मोहनविक्रम सिंह ##
यो लेखको पहिलो भागमा का. अजितको मनोगत संवादबारे लेखिएको थियो । प्रस्तुत लेखमा का. जलजलाको मनोगत संवादबारे लेखिएको छ । त्यसपछि क्रमशः सुनन्दा, का. गढवाली तथा डा. जगदीश, विद्या रोका र दिव्यासमेतको मनोगद संवादबारे प्रकाश हाल्ने प्रयत्न गरिनेछ ।
मनोगत संवादको अर्थ हुन्छ, उपन्यासका पात्रको आन्तरिक पक्ष अर्थात् उनीहरूका विचार, मनका भाव, अन्तरङ्ग संवाद आदिबारे चर्चा गर्नु । उपन्यासमा बाह्य पक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । बाह्य पक्ष भन्नुको अर्थ बाह्य घटना तर कामरेड जलजला उपन्यासमा पात्रको आन्तरिक पक्षको पनि महत्त्वपूर्ण भूमिका रहेको छ, जसलाई यहाँ समग्र रूपमा मनोगत संवाद भनेर उल्लेख गरिएको छ ।
प्रस्तुत उपन्यासमा कामरेड जलजलाको भूमिका का. अजितको भन्दा अवश्य पनि केही बढी छ तर समग्र रूपमा उनको भूमिका पनि अत्यन्त कम छ । उनी एकैपल्ट उपन्यासको पाँचौँ भागमा देखा पर्दछिन् र छैटौँ भागमा उनको निधन पनि हुन्छ तैपनि उपन्यासमा सुरुदेखि अन्त्यसम्म उनको नै चर्चा छ । यसरी पूरै उपन्यास सुरुदेखि अन्त्यसम्म उनको वरिपरि नै घुम्दछ भने पनि सायद अतिशयोक्ति हुने छैन ।
प्राक्कथनको प्रारम्भ उनीबाट नै सुरु हुन्छ । उपन्यासको पहिलो परिच्छेद कौसानीको मुख्य विषयवस्तु का. अजितले उनका विषयमा लेखेको लेख ‘कामरेड जलजला’ नै हुन्छ । सुनन्दाले छिट्टै उनको जीवनमा प्रवेश गर्दछिन् र उनले उनको कथाप्रवाहलाई लगातार अगाडि बढाउँछिन् ।
उनी कामरेड जलजलालाई खोज्न नेपालतिर प्रवेश गर्दछिन् र त्यसपछि उपन्यासका घटनाक्रम उनलाई खोज्ने क्रममा नै अगाडि बढ्न थाल्दछन् । पछि दिल्लीमा एउटा बस दुर्घटनामा जलजलाको मृत्यु हुन्छ । त्यसपछि उनी डा. जगदीशको विवाहको प्रस्ताव स्वीकार गरेर उनीसित विवाह गर्न रुसतिर जान्छिन् तर त्यो यात्राको दौरानमा पनि उनको सम्पूर्ण चिन्तन जलजलाको वरिपरि नै घुमिरहेको हुन्छ । पछि डा. जगदीशसितको विवाहलाई अस्वीकार गरेर उनी भारतमा फर्किन्छिन् तैपनि उनको मन र मस्तिष्कमा जलजला नै बसेकी हुन्छिन् । पछि जलजलाको मृत्युबाट अजितको जीवनमा पुगेको क्षतिलाई पूरा गर्न उनलाई खोज्न नेपालतिर लाग्दछिन् । त्यो क्रममा उनी सम्पूर्ण रूपमा जलजलामा रूपान्तरित हुन्छिन् र अजितसित उनको विवाह पनि हुन्छ ।
त्यसरी उपन्यासमा कामरेड जलजलाको भूमिका अत्यन्तै सीमित हुन्छ तैपनि उनी उपन्यासको सुरुदेखि अन्त्यसम्म फैलिएकी हुन्छिन् । निश्चय नै उनको कथाको प्रवाहलाई अगाडि बढाउन मुख्य भूमिका सुनन्दाको नै रहेको हुन्छ । त्यसैले प्राक्कथनमा लेखिएको छ– “जलजलाबारे लेखिएको यो उपन्यास सुनन्दाविना अगाडि बढ्न सक्दैन । उपन्यासले गति लिन सक्दैन ।”
उपन्यासमा कामरेड जलजलाको भूमिका अत्यन्त कम वा सीमित रहे पनि त्यसमा उनको मनोगत पक्ष भने एकदम कम रहेको छैन । उपन्यासमा उनी सर्वप्रथम अन्तरिक्षमा देखिन्छिन् । पृथ्वीको गुरुत्वाकर्षणबाट निस्केर चन्द्रमातिर गइरहेको देखिन्छिन् । त्यसरी अन्तरिक्षको परिभ्रमणको क्रममा उनका मनमा कैयौँ प्रकारका भावना उद्वेलित भएका देखिन्छन् ।
चन्द्रमाको सतहमा पुगेपछि उनले त्यसप्रति आत्मीयता अनुभव गरिन् किनभने त्यो पृथ्वीबाट उछिट्टिएका चट्टान मिलेर बनेको थियो । त्यसकारण त्यसको पृथ्वीसित नजिकको सम्बन्ध थियो । त्यसपछि उनी चन्द्रमाको सतहबाट उठेर सूर्यको नजिक पुगिन् ।
सूर्यमा पुगेपछि उनको ध्यान यो कुराप्रति गयो कि करिब पाँच अरब वर्षपछि त्यसको पनि अन्त्य हुनेछ । त्यो कुराबाट उनको मनमा एउटा दुःखको भाव पैदा भयो । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “यो सोचेर उनी दुखित बनिन्, अन्तमा सूर्यको पनि नाश हुनेछ । त्यसको करिब १० अरब वर्षको आयु । मानिसको आयुको तुलनामा त्यो अकल्पनीय थियो तैपनि आखिरमा सूर्यको पनि अन्त हुने निश्चित थियो…।”
