काठमाडौँ । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ ।
विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पञ्कज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ ।
कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरुको भनाइ छ ।
विद्युतीय फोहरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् ।
सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उहाँले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनःप्रयोगका लागि कच्चापदार्थका रुपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको गतिलो स्रोत बनेको बताउनुभयो ।