारको त फूल पनि बेच्नुहुँदोरहेछ । धान भने घरै खानका लागि ठिक्क हुन्छ ।
बिचौलियाको हालिमुहाली
उहाँले उत्पादन गरेका गोलभेँडा प्रतिक्रेट एक हजार रुपियाँमा बिक्छ । कतिपय बेला त पाँच क्रेटसम्म विक्री हुन्छ । त्यसरी एकैदिनमा पाँच हजार रुपियाँ कमाइ हुन्छ ।
रेग्मीले कृषिक्षेत्रलाई बिचौलियाले ध्वस्त पारेको बताउनुभयो ।
‘किसानले वर्षभरि खेती लगाएर उब्जाएको गोलभेँडा ३० रुपियाँ प्रतिकिलोमा विक्री गर्छ । बिचौलियाले केही घण्टामै ४०–५० रुपियाँ प्रतिकिलोमा विक्री गर्छ । यसरी बिचौलियाले केही घण्टामै १५/२० रुपियाँ नाफा कमाउँछ’ उहाँले भन्नुभयो ।
कालीमाटी तरकारी विक्रीकेन्द्रको उदाहरण दिँदै उहाँले किसानले आफ्ना उत्पादनको मूल्य तोक्न नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कालीमाटीमा दिनैपिच्छे बिचौलियाले मूल्य तोक्छ । त्यसमा किसानको कुनै हात हुन्न । बढी विक्री भए मूल्य बढाइन्छ, कम विक्री भए मूल्य घटाइन्छ । मूल्य जति बढे पनि किसानले थप मूल्य पाउँदैनन् ।’
रेग्मीले तत्कालका लागि तरकारीमा नेपाल आत्मनिर्भर हुने अवस्था रहेको तर बिचौलियाले किसानको शोषण गरेको अवस्थामा सरकार भने मूकदर्शक बनेको बताउनुभयो ।
परनिर्भर कृषि
काठमाडौँजस्तो ठाउँमा हुने कृषिकर्म नै परनिर्भर अवस्थामा रहेको उहाँको बुझाइ थियो ।
‘काठमाडौँमा उर्वराशक्ति राम्रो हुन्छ तर अब यहाँ जमिन बाँकी छैन’ उहाँका अनुसार विदेशी उत्पादनको खपत बढाउन नै राज्यले भारत र चीनको खाद्यान्न विक्रीको व्यवस्था मिलाउँछ । त्यस्तै बिउ, मल, किटनाशक औषधी सबैमा देश परिनिर्भर छ, खासगरी कृषिक्षेत्र ।
आफूहरूले प्रयोग गर्ने धान, गोलभेँडा, गहुँ, मकै, तरकारी सबैका बिउ हाईब्रिड भएको बताउँदै उहाँले प्रत्येकपटक बजारबाट बिउ किन्नुपर्ने, बजारमा बिउ नपाइए जमिन नै बाझो हुने अवस्था रहेको बताउनुभयो ।
गोलभेँडाको बेर्नाबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो– ‘बिउ हाईब्रिड, हामीले त उमार्ने मात्रै ।’
त्यस्तै बेसार, खुर्सानी मरमसाला सबै भारतबाट आउने उहाँको भनाइ थियो । कच्चा पदार्थ नेपालबाट जाने, उताबाट प्रशोधन गरेर त्यही मरमसला नेपालको बजारमा महँगो मूल्यका साथ भित्रिने अवस्था रहेको उहाँको बुझाइ थियो ।
व्यक्तिगत प्रयासमा अर्गानिक कृषि असम्भव
कुनै एउटा किसानले चाहेर पनि अर्गानिक खेती सम्भव नरहेको निस्कर्ष उहाँले हामीलाई सेयर गर्नुभयो ।
‘अर्गानिक उत्पादन त गाह्रो छ’ उहाँले भन्नुभयो– ‘एक किलोमिटर टाढा कसैले विषादी प्रयोग गरेको छ भने उडेर, किटाणुले वा चराचुरुङ्गीले यताउता सार्दा अर्काको बालीमा असर गर्छ ।’