“त्यो सोच्दासोच्दै उनले आफ्नाबारे पनि सोचिन् । त्यसरी उनको पनि अन्त अवश्यम्भावी थियो । हो, त्यो अवश्यम्भावी थियो तर उनी मर्न चाहँदिनथिन् । उनी बाँच्न चाहन्थिन् । लामो समयसम्म बाँच्न चाहन्थिन् । बाँचेर धेरै काम गर्न चाहन्थिन् । सम्पूर्ण जीवन पार्टी र क्रान्तिका लागि समर्पित गर्न चाहन्थिन् ।”
“मृत्यु उनका अगाडि आउन सक्थ्यो तर त्यसका लागि चिन्ता गर्नुपर्ने आवश्यकता थिएन । जबसम्म उनी बाँच्थिन्, आफ्नो उद्देश्य पूरा गर्नका लागि लगातार सक्रिय हुनु उनको कर्तव्य हुन्थ्यो ।”
उनलाई त्यो बेला थाहा थिएन तर उनको मृत्यु छिट्टै उनका अगाडि आउँदै थियो तर उनले त्यो बेला जे सोचिरहेकी थिइन्, त्यो गम्भीर दार्शनिक महत्त्वको कुरा थियो । मृत्यु कुनै पनि मानिसको जीवनमा कुनै पनि बेला वा कुनै पनि क्षण आउन सक्दछ तर कुनै पनि व्यक्तिले मृत्युको कुनै पनि चिन्ता नगरीकन आफ्नो कर्तव्यबारे सोचिरहनुपर्दछ र आफ्नो लक्ष्यतर्फ लगातार अगाडि बढिरहनुपर्छ । जलजलाले त्यो बेला जे सोचिरहेकी थिइन्, त्यसअनुसार नै उनी लगातार आफ्नो लक्ष्यतिर बढिरहेकी थिइन् । उनको मृत्यु भयो । त्यसकारण त्यसैले त्यसबारे हामीलाई थाहा भयो तर कुनै पनि क्षण हाम्राअगाडि मृत्यु आउन सक्दछ । त्यसबारे कुनै चिन्ता नगरीकन बाचुन्जेल हामी आफ्नो लक्ष्यतिर बढिरहनुपर्छ ।
उपन्यासमा अगाडि लेखिएको थियो– “सूर्य संसारभरका क्रान्तिकारीको आदर्श थियो । क्रान्तिको प्रतीक थियो । त्यसले सबैतिर प्रकाश फैलाउँथ्यो । क्रान्तिको सन्देश फैलाउँथ्यो ।”
अहिले उनले अनुभव गरिरहेकी थिइन्, सूर्यबाट निस्केका ज्वाला उनीमाथि आइरहेका थिए । उनी पूरै नै सूर्यबाट निस्केका ज्वालामा डुबेकी थिइन् । उनी रक्तवर्ण सूर्यमा परिणत भएकी थिइन् । त्यसबाट उनलाई असीम शक्ति प्राप्त भएको अनुभूति भइरहेको थियो । क्रान्तिको वेदीमा सम्पूर्ण रूपले आफूलाई होम्नका लागि असीम ऊर्जा प्राप्त भएजस्तो अनुभव भइरहेको थियो । उनलाई यस्तो अनुभव भइरहेको थियो, उनी अजेय बनेकी थिइन ।
अब उनलाई यस्तो लाग्न थालिरहेको थियो, उनी संसारभर व्याप्त शोषण, उत्पीडन र असमानतामाथि, सबै प्रतिक्रियावादी व्यवस्थामाथि विजय प्राप्त गरेर नयाँ स्वर्णिम जीवनको झन्डा फहराउन सफल हुनेछन् । अब कसैले पनि उनको गतिलाई रोक्न सक्दैनथ्यो । उनको वेगलाई रोक्न सक्दैनथ्यो ।
जलजला बुधग्रहमा गइन् । त्यहाँबाट छिट्टै शुक्र ग्रहमा पुगिन् । त्यो ग्रह धेरै राम्रो थियो र त्यसैले त्यसलाई प्रेमकी रानी भनेर पनि सम्बोधन गर्ने गरिन्छ तर यो सोचेर उनलाई दुःख लागेको थियो कि उनी एक्लै थिइन् । अजितसँगै नभएकोमा उनलाई नरमाइलो लागिरहेको थियो । त्यति राम्रो ग्रहमा सँगै घुम्न पाएको भए उनीहरू दुवैलाई कति धेरै खुसी लाग्ने थियो ?

उनी छिट्टै मङ्गल ग्रहतिर पुगिन् । त्यहाँ ठुल्ठुला ज्वालामुखी उठेको देखिन्थ्यो । ती धेरै माथि आकाशसम्म पुग्दथे । कुनै कुनै ज्वालामुखी ता सगरमाथाभन्दा तीन गुणा माथिसम्म पुग्दथे । ती ज्वालामुखी देखेर उनले महसुस गर्दथिन्, तिनीहरू क्रान्तिका ज्वालामुखी थिए । त्यहाँ संसारभरिका लाखौँ, करोडौँ, अरबौँ जनताको इन्कलाबको आवाज गुञ्जिरहेको थियो । उनी आत्मविभोर हुन्थिन् । उनलाई लाग्यो, ती क्रान्तिका ज्वालालाई कहिल्यै कसैले दबाउन सक्ने छैन । तिनीहरूले सम्पूर्ण संसारमा परिवर्तन र क्रान्ति ल्याउनेछन् ।
मङ्गल ग्रहमा ठुला ठुला घाँटी थिए । तिनीहरूमध्ये एउटा घाँटी चार हजार किमि लामो, दुई सय किमि चौडा र ६ किमि गहिरो थियो । ती घाँटीमा हिउँ भरिएको थियो ।
“जलजला केही बेरसम्म एक्लै हिउँमा खेलिन् । उनले चिच्याएर अजितलाई भन्न खोजिन्– ‘कस्तो लाग्यो मङ्गल ग्रह ? यहाँ घर बनाएर बस्न पाए हुने ?’ उनलाई अजितले हाँस्दै सोधेजस्तो लाग्यो, ‘बरफको घर बनाउने ?’
