- गणेश आचार्य
आजका कम्युनिस्ट कार्यकर्ता भनेका भोलिको समाजवादी र साम्यवादी ब्यबस्थाका नागरिक हुन । त्यसैले उनिहरूको आर्थिक दृष्टिकोण पनि त्यहि अनुरुपको हुन जरुरी छ । कम्युनिस्ट आन्दोलनको हृदय आर्थिक दृष्टिकोण हो । अर्थतन्त्र आधार हो भने राजनीति उपरि संरचना हो । पुँजीवादी र नाफामुखि समाजमा आर्थिक दृष्टिकोण भनेको कम्युनिस्ट कार्यकर्ताको मुल्यांकनको आधार हो । कम्युनिस्ट पार्टी यस्तो शक्ति हो, जसले गरिब, श्रमिक, किसान र उत्पीडित वर्गलाई आफ्नो भाग्य आफैं लेख्ने सामर्थ्य दिन्छ । यो केवल संख्याको खेल होइन, जनताको मुक्तिको घोषणापत्र हो । आजको पूँजीवादी संसारमा आर्थिक शक्ति मसठ्ठीभर दलाल, सामन्त र बहुराष्ट्रिय पुँजीपतिहरूको कब्जामा छ । उनीहरूको नाफाको हवशका कारण करोडौँ मानिस भोक, बेरोजगारी र शोषणको चक्रमा बाँधिएका छन् । यही शोषणविरुद्धको विद्रोही चेतना नै कम्युनिस्ट कार्यकर्ताको आर्थिक दृष्टिकोणको बीउ हो । यहा केबल सदस्यको ब्यक्तिगत दृष्टिकोण मात्र नभएर त्यो सहित कम्युनिस्टहरूको अर्थतन्त्र सम्बन्धि दृष्टिकोणलाई समेत संक्षिप्त रुप प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
इतिहासले देखाएको छ कि जबसम्म उत्पादनका साधनहरूमा पूँजीपति वर्गको एकाधिकार हुन्छ, तबसम्म समाजमा सच्चा समानता सम्भव हुँदैन । विश्वभरिका क्रान्तिहरूले यो कुरा प्रमाणित गरिसकेका छन् । रसिया, चीन, क्युबा, भियतनाम जस्ता देशहरूमा जब पुँजीवादको विरुद्धमा वर्गसंघर्षले निर्णायक मोड लियो, तब मात्र श्रमिक र किसान वर्गले आफ्नो अधिकार पाउन सके ।
कम्युनिस्ट कार्यकर्ता बुझ्छन कि उत्पादनका साधनमा जनताको नियन्त्रण बिना समानता केवल सपना हो । जमिन, कारखाना, जलस्रोत, खानी, बिजुली, यातायात, सञ्चार जस्ता निर्णायक क्षेत्रहरूमा निजी स्वामित्व भनेको शोषणको कानुनी लाइसेन्स हो । नेपालमा पनि ठूलो जमिनका एकाधिकार, खानी तथा वन सम्पदामा पुँजीपति र सामन्त वर्गको नियन्त्रणले किसान, दलित र जनजातिलाई असमानताको मारमा राखेको छ । त्यसैले यी सम्पत्तिहरू जनताको सामूहिक स्वामित्वमा ल्याउनु अनिवार्य हुन्छ । यो व्यक्तिगत सानो व्यापार वा मेहनतको प्रतिफल खोस्ने कुरा होइन, बरु ठूला उत्पादन र वितरण प्रणालीमा नाफाभन्दा आवश्यकता प्राथमिक बनाउने कुरा हो ।
कम्युनिस्टको आर्थिक दृष्टिकोण श्रमको सम्मान र श्रमिकको सत्तामा आधारित हुन्छ । पूँजीवादमा श्रमिकलाई केवल नाफा उत्पादन गर्ने साधनको रूपमा उपयोग गरिन्छ, तर कम्युनिस्ट दृष्टिमा श्रमिक नै समाजको मेरुदण्ड हो । श्रमको मूल्य उचित पारिश्रमिकमा मात्र होइन, स्वास्थ्य, शिक्षा, आवास, सामाजिक सुरक्षा र निर्णय प्रक्रियामा बराबरीको स्थान दिनुपर्नेमा विश्वास रहन्छ । नेपालमा दैनिक ज्याला मजदुरी, असुरक्षित काम र श्रमिकको अपमान आम कुरा बनेका छन् । कम्युनिस्ट कार्यकर्ताले यस्ता शोषण विरुद्ध जोडदार संघर्ष गरेर मात्र श्रमको सम्मान सुनिश्चित गर्न सकिन्छ भन्छन ।
