काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कडाइ गरिएपछि दिल्ली हुँदै कुवेतमा पठाउने गिरोह सक्रिय भइरहेको विभिन्न समाचारहरूले जनाइरहेका छन् । मानव तस्कर गिरोहहरू सक्रिय भइरहँदा सरकार भने निरिह बन्दै गइरहेको छ ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट फर्काइएका १९ जनाले गिरोहबारे जाहेरी दिएका बताइएको छ । फिर्ता भएकाहरूको सूचनाको आधारमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान सुरु गरेको भनिएको छ । तर हालसम्म ति मानव तस्कार गिरोह प्रशासनले पक्राउन गर्न सकिरहेका छैन ।
बिचौलियाहरूले काँकडभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए । काठमाडौँबाट पठाउने र दिल्लीमा संकलन गरेर विमानस्थलसम्म लैजाने समूहको बिचमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले बताए ।
भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरूलाई साउन ८ मा नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरूलाई कुवेत पठाउन लागिएको सूचनापछि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर नेपाल फिर्ता पठाएको थियो ।