“हो बरफको घर । आकाश छुने घर’ जलजलाले भनिन्– ‘अनि हामीले हाम्रा सबै साथीलाई यही बोलाउँला । संसारभरिका शोषितपीडित जनतालाई यहीँ ल्याउँला । यहाँ कुनै अन्याय हुने छैन । शोषण र उत्पीडन हुने छैन । सबै स्वतन्त्र हुने छन् । सबै सुखी हुनेछन् । यो हाम्रो नयाँ संसार हुने छ । मार्क्सले कल्पना गरेजस्तो साम्यवादी संसार, वर्गविहीन र शोषणविहीन समाज ।”
उनले एक्लै कैयौँ बेरसम्म अजितसित मनमनै कुरा गरिरहिन् । उनले प्रायः त्यस्तै गर्दथिन् । जब उनी एक्लै हुन्थिन्, अजितसित दोहोरो कुरा गरिरहेकी हुन्थिन् । त्यसो गर्दा उनलाई आनन्द लाग्थ्यो । उनी एक्लै भए पनि अजितसँगै भएजस्तो लाग्थ्यो । कल्पनामा भए पनि अजितसित सँगै हुन पाउँदा उनलाई धेरै प्रसन्नताको अनुभूति हुन्थ्यो ।
उपन्यासमा लेखिएको छ– “उनलाई यो पनि लागेर आयो, केही पर ठुलो जनसमूहको जुलुस आइरहेको थियो । उनीहरूको हातमा एउटा ठुलो हँसियाहथौँडाअङ्कित झन्डा थियो । त्यो झन्डा आकाशसम्म फैलिएको थियो । उनीहरूले जोडजोडले नारा लगाइरहेका थिए– ॅइङ्क्लाब जिन्दावाद झ् क्रान्ति अमर रहोस् !”
त्यो जुलुसका अगाडि अगाडि अजित पनि थिए । उनी दगुर्दै गइन् र त्यो जुलुसमा सामेल भइन् । उनले अजितले समातेको झन्डा समातिन् र उनले पनि जोडसित नारा लगाउन थालिन्–’इङ्क्लाब जिन्दावाद झ् क्रान्ति अमर रहोस्’ । त्यो आवाज टाढाटाढासम्म फैलियो । आकाश र धर्ती सबैतिर प्रतिध्वनित भयो ।
केही बेरमा उनी शनि ग्रहमा पुगिन् । शनि अन्य ग्रहभन्दा केही बेग्लै र विचित्र प्रकारको नै थियो । त्यो सौर्यमण्डलको सबैभन्दा सुन्दर र मनमोहक ग्रह थियो । त्यसका वरिपरि औठीजस्तो चम्किलो माला थियो । त्यो ग्रह हेर्दामा धेरै राम्रो थियो । त्यो मालाले त्यसको सुन्दरतालाई कैयौँ गुना बढाएको थियो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “सायद त्यसैले होला, खगोलशास्त्रीले त्यसलाई ग्रहकी रानी भन्ने गर्दथे ।”
त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “त्यो ग्रहलाई देख्नेबित्तिकै उनले पुनः अजितलाई सम्झिन् । उनले भनिन्– “हेर्नुहोस् अजित, यति राम्रो ग्रहबारे मानिसले कतिका आक्षेप लगाउने गरेका छन् ? त्यसलाई अशुभ र अनिष्टकारी ग्रह बताउने गरेका छन् । शनि ग्रह लाग्यो भनेर दोष दिने गरेका छन् । यति सुन्दर ग्रहले पनि कसैलाई नराम्रो गर्न सक्छ ?”
उपन्यासमा अगाडि लेखिएको थियो– “अजित उनीसित सँगै थिएनन् । सायद उनी अहिले नेपालको कुनै गाउँ वा पहाडमा, ओरालोउकालो बाटोमा रातमा एक्लै हिँड्दै थिए । सायद पुलिसबाट बच्न भाग्दै थिए । कैयौँ जङ्गल, पहाड वा गुफामुनि बसेर रातको प्रतीक्षा गर्दै थिए होलान् । रात परेपछि कतै जान ।
शनिजस्तो सुन्दर ग्रहमा अजितसँग घुम्न नपाउँदा उनलाई धेरै दुःख लागेर आयो तैपनि उनले दुखित मनले पुनः शनिको भ्रमण गर्न थालिन् ।
शौर्यजगत्लाई पार गरेपछि उनी दुधपथ (मिल्की वे) आकाशगङ्गामा पुगिन् । उनले केही बेरसम्म त्यो आकाशगङ्गाको यात्रा गरिरहिन् । “त्यहाँ अरबौँ तारा देखिन्थे । त्यसको उपमा केसित दिने ? त्यसका लागि संसारको कुनै चिजको उदाहरण दिन सकिँदैनथ्यो तैपनि उनलाई लाग्यो त्यसलाई कुनै फूलबारीसित तुलना गर्न सकिन्थ्यो । कुनै ठुलो फूलबारी अत्यन्त ठुलो र अकल्पनीय ठुलो फूलबारी । लाखौँकरोडौँ प्रकारका बेग्लाबेग्लै रङ्गका फूल फुलिरहेको फूलबारी ।”
त्यो दृश्य देखेर उनी भावविह्वल भइन् । कति सुन्दर थियो अन्तरिक्षको त्यो दृश्य ?