नेपालको कृषिमा पूरै रासायनिक किटनाशक औषधी प्रयोग हुने गरेको, गाईको गहुँतको प्रयोग प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।
आफूले भने अत्यन्त कम किटनाशक औषधी र विषादी प्रयोग गर्ने गरेको रेग्मीले सुनाउनुभयो ।
उहाँले भन्नुभयो– ‘वर्षमा एक बोरा युरिया खपत हुन्छ मेरो खेतमा । मल त गाईको गोबर नै प्रयोग गर्छु । ज्ञानबहादुरजीको गाइफार्मकै गोबर प्रयोग हुन्छ ।’
किटनाशक औषधीको रूपमा कहिलेकाहीँ तरकारीको मुन्टामा लाग्ने किराबाट बचाउन ॅटुटा’ नामको औषधी र महिनामा एकपटक डडुवाको औषधीको प्रयोग भने गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
श्रम र कृषिप्रतिको बेवास्ता बढ्दो
प्रवक्ता रेग्मीले देशमा श्रम र कृषिप्रति बेवास्ता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसले गर्दा कृषिकर्मका लागि आवश्यक जनशक्तिको अभाव भइरहेको उहाँले स्वीकार्नुभयो ।
‘मेरो त सानो पैमानाको खेती भयो । त्यसैले मेरो परिवारकै श्रमले कृषिकर्म चलिरहेको छ’ उहाँले भन्नुभयो– ‘यदि १०/१५ रोपनीभन्दा बढी जमिन लिएर काम गर्ने हो भने कामदारको अभाव हुन्छ । अहिले छ/सात घण्टाको सात सय रुपियाँ र दिनभरिको १५ सय/दुई हजार रुपिया लिन्छन् तैपनि कामदार पाइँदैन ।’
नेपालीमा विदेश गएर थ्री डी (कठिन, फोहोरी र खतरनाक) काम गर्ने, अरबमा गएर महिनाको ३०/३५ हजार रुपियाँमा काम गर्ने तर ‘नेपालमा केही हुँदैन’ भन्ने सोचाइ राख्नाले श्रमशक्तिको अभाव भएको उहाँले बताउनुभयो ।
त्यस्तै पढेलेखेका मान्छेले माटो छुनुहुँदैन भन्ने मानसिकता पनि रहेको उहाँको भनाइ थियो ।
‘एसइईभन्दा माथि पढेपछि माटो हुनुहुँदैन भन्ने मानसिकता बन्न गयो’ उहाँले भन्नुभयो– ‘हाम्रा छोराछोरीले चौबिसै घण्टा पढ्दैनन् । उनीहरूलाई पढाइँसँगै श्रममा जोड्नुपर्छ । हामीले त्यसो गर्न सकिरहेका छैनौँ ।’
नेपालमा कृषिकर्म पिछडिएका क्षेत्रकाले वा नपढेका मानिसले गर्ने हो भन्ने धारणा रहेको रेग्मीले बताउनुभयो ।
शिक्षाको निजीकरण भएसँगै यस्तो मानसिकता अझै व्यापक हुँदै गएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
उहाँको भनाइ थियो– ‘यस्तो मानसिकताले गर्दा नेपालमा कृषिकर्मलाई सम्मान नगरिएको अवस्थाा छ ।’
कृषिप्रति राज्यको चासो छैन
रेग्मीले आफूले गत छ वर्षदेखि कृषिकर्म गरेको भए पनि राज्यबाट कुनै चासो व्यक्त नगरिएको अनुभव सुनाउनुभयो ।
‘छ वर्ष भयो मैले यहाँ खेतीपाती गर्न थालेको’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म राज्यको कुनै पनि व्यक्ति वा विकाय, न कृषिप्राविधिक, न कृषिशाखाका कुनै कर्मचारी, कसैलाई मैले आजसम्म भेटेको छैन ।’
