गुल्मी–तम्घास । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टीबाट निष्कासित गरेको छ । जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी निष्कासन गरेको हो ।
जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् ।
एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि एमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो । तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभएको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो ।
पार्टीबाट निष्कासित पछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम–कारबाही नगर्न चेतावनी दिइएको छ । श्रेष्ठले भने आफूलाई कारबाहीको पत्र प्राप्त भइ नसकेको बताइन् ।