अन्तरिक्षमा दुधपथ आकाशगङ्गाभन्दा धेरै ठुला, कैयौँ गुणा धेरै ठुला आकाशगङ्गा देखिदै गए र उनले देखेजति सबै आकाशगङ्गा र तारामण्डलको यात्रा गर्दै गइन् तर उनलाई लाग्यो, त्यो ब्रह्माण्ड उनले जति देखेकी थिइन्, त्योभन्दा कैयौँ गुणा ठुलो थियो । ज्ञात ब्रह्माण्डबाहेक ब्रह्माण्डको कैयौँ ठुलो गुणा भागमा अन्धकार व्याप्त थियो । उनी सुदूर अन्तरिक्षको यात्रा गरेर पृथ्वीतिर फर्किन् ।
उनको पृथ्वीतिर फर्कन थालेको यात्राको चर्चा गर्दै उपन्यासमा लेखिएको थियो– “जलजला सुदूर अन्तरिक्षको यात्रा समाप्त गरेर पृथ्वीतिर फर्किन् ।”
टाढैबाट जलजलाले पृथ्वीलाई देखिन् । त्यो एउटा निलोगोलो पिण्डजस्तै थियो, एउटा फुटबलजस्तै । त्यो आकाशमा घुमिरहेको थियो । उनले मन्त्रमुग्ध जस्तै भएर त्यो पिण्डलाई हेरिरहिन् ।
त्यो उनको पृथ्वी थियो । आफ्नो पृथ्वी । उनको मनमा त्यसप्रति अगाध स्नेह र आत्मीयताको भाव पैदा भयो ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “आज प्रथमपल्ट सम्पूर्ण पृथ्वीप्रति उनका मनमा अगाध स्नेह र आत्मीयताको भाव पैदा भएको थियो । उनलाई यस्तो अनुभूति भइरहेको थियो, सम्पूर्ण संसार नै उनको घर थियो । संसारका सारा मानिस उनको परिवारका सदस्य थिए ।”
“उनले संस्कृतका कतिपय ग्रन्थमा विश्वबन्धुत्वको भावबारे पढेकी थिइन् तर अहिलेसम्म उनका लागि त्यो एउटा अर्थहीन शब्द मात्र थियो । आज उनले विश्वबन्धुत्वको भावनाको प्रत्यक्ष रूपले नै अनुभूति गरिरहेकी थिइन् । उनलाई यस्तो लागिरहेको थियो, उनको सम्पूर्ण शरीर, शरीरका सबै अङ्ग, उनको शरीरका सबै नसा र उनका सबै भावना विश्वबन्धुत्व भावले ओतप्रोत भएका थिए । त्यसरी उनी चरम सुख र आनन्दको अवस्थामा पुगेकी थिइन् ।
जीवनमा उनले प्रथमपल्ट त्यस प्रकारको अनुभूति गरेकी थिइन् ।”
आज उनका लागि पृथ्वीको महत्त्व पहिलेभन्दा कैयौँ गुणा बढेर गएको थियो । उनले ब्रह्माण्डका कैयौँ तारा र तारामण्डलको भ्रमण गरेकी थिइन् तर यो देखेर उनलाई धेरै नै आश्चर्य र दुःख पनि लागेको थियो कि त्यति ठुलो विशाल अन्तरिक्षमा अन्यत्र कतै पनि जीवनको सङ्केत पाइएको थिएन । त्यहाँ पृथ्वी मात्र होइन, सूर्यभन्दा पनि कैयौँ गुणा ठुला तारा थिए तर सबै जड । सबै निर्जीव चेतनाबाट शून्य । त्यहाँ जीव र चेतनाको कुरा परै छ, हावा र वनस्पतिसम्म पनि कतै विद्यमान थिएन । यो सम्भावनालाई अस्वीकार गर्न सकिदैनथ्यो कि त्यो विराट ब्रह्माण्डमा जीव र चेतना भएका विभिन्न प्रकारका प्राणीको बसोबास भएका अन्य ग्रह पनि हुन सक्थे तर उनले आफ्नो अन्तरिक्षको भ्रमणको बेलामा कतै पनि त्यस प्रकारका ग्रह देख्न सकेकी थिइनन् वा कुनै प्रकारका प्राणीसित उनको भेट हुन सकेको थिएन । त्यसरी उनलाई थाहा भएसम्म सम्पूर्ण ब्रह्माण्डमा पृथ्वी नै एउटा ग्रह थियो । जहाँ जीवन र चेतना थियो, जहाँ हावा विद्यमान थिए, जहाँ वनस्पतिका कारणले सारा संसार हरियो देखिन्थ्यो ।
कति राम्रो थियो उनको पृथ्वी । सारा ब्रह्माण्डमा त्यो एउटा मोत जस्तै थियो । जीवन र हरियालीले भरिपूर्ण पृथ्वी !
उनले पुनः भावविभोर भएर शिर निहुराएर पृथ्वीलाई ढोगिन् । उपन्यासमा लेखिएको छ– पृथ्वीमा फर्कदा “उनको ध्यान पृथ्वीको सबैभन्दा अग्लो शिखर सगरमाथातिर गयो । सूर्यका रक्तिम किरण प्रतिबिम्बित भएर त्यहाँको दृश्य धेरै सुन्दर देखिएको थियो ।”
“यो सोचेर उनले मनमनै एक प्रकारको गर्वको अनुभूति गरिन् कि संसारको त्यो सबैभन्दा अग्लो हिमशिखर उनको देश नेपालमा थियो ।”
उनले अन्तरिक्षबाट सम्पूर्ण पृथ्वीको परिक्रमा गर्न थालिन् । उनी संसारका कैयौँ सुन्दर दृश्य, महाद्वीप, महासागर वा कैयौँ देशमाथि उडिरहेकी थिइन् । त्यसरी पृथ्वीको परिक्रमा गर्दा उनका मनमा कैयौँ विचार वा भाव आउने र जाने गरिरहेका थिए ।
उपन्यासमा लेखिएको थियो– पृथ्वी छिटोछिटो घुमिरहेको थियो । उनका आँखाअगाडि पृथ्वीका बेग्लाबेग्लै दृश्य आउँदैजाँदै गरिरहेका थिए । उनका आँखाकाअगाडि अकस्मात् एउटा ठुलो जङ्गलको दृश्य आयो । त्यो अमेजनको जङ्गल थियो । उनलाई लाग्यो, सायद त्यहाँ पहिले कुनै सभ्य जातिको बस्ती थियो । उनीहरूले नै ती आकृतिको निर्माण गरेको हुन सक्दथ्यो । प्राचीनकालका कैयौँ सभ्यता नष्ट भएका उदाहरण इतिहासकारले पत्ता लगाएका थिए† जस्तै कि मध्यअमेरिकाको माया सभ्यता, सिन्धुघाँटीको सभ्यता, बेबिलोन र मेसोपोटामियाको सभ्यता आदि । अमेजनमा पनि त्यही प्रकारको कुनै सभ्यता रहेको र पछि त्यो सभ्यता समाप्त भएर त्यो पूरै क्षेत्र जङ्गलले ढाकिएको हुन सक्थ्यो अन्यथा त्यहाँ त्यस प्रकारका विशाल आकृतिको निर्माण कसरी हुन सक्थ्यो ?