आफूहरूलाई ट्रयाक्टर चाहिँदा ज्ञानबहादुर तामाङसित सहकार्य गरेर नुवाकोटबाट मगाएको उहाँले हामीलाई सुनाउनुभयो ।
ट्रयाक्टरको व्यवस्था नहुँदासम्म खनेरै खेती लगाउने गरेको उहाँले स्मरण गर्नुभयो ।
‘ट्रयाक्टरले प्रतिघण्टा चार हजार रुपियाँ ज्याला लिन्छ’ रेग्मीले भन्नुभयो– ‘एक वर्ष त धान लगाएको १२ हजार रुपियाँ भुक्तानी गरेको छु मैले । त्यति त धानकै आम्दानी हुन्न होला ।’
अहिले भने ज्ञानबहादुरसहित तीन घर मिलेर ट्रयाक्टर किनेपछि समस्या हटेको उहाँको भनाइ थियो ।
घरका सबैले हातेट्रयाक्टर चलाउन जान्ने भएकाले बेग्लै श्रमिक खोज्नुनपरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बोरिङ खन्न करिब एक लाख रुपियाँ लाग्ने जानकारी दिँदै उहाँले पाँच/छ वर्ष पुरानो बोरिङले अब काम गर्न छाडेकाले फेरि खन्नुपर्ने अवस्था रहेकोमा रकमको जोहो गर्नुपर्ने अवस्था आइपरेको गुनासो गर्नुभयो ।
रेग्मीले राज्यसित कुनै आशा नगरीकन सामूहिक रूपमा कृषिऔजार, किटनाशक, मल, बिउको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
मसालको राजनीति
राजनीति र कृषिकर्म सँगसँगै लैजाँदा उत्पन्न कठिनाइबारे हाम्रो जिज्ञासामा रेग्मीले त्यस्तो समस्या नरहेको स्पष्ट पार्नुभयो
‘मसालको राजनीतिले श्रम गर्नुपर्दछ, आत्मनिर्भर हुनुपर्दछ, श्रम नगर्नेलाई घृणा गर्नुपर्छ भन्छ’ उहाँले भन्नुभयो ।
मसालले निश्चित गरेको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति नै कृषिक्रान्ति भएको उल्लेख गर्दै उहाँले किसानका बिचको काम पार्टीराजनीतिभित्रकै काम भएको दाबी उहाँले गर्नुभयो ।
उहाँले सहरमा बस्नेहरूले डेरा मानसिकताबाट माथि उठ्नुपर्ने रचनात्मक सुझाव प्रस्तुत गर्नुभयो ।
रेग्मीको भनाइ थियो– ‘म त भन्छु, हाम्रो पार्टीका साथीहरू डेराको मानसिकता वा सहरिया मानसिकतावाद माथि उठ्नुपर्दछ ।’
प्रत्यक्ष रूपमा श्रममा सामेल भएर अगाडि बढ्दा डेरामा सीमित हुनुनपर्ने उहाँको धारणा थियो ।
कतिपयले यस्तो राजनीति जानेको मान्छे ठुला पार्टीमा लागेर किन सांसद नबनेको भनेर गरेको टिप्पणी हामीलाई सुनाउँदै उहाँले भन्नुभयो– ‘मैले त्यस्तो सोचाइलाई सही मान्दिनँ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी हो । श्रम गर्ने मानिस नै सर्वश्रेष्ठ मानिस हो ।’
उहाँले नेपाली समाजमा श्रम गर्ने मानिसलाई सम्मान र प्रोत्साहन गर्ने संस्कृति बसाल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यस्तै उहाँले मसालले ‘कृषि नै जीवन हो’ भन्ने नारा जनतामाझ पुऱ्याउन चाहेको पनि बताउनुभयो ।