यो दृष्टिकोण केवल आर्थिक नीति मात्र होइन, वर्गीय युद्धको मोर्चा हो । धनी र गरिबको खाडल केवल घटाउनु मात्र हैन वर्गविहीन समाज निर्माण गर्नु यसको अन्तिम लक्ष्य हो । वर्गविहीन समाज भन्नाले जहाँ उत्पादनका साधन सबैको साझा हुन्छन्, जहाँ कसैले अरूको पसिनाबाट मुनाफा कमाउँदैन, जहाँ मालिक र मजदुरको विभाजन समाप्त हुन्छ । यस्तो समाजमा कसैलाई भोकले सताउँदैन, शिक्षा र स्वास्थ्य सबैलाई निःशुल्क र गुणस्तरीय मिल्छ । नेपालको वर्तमान असमानताले देखाउँछ कि यो सपना अझै टाढा छ, तर कम्युनिस्ट कार्यकर्ताले निरन्तर यो लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिन्छन ।
कम्युनिस्ट कार्यकर्ता जान्दछ कि विदेशी पुँजीको नियन्त्रणमा परेपछि राष्ट्रिय स्वाधीनता हराउँछ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र यसको मेरुदण्ड हो । नेपालमा विदेशबाट उधारो र सहयोगमा आधारित विकास मोडेलले देशलाई ऋण र विदेशी प्रभावमा बाँध्न पुगेको छ । कृषि, उद्योग र प्रविधिमा स्वदेशीकरण र सहकारीकरण प्राथमिक हुनुपर्छ । अन्न, ऊर्जा, औद्योगिक उत्पादनमा आत्मनिर्भर नभएसम्म स्वतन्त्रता अधुरो रहन्छ ।
सामाजिक सुरक्षा पनि यसको अभिन्न हिस्सा हो । बेरोजगारी भत्ता, वृद्धभत्ता, अपांगता सुविधा, मातृत्व संरक्षण—यी सबै अधिकार हुनुपर्छ, दया होइन । राज्यको दायित्व हो जनतालाई भोक, रोग र अपमानबाट जोगाउनु । नेपालमा यी क्षेत्रहरूमा व्यापक कमजोरी छ, जसले गरिब र श्रमिक वर्गलाई थप कमजोर बनाएको छ । कम्युनिस्ट आर्थिक दृष्टिकोणले यस्ता कमजोरीलाई चिर्दै न्याय र समता सुनिश्चित गर्नुपर्छ भन्छ ।
कम्युनिस्ट कार्यकर्ता सहकारी र सामूहिक उद्योगलाई निजी स्वार्थभन्दा माथि राख्छन । जब उत्पादनको नाफा श्रमिककै हातमा फर्किन्छ, त्यो नाफा पुनः समाजको विकासमा लगानी हुन्छ । यसरी मात्रै आर्थिक वृद्धि र सामाजिक न्याय हातमा हात मिलाउन सक्छन् । नेपालमा सहकारी आन्दोलन पनि अघि बढेको छ तर त्यसलाई अझ सुदृढ पार्न, भ्रष्टाचार हटाउन र श्रमिकको नियन्त्रणमा ल्याउन आवश्यक छ । तर नेपालमा अहिले सहकारी सस्था दलालपुँजीवादको असलि नमुना बनेको ।
पूँजीवादी संरचना शोषणको कारखाना हो, जसको पहिचान कम ज्याला, लामो समयको श्रम र असुरक्षित वातावरण हो । कम्युनिस्ट आर्थिक दृष्टिकोण यसलाई चुँडाल्ने प्रतिज्ञा हो । यसका लागि श्रमिक अधिकारको कानुनी ग्यारेन्टी, शक्तिशाली ट्रेड युनियन र श्रमिक–हितैषी नीति अपरिहार्य हुन्छ । यो दृष्टिकोण केवल आजको पिढीका लागि होइन, भोलिका पुस्ताका लागि पनि हो । त्यसैले वातावरणीय न्याय यसकै हिस्सा हो, जहाँ प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षण, नवीकरणीय ऊर्जाको प्रयोग र प्रदूषणमुक्त उत्पादनलाई प्राथमिकता दिइन्छ ।