“उनले सम्झिन्, कपिलवस्तु र लुम्बिनीमा पनि प्राचीनकालमा उच्च प्रकारका सभ्यता थिए तर पछि त्यो क्षेत्र पूरै नै जङ्गलले ढाकिएको थियो । सयकडौँ शताब्दीसम्म त्यो क्षेत्र अज्ञात रहेको थियो तर पछि इतिहासकार, शोधकर्ता र पुरातत्वशास्त्रीको अथक प्रयत्नका कारणले लुम्बिनी र कपिलवस्तुहरू प्रकाशमा आएका थिए ।
कामरेड जलजलाले सोचिन्, कुनै दिन कमसेकम माया सभ्यता, सिन्धुघाँटीको सभ्यता आदि जस्तै अमेजनको प्राचीन सभ्यताबारे पनि विश्वलाई ज्ञान हुनेछ ।”
उनको ध्यान संसारका विभिन्न देशतिर जान थाल्यो । पृथ्वीको ठुलो भाग उत्तरी गोलार्धमा नै रहेको थियो । जलजलाले एसियाको सुदूर पूर्वतिर हेर्न थालिन् । त्यहाँ जापान थियो, सूर्योदयको देश । त्यो देशले थोरै समयमा कति धेरै उन्नति गरेको थियो ? त्यो देशको उन्नतिका कारणले सम्पूर्ण एसियाको शिर उचा भएको थियो तर त्यो उन्नतिले सीमा नाघ्यो । त्यसले चीन र दक्षिण पूर्वी एसियामाथि विजय प्राप्त गरेर विशाल साम्राज्य कायम गर्ने प्रयत्न गऱ्यो । त्यही महत्त्वाकाङ्क्षा त्यसको दुर्गति र पतनको कारण बन्यो ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “जर्मनीले पनि हिटलरको नेतृत्वमा थोरै समयमा नै चामत्कारिक प्रकारको उन्नति गरेको थियो तर त्यो उन्नति फासिवाद र विश्वयुद्ध, ठुलो पैमानामा नरसंहारका रूपमा परिणत भएको थियो । जर्मनी दार्शनिक र सांस्कृतिक रूपले धेरै नै उन्नत भएको देश थियो । तर, त्यो देश हिटलरको अन्धजातिवादी वा फासिवादी विचारको असरमा आएको थियो ।
“उनका कानमा हिटलरको शासन कालका फासिवादी आतङ्क र यातनाका कारणले युरोपका विभिन्न देशमा उठिरहेका आन्दोलनका आवाज गुञ्जन थाले । उनका आँखाका अगाडि युरोपका विभिन्न देशमा बनेका कन्सेन्ट्रेसन क्याम्प वा ग्यास च्याम्बरका दृश्य घुम्न थाले । लाखौँ मानिस, वृद्ध, महिला र बालबालिकामाथिका पाशविक यातना, क्रुर हत्या र क्रुरतम अत्याचारका दृश्य घुमे । कति बर्बर र अमानवीय दृश्य थिए ती ?
समाजको विकासको गङ्गा किन उल्टो दिशामा बग्ने गर्दछ ? उनी मनमनै दुखित भइन् । अहिलेसम्म मानव समाजले ज्ञानविज्ञानको क्षेत्रमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । जङ्गली युग, ढुङ्गेयुगको मानव जाति आज सभ्यताको कति उच्च शिखरमा पुगेको थियो ? मानव जातिले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि पूरै नै मानव जातिको हितमा लाग्न सकेको भए विश्व स्वर्ग बन्न सक्ने थियो ।”
उपन्यासमा लेखिएको छ– “उनले मनमनै सोचिन्, कुनै व्यक्ति वा देशले उन्नति गरेपछि अरूको पनि उन्नतिका लागि प्रयत्न गर्नुपर्दथ्यो तर त्यसका विपरीत मानिसहरू किन अरूलाई दबाएर वा पराधीन गराएर माथि उठ्न प्रयत्न गर्दछन् ? त्यही कारणले नै मानव जातिको उन्नतिमा बारम्वार बाधा पुग्ने गरेको थियो । समाजमा अवनति हुने गरेको थियो ।
जर्मनीले पनि हिटलरको नेतृत्वमा थोरै समयमा नै चामत्कारिक प्रकारको उन्नति गरेको थियो तर त्यो उन्नति फासिवाद र विश्वयुद्ध, ठुलो पैमानामा नरसंहारका रूपमा परिणत भएको थियो । जर्मनी दार्शनिक र सांस्कृतिक रूपले धेरै नै उन्नत भएको देश थियो तर त्यो देश हिटलरको अन्धजातिवादी वा फासिवादी विचारको असरमा आएको थियो ।”
पृथ्वीको परिक्रमा गर्दागर्दै जलजलाको ध्यान स्वर्गतिर गयो । त्यो धार्मिक र काल्पनिक अवधारणा थियो । त्यसकारण त्यसमाथि उनको विश्वास थिएन तैपनि उपन्यासमा लेखिएको थियो– “त्यो काल्पनिक धारणा भए पनि त्यो कल्पनालाई व्यावहारिक रूप दिनु सम्भव थियो । अहिलेसम्म मानव समाजले प्राप्त गरेका संसारलाई स्वर्ग बनाउनु सम्भव थियो । अहिलेसम्म संसारमा जति उन्नति भएको थियो, त्योभन्दा कैयौँ गुणा बढी उन्नति सम्भव थियो तर त्यसको विपरीत समाज नर्क बनेको थियो ।