किसानले सही शक्ति चिन्नुपर्ने
रेग्मीले किसानले आफूलाई आइपर्ने दैनिक समस्या समाधानको सम्बन्धमा सही राजनीतिक शक्ति चिन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘किसानले आफ्नो पक्षमा बोल्ने सही राजनीतिक शक्ति चिन्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘अर्कोतिर किसानको मुक्ति किसानकै सङ्घर्षबाट सम्भव छ भन्ने बुझ्नुपर्दछ ।’
नेपालमा कृषिका वैज्ञानिक रूपान्तरणमा जोड दिनुपर्ने बताउँदै उहाँले अहिले अर्काका लागि श्रम बेच्नुको सट्टा कृषिमा श्रम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कुराकानीको अन्तमा युगदर्शन मिडियालाई धन्यवाद दिन छुटाउनुभएन रेग्मीले । खेतमै आएर किसानको आवाज बुलन्द गरेकोमा उहाँले खुसीसमेत व्यक्त गर्नुभयो ।
फर्कने तयारीमा
करिब एक घण्टा लामो कुराकानीको बिट मार्दासम्म दिउसोको ११ बज्न थालेको थियो, तबसम्म हामी सबैलाई भोक लागेको थियो । हामीले जगत्जीसँगै बसेर उहाँकै खेतमा उब्जाइएको भोजन ग्रहण गऱ्यौँ ।
जगत्जीसँग बिदा भएर हतार हतार फर्किदा हामी भक्तजीको घर पसेनौँ । हामीले सोच्यौँ, उहाँ बाहिर निस्किसक्नुभयो कि झ् तर उहाँले फोन गर्नुभएको रहेछ । पछि उहाँले गोविन्दजीलाई फोन गरेर आफूकहाँ नपसेको, पसेको भए हामीलाई परसम्म बाइकमा छोडिदिने आसय व्यक्त गर्नुभयो । हामीले उहाँलाई ‘धन्यवाद’ भन्यौँ ।
गोविन्दजी र म रत्नपार्कतर्फ जान भत्केकोपुलनेर उभिएको हाइसमा बस्यौँ । यतिखेर हाम्रो मनमा अपूर्व सन्तोष थियो । आखिर हामीले कर्णाली प्रदेशबाट काठमाडौँ आएर आधुनिक कृषिकर्म गर्दै नेकपा (मसाल) को राजनीतिलाई सफलतापूर्वक अगाडि बढाइरहनु भएका जिल्ला प्रवक्तासँगको कुराकानीलाई क्यामेरामा कैद गरेका थियौँ र यसलाई छिट्टै सार्वजनिक गर्ने तर्खरमा थियौँ ।
टुङ्ग्याउनी
यतिखेर मेरो दिमागमा रेग्मीजीको त्यो भनाइ घुमिरहेको थियो– काठमाडौँमै कृषिकर्म गरेरै पनि युरोपबराबरको आम्दानी हुन सक्छ ।
उहाँको कुरा सत्य थियो । उहाँको यो तर्कबाट यो भाष्य धूमिल हुन थालेकोजस्तो लाग्यो– ‘यो देशमा केही हुँदैन’ बरु यो भाष्य निर्माण हुन थालेकोजस्तो लाग्यो– ‘हाम्रो देशमा सबैथोक उत्पादन सम्भव छ । आखिर हिमालय काखको हाम्रो मातृभूमि नेपाल प्रकृतिकै अनुपम वरदान हो र हामी त्यही सुन्दर देशका बासिन्दा । नेपालभन्दा सुन्दर देश संसारमै छैन, वास्तवमै छैन ।
(रेग्मीसँगको कुराकानीको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=sw7PbDbGEzs वाच गर्न अनुरोध छ)
२०८२ भदौ ५ गते बिहीबार
बुढानीलकण्ठ–१०, काठमाडौँ