कम्युनिस्ट कार्यकर्ताको आर्थिक दृष्टिकोणलाई व्यवहारमा उतार्न जनचेतना निर्माण, वैकल्पिक संरचना निर्माण र नीतिगत तथा सडक संघर्षको त्रिवेणी आवश्यक हुन्छ । जनतालाई वर्गसंघर्षको वैज्ञानिक सिद्धान्त बुझाउने, सहकारी खेती, सामूहिक उद्योग, श्रमिक–स्वामित्व कम्पनी जस्ता अभ्यास गरेर विकल्प देखाउने, र संसदभित्र नीति बदल्ने तथा सडकमा संगठित जनदबाब सिर्जना गर्ने निरन्तर अभियान चलाउनुपर्छ ।
कम्युनिस्ट कार्यकर्ताले आफूलाई मात्र होइन, सम्पूर्ण जनताको हितमा काम गर्नुपर्छ भन्ने सिद्घान्तमा अडिग हुनुपर्छ । भ्रष्टाचार, आर्थिक अनियमितता र व्यक्तिगत आर्थिक लाभको लागि महत्वाकांक्षा कम्युनिस्ट सिद्धान्त र मूल्यहरूको प्रतिकूल हुन्छ । जसरी उत्पादनका साधन जनताको सामूहिक सम्पत्ति मानिन्छ, त्यसैगरी कार्यकर्ता र पार्टी पदाधिकारीहरूलाई पनि आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने जिम्मेवारी हुन्छ ।
कुनै पनि कम्युनिस्ट सदस्यले भ्रष्टाचारमा लिप्त भएर जनताको विश्वास गुमाउनु भनेको वर्गसंघर्षमा शक्तिशाली हात आफैंले कमजोर बनाउनु हो । यस्तो कमजोरीले पूँजीवाद विरोधी संघर्षलाई कमजोर पार्छ र वर्गशोषणको पुनरुत्थानको बाटो खोल्छ । त्यसैले कम्युनिस्ट कार्यकर्ता आर्थिक दृष्टिले सादा, अनुशासित र पार्टीको सिद्धान्त अनुसार मात्र जीवन यापन गर्नुपर्छ । व्यक्तिगत महत्वाकांक्षा, स्वार्थ वा धनसञ्चयले आन्दोलनको शुद्धता नष्ट हुन्छ ।
यसैकारण कम्युनिस्ट पार्टीहरूमा पारदर्शिता, जवाफदेहिता र आन्तरिक अनुशासनको कडा पालना अनिवार्य छ । भ्रष्टाचारविरुद्ध निरन्तर सचेतनाको साथै, गल्ती गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ । यसो नहुँदा पार्टीको वैधता र जनविश्वास दुबै संकटमा पर्छ ।
यसरी मात्रै कम्युनिस्ट आर्थिक दृष्टिकोण सच्चा क्रान्तिकारी नेतृत्व र सशक्त जनआन्दोलनका साथ सफल हुन सक्छ । यो दृष्टिकोण केवल एक आर्थिक मोडेल मात्र होइन, यो सबैको समान अधिकार र न्यायको प्रतिज्ञा हो । जहाँ कुनै व्यक्तिले आफ्नो मेहनतले प्राप्त सम्पत्तिमा अस्वाभाविक रूपमा कब्जा जमाउन नपाओस्, जहाँ सामाजिक सुरक्षा सबैको अधिकार हो र जहाँ वातावरण र मानव जीवनको सम्मान सर्वोपरि हुन्छ ।
कम्युनिस्ट आर्थिक दृष्टिकोणको सबैभन्दा ठूलो शत्रु आजको स्वार्थी, भ्रष्ट र वर्गीय दलालहरू हुन्, जसले जनतालाई भड्काएर आफ्नै स्वार्थ पूरा गर्न खोज्छन् । यस्तो शक्तिविरुद्ध कटिबद्धता, एकता र निरन्तर क्रान्तिकारी संघर्षले मात्रै यो दृष्टिकोणलाई सफल बनाउन सक्छ ।
यसैकारण कम्युनिस्ट कार्यकर्ताले भन्छन्– हाम्रो आर्थिक दृष्टिकोण मानवता र समानताको पक्षमा अडिग छ । जबसम्म सम्पूर्ण उत्पादनका साधनमा जनताको अधिकार आउँदैन, तबसम्म शोषणको ज्वाला निभ्दैन । त्यसैले हामी सधैं तयार छौँ, संघर्षमा, संगठनमा र जनताको पक्षमा अडिग रहन । त्यस दिन, जब श्रमिक वर्गले आफ्नो शक्ति आत्मसात् गर्छ, तब मात्र यो दृष्टिकोण सपनाबाट यथार्थमा परिणत हुनेछ । यहि नै कम्युनिस्टहरूको सहि आर्थिक दृष्टिकोण हो ।