बाहिर मानिस हाँसेका देखिन्थे तर समाजमा विद्यमान शोषण, उत्पीडन, कैयौँ प्रकारका अन्याय, अत्याचार, प्रताडना वा भेदभाव—ती सबै कारणले गर्दा मानिस भित्रभित्रै रोइरहेका हुन्थे । मुखमा हाँसो, मनमा आँसु । त्यो जीवनको वास्तविक रूप थियो । उनले मनमनै समाजमा विद्यमान सबै शोषण, उत्पीडन, अन्याय, अत्याचार र सङ्कटबाट मुक्त एउटा स्वतन्त्र, सुखी र सुन्दर मानव समाजको कल्पना गरिन् ।”
जलजलाको ध्यान जापानको पश्चिममा रहेको चीनतिर गयो । त्यो अत्यन्त पुरानो र प्राचीन सभ्यता भएको संसारको नै एउटा महान् देश थियो ।
शताब्दीयौँसम्म त्यहाँ सामन्ती व्यवस्था थियो तर “माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले त्यहाँ भएका अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषणका विरुद्ध ठुलो र लामो क्रान्तिकारी सङ्घर्ष गरेको थियो । त्यहाँ पहिले नयाँ जनवादी क्रान्ति सफल भएको थियो भनेपछि त्यहाँ समाजवादी व्यवस्थाको निर्माण भएको थियो तर त्यहाँ पुनः कम्युनिस्ट पार्टी र समाजवादको गर्भबाट पुँजीपति वर्गको जन्म भएको थियो । त्यसका विरुद्ध माओले महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरे तर त्यो असफल भयो । त्यहाँ पुनः पुँजीवादको पुनर्स्थापना भएको थियो । त्यो इतिहासको नै अत्यन्त ठुलो दुखान्त घटना थियो ।”
जलजलाको ध्यान चीनसित जोडिएको रुसको सोभियत सङ्घको विशाल भूभागतिर गयो । त्यो संसारको नै सबैभन्दा बढी क्षेत्रफल भएको देश थियो । त्यहाँ मानव जातिको इतिहासमा नै प्रथमपल्ट समाजवादी क्रान्ति भएको थियो । लेनिनको नेतृत्वमा त्यहाँ समाजवादी क्रान्ति भएको थियो र स्तालिनको नेतृत्वमा समाजवादको उच्च विकास भएको थियो तर त्यहाँ समाजवादी क्रान्ति वा समाजवादको विकास सामान्य प्रकारले भएको थिएन । जलजलाको मस्तिष्कमा समाजवादी क्रान्ति र समाजवादको विकासका लागि भएका सङ्घर्ष, क्रान्ति, युद्ध र त्यसको लागि रुसी जनताले प्रदर्शन गरेको महान् वीरता, त्याग र बलिदानका इतिहासका पाना घुम्न थाले । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको थियो– रुसमा “त्यो देशमा समाजवादको निर्माणका लागि कैयौँ युद्ध भएका थिए । महान् क्रान्ति भएका थिए । गृहयुद्ध भएका थिए । द्वितीय विश्वयुद्धका बेलामा स्तालिनग्रादको युद्ध र लेनिनग्रादको जर्मन नाकाबन्दीका विरुद्ध त्यहाँका जनताले देखाएको महान् वीरताका दृश्य उनका आँखाका अगाडि कैयौँ बेरसम्म घुमिरहे । रुसको क्रान्ति र नवनिर्माणको गौरवपूर्ण इतिहास थियो । त्यो सम्पूर्ण इतिहासका पाना उनको मस्तिष्कमा घुम्न थाले ।
तर अपशोच ! त्यहाँ पनि प्रतिक्रान्ति भएर समाजवादको पतन र पुँजीवादको पुनर्स्थापना भएको थियो तर उनलाई पूर्वी युरोपका देशसहित सोभियत सङ्घमा समाजवादको पतन भएको भए पनि अन्त भएको लाग्दैनथ्यो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “विश्व समाजवादी व्यवस्थाको पतन भएको थियो । सायद पतन मात्र, अन्त होइन ।”
“के अब त्यहाँ पुनः समाजवादको निर्माण सम्भव होला ? के अब विश्वमा सधैँका लागि समाजवादको अध्याय समाप्त भएको थियो ? होइन, त्यसको भविष्य उज्ज्वल थियो ।
“उनको मनले समाजवाद सधैँका लागि अन्त भएको सोच्न मान्दैनथ्यो। उनका मनमा कताकताबाट एउटा सन्देश प्रतिध्वनि भएजस्तो लाग्यो, त्यो सन्देश भविष्यतिरबाट आएको थियो । भविष्यको गर्भमा क्रान्ति र समाजवादका असीम सम्भावना भरिएका थिए ।
अहिले केही बेरका लागि समाजवादी व्यवस्थाको पतन भएको थियो तर भविष्यमा त्यसको असीम शक्ति लुकेर बसेको थियो । त्यो सधैँका लागि दब्न सक्दैनथ्यो । त्यसमा विस्फोट हुनु अनिवार्य थियो ।
समाजवादको उज्ज्वल भविष्य थियो । त्यो उनको कल्पना मात्र थिएन । मानव जातिको इतिहासको विकास त्यही दिशामा अगाडि बढिरहेको थियो । भौतिक परिस्थितिले नै त्यस प्रकारको परिवर्तनका लागि आधार तयार पार्दै लगिरहेको थियो ।
