मुम्बई (भारत) । मुम्बईबाट कोलकातातर्फ उडिरहेको इन्डिगो विमानमा आज एक शर्मनाक घटना घट्यो । रिपोर्टहरू अनुसार, पहिलो पटक विमान चढिरहेका एक यात्रु पैनिक अट्याक (आकस्मिक मानसिक तनाव) भोगिरहेका बेला अर्का एक यात्रुले उनलाई थप्पड हानेका छन् ।
यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि भारतीय एयरलाइन्स र यात्रु सुरक्षाको प्रश्न फेरि उठेको छ । पीडित युवाले टोपी (स्कल क्याप) लगाएका थिए र सम्भवतः पहिलोपटक उडान चढेका थिए ।
विमान कर्मचारीहरू उनलाई सान्त्वना दिइरहेका थिए, तर एक सहयात्रीले उनलाई अचानक थप्पड हाने । केही प्रत्यक्षदर्शीहरूले आक्रमणकारीलाई “सांघी” (भारतीय सन्दर्भमा दक्षिणपन्थी समर्थक जनाउने शब्द) को रूपमा बयान गरेका छन्, यद्यपि आधिकारिक रूपमा यो पुष्टि भइसकेको छैन । आक्रमण धार्मिक पहिचानको कारण भएको हुनसक्ने आशंका गरिएको छ।
इन्डिगो एयरलाइन्सले एक्स (पूर्व ट्विटर) मा दिएको विज्ञप्तिमा भनिएको छ, “यस्तो असभ्य र हिंसात्मक व्यवहार पूर्ण रूपमा अस्वीकार्य छ । यात्रु र चालक दलको सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिको हामी कडा निन्दा गर्छौं।” घटना भएको विमान कोलकातामा अवतरण गरेपछि आक्रमणकारीलाई “अनियन्त्रित यात्रु” घोषणा गर्दै सुरक्षा निकायलाई जिम्मा दिइएको थियो।