उनको ध्यान सम्पूर्ण युरोपतिर गयो । उनले सोचिन्– “त्यो दर्शन, क्रान्ति र बलिदानको महाद्वीप” थियो । त्यो महाद्वीपबारे उनका मनमा कैयौँ कुरा धुमे । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको थियो– “त्यो महाद्वीप सेक्सपियर, बाल्जाक, टालस्टाय, तुर्गनेव, गोर्कीको महाद्वीप थियो । त्यही महाद्वीपमा रुसो, भोल्टेयर, कान्ट, हेगल, मार्क्स र एङ्गेल्स जन्मेका थिए ।
“यहाँबाट विश्वमा साम्राज्यवादको विस्तार भएको थियो तर त्यहीबाट साम्राज्यवाद र सम्पूर्ण पुँजीवादको अन्तका लागि क्रान्तिकारी दर्शन र आन्दोलनको पनि जन्म भएको थियो र त्यो संसारभरि फैलिएको थियो ।
“कति महान् थियो युरोपको त्यो महान् गाथा ? ज्ञान, विज्ञान, क्रान्तिकारी विचारधारा आदि सबै क्षेत्रमा युरोपको महान् देन थियो ।
उनको ध्यान क्रमश संसारका कैयौँ भूभागतिर जान थाल्यो । खाडीका देशको जीवन अत्यन्त कठिन थियो तर त्यहाँ पनि बेबिलोन र मेसोपोटामियासहित कैयौँ महान् सभ्यताको विकास भएको थियो । अफ्रिका प्राचीन सभ्यताको महान् महाद्वीप थियो । त्यही महाद्वीपमा नै संसारका कैयौँ प्रजातिको उत्पत्ति भएको थियो र उनीहरू संसारभरि फैलिएका थिए । त्यही महाद्वीपमा मिश्रको जस्तो प्राचीन सभ्यताको विकास भएको थियो । त्यहाँ पिरामिडजस्तो विशाल स्मारकको निर्माण भएको थियो । त्यहाँ प्रचुर मात्रामा हीरा र सुनका खानी थिए । त्यो प्रकृतिको महान् वरदान थियो तर त्यही वरदान उनीहरूका लागि अभिशाप र पराधीनताको कारण बनेको थियो ।
पृथ्वी आफ्नो कक्षमा छिटो छिटो घुमिरहेको थियो । उनको ध्यान पश्चिम गोलार्द्धमा गयो। उनको ध्यान सर्वप्रथम उत्तरी अमेरिकामा गयो । त्यो महाद्वीप पत्ता लागेपछि युरोपका विभिन्न जातिले त्यहाँ गएर बसोवास गरेका थिए र ती सबैको मिश्रणबाट एउटा नयाँ अमेरिकी राष्ट्रको विकास भएको थियो । त्यहाँ ज्ञानविज्ञान र उद्योगधन्दाको उच्च विकास भएको थियो । त्यसले ब्रिटिस साम्राज्यवादका विरुद्ध सङ्घर्ष गरेर आफूलाई स्वतन्त्र गराएको थियो । त्यो संसारको नै एउटा धेरै उन्नत र अत्यन्त नै शक्तिशाली देश बनेको थियो । त्यस प्रकारको उन्नति संसारको हितमा लागेको भए त्यसबाट पूरै संसारको विकास र कल्याणमा धेरै मदत पुग्ने थियो तर त्यसको उल्टो भयो ।
जलजलाले मनमनै सोचिन्– “त्यहाँ जे जति पनि विकास भइरहेको छ, त्यसबाट मानव जाति मात्रको स्वतन्त्रता सुखी जीवन शान्तिको निर्माणमा लागेको भए संसार कस्तो हुन्थ्यो होला ? तर यो कार्य त्यहाँ त्यो बेला नै सम्भव हुने छ, जब त्यहाँ क्रान्तिकारी परिवर्तन हुने छ । जब पुँजीवादी व्यवस्था समाप्त हुने छ । साम्राज्यवादको अन्त हुनेछ र पश्चिमको रातो सूर्य उदाएर त्यसबाट रक्तिम किरण पूर्वतिर फैलिनेछन् ।”
उनको ध्यान उत्तर अमेरिकाबाट दक्षिण अमेरिकामा गयो । त्यो प्राचीन माया सभ्यताको महाद्वीप थियो । त्यो सभ्यताको विकास खास गरेर मध्यअमेरिकाको आसपासमा भएको थियो । युरोपका जातिले त्यहाँ प्रवेश गर्नुभन्दा पहिले नै त्यो सभ्यताको अन्त्य भइसकेको थियो । अब त्यसका केही अवशेष मात्र पाइन्थे ।
दक्षिण अमेरिका महान् वामपन्थी आन्दोलन, गुरिल्ला सङ्घर्ष र त्यसका महान् नेताहरू चे ग्वेभारा र क्यास्ट्रोका लागि पनि प्रसिद्ध थियो ।
पृथ्वी छिट्टै घुम्यो र उनका अगाडि दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका कैयौँ देश देखा परे । ती देशमा अत्यन्त प्राचीन सभ्यता र संस्कृति भएको देश भारत पनि थियो । पश्चिमबाट आएका कैयौँ जातिले त्यसमाथि आक्रमण गर्दै र कब्जा जमाउँदै गएका थिए । दक्षिण एसिया र दक्षिण पूर्वीएसियाका अन्य कैयौँ देशमा पनि विदेशीले कब्जा जमाउँदै गएका थिए तर यो सोचेर उनले गर्व महसुस गरिन्, उनको देश नेपालमा कहिल्यै विदेशीको कब्जा भएको थिएन र त्यो सधैँ स्वतन्त्र रहेको थियो ।
भारतमा ब्रिटिस साम्राज्यवादका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास थियो । अब त्यो ब्रिटिस साम्राज्यवादबाट मुक्त भएको थियो तर यो सोचेर उनलाई दुःख लागेको थियो, ब्रिटिस शासनबाट मुक्त भएपछि भारत दुईओटा देशमा विभाजित भएको थियो : भारत र पाकिस्तान । ती दुवै देशका बिचमा धेरै नै हिंसात्मक दङ्गा भएका थिए र ती दङ्गामा लाखौँ मानिस मारिएका थिए वा विस्थापित भएका थिए । अहिले पनि भारत र पाकिस्तानका जनतामा ठुलो वैमनस्यता र शत्रुताको भाव पाइन्थ्यो र त्यो कारणले उनीहरूका बिचमा कैयौँ युद्ध पनि भइरहन्थे । ती सबै कुरा सोचेर जलजलालाई धेरै दुःख लागेर आयो ।
भारत ब्रिटिस शासनबाट मुक्त भएको थियो र त्यसपछि त्यहाँ उद्योगधन्दाको धेरै विकास पनि भएको थियो तर त्यसले विस्तारवादी रूप लिँदै गएको थियो । त्यसको त्यो विस्तारवादी स्वरूप दक्षिण एसियाका देशका लागि गम्भीर समस्या र खतरा बन्दै गइरहेको थियो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “उनलाई यो सोचेर दुःख लागिरहेको थियो कि कुनै देशको विकास हुन्छ र त्यो शक्तिशाली बन्छ । त्यसले फेरि अन्य देशमाथि आक्रमण गरेर साम्राज्यको विस्तार गर्ने प्रयत्न गर्दछ । कुनै देश स्वतन्त्र हुन्छ तर त्यसले पुनः अन्य देशप्रति विस्तारवादी नीति अपनाउन थाल्छ ।
“उनलाई लाग्यो, त्यस प्रकारको प्रवृत्ति मानव जातिको शान्ति, समृद्धि र दिगो विकासका लागि सबैभन्दा ठुलो समस्या बनेको थियो” उपन्यासमा अगाडि लेखिएको थियो– “उनका आँखाका अगाडि एकएक गर्दै दक्षिण एसियाका कैयौँ देश घुम्न थाले । बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान आदि दक्षिणपूर्वी एसियाका बर्मा, भियतनाम, कोरिया, कम्बोडिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेशिया आदि । इन्डोनेसियामा गएर उनी रोकिइन् ।”
त्यहाँ सन् १९६५ मा लाखौँ कम्युनिस्टको हत्या गरिएको थियो । त्यो अत्यन्त बर्बर र क्रुर नरसंहार थियो ।
जलजला अब पृथ्वीको सतहमा पुग्न थालेकी थिइन् । पृथ्वीमा पुग्दापुग्दै उनको ध्यान एसिया महाद्वीपको दक्षिणतिर रहेको अस्ट्रेलिया महाद्वीपतिर गयो । कङ्गारुको महाद्वीप तर उनको ध्यान धेरै बेर त्यहाँ टिकेन ।
उपन्यासमा लेखिएको छ– “उनको ध्यान नेपालतिर गयो । निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका कारणले पराधीन बनेको देश । यो सोचेर उनलाई खुसी लागिरहेको थियो कि त्यहाँ निरङ्कुश राजतन्त्रका विरुद्ध लगातार सङ्घर्ष चलिरहेको थियो । हजारौँ योद्धाले त्यो सङ्घर्षलाई अगाडि बढाइरहेका थिए । उनी पनि त्यो सङ्घर्षमा सामेल थिइन् ।”
कामरेड जलजला केही पहिले मात्र लखनऊ आइपुगेकी थिइन र सरस्वतीको घरमा सुनन्दाको प्रतीक्षा गरेर बसेकी थिइन् । उनीले हजरतगञ्जमा गएर खगोलशास्त्रसम्बन्धी दुईओटा पुस्तक किनेर ल्याएकी थिइन् । गर्मीको मौसम थियो । त्यसैले मानिसहरू कोठामा सुत्न सक्दैनथे र उनीहरू छतमा सुत्ने गर्दथे । कामरेड जलजला पनि सरस्वतीसँगै छतमा सुतेकी थिइन् ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “जलजला बिस्तरामा पल्टेकी थिइन् । उनले कैयौँ बेरसम्म बिस्तरामा पल्टेर आकाशतिर हेरिरहिन् । उनले खगोलशास्त्रसम्बन्धी पुस्तकमा पढेका कैयौँ कुरा सम्िँझदै आकाशबारे सोच्न थालिन् । सूर्य, आकाशका ग्रह र उपग्रह । तारा र आकाशगङ्गा ।
“घन्टौँसम्म उनलाई निद्रा लागेन । आकाश र आकाशका ग्रह, उपग्रह, तारा, आकाशगङ्गाबारे सोच्दासोच्दै उनी त्यसैमा ध्यानमग्न भइन् । उनी एक प्रकारले त्यसमा विलीन भइन् । उनले मनमनै सम्पूर्ण अन्तरिक्षको यात्रा गर्न थालिन् । पृथ्वीको परिक्रमा । सूर्य र त्यसका ग्रहको भ्रमण । अनि अरबौँ तारा र आकाशगङ्गाको भ्रमण । अब उनलाई लाग्न थालेको थियो, उनी साँच्चिकै अन्तरिक्षको यात्रामा निस्केकी थिइन् । उनी निदाएकी थिइनन् तर वास्तविक संसारबाट उनी धेरै टाढा पुगेकी थिइन् । केही बेरसम्म उनी पृथ्वीको सतहका वरिपरि घुमिन् । पृथ्वीको वायुमण्डलबाटमाथि उठेपछि चन्द्रमाको यात्रा, त्यसपछि सूर्य र सौर्य परिवारका सबै ग्रहको यात्रा अनि आकाशगङ्गा र अन्तरिक्षका अन्य अरबौँ–खरबौँ तारा तथा आकाशगङ्गाको भ्रमण ।” (क्